— तुलसीप्रसाद दाहाल
म छिट्टै आउँछु है भनेर
सिमाना काटेकी मेरी आमा
अझै आँगन टेक्न आएकी छैनन् ।
आमा भन्थिन्—
उनी आफ्नै मुटुको टुक्रालाई छोडेर, उसकै लागि
दुई टुक्रा रोटी, अक्षरको खर्च
मनपर्ने खेलौना, राम्रा कपडा
र, ओखतीमुलो जुटाउन मुग्लान पसेकी हुन् ।
थाहा छ तिमीलाई ?
आज पनि मेरो आँगन शून्य छ !
आमा !
जब आकाशमा मेरो आँखाको
ज्योति नै टिप्ने बिजुली चम्कन्छ
र, मुटु नै फोड्ने गरी बादल गर्जिन्छ
म थरथर काँप्दै तिम्रो कोखमा लुट्पुटिएको भुल्यौ ?
आमा !
आजकल दिनहुँ जस्तै
बिजुली चम्किन्छ
र, मुटु नै फोड्ने गरी मेघ गर्जिन्छ ।
जब म थर्थराउँदै
पुरानो सिरकभित्र गुट्मुटिन्छु,
मेरा यी कानले
किन तिम्रो दन्त्यकथा सुनौं भन्छन् ?
मेरो भुङ्ग्रोझैँ तात्ने यो अभागी टाउको
किन तिम्रै हातको ओखती
तिम्रै हातको पानीपट्टी खोज्छ आमा ?
मलाई सोध्न मन छ—
बीच बाटोमा तिमीतिरै कुदेको बच्चा देख्दा
तिम्रा ओठहरू मुस्कुराउँदै
तिम्रा हात हावामा फैलिन्छन् कि फैलिँदैनन् ?
मजस्तै सानो रोएको देख्यौ भने
तिम्रा आँखा पनि छचल्किन्छन् ?
तिमीले आफ्नो निधारको पसिना पुछ्दा
मेरा आँखाबाट बग्ने पानीको
याद आयो कि आएन आमा ?
तिमीलाई मेरो
तोतेबोलीको सम्झना छ ?
मेरो निश्चल हाँसो,
मेरा सरल प्रश्नहरू
भुल्यौ कि सम्झिन्छ्यौ आमा ?
आमा !
तिमी भन्थ्यौ नि— म जिज्ञासु हुनुपर्छ
मेरो मनमा जिज्ञासा छ !
मुटुको टुक्राभन्दा
रोटीको टुक्रा कति धेरै प्यारो हुन्छ ?
आँगनभन्दा मरुभूमि कति आफ्नो हुन्छ ?