काठमाडौं । इन्टरनेसनल एड ट्रान्स्परेन्सी इनिसिएटिभको प्राविधिक सल्लाहकार समूहको वार्षिक बैठक काठमाडौंमा सुरु भएको छ । वार्षिक बैठक अर्थमन्त्री डा. युराज खतिवडाले मंगलबार उद्घाटन गरेका हुन् ।
बैठक ३ दिनसम्म चल्नेछ । बैठकमा संसारभरका विकास साझेदार, नागरिक समाज तथा सञ्चारकर्मी गरी १ सय ५० जना प्रतिनिधिको सहभागिता रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
बैठक उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले वैदेशिक सहायता आन्तरिक स्रोत परिचालनको परिपूरक हुनुपर्ने बताए । उनले वैदेशिक सहायता आन्तरिक स्रोतको क्षमता अभिवृद्धि गर्ने माध्यम हनुपर्नेमा जोड दिए । यसो गरे वैदेशिक सहायतामाथिको परनिर्भरता विस्तारै कम हुने उनले बताए ।
सन् २००८ मा स्थापना भएको संस्थाले पारदर्शिता उन्मुख विकास कार्यक्रम जोड दिने गरेको छ । संस्थाको प्राविधिक सल्लाहकार समूहले संस्थाको तथ्यांक प्रकाशन तथा प्रयोगमा सुझाव दिने गरेको छ ।