site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यस्तो अनुहारले हिरो भइँदैन, प्लास्टिक सर्जरी गर्नुपर्छ भन्थे
Ghorahi CementGhorahi Cement

काठमाडौं । सुगठित र सुन्दर शरीर, अग्लो कद, गोरो मुहार अनि आर्य फेस । हिरो हुनका लागि पहिलो सर्त थियो कुनैबेला । अभिनय त दोस्रो पक्ष थियो । चेप्टो नाक र चिम्सा आँखा हुनेलाई यही नै उसका लागि अयोग्यताको पहिलो कारण बन्थ्यो । अनुहारले होइन, कामले हिरो बनिन्छ भन्ने चेत नै थिएन । हिरोको परिभाषा नै सुकिलो–मुकिलो ‘हेन्डसम’ हुनु थियो । हिरोइनको हकमा पनि यही सर्त थियो । अनुहारले होइन, कर्मले हिरो भइन्छ भन्ने चेत नै थिएन । 

समय एकातिर थियो, सौगात मल्ल भने हावाको झोंक्काभन्दा बेग्लै दिशातिर रहरको झाेंक्का बगाइरहेका थिए । उनले हिरो हुने सपनाको घर मनभरि कैद गरेका थिए । 

इन्दिरा जोशी (हाल नेपाल आइडलकी निर्णायक) सानै थिइन् तर खुब गाउँथिन् गीत । नेपालीदेखि हिन्दीसम्म । सौगात र उनी एउटै स्कुल पढ्थे । तर केही कक्षा सिनियर थिए सौगात इन्दिराभन्दा । सौगातकै समकक्षी थिए, प्रमोद अग्रहरी (अभिनेता) । इन्दिरा गीत गाउँथिन्, त्यही गीतमा सौगात र प्रमोद कम्मर मर्काउँथे । “इन्दिरा सानै भए पनि गीत गाउँथिन्, हामी (प्रमोद र सौगात) नाच्थ्यौं,” सौगात स्कुले दिन सम्झन्छन् । गाउँबाट टाढा–टाढा कार्यक्रम लिएर जाँदा सौगात, प्रमोद, इन्दिरा नछुट्ने गरेको आज पनि प्रमोदको मथिङ्गलमा ताजै छ । 
नाच्नेमात्रै होइन, त्यो बेला सडक नाटकहरुमा अभिनय पनि गर्थे सौगात । सबैले क्या बात ! भनिदिन्थे । सौगात मख्ख पर्थे ।

Agni Group

सौगात सानैदेखि अभिनयका ‘क्रेजी’ थिए । अभिनय उनको शोख थियो । हिरो हुन्छु भन्ने लक्ष्य थियो । बालपनको लहड हो या लक्ष्य खोज्न गरिएको अनजान प्रयास, उनैलाई थाहा थिएन तर नशामा रगत बगाउन थालिसकेका थिए । के बन्छस् ? भन्ने प्रश्नमा अदबका साथ ‘हिरो’ भन्ने जवाफ दिन थालिसकेका थिए । 

गाउँमै हुने कार्यक्रममा गरिने एक्ट त उनले छुटाएका थिएनन् । तर, त्यो पर्याप्त थिएन एउटा पक्ष । अर्को पक्ष गाउँमा बसेर हिरो भइँदैन थियो । त्यसका लागि त अवसरको सहर काठमाडौंको बाटो कोर्नु पथ्र्यो । त्यो पनि दिन आयो । परिवारमा सल्लाह भयो । उनी काठमाडौं जानै नै भए । अभिनय नछोड्ने नै भए । ‘हिरो’ कसरी भइन्छ र हलभित्र बडेमाको सेतो पर्दामा देखिन्छ ? पहिल्याउने भए बाटो । 

Global Ime bank

मनले खाएका साथीहरुसँग कुरा हुन्थ्यो । हिँड्ने बेलामा पनि भयो । ‘हिरो’ हुनका लागि काठमाडौं जाँदैछु भनेपछि साथीहरुले सिधै त भनेनन् तर उनीहरुको अनुहारको भाव त्यो बेला राम्रैसँग पढे सौगातले । उनीहरुको अनुहारले सौगातलाई प्रश्न गरिरहेको थियो, ‘तेरो जस्तो अनुहार भएको व्यक्ति पनि हिरो हुन्छ ? चिटिक्क परेको सेतो छाला भएको व्यक्ति पो हिरो हुन्छ ।’

“उनीहरुले डाइरेक्ट मलाई नभने पनि उनीहरुको मनमा के छ भन्ने मैले बुझिसकेको थिएँ । मलाई उनीहरुले गरेको शंकाप्रति नराम्रो पनि लागेको थिएन,” सौगात नोस्टाल्जिक हुन्छन्, “त्यो समय नै त्यस्तै थियो । मेरोजस्तो लुक भएको व्यक्ति हिरो हुँदैनथ्यो ।”

उनको लगाव देखेर अभिनयमा केही न केही गर्छ भन्ने उनका साथीहरुलाई विश्वास थियो । छुट्ने बेलामा गम्भीर कुरा भयो । उनीहरुले नै सौगातलाई सल्लाह दिए, “थाहा छ, तैंले फिल्ममा एक न एक दिन केही न केही गर्छस् । हिरो अथवा भिलेन जे पनि गरिहाल्छस् । तर यस्तो अनुहारले त गाह्रै पर्छ । अहिले त प्लास्टिक सर्जरी गर्न पनि मिल्छ । प्लास्टिक सर्जरी गरेर आफूले भने र चाहे जस्तो बन्न सकिन्छ । यो उपाय पनि अपनाउन सकिन्छ ।” सौगातलाई पनि मन मिल्ने साथीहरुले भनेको कुरा नराम्रो लागेन । किनकी उनले त्यो बेला नेपालमा सिनेमा हलमा रमेश उप्रेती, धिरेन शाक्य, दीलिप रायमाझी, राजेश हमाल, सरोज खनालजस्ता नायकलाई देखेका थिए । 

साथीहरुको सुझाव मान्ने–नमान्ने भोलिको कुरा थियो । गर्नु परे कसरी गर्ने त्यो खोजीकै विषय थियो । 

तर, सौगातले हिन्दी सिनेमा हेरेका थिए । त्यहाँ उनले नाना पाटेकर र ओम पुरी जस्ता कलाकार मजाले जमेको देखेका थिए । ‘उनीहरुलाई दर्शकले मन पराउँछन् भने मलाई किन मन पराउँदैनन् होला ?’ आफैंले आफैंलाई प्रश्न गर्थे । “आखिर दर्शकले मन पराएर नै त उनीहरु निरन्तर फिल्म खेलिरहेका छन् । मैले यही सोचेँ,” परासी छोड्दा ताकाका दिन सम्झँदै सौगातले सुनाए, “इमान्दार भएर काम गर्ने हो, कसो मन पराउँदैनन् होला त मलाई दर्शकले नाना पाटेकर र ओम पुरीलाई जस्तै भन्ने लाग्यो ।”

सौगात ‘हिरो’ हुने मनभरीको सपनाको घर बोकेर काठमाडौं हिँडे । त्यही बेला प्रमोद अभिनयको बाह्रखरी सिक्न सीमा तरेर मुम्बई छिरेका थिए । ‘हिरो’ बन्न काठमाडौं छिरेका सौगात सुनील पोखरेलको समीपमा पुगे । उनकै गुरुकुलमा अभिनयको कखरा सिक्न थाले । गुरुकुलमा रहँदा–बस्दा उनी नाटकमै पनि केही हुने रहेछ भनेर त्यतै रत्तिए । 

पछिमात्रै हो, सौगात रजतपटमा उक्लिएका । सिनेमामा अफर आउन थाल्यो । सानोको रहर हो, ‘काम गरौं न त’ भन्ने लागेर उनले सेतो पर्दामा डेब्यू गरे । लिड रोलको ‘लुट’बाट ‘हाकु काले’ले सौगातलाई नै छायाँमा पारिदियो । यही चलचित्रबाट सौगात र गोफ्ले (दयाहाङ राई)को नेपाली चलचित्र नगरीमा उदय भयो । सौगात र दयाहाङको उदयमात्रै भएन, नेपाली चलचित्र उद्योगमा ‘हिरो’को परिभाषा नै उनीहरुले बदलिदिए । आकर्षक सुन्दर अनुहार भएको व्यक्ति होइन, सुन्दर अभिनय गर्ने कलाकार वास्तवमा ‘हिरो’ हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC