भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी निकट भविष्यमै नेपाल आउन लागेको चर्चा छ । अब त प्रधानमन्त्री मोदी कतिपटक नेपाल आए भनेर गणना गर्न पनि छाडे हुने भयो । यस्तै मोदी आफ्नै चाहनाले नेपाल आउने हुन् कि उनलाई नेपाल सरकारले निम्त्याएको हो भन्ने विषय पनि गौण हुन पुग्यो । सन् २०१४ मा प्रधानमन्त्री हुनेबित्तिकै मोदी नेपाल आउँदा भारतको हेपाहा नेपाल नीतिमा परिवर्तन हुने हो कि भन्ने आशा जागेको थियो । तर, दोस्रो भ्रमणका बेलामा उनले बढी नै नेपालप्रति ‘अपनत्व’ देखाएर सल्लाह दिए । मोदीप्रतिको नेपालीको धारणा बदलियो । भारतको नेपाल नीति नबदलिएको स्पष्ट भयो । संविधान जारी भएपछि भुइँचालोले थलिएको नेपालमाथि नाकाबन्दी लगाएर मोदीको भारतले आफ्नो सक्कली नियत पुनः स्पष्ट ग¥यो । तर, त्यसपछि पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रम भने रोकिएन ।
रमाइलो के भने पहिले भारतमा मोदी नेपाल आउने घोषणा हुन्छ । अनि नेपाल सरकारले उनलाई भ्रमणका लागि निम्तो दिन्छ । मोदी आउँछन् । उनले रोजेकै ठाउँमा ‘नागरिक अभिनन्दन’ गरिन्छ । उनकै जस्तो पोसााकमा नेपालका प्रधानमन्त्री स्वागत गर्न पुग्छन् । कार्यसूची जे भए पनि मोदीको नेपाल भ्रमणमा तीर्थाटन पनि जोडिएकै हुन्छ । र, भारतमा त्यसलाई धार्मिक यात्राका रूपमा प्रस्तुत गरिन्छ । यसपटक त झन् विवाह पञ्चमीकै बेलामा मोदी नेपाल आउने प्रचार गरिएको छ । मोदीले आउन चाहेपछि प्रधानमन्त्री केपी ओलीले उनलाई पक्कै निम्ता दिने नै छन् । विवाह पञ्चमीमा अबधबाट जन्ती आउने परम्परा छ । गुजरातका मोदी पनि ‘बाराती’का रूपमा आउने होलान् । हुनत, मोदीको भ्रमणको कार्यसूची सार्वजनिक भइसकेको छैन तर उनले त्यसलाई धार्मिक रंग दिएर राजनीतिक लाभ लिने प्रयास भने पहिलेजस्तै गर्ने अनुमान सहजै गर्न सकिन्छ ।
उनको भ्रमणलाई सर्वसाधारण नेपालीले भने खासै रुचाएको पनि देखिँदैन । प्रदेश नम्बर २ प्रति मोदीले देखाएको मोहले पनि शंका र अविश्वास नै बढाएको छ । भारतका सीमावर्ती राज्यहरूको नेपालको तराईसँग निकट सामाजिक सम्बन्ध र सांस्कृतिक समानता छ । तर, यसको अर्थ भारतका शासकले नेपाललाई उनीहरूको स्वार्थमा प्रयोग गरेको नेपालीले सहिरहनुपर्छ भन्ने पनि हैन । नेपाल स्वतन्त्र र सार्वभौम देश हो । भारतको अहित गर्नु नेपालकै हितका लागि पनि उचित हुँदैन तर भारतीय राजनीतिको पक्षविपक्षमा नेपाल सरकार नै प्रयोग हुनु हुँदैन । मोदीको अगिल्लो भ्रमण कर्णाटक राज्यको विधानसभा चुनावकै बेलामा भएको थियो । सन् २०१८ को अन्त्यतिर पनि अरू केही विधानसभाको चुनाव हुँदैछ । भूकम्पपछिको पुनर्निर्माणका लागि दिने भनिएको सहयोगसमेत दिन आलटाल गर्ने प्रधानमन्त्री मोदीको नेपाल मोह नेपालको हितमा देखिँदैन । मोदीको प्रत्येक भ्रमणमा नेपाल सरकारको समेत लोकप्रियता घटेको यथार्थ प्रधानमन्त्री ओलीले आत्मसात् गर्नु उचित हुनेछ । मोदी यसपटक पनि अवाञ्छित पाहुना हुन् भन्ने सन्देश कूटनीतिक माध्यमबाट भद्ररूपमा दिनुपर्छ । मोदीसँगको निकटता नेपाली जनताले मात्र हैन भारतकै अरू प्रगतिशील राजनीतिक शक्तिहरूले पनि रुचाउँदैनन् । मोदीको मोहभित्र लुकेको स्वार्थलाई बेलैमा चिन्नु नेपालको हितमा हुनेछ ।