काठमाडौं । २०१८ को अप्रिल ७ का दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, “नेपालको विकासमा भारतको भागिदारीको धेरै लामो इतिहास छ । मैले प्रधानमन्त्री ओलीजीलाई भरोसा दिलाएको छु कि नेपालको आर्थिक विकास र समृद्धिको प्रयासमा भारतले पुरै सहयोग गरिरहन्छ । यो सहयोग भविश्यमा पनि नेपाल सरकारद्वारा निर्धारित प्राथमिकताहरु र आवश्यकतामा आधारित हुनेछ । सहयोगप्रति हाम्रो प्रतिवद्धताको एक महत्वपूर्ण परिणाम ‘इन ल्याण्ड वाटर ब्रिज’मा सहयोगको निर्णय हो । हाम्रो सहयोगबाट नेपाललाई समुद्रसम्म अतिरिक्त कनेक्टिभिटी मिल्नेछ । र, सगरमाथाको देश सागरसँग सीधा जोडिनेछ । म मान्दछु कि यो एउटा ऐतिहासिक सुरुवात हो । नेपाल ल्याण्ड लक होइन, वाटर लिंक पनि हुनेछ ।”
मोदीको यो कुरा सुनेका धेरैलाई उनको भनाइले एकातिर उत्साहित बनायो भने केहीले ‘हावादारी गफ’ समेत भन्न भ्याए । तर, भारतमा भने प्रधानमन्त्री मोदीले सोमबार आफ्नो निर्वाचन क्षेत्र वाराणसीमा पहिलो मल्टि मोडल टर्मिनलको गंगा नदीमा उद्घाटन गरे र कोलाकाताबाट आएको कार्गो बोकेको पानी जहाज रबीन्द्रनाथ टैगोरको पहिलो खेपलाई स्वागत गरेका छन् । पहिलो खेपमा खाद्यान्न र वेभरेजहरु कोलकाताबाट ल्याइएको थियो । ती सामग्रीसहितको पानी जहाज यही कात्तिक १३ गते कोलकाताबाट हिँडेको थियो ।
छत्तीसगढमा सोमबार मात्रै विधानसभाका लागि मतदान भएको सन्दर्भमा वाराणसीमा आयोजित मोदीको कार्यक्रम आगामी निर्वाचनसम्मका लागि जनतालाई वर्तमान सरकारप्रति उत्साहित पार्ने मेलो पनि हो । विधानसभाको निर्वाचन आगामी डिसेम्बर ७ सम्म हुनेछ भने त्यसपछि मे २०१९मा संसदीय निर्वाचन हुनेछ ।
यद्यपि, सोमबार वाराणसीमा उद्घाटन गरिएको परियोजना दीर्घकालीन हिसाबले आधुनिक जल यातायातलाई अघि बढाउने उनको लामो फड्को पनि हो ।
मोदी सोमबारको कार्यक्रममा साथमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघीय यातायात मन्त्री नितिन गडकरी, भारतीय जनता पार्टीका राज्य तहका अध्यक्ष महेन्द्रनाथ पाण्डेलाई पनि लिएर गएका थिए । सोमबार मोदीले उद्घाटन गरेको उक्त परियोजना भारतको जलमार्ग योजना अन्तर्गत विश्व बैंकको सहयोगमा बनेको चार मध्येको पहिलो मल्टि मोडल टर्मिनल हो । ५ हजार ३ सय ६९ दशमलब १८करोड रुपैयाँ परियोजनाको लागत रहेको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री मोदीलाई उत्तरप्रदेशको वाराणसी र पश्चिम बंगालको हल्दियासम्मको जलयात्राको बारेमा जानकारी पनि गराइएको थियो ।
भारतको केन्द्रीय जल मार्ग विकास परियोजनाको वक्तव्यमा वाराणसीबाट हल्दियाको यात्रामा १ हजार ५ सय देखि २ हजार टन सामान ल्याउन सम्भव हुन्छ । यसको लक्ष्य भनेको कार्गोको परिवहनका लागि सस्तो र वातावरणमैत्री यात्राको प्रवर्द्धन गर्ने भन्ने नै हो । यो परियोजनामा वाराणसी, साहीबगन्ज र हल्दियासमेत तीनवटा मल्टि मोडल टर्मिनल बनाउने लक्ष्य रहेको छ ।
नेपालका प्रधानमन्त्री ओलीको भारत भ्रमणकै क्रममा जारी गरिएको बाह्रबुँदे संयुक्त वक्तव्यको ९ नम्बर बुँदामा इनल्याण्ड वाटरवेजमार्फत् कनेक्टिभिटीका क्षेत्रमा सहयोगको चर्चा गरिएको छ । सन् २०१६को जुनदेखि बनारसमा मल्टी मोडल टर्मिनल निर्माण सुरु भएको थियो । यो टर्मिनलको प्रयोगबाट वार्षिक १२ लाख ६० हजार टन सामान ढुवानी गर्न सकिनेछ ।
मोदीले यसअघि भने झैं आउँदो मे महिनाबाट सञ्चालनमा आउन सक्ने साहिबगञ्जकोे मल्टी मोडल टर्मिनल प्रयोग गरेर सगरमाथाको देश नेपालसँग समुद्र जोड्ने सपना साकार हुन सक्नेछ ।
तर, कहिले ?
नेपाली विज्ञहरुका अनुसार साहिबगन्ज नेपालको सीमाबाट करिब डेढ सय किमीको दूरीमा रहेकोले त्यहाँसम्म नेपालको सामान ल्याउने र त्यसपछि ट्रकमा हालेर ओसार्न सकिनेछ । नेपाल भारत वाणिज्य तथा पारवहन सन्धीमा जलमार्गको कुरा उल्लेख नभएकोले त्यसलाई संशोधन गर्नुपर्ने नेपाली विज्ञहरुको भनाइ रहेको छ ।
नेपालमा यसको कनेक्टिभिटी सहज गर्नका लागि अहिले दुवै देशका अन्तरसरकारी समूहमा आवद्ध विज्ञहरुले केही चरणमा छलफल समेत गरिसकेको नेपाली अधिकारीहरुले जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमण लगत्तैपनि नेपाल र भारतका सरकारी निकायबीच दुई देशबीचको वाणिज्य तथा पारवहन सन्धी अन्तर्गत रहेर इन्ल्याण्ड वाटरवेज फ्रेमवर्क बनाउने बारेमा छलफल भएको थियो ।
यस मामिलामा नेपाल सरकारले जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्बासेको संयोजत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि सम्बन्धित समितिलेपनि निरन्तर अध्ययन गरिरहेको पाइएको छ ।
यो प्रक्रिया अघि बढेमा सामान ढुवानीको हिसाबले नेपालई सहज र कम खर्चिलो हुनेछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीका अनुसार नेपाल —भारत अन्तरसरकारी समिति (आइजीसी) को बैठकमा वाणिज्य तथा पारवहन सन्धी अन्तर्गत रहेर वाटरवेज कसरी अघि बढाउन सकिन्छ भन्ने बारेमा छलफल भएको छ । विश्वबैंकको सहयोगमा भारतले पहिलो पटक मोडर्न इन्ल्याण्ड वाटर ट्रान्सपोर्ट परियोजना अघि बढाएको हो । नेपालका नदीहरु कोशी र नारायणी गंगासँग जोडिन्छन् । ती नदीहरु मार्फत पानी जहाजको सम्भावनाका बारेमा समेत अध्ययन भइरहेको अधिकारीहरुको कथन रहेको छ । आगामी जनवरीमा अध्ययन टोली स्थलगत अध्ययनमै जाने बताइएको छ ।
मोदीको सेमिफाइनल
सन् २०१४ मा प्रधानमन्त्री भएका भारतीय प्रधानमन्त्री अर्को पटक प्रधानमन्त्री हुन्छन् कि हुन्नन् भन्ने कुरा अहिले त्यहाँ जारी रहेको विधान सभा निर्वाचनको परिणामले निर्धारित गर्नेछ । आउँदो डिसेम्बर ११ पछि त्यसको परिणाम आउने अपेक्षा गरिएको छ ।
त्यसैले विधानसभा निर्वाचनलाई मोदीको सेमिफाइनल गेमका रुपमा समेत भारतीयहरुले नै व्याख्या गरिरहेका छन् । विधानसभामा जस्तो परिणाम आउँछ त्यसले नै आगामी संसदीय निर्वाचनको तस्बीर बोल्नेछ । अर्थात् मे २०१९मा हुने संसदीय निर्वाचनको केही संकेत त्यसमा मिल्नेछ । उनको आन्तरिक राजनीतिले जे जस्तो रुप लिएपनि पानीजहाज प्रसंगलाई तीब्र गतिमा अघि बढाइएमा दुई देशको सम्बन्धलाई थप उचाइमा पु¥याउन मद्दत गर्नेछ ।