काठमाडौं । जापान भ्रमणमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले टोकियोमा नेपाली राजदूत प्रतिभा राणासँग भेट गरी नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिएका छन् । भेटका क्रममा राजदूत राणासहित दूतावासका पदाधिकारीहरुले जापानमा हाल विविध क्षेत्रमा गरी ८० हजार भन्दा बढी नेपाली रहेको जानकारी दिएका थिए ।
नेता पौडेलले जापानमा स्थानीय भाषा र आवश्यक सीपको अभावमा धेरै नेपालीहरुले समस्या झेलिरहेको तर्फ ध्यानाकर्षण गराएका थिए । जापान सरकारले नेपालका विभिन्न तह र तप्काका व्यक्तिहरुलाई उपलब्ध गराउँदै आएको छात्रवृत्तिको कोटा बढाउन राजदूतावासले थप पहल गर्नुपर्ने पौडेलले बताए । नेपालमा अझ धेरै जापानी पर्यटकहरु पठाउन समेत दूतावासले ठोस कार्यक्रम संचालन गर्नुपर्ने सुझाव पौडेलले दिए ।
यसैबीच पौडेलले जापानी अधिकारीहरुसँग भेटवार्ता गरी नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन् । सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता जापानले नेपाललाई गरिरहेको सहयोग सबैका लागि उदाहरणीय भएको पौडेलले बताए ।