site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चोली के पिछे क्या है ?
Sarbottam CementSarbottam Cement

– मनु ब्राजाकी


भारतबाट एउटा भजनियाँ मण्डली नेपालको एउटा गाउँमा भित्रियो । यो गाउँ नेपाल–तराईको सबै गाउँजस्तै गाउँ नै थियो अर्थात् यहाँका किसानहरू यहीँ थन्किएका, पढेलेखेका युवाहरू शहरतिर पसेका र अशिक्षित युवाहरू पन्जाब–सन्जाब रिर्टन भएका ।

यस कीर्तनमण्डलका नेता थिए सीयारामशरण दासजी । कीर्तनमण्डलका सदस्यहरू उनीलगायत ६ जना थिए । पाँच जना युवा र एउटी युवती । युवाहरू त युवा नै थिए तर युवतीचाहिँ युवती हुनाका साथसाथै सीयारामशरणजीकी प्रमुख चेली र कीर्तन कार्यक्रमकी चमेली पनि थिइन् । भजनियाँ सीयारामशरणलाई थाहा छ— युवती धतुराको फूल भए पनि गाउँलेहरूका लागि चमेली नै ठहरिनेछे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले आउनासाथ गाविस अध्यक्षलाई समाते । अध्यक्षले वार्ड सदस्यहरूलाई समाते । वार्ड सदस्यहरूले आ–आफ्नो वार्डका जनतालाई समाते । अन्ततः सम्पूर्ण गाउँबाट मानोमुठी उठाइयो । भजनमण्डलीको खाने, पिउने, बस्ने र स्वागतको व्यवस्था मिलाइयो । धर्मप्राण गाउँलेहरूमा धार्मिक उन्माद उर्लियो ।

बाली भित्रिइसक्या थियो । गाउँले महाजनहरूले रिन–कर्जा उठाइसकेका थिए ।

Global Ime bank

सबैभन्दा ठूलो कुरा प्रजातन्त्र पनि आइसक्या थियो ।

भारत र नेपालको धर्म र संस्कृतिको समन्वयार्थ भजन मण्डली पनि आइसक्या थियो । यो गाउँलेहरूका लागि बडो सुखद अवसर थियो— भित्र्याइएको बालीका लागि भगवानप्रति कृतज्ञ हुने ।

श्री सीयारामशरणजीले गाविस अध्यक्षज्यूलाई भने, “देखिए प्रधानजी, नेपाल और भारतमे कोई फर्क नही है । हम और आप एक ही है । छोटे भाइको बडे भाइका अनुसरण करना चाहिए । प्रेम से भगवान् सीयारामकी शरण में आइए । दिल खोलके चन्दा दान किजिए । कल्याण होगा । अगले साल इस गाँव मे और फसल उबजेगा । बोलिए सीयावर रामचन्द्र की जय !”

अध्यक्षलगायत सबै वार्ड सदस्यहरूले जयकार गरे ।

प्राइमरी स्कुलको प्रांगणमा कीर्तन कार्यक्रम हुने भयो । समय ८ बजेपश्चात् । त्यतिबेलासम्म गाउँलेहरू साँझको भोजनबाट निवृत्त भइसक्थे ।

खाटहरू जोडेर मञ्च बनाइयो । मञ्चसामु स्रोताहरूका लागि पराल ओच्छ्याइयो । दाहिनेतिर पुरुष र देब्रेतिर महिलाहरू बस्ने भए । गाउँका महिलाहरू अझ भनूँ गाउँका बुहारीहरू यस कार्यक्रममा भाग लिन बढी उत्साहित थिए । किनभने यस्तो धार्मिक कार्यक्रममा मात्र उनीहरू आउन र आएर घुम्टो निधारसम्म उचालेर भगवत् लीन हुन पाउँथे ।

भजनियाँहरूसित हारमोनियम थियो, ढोलक थियो, मजिरा र करतालहरू पनि थिए । अझ एउटा महत्त्वपूर्ण कुरा— ‘लाउडस्पिकर’ पनि थियो । लाउडस्पिकर किन थियो भने— भगवान् त बहिरा छँदै छन्, साथै गाउँलाई पनि धार्मिक जोसले थर्काउनु थियो । नथर्काइकन कोही पनि त अनुगत, अनुप्राणित र आतंकित हुँदैनन् । आतंक यस्तो कुरा हो, जसले शक्तिशाली भगवान् र तिनका खसोखास प्रतिनिधिहरुको वर्चस्व कायम राख्छ । यो कुरा श्री सीयारामशरण दासजीलाई तुलसीदासको रामायणभन्दा पनि बढी थाहा छ ।

साँझ ७ बजेदेखि नै गाउँले स्त्रीपुरुषहरू भेला हुन थाले । मञ्चमा आफ्ना मण्डलीहरूबीच सीयारामशरणजी विराजमान छन् । लाउडस्पिकरमा हिन्दी फिल्मी गानाहरू बजिरहेका छन् । मीठामीठा हिन्दी गानाले प्रेरित भएर दाहिनेतिरका पुरुष (विशेषतः कडुवा तेलयुक्त जुल्फी पालेका) देब्रेतिरकी घुम्टो उचालेका गाउँका बुहारीहरूतिर रामले झैं हेरिरहेका छन् । बूढापाकाहरू यो हेराइलाई भगवानको दया ठानेर चुपचाप खैनी मोलिरहेछन् । भगवान् भने आकाशतिर कतै आधुनिक हिन्दी फिल्मी गाना सुनेर बसेका होलान् ।

भजनियाँ प्रमुख सीयारामजी स्रोता भक्तगणहरू यथेष्ट संख्यामा अझै नआइपुगेकाले चिन्तित छन् । यै चिन्ताले उनलाई प्रवचन दिने झोक चल्छ । लाउडस्पिकर बन्द गर्ने इसारा गरेर उनी प्रवचन दिन थाल्छन् । उनकी प्रमुख चेली उनीतिर एकाग्रतापूर्वक हेर्दै चमेली भएकी छे । गाउँले बुहारीहरू चमेलीलाई देखेर उत्साहित हुँदै आआफ्ना घुम्टा अझै माथि सार्छन् ।

दाहिनेतिर बसेको लखनले खैनी घुसारेर देख्छ— उसकी साइँली बुहारी त साला कैलु चमारको जुल्फे छोरोतिर पो सीताले रामलाई हेरेझैं हेरिराखेकी छे । तर, विचरा अहिले गरोस् पनि के ? उसले रिसले खैनीको तीतो रस घुटुक्क निल्यो र प्रवचन सुन्ने अभिनयतिर दत्तचित्त भयो ।

भजनियाँ सीयाराम भारतको प्रजातन्त्र र नेपालको शिशु प्रजातन्त्रको धार्मिक भावले व्याख्या गर्दै थिए । तर, उनले छिट्टै बुझे— उनको प्रवचनको प्रभाव बूढाखाडाहरूलाई त केही भयो होला तर सबैमा भएको छैन । यो प्रवचनले भगवान् श्रीरामको गरिमा घटोस् कि बढोस्, धर्म फलोस् कि फुलोस् कि भर्सेला परोस् तर उनको दानापानीमा त प्रभाव पर्छपर्छ । अतः उनले धतुराको फूलजस्ती चमेलीलाई गाउँबाट बढीभन्दा बढी भक्तगण बटुल्न हिन्दी फिल्मी गानाहरूको लय र धूनमा कीर्तन गर्ने आज्ञा गरे ।

तुरुन्त हारमोनियम, ढोलक, मजिरा र करताल बज्न थाले । चमेलीले ‘मै दुनियाँ से अब न डरूँ, तुम्ही से मै प्यार करूँ’ भन्ने गानाको लयमा एउटा भजन सुनाइन् । चार–पाँच वटा यस्तै हिन्दी फिल्मी धूनमा भजन सुनाएपछि दाहिने र देब्रे दुवै पक्ष भावविभोर भएर सीतारामको अवस्थामा पुगे ।

आउन त गाउँलेहरू आउँदैछन् तर फाट्टफुट्ट ।

भजनियाँ प्रधानले ८ बजिसकेको हुँदा पुनः फिल्मी धूनको भजन बन्द गराए । लाउडस्पिकरमा रिकर्डिङ गर्ने आदेश दिए ।

यसैबेला शिवलाल कुर्मीले देख्यो, अँ खैनी मुखमा हालेपछि देख्यो— देब्रेतिर बसेकी उसकी जेठी बुहारी आफ्नो ठाउँमा छैन ।

रखन झाले देख्यो— उसकी कान्छी बुहारी पनि देब्रेपट्टि आफ्नो ठाउँमा छैन ।

अँ, प्राइमरी स्कुलको आडैमा बाँसघारी छ र बाँसघारीकै आडैमा आँपको ठूलो बगैँचा छ ।

एक्कासि मञ्चबाट श्री सीयारामशरण दासजी चिच्याए, “सीयाराम रामचन्द्रकी जय !”

“जय !!!”

अनि धतुरोजस्ती चमेलीले लाउडस्पिकर बजाई, “चोली के पिछे क्या है, चोली के पिछे ? चुनरी के नीचे क्या है, चुनरी के नीचे ?”

अब कीर्तन सुरु भयो ।

(साभारः गोरखापत्र, १३ चैत्र, २०५० शनिबार)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०७५  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC