site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
घरमै विद्रोह
Ghorahi CementGhorahi Cement

बुबा व्यापारी । छोरोको रहर गायन । छोराले बाउको बिँडो थाम्नुपर्छ भन्ने मान्यता थियो । त्यही मान्यतामा कवीन्द्रका बुबा पनि अडिग थिए । “व्यापारीको छोरो व्यापार नै गर्नुपर्छ । संगीतमा लागेर केही हुनेवाला छैन । रहर र जोशले जिन्दगी चल्दैन । काम नगरे परिवार चल्दैन । आवारा भएर बरालिएर पेट भरिँदैन,” कवीन्द्रलाई बुबा सम्झाउँथे ।

कवीन्द्रलाई भने संगीतको सुरले पक्रिसकेको थियो । भलै उनले गाउने गीतलाई सुर हैन, बेसुरा गीत भन्थे त्यो बेला । किनकी उनी गाउँथे– पप गीत । ओमविक्रम विष्ट, हरिष माथेमा, सुनील उप्रेती, सञ्जय श्रेष्ठ, भीम तुलाधारहरुका गीत रेडियो नेपालबाट घन्किन्थे । उनीहरु पपस्टारका रुपमा युवा पुस्ताको मन चोरिरहेका थिए । बुबाआमाले बेसुरा भनेका तिनै गायकलाई कवीन्द्रले मनमा सजाइसकेका थिए । सजाउनुसम्म त ठिकै थियो, त्यस्तै बन्छु भन्ने अठोट गरेपछि परिवारमा उनले विद्रोह नै गर्नुपर्यो । “संगीतका लागि घरमै विद्रोह गर्नुपर्यो,” कवीन्द्र सम्झन्छन्, “अहिले जस्तो कहाँ थियो र सजिलो ? सांगीतिक क्षेत्र व्यावसायिक भइसकेको थिएन । गीत गाएर पनि जीविका धान्न सकिन्छ भन्ने समय थिएन ।”

दुर्गाकाजी शाक्य, जितेन्द्र राजभण्डारी, दिनेश राजभण्डारी, रेष्टा राजभण्डारी, शैलेन्द्र प्रधानाङ्ग र पुकार श्रेष्ठलाई लिएर कवीन्द्रले बाग्लुङमा ब्यान्ड नै फर्म गरे । नाम राखे ‘स्काई ब्यान्ड’ । कवीन्द्र ब्यान्डको मेन भोकलिष्ट थिए । सानै उमेरमा स्थानीय युवाले खोलेको स्काई ब्यान्डले स्थानीय स्तरमा कार्यक्रम गथ्र्यो । स्कुल र कलेजमा आफ्नो प्रस्तुति दिन थाल्यो । 

Agni Group

स्टेजमा गीत गाउँदै हिँड्न थालेपछि उनलाई आफ्नै भोकलमा गीत रेकर्ड गर्ने रहर जाग्यो । वि.सं. २०४९ मा उनले आफैले पैसाको जोहो गरे । काठमाडौं आएर गीत रेकर्ड गराए । बोल थियो, ‘जब मैले तिमीलाई देखेँ...’

जिल्लामा ब्यान्ड पपुलर थियो । तर आफ्नै गीत थिएन । आफ्नै गीत गाउन नपाएपछि खल्लोखल्लो महसुस गरिरहेको ब्यान्डले स्टेज शो गरेर केही पैसा संकलन गर्यो । र, ०५० सालमा ‘द स्काई ब्यान्ड’ भनेर एल्बम निकाल्यो । यो बेला कवीन्द्र कक्षा १० मा पढ्थे । एउटा गीत निकाल्नका लागि २५ सय देखि ३ हजार रुपैयाँ लाग्ने उनी सम्झन्छन् । 
एसएलसी सकियो । कवीन्द्र पढ्न काठमाडौं आए । ब्यान्डका सबै मेम्बर बाग्लुङमै छुटे । “कुनै कन्सर्ट तथा सामान्य कार्यक्रम गर्नुपर्यो भने पनि म काठमाडौंबाटै सबै योजना बनाउँथे,” कवीन्द्र भन्छन् । 

Global Ime bank

काठमाडौंमा संगीत पढ्ने उनको रहर थियो । पूरा भएन । पिपुल्स कलेजमा पढाइ थियो । कुलेश्वरमा घर । न्युरोडमा बिजनेस । समय थिएन । उनी संगीतको जति साधना गर्थे, घरमै बसेर गर्थे । 

पहिलो एल्बमका केही गीत रेडियो नेपालबाट बज्थे । तर नत उनका गीत ओमविक्रम विष्टका जस्ता चले न त हरिष माथेमा, सञ्जय श्रेष्ठ र भीम तुलाधरका जस्ता लोकप्रिय भए । तर, पनि रगतमा संगीत बगाएर परिवारसँग विद्रोह नै गरेका उनले संगीतको सुरलाई छोडेनन्, बरु पछ्याइरहे । 

०५२ मा स्काई ब्यान्डले ‘मायाको आधार’ नामक गीति एल्बम निकाल्यो । त्यो एल्बम स्काइ ब्यान्डका लागि खुसी बोकेर आयो भने कवीन्द्रका लागि सफलताको स्वाद लिएर आयो । 

बाग्लुङमा स्काई ब्यान्डको अफिस थियो । हरेक साँझ कवीन्द्र र उनका साथीहरु भेला भएर विगत सझिन्थे । समीक्षा गर्थे । वर्तमानका कुरा गर्थे र भविष्यको खाका कोर्थे । गाउँमा थिए । गाउँकै परिवेश बोल्ने गीत चाहिन्थ्यो । काठमाडौंमा उनीहरुको कसैसँग चिनजान थिएन । कुनै गीतकारसँग सम्पर्क थिएन । त्यसैले आफैले गीत लेख्नुपथ्र्यो । आफैले संगीत भर्नुपथ्यो । 

एक दिन रेष्टा राजभण्डारीले गीत लेखेर ल्याए । गीतको बोल थियो,– ‘डाँडैमा मेला लागेछ...।’ कवीन्द्रसहितका साथीहरुलाई त्यो खासै मन परेन । वेस्टर्न प्याट्रनमा गीत थियो । त्यसलाई लोकपपमा ढाले । भाका तयार भयो । शब्दमा पनि हुबहु चित्त बुझेन । केही शब्द हटाए, केही थपे । 

गीत तयार भएको चार महिनापछि काठमाडौं आएर गीत रेकर्ड गरे । म्युजिक नेपालले बजार व्यवस्थापन गर्यो । गीत हिट भयो । तर, सोच्दै नसोचेको गीत ।

“हामी बाग्लुङको ब्यान्ड भएकाले बाग्लुङलाई प्रतिनिधित्व गर्ने गीत नै हिट हुन्छ भन्ने थियो । त्यसैले हामीले ‘मायाको आधार’ र ‘बाग्लुङ बजार...’ बोलका गीत एल्बममा समावेश गरेका थियौं । यी गीतबाट हामीले ठूलो अपेक्षा गरेका थियौं । तर भइदियो उल्टो, सोच्दै नसोचेको गीत ‘डाँडैमा मेला लागेछ हिट भयो,’ कवीन्द्र ०५२ सालतिर फर्किन्छन्, “त्यसपछि म जहाँ जाँदा पनि यही गीतले चिनिन थालेँ । सबैले डाँडैमा मेला लागेर... गाउने गायक भनेर चिन्न थाले ।”

त्यो बेला चलेका ब्यान्डहरु ‘कन्दरा’, ‘नेपथ्य,’ ‘मध्यान्ह’, मंगोलियन हर्ट’ लगायतका ब्यान्डजस्तै ‘स्काइ ब्यान्ड’ पनि चर्चित भयो ।  एउटा गीतले नै कवीन्द्रको परिचय बदलदियो । स्काई ब्यान्ड स्थापित भयो । स्टेज कार्यक्रमका लागि उनलाई थुप्रै निम्ता आउन थाल्यो । देश विदेशका कन्सर्ट गरे । 

गीत गाएकै आधारमा लफंगा हाउडेको संज्ञा दिने त्यही समाज गीत हिट भएपछि कवीन्द्रको प्रशंसा गथ्र्यो । रेडियो र टेलिभिजनमा उनी छाउँथे, समाजले वाहीवाही गर्न थाल्यो । “गीत हिट हुनु अगाडि र पछाडि निकै ठूलो अन्तर हुँदोरहेछ,” कवीन्द्र आफ्नो सांगीतिक यात्राको अनुभव सुनाउँछन्, “यिनीहरुले हाम्रो ठाउँको पहिचान स्थापित गर्ने भए । जेहोस हाम्रो गाउँको इज्जत राख्ने भए भन्न थाल्दारहेछन् ।”

म्युजिक नेपालले ‘एल्बम अफ दि इयर’को अवार्ड दियो । क्यासेट बिक्री हुने समय थियो । ६ लाखभन्दा बढी कपी क्यासेट बिक्री भयो । एउटा क्यासेटको ४० रुपैयाँ थियो । उनले मोटै रकम बुझे यो गीतबाट । 

०५४ सालमा तेस्रो एल्बम निकाले । यो एल्बमको ‘रिमझिम रिमझिम पानी पर्यो...’ बोलको गीत लोकप्रिय भयो । ‘हावा सररर...’ बोलको गीतले पनि स्रोताको मन जित्यो । त्यो समय सञ्चारमाध्यम थोरै थिएनन् । सञ्चारमा कमै पहुँच हुन्थ्यो । तर जव सञ्चारमाध्यममा आउँथ्यो, त्यसलाई धेरैले नोटिस गर्थे । 

६ वटा एल्बम निकालेको स्काई ब्यान्डबाट कवीन्द्रले ५० भन्दा धेरै गीत गाए । वेस्टर्न म्युजिकमा नेपाली ट्युन मिसाएर गीत गाएर आफूलाई स्थापित गरेको स्काई ब्यान्डको उमेर बढ्दैथियो । ख्याती दूरदुरसम्म पुग्दै थियो । स्काई ब्यान्डको मात्रै उमेर बढ्दै थिएन । यसका सदस्यहरु पनि परिपक्व हुँदै थिए । विवाहको उमेर भयो । सबैले विवाह गर्दै गए । विवाहसँगै किचेको जिम्मेवारीको भारीले स्काई ब्यान्डका सदस्यहरुलाई तितरवितर बनायो । कोही बिजनेसतिर लागे । कोही विदेशिए । कवीन्द्र विजनेस सम्हाल्न लागे । साथीहरु विदेश गए । ब्यान्ड छँदै थियो । तर, निष्क्रिय । 

“परिवार, जागिर, बिजनेसले सबै व्यस्त हुँदै गएपछि संगीतप्रति लगाव हुँदाहुँदै पनि हामीले गीतसंगीतलाई आवश्यक समय दिन सकेनौं,” कवीन्द्र भन्छन्, “हामीमात्रै होइन, त्योबेलाका अधिकांश म्युजिक ब्यान्ड तथा गायकले केही समय ग्याप गरे । अहिले सबै फेरि फर्किन खोजिरहेका छन् । हाम्रो पनि त्यस्तै भयो ।”

चाहे परिवारका कारण होस् या विजनेस केही समय कवीन्द्र आफ्ना स्रोता तथा दर्शकबाट टाढिए । तर उनको मन संगीतमै थियो । नशामा संगीत भरेर बालपनमै परिवारसँग विद्रोह गरेर बनाएको आफ्नो पहिचान मेटिन दिने रहर छैन उनलाई । त्यसैले त उनी अहिले नयाँ गीत लिएर आइपुगेका छन्,– ‘माया मलाई...’

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०७५  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC