– लोकराज भट्ट
जात्रा हेर्न जानुअघिको सिंगारपटार
चयनमा पाउजु बजाउने चञ्चले व्यहोरा
तिम्रा आकाश अटाउने आँखामा देखिने
मेरो अनुहारको प्रतिविम्ब
चुल्ठी हल्लाउँदै हिँड्दै गएको लामो बाटो—
सबै छुटिसके !
समयको लीला भनेकै फरक भएर
छुट्टिनु र जोडिनु रहेछ
तिमीसँग छैन त्यो पहिलाको जस्तो जोवन
छैनन् सँगै हाँस्ने संगीन मुस्कानहरू
एकान्त पखरोमा छिल्लिँदै देउडा गाउने समय
र, उस्तै छैन—
डोरी किन्न जाने दिपायलको बजार !
कति फराकिला थिए तिम्रा आकांक्षा
आफूलाई सुहाउँदैन भन्थ्यौ,
खेतबारीको हिलो र धूलो
पिठ्यूँमा दाउराको भारी
जुठेल्नामा भाँडाको खट्याङखुटुङ
र हातमा गोबरको गन्ध
देख्यौ ! भनेजस्तो हुँदो रहेनछ जिन्दगी
सबै सुहाएको छ अहिले ।
झमेल्दै काखमा
दूध चुस्ने भइसकेछन् बच्चाहरू
रंग उडेका गालाहरूमा
देखिन थालिसकेछ मधुरो छाया
लट्टा परेर घुम्रिसकेछन् कपालहरू
चुल्ठीमा हल्लिन छोडिसकेछ डोरी
चुलोचौको र ओखल मुसलमै बित्दा रहेछन् दिनहरू !
वालेटको बीचमा काइँयो राखेर
दुई धारको बुलबुली फट्फटाउने रहर
मसँग पनि छैन
छैन तिम्रा आँखामा जस्तै
कसैका आँखामा आँखा जुधाउने हिम्मत
र, पिछा गरी–गरी दोबाटोमा पर्खने बेला !
धेरै पछि लाग्दैछ—
मोजाको भकुण्डो बनाएर चौरमा दगुरौं
खल्तीभरि गुच्चा भरेर बच्चाहरूसँग खेलौं
भीड छिचोलेर बेस्सरी चिच्याऊँ
फेरि आफैं सोच्छु—
यो समयको उल्टो खेल हो, उल्टो रहर हो
कहाँ सुहाउँछ र यसो गर्न !
मेरा रहरहरू कस्ता हुनु पथ्र्यो
यतिखेर के गर्नुपथ्र्यो मैले,
थाह नपाएजस्तो गर्दै छु
तिमी परिपक्व आमा भैसक्दा पनि
म अझै बच्चा सम्झिरहेको छु आफूलाई
वास्तविक रहरहरू त
बर्खामा उम्रिने च्याउजस्ता भैसके
जो, आज उम्रिन्छन्, भोलि भत्किन्छन् ।