site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

निर्मला बलात्कार तथा हत्या काण्डको तैकातमा नराम्ररी चुकेको सरकार गल्ती सच्याउने भन्दा किस्तामा गल्ती गर्ने मूर्खता गर्दैछ । अपराध अनुसन्धानमा गम्भीर लापरबाही गरेको ठहर गरेको कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुखलाई जागिरबाट बर्खास्तमात्र गर्ने तयारी गरेको समाचार सार्वजनिक भएको छ । गृह मन्त्रालय र प्रहरीकै छानबिन टोलीले समेत तत्कालीन प्रहरी प्रमुखलाई दोषी ठहर गरेको थियो । तर, नेपाल प्रहरीले भने अनुसन्धानमा गम्भीर लापरबाही गरेको ठहर गरे पनि जागिरबाट हटाएर निजलाई अरू कारबाहीबाट उम्काउन खोजेको देखिन्छ । निर्मलाका आमाबाबुलगायत स्थानीय सर्वसाधारण र मानव अधिकार अभियन्ताहरूले तत्कालीन प्रहरी प्रमुखको भूमिका बढी नै सन्देहास्पद रहेको धारणा पटकपटक प्रकट गरेका छन् । जागिरबाट हटाएर थप कानुनी कारबाहीबाट उम्काउन खोजिएको हो भने त्यो थप अन्याय हुनेछ । 

हुन पनि यो त अंग्रेजी भनाइ ‘टु लेट टु लिटिल‘ भनेजस्तै भयो । सार्वजनिक भएका घटना विवरणअनुसार तत्कालीन प्रहरी प्रमुखले अपराधको प्रमाण मेटाउन खोजेको देखिन्छ । त्यसै हो भने निजमाथि अनुसन्धानमा हेलचेक्य्राइँ गरेको मात्र हैन बदनियत राखेर प्रमाण मेटाएको अभियोग पनि लगाउनु पर्छ र त्यही अभियोगमा मुद्दा चलाउनुपर्छ । निर्मलाको बलात्कार र हत्याका प्रमाणहरू मेटाउन कञ्चनपुर प्रहरीका विभिन्न अधकारीले गरेको प्रयासका लागि उनीहरूमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ । कानुनले अपराध ठहर गर्ने कामका लागि प्रहरी वा निजामती सेवाका कर्मचारीलाई विभागीय कारबाहीमात्र गर्नु न्यायको बाटो छेक्नुसरह हो । खराब आचरण गरेको प्रमाणित भइसकेपछि सरकारको जुनसुकै अंगको कर्मचारी भए पनि निजलाई प्रचलित कानुनबमोजिम कारबाही नगर्नु अपराधी उम्काउन मतियार बन्नु नै हो । अपराधको दसी प्रमाण मेटाउने प्रयास गरेकोमा कानुनबमोजिम कारबाही नगरी सरकारले जागिरबाट हटाएरमात्र छाडे पनि निज तत्कालीन प्रहरी प्रमुखलाई जनताले दोषी ठान्ने देखिन्छ । 

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुखले अपराधी उम्काउनैका लागि प्रमाण मेटाउने बदनियतपूर्ण कार्य गरेका हुन् भने उनीमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ । उनी निर्दोष भए नभएको निर्णय अदालतलेमात्र गर्न सक्छ ।  साथै, नक्कली अभियुक्त खडा गर्ने र यातना दिएर साबित गराउने केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतमाथि पनि कानुनी कारबाही गरिनुपर्छ । बदनियतपूर्वक वा हेलचेक्य्राइँ गरेर अपराधी उम्काउन खोज्ने प्रहरी कर्मचारीलाई कानुनी  कारबाही गरेर न्यायालयको कठघरामा उभ्याएमा नै नेपाल प्रहरीमाथि लागेको कलंक पनि पखालिनेछ । जागिरबाट बर्खास्त गरेपछि कर्मचारीलाई खतबात माफ हुने प्रावधान नेपालको कुनै कानुनमा पनि छैन । यसैले नेपाल प्रहरीप्रति गुमेको जनविश्वास फर्काउन र सरकारले अपराधीको संरक्षण गर्दैन भन्ने सन्देश दिनका लागि पनि प्रमाण मेटाउन प्रत्यक्ष वा परोक्षरूपमा संलग्न दोषीप्रति कानुनी कारबाही गरिनुपर्छ । नत्र, सरकार पनि निर्मलाका बलात्कारी र हत्यारा जोगाउन मतियार भएको ठहर्नेछ ।          
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०७५  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement