site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
बिहान अण्डाको व्यापार, दिउँसो एक्टिङ र स्कुल
Sarbottam CementSarbottam Cement

सरोज खनाल नेपाली चलचित्रका अग्रज नायक हुन् । आफ्नो समयमा चलचित्र उद्योगमा एकछत्र राज गरेका उनी केही समय अमेरिका बसेर फर्किए । अमेरिकाबाट फर्किएपछि पनि उनी अहिले चलचित्र उद्योगमै सक्रिय छन् । भलै रोल फेरिएको छ । पहिला नायक थिए, अहिले चरित्र अभिनेतामा परिणत भएका छन् । तिनै सरोज अहिले एक्टिङ स्कुल खोल्ने अन्तिम तयारीमा छन् । चन्द्रमाला शर्मा र सरोज मिलेर काठमाडौंमा माला आर्टस् एकेडेमी खोल्दैछन् । उक्त एकेडेमीले वर्षमा तीनवटा ब्याच चलाउने छ । प्रत्येक ब्याचमा १५–१५ जना विद्यार्थी रहनेछन् । एउटा ब्याचलाई एकेडेमीले तीन महिना पढाउने छ । एक्टिङ स्कुलको भीडमा अर्को स्कुलको आवश्यकता किन ? अरुभन्दा फरक के ? लगायत चलचित्र क्षेत्रका अन्य विषयमा केन्द्रित रहेर नायक सरोज खनालसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः 
 

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ? 
अहिले पूर्ण समय माला आर्ट एकेडेमीलाई दिइरहेको छु । यसको भौतिक संरचना निर्माणको काम भइरहेको छ । यसमै व्यस्त छु भन्नुपर्छ । 

अभिनय सिकाउने धेरै एकेडेमीहरु छन्, त्यही भीडमा तपाईंहरु आउँदै हुनुहुन्छ । माला आर्ट एकेडेमीमा फरक के छ अरुभन्दा ? 
हामी कान्छो हौं अहिलेसम्मका लागि । धेरै एकेडेमी हुँदाहुँदै हामी आएका छौं, त्यसैले चुनौती पक्कै पछि छ, तर अरुभन्दा फरक छौं भनेर हामीले देखाउन खोजिरहेका छौं । 

Prabhu Bank
Agni Group
NIC Asia

के अर्थमा फरक ?
जुन हिसाबले क्लासरुम सेटअप गरेका छौं, जुन सेलेबस तयार पारेका छौं, त्यसले फरक देखाउँछ । अडियो भिजुअल दुवै माध्यममा पढाउँछौं । डिटेलमा पढ्ने हो भने तीन वर्षको कोर्ष हो । तर हामी तीन महिनामा पढाउँछौं । अभिनेत्री तथा अभिनेता बन्नका लागि आवश्यक सबै पक्षमा पूर्ण बनाएर विद्यार्थीलाई छोड्छौं ।  
अर्को मुख्य कुरा हामी स्कुलमात्रै नभएर प्रोडक्सन हाउस पनि हौं । अरु एकेडेमीले विद्यार्थीलाई पढाउँछन् र आफ्नो बाटो आफै खोज भनेर पठाइदिनु हुन्छ तर हामी त्यसो गर्दैनौं । हामी हाम्रो विद्यार्थीलाई आफैंसँग काम पनि गराउँछौं र बाहिर जाँदा पनि काम गर्ने वातावरण बनाउँछौं । बाहिर काम गर्न जाँदा हामी यो कुरा मलाई थाहा थिएन र जानेको छैन भन्ने अवस्था सिर्जना हुन दिँदैनौं । 

थुप्रै एकेडेमी छन्, जसलाई रनिङ हुन पनि गाह्रो भइरहेको छ । यस्तो अवस्थामा माला आर्टस् एकेडेमीलाई पनि त चुनौती त अवश्य होला नि !
तपाईँले भनेको कुरामा सत्यता छ । तर हामीले तीन महिनाको कोर्षका लागि ६० हजार लिने छौं । अरु एकेडेमीको तुलनामा यो निकै कम हो । हामीले दिने सेवा, सुविधा र कोर्षका हिसाबले यो निकै न्यून रकम हो । यो सुनेर विद्यार्थीहरु निकै उत्साही भएको देखेर हामीलाई अप्ठ्यारो पर्दैन भन्नेमा हामी ढुक्क छौं । 

Global Ime bank

\"\"माला आर्टस्मा आएका विद्यार्थीले यहाँ पढेकै कारण पाउने फाइदा के हो ?
प्रत्येक तीन–तीन महिनामा हाम्रो विद्यार्थीले नाटक गर्छन् भनेर हमीले राष्ट्रिय नाच घरसँग सम्झौता गरिसकेका छौं । तीन–चार वटा टेलिभिजनसँग हामीले टेलिफिल्म निर्माणका लागि यो हप्तामै सम्झौता गर्दैछौं । फिचर फिल्म निर्माणमा जाने पनि हाम्रो योजना छ । सानो–सानो कामबाट पोख्त बनाएर फिचर फिल्ममा लैजाने हाम्रो सोच हो । प्रोडुसर पनि हाम्रो गु्रपमा हुनुहुन्छ । उहाँहरुलाई पनि हामी आफ्नो प्रोडक्ट देखाउँछौं र लिनका लागि आग्रह गर्छौैं । तर हामी विद्यार्थीलाई शुरुमा ठूला ठूला सपना बाँड्दैनौं । सर्ट फिल्म बनाएर त्यसमा अवसर दिन्छौं । 
म यहाँको टिचर होइन । म यहाँको विद्यार्थीसँग रिहर्सलमा एक्टिङ गर्छु । ताकी उहाँहरुलाई आफूभन्दा सिनियर कलाकारसँग काम गर्दा गाह्रो नहोस् । म आफैले भोगेको कुरा हो यो । तुलसी घिमिरे, भुवन केसी, गौरी मल्ल, नीर शाह जस्ता सिनियर कलाकारसँग एकैपटक काम गर्दा कतै मेरो कारणले उहाँहरुको काम बिग्रिने त होइन भन्ने डर हुन्थ्यो । माला आर्टस् एकेडेमीका विद्यार्थीमा यो डर नहोस् भनेर गेष्ट टिचरलाई पनि विद्यार्थीसँग असिनय गराउने हाम्रो तयारी छ । जसका कारण भोली उनीहरु बजारका स्थापित कलाकारसँग काम गर्न नडराउन् । 

चलचित्रसँग सम्बन्धित क्षेत्रमै लगानी गर्नुको खास केही कारण छ ?
मैले लामो समय यही क्षेत्रमा काम गरेँ । मैले केही कुरा सिकेँ । मैले जानेको कुरा आउँदो पुस्तालाई सेयर गरेँ भने सरोज खनालले खोलिदिएको स्कुलबाट मैले सिकेर आज यो ठाउँमा छु भनेर भोलिको पुस्ताले भन्यो भने म जीवन्त रहने छु भनेर पनि हो । अर्को कुरा अरु स्कुल जसरी चलिरहेका छन् त्यसप्रति म आफैँ सन्तुष्ट नभएर पनि म यता केन्द्रित भएको हुँ । 

अब तपाईंको चलचित्र यात्रामा कुरा गरौं । अपकमिङ मुभी कुन हो ?
‘क्याप्टेन’, ‘ब्रेकअप’, ‘घनचक्कर’ लगायतका चलचित्र छन् । आजै पनि सुदर्शनजीको चलचित्रमा सम्झौता गर्दैछु । 

अमेरिकाबाट फर्किएपछि वर्षमा बढीमा दुई वटा चलचित्रमा अभिनय गर्छु । मेरो प्राथमिकता पोल्ट्री फार्म खोल्नु र सञ्चालन गर्नु हुनेछ भन्नुहुन्थ्यो । तर, अहिले त चलचित्रमै व्यस्त हुनुभयो नि !
मेरो दैनिकी बिहान ५ बजेबाट शुरु हुन्छ । आधा घण्टा एक्सरसाइज गरेर ६ बजे पोेल्ट्री फार्मको शोरुम एकान्तकुना पुगिसक्छु । चितवनबाट ५ बजे ट्रकमा अण्डा आइसक्छ । त्यहाँ पुगेर म अण्डा डिष्ट्रिब्युसन गर्छु । होलसेल भएकाले रिटेलर आएर लैजानुहुन्छ । प्रोल्ट्री फार्मको शोरुमबाट ११ बजे बल्ल घर आइपुग्छु । 

फिल्मको संख्या बढेको बढ्यै छ, स्क्रिप्ट छोड्न नसकेर हो ?
स्क्रिप्ट राम्रो भएर होइन, सम्बन्धले पनि काम गर्यो । दुई–चारवटा खेल्नै नहुने चलचित्रमा पनि मैले काम गरेको छु । साथीहरुले आग्रह गरेपछि नकार्न नसकेर मन नपरेका कथामा पनि अभिनय गर्न बाध्य भएको छु । सँगै स्ट्रगल गर्दा, सँगै काम गरेका साथीहरु अहिले कोही प्रोडुसर भए, कोही निर्देशक भए । उहाँहरुले दाइ मेरो चलचित्रमा काम गरिदिनुपर्यो भनेपछि मैले उहाँहरुको बचन काट्न नसकेर खेलेको छु । 

\"\"अमेरिकाबाट फर्किएपछिको नेपाली चलचित्र उद्योगमा के फरक पाउनुभयो छोडेर जानु अघिकोभन्दा ?
व्यक्तिगत रुपमा भन्नुहुन्छ भने मेरो क्यारेक्टर नै फरक भइसकेको छ । त्यो समय म लिड रोलको नायकमा रुपमा चलचित्रमा हुन्थेँ भने अहिले त्यो अवस्था छैन । म त्यो रोलमा अहिले काम गर्न सक्तिन भनेको होइन । विदेशमा हो भने बल्ल नायक हुने उमेर हुँदैछ । तर, यहाँ जुँगा र कपाल फुलेपछि क्यारेक्टर रोलमा गएहुन्छ भन्ने सोचाइ छ । तर, म सन्तुष्ट नै छु । समयसँगै म पनि परिवर्तनशील हुनुपर्छ । समयसँगै आफूलाई परिवर्तन गर्न सकिएन भने आफैं दुःखी भइन्छ । कति साथीहरु यही कारण चलचित्र क्षेत्रबाट हराउँदै गइरहनु भएको छ । मलाई अफर गर्दा छि ! भन्ने खालको रोल अफर गरिदिनु भएको छैन । 
अर्को कुरा प्रविधिका हिसाबले नेपाली चलचित्र निकै अगाडि बढिसकेको छ । तर विकास सँगसँगै विनास पनि आउँछ भनिन्छ । त्यो पनि देखिरहेको छु मैले । 

कस्तो विनास भन्न खोज्नुभएको ?
सिनेमा बनाउन यस्तो क्राउड आयो, जसलाई सिनेमाको ‘स’ पनि थाहा छैन । पहिला रिलमा खिच्नु पथ्र्यो । जति धेरै टेक लियो त्यति धेरै खर्च हुनथ्यो । अहिले डिजिटलमा गएपछि त्यो खर्च जोखिएको छ । त्यसैले पनि चलचित्रमा लगानी गर्नेको संख्या बढेको छ । चलचित्र निर्माणलाई सजिलो माध्यमका रुपमा हेरिदिनुभयो । यो नै नेपाली सिनेमाको विनास हो । नेपाली चलचित्र बजारले वार्षिक सयवटा चलचित्र थेग्न सक्तैन । ५० वटासम्म बने भने ठिकै मान्न सकिन्छ । विदेशी मार्केट छैन नेपाली चलचित्रको । पहिला–पहिला चलचित्र निर्माण गर्ने निर्माता घाटामा जानु पर्दैनथ्यो । तर, अहिले ९८ प्रतिशत चलचित्र घाटामा छन् । वार्षिक अर्बभन्दा धेरै रकम खेर गइरहेको छ । चलचित्र बुझेर मात्रै लगानी गरेको खण्डमा पैसा पनि डुब्दैन र नाम, दाम पनि कमाइन्छ । 

कथा र अभिनयमा केही परिवर्तन आयो कि आएन ? 
परिवर्तन पक्कै पनि भएको छ । हामीले त्यो बेला बनाउने चलचित्र र निर्देशक भारतबाट सिकेर आउनुहुनथ्यो  । जस्तै– प्रकाश थापा, तुलसी घिमिरे । त्यही भएर भारतीय फर्म्याटमै चलचित्र बन्थे । कति निर्देशकले त मलाई किन चाहियो स्क्रिप्ट ? फलानो हिन्दी चलचित्र जस्तै बनाउने हो, त्यही चलचित्र हिरोको जस्तै रोल हो तपाईंको, त्यही चलचित्र हेरे भइगयो नि भन्नुहुन्थ्यो । 
अहिले थिएटरबाट आउने साथीहरुको बाहुल्य छ । उहाँहरुले मौलिक चलचित्रमा अभिनय गरिरहनु भएको छ । योचाहिँ नेपाली चलचित्र हो भनेर गौरव गर्ने खालका चलचित्र पनि बन्न थालेका छन् । रामबाबु गुरुङ, दीपेन्द्र के खनालले मौलिक कथामा चलचित्र बनाइरहनु भएको छ । 

\"\"पहिलाको अभिनयमा नाटक गर्नुपथ्र्यो, अहिले रियालिष्टक अभिनय हुन्छ भनिन्छ, हो ?
अभिनय गर्न अहिले धेरै सजिलो छ । पहिला रि–टेक माग्नलाई डाइरेक्टरसँग अनुनय–विनय गर्नुपथ्र्यो । तर, भइगयो नि चल्छ यत्तिकोले भन्थे । जति रिल खर्च भयो, चलचित्रको लगानी त्यति नै बढ्थ्यो तर अहिले डिजिटलमा आएपछि जति टेक लिए पनि केही फरक पर्दैन । 
पहिला थिएटरमा दर्शक र कलाकारबीचको दूरी टाढा हुन्थ्यो । पिन माइक्रोफोन थिएन । दर्शक पछाडिबाट सुनिएन भनेर कराउँथे । कथा र परिवेश एकातिर हुन्थ्यो, माइक्रोफोन कहाँ झुण्डाएको छ भनेर कराउँदै हिँड्नुपथ्यो । अहिले नयाँ–नयाँ थिएटर बने, क्लोज थिएटर बने, जहाँ दर्शक र कलाकारबीचको दूरी नजिकै हुन्छ । लाउड एक्टिङ गर्नै पदैन । आरोहणबाट हामीले नै यो शुरु गरेका हौं । क्लोज थिएटरबाट निस्किएका कलाकारकै चलचित्रमा अहिले बाहुल्य छ । 

९८ प्रतिशत चलचित्रको लगानी डुबिरहेका बेला राम्रा चलचित्र बनाउने केही उपाय छ ?
यसमा हामी मेकरहरु नै अलि गम्भीर हुनुपर्ने जरुरी देख्छु । चलचित्र विकास बोर्डको पनि केही हात छ तर म सरकारको मुख ताकेर मात्रै हुँदैन भन्छु । सरकारले चलचित्रको प्रबद्र्धनमा केही भूमिका खेलिदिए मात्रै पुग्छ । राम्रो चलचित्र बनाउने त हामी आफैँले हो । 
यस्तो खालको चलचित्र बनाउने भनेर स्क्रिप्टदेखि नै सेन्सर गरिदिनुपर्छ । यहाँ स्क्रिप्ट कसैले पढ्दैन । दर्ता गर्ने काममात्रै हुन्छ । स्क्रिप्ट हेरेर सेन्सर गरिदिए मात्रै पनि चलचित्र निर्माणमा आएको बाढी नियन्त्रण हुने थियो । 

आजकाल कलाकारले चलचित्र निर्माण र निर्देशन गर्ने ह्विम नै छ । तपाईं निर्देशनमा आउने कहिले हो ?
म तत्काल निर्देशनमा आउँदिन । निर्देशन निकै गाह्रो काम हो । मैले निकै पहिला एउटा भिडियो फिल्म निर्देशन गरेको थिएँ । त्यो बेला म कलाकारलाई यसरी एक्टिङ गर भनेर सिकाउन थालेँ, वास्तवमा सेटमा एक्टिङ सिकाउँदै हिँड्ने काम निर्देशकको होइन । मैले सिकाएको हुँदा हरेक कलाकारको एक्टिङ सरोज खनालको जस्तो देखियो पर्दामा । 

तस्बिर : सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC