काठमाडौं । महिला फुटबलको ओलम्पिक छनोटमा ऐतिहासिक सफलता हासिल गरेको नेपाली टोली बिहीबार दिउँसो स्वदेश फर्किने भएको छ । मुख्य प्रशिक्षक हरि खड्का र कप्तान निरु थापा नेतृत्वमा रहेको नेपाली महिला टोलीले मंगलबार समूहको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेले पनि ओलम्पिकको एसियाली छनोटअन्तर्गत पहिलो चरणको खुट्किलो पार गरेको थियो ।
त्यसअघि पहिलो दुई खेलमा भारत र म्यानमारसँग पनि १–१ कै बराबरी नतिजा निकालेको नेपाल अपराजित रहँदै समूह ‘सी’ बाट तेस्रो हुनाका बावजुद दोस्रो चरणलाई छानिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी गराएअनुसार नेपाली महिला टोली बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ ।
अर्को महिना हुने महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले ओलम्पिक छनोटका लागि म्यानमार पुग्नुअघि एक साता चीनमा अभ्यास भ्रमण गरेको थियो । चीनको अभ्यास भ्रमणमा नेपालले त्यहाँका स्थानीय टिमसँग तीन मैत्रीपूर्ण खेल खेलेको थियो ।