काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या एक तिहाइले घटेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशमा काम गर्न जाने नेपालीको संख्या ३६.६ प्रतिशतले घटेको हो ।
वैदेशिक रोजगार विभागका अनुसार चालू आव २०७५–७६ को पहिलो तीन महिनामा श्रमका लागि विदेश जाने नेपाली कामदारको संख्या ५८ हजार ७ सय १३ मा झरेको छ । गत आवको सोही अवधिमा यो संख्या ९२ हजार ७ सय २२ पुगेको थियो ।
खाडी तथा अन्य रोजगार गन्तव्य मुलुकतर्फ काममा जाने नेपाली सबैतिर उल्लेख्य दरमा घटेका छन् । सबैभन्दा धेरै मलेसिया जानेको संख्या घटेको छ । चालू आवको पहिलो तीन महिनामा २ हजार ३ सय ७७ नेपाली कामका लागि मलेसिया गएका थिए । गत असोजमा जम्मा ७५ जनामात्र मलेसिया गएका थिए । यो संख्या सरकारले मलेसिया रोजगारी बन्द गर्नुअघि श्रम स्वीकृति लिइसकेकाको हो ।
वैदेशिक रोजगारीको आकर्षक गन्तव्यमध्ये प्रमुख मानिने मलेसियाका लागि सरकारले श्रम स्वीकृति बन्द गरेको करिब ६ महिना भएको छ । तर, गत आवको पहिलो तीन महिनामा भने ३१ हजार ५ सय २९ नेपाली कामका लागि मलेसिया पुगेका थिए ।
विभागका अनुसार पहिलो तीन महिनामा कतार जानेको संख्या २१ हजार ८ सय ७३ छ । पहिलो स्थानमा रहेको कतारलाई पछ्याउँदै दोस्रो स्थानमा परेको संयुक्त अरब इमिरेट्स (युएई) मा १४ हजार ८ सय ६१ नेपाली काम गर्न गएका छन् । त्यसपछि यो सूचीमा साउदी अरब, कुबेत, मलेसिया र बहराइन परेका छन् ।
यता मुलुकको केन्द्रीय बैंकले तयार पारेको ‘आर्थिक वर्ष २०७५–७६ को दुई महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार पहिलो दुई महिनामा १ खर्ब ५४ अर्ब २० करोड रुपैयाँबराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ ।
यो रकम गत वर्षको सोही अवधिको दाँजोमा ३३.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स शून्य दशमलव ७ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स २२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यो ५.२ प्रतिशतले बढेको थियो ।