site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

निर्मला हत्याकाण्ड नेपाल प्रहरीको बदनियत, गैरजिम्मेवारी, दमन र लाचारीको उदाहरण बन्नपुगेको छ । बालिका छोरीको बलात्कारपछि हत्या हुँदा पनि न्याय नपाएर धर्नामा बस्नु विवश बाबुको पीडा शब्दमा वर्णन हुनै हुनसक्तैन । आजभन्दा १ सय १३ दिन पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबाबु भने अहिले त्यही अकल्पनीय पीडा सहँदै छन् । उनीहरू न्यायको खोजीमा राजधानी आए र प्रधानमन्त्रीसमेतलाई भेटे । तर, आश्वासनबाहेक अरू केही पाएनन् । निर्मलाको हत्यारा पत्ता लगाउन दबाब दिने नागरिक समाज पनि सेलाउँदै गएको छ । यसबीच प्रहरीको अनुसन्धान जारी नै छ । कतै यो प्रहरी अनुसन्धान टुंगिन प्रधानमन्त्री केपी ओलीले भनेजस्तै १२ वर्ष लाग्ने पो हो कि ? पञ्चायत कालको नमिता सुमिता हत्या काण्डजस्तै अपराधीले कहिल्यै सजाय नपाउने पो हो कि ?

कञ्चनपुर जिल्ला कार्यालय अगाडि धर्ना बसेका निर्मलाका बाबुले अपराधी पत्ता नलगाइए अनशन बस्ने चेतावनी दिएका छन् । सरकारले उनलाई निर्मलाको हत्यारा खोज्न प्रहरी प्रयत्नरत रहेको विश्वास दिलाउन खोजेको देखिँदैन । निर्मलाको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले भने सुरुदेखि नै घटना दबाउने, प्रमाण नष्ट गर्ने र उल्टै निर्मलाका आमाबाबुलाई धम्क्याउने गरिरह्यो । निर्दोष व्यक्तिलाई यातना दिएर अपराध कबुल गरेको प्रचारवाजी पनि प्रहरीले गरेको थियो । बढी नै आलोचना भएपछि जनआक्रोश मत्थर पार्न सरकारले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख र अर्का एक जना प्रहरी अधिकृतलाई बर्खास्त पनि गर्यो । तर, प्रहरीको अनुसन्धान धेरै शंका गरिएकाहरूप्रति लक्षित भएन । यसैले सरकारको नियतमै शंका उत्पन्न भएको हो – सरकार साँच्चै नै निर्मलाका बलात्कारी र हत्यारा पत्ता लगाउन चाहन्छ त ?

प्रहरीले अनुसन्धानको घेरा फराकिलो बनाएको र स्थानीय बासिन्दाका साथै निर्मलाका केही आफन्त पनि शंकाको घेरामा रहेको प्रचार गराएको छ । यस प्रकरणमा सुरुदेखिकै क्रियाकलाप हेर्दा प्रहरीको विश्वास भने गर्न सकिने अवस्था छैन । निर्मलाको बलात्कार र हत्याको घटनामा प्रहरी वा सत्तारुढ दलका कुनै प्रभावशाली व्यक्तिको संलग्नता भएको सन्देह सुरुदेखि नै भएको हो । त्यस्तो प्रभावशाली व्यक्तिलाई जोगाउनकै लागि प्रहरीले प्रमाण नष्ट गर्ने र न्याय माग्नेलाई दमन गरेको बलियो जनविश्वास छ । निर्मलाका आमाबाबुले पनि प्रहरीले अनुसन्धानका नाममा अलमल्याएको आरोप लगाएका छन् । सरकारका उच्च अधिकारीहरूको नियतमा खोट छैन र कसैलाई जोगाउनैका लागि अनुसन्धानको नाटक गरिएको हैन भने धर्नामा बसेका निर्मलाका बाबुलगायतलाई विश्वास दिलाउन तत्काल वार्ता गर्नुपर्छ । साथै, निर्मला हत्याकाण्डको अनुसन्धान प्रहरीबाट सम्भव नदेखिएकाले अधिकार सम्पन्न न्यायिक आयोग गठन गरेर जिम्मा लगाउनु सबैभन्दा सही र विवादरहित उपाय हुनसक्छ । त्यसका लागि तयार भएमा सरकारको नियतमा शंका हुनेछैन ।        

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC