उचाइमा पुर्‍याएको यही गीतले मलाई मृत्युको मुखमा पुर्‍यायो 

कालीप्रसाद रिजाल–वरिष्ठ गीतकार

उचाइमा पुर्‍याएको यही गीतले मलाई मृत्युको मुखमा पुर्‍यायो 

बनारसबाट अर्थशास्त्रमा एमए सक्याएर विराटनगर फर्किएका कवि तथा गीतकार कालीप्रसाद रिजाल (७८), काठमाडौं गएर कानुनमा स्नातक गर्ने विचारमा थिए । तर काठमाडौं पठाउने सोचमा उनका पिताजी थिएनन् ।  

त्यसैबेला विराटनगर गोश्वारा कार्यालयमा उनले एउटा सूचना देखे । काठमाडौंमा राष्ट्रव्यापी साहित्य सम्मेलन हुँदैरहेछ । त्यसका लागि साहित्यकार चाहिने रहेछ । उनी आफ्नो पहिलो कविता संग्रह ‘ज्वारभाटा’ लिएर अञ्चलाधीशको कार्यालय पुगे । त्यसबेला काशिराज उपाध्याय अञ्चलाधीश थिए । उनले आफ्नो कृति दिँदै भेट गर्न आएको बताए । 

अञ्चलाधीशले पनि उनका केही कविता पढेर राम्रो लेख्नु हुँदोरहेछ भने । अनि उनैले काठमाडौंमा साहित्य सम्मेलन भइरहेको जनाउ दिँदै काठमाडौं जान भने । उनी यही नै चाहन्थे । केही दिन भित्रै उनी काठमाडौं उत्रिए, २०२० सालमा । 

मंगलबार कवि तथा गीतकार कालीप्रसाद रिजालसंग उनको चावहिल महाँकालस्थित निवासमा कुरा गर्दा उनी भन्दै थिए, ‘म कडा कविता वा विद्रोही चेतको कविता धेरै लेख्थेँ । कडाकडा व्यँग्य कविता पनि लेख्थेँ । मैले त्यसबेला राष्ट्रिय साहित्य सम्मेलनको व्यवस्थापन फितलो देखेपछि व्यापक विरोध गरेँ । यसले मलाई सिनेमाको हिरो जस्तै बनायो ।’

उनले सम्मेलन व्यवस्थापनको विरोध मात्रै गरेनन्, कडा कार्यपत्र पनि लेखे । कार्यपत्रमा उनले लेखकहरुले नुनको सोझो गर्नुपर्ने ? अञ्चलाधीशले साहित्यकार छानेर पठाउनु पर्ने ? विषयलाई लिएर कडा आलोचना गरेका थिए । यसले उनलाई चर्चामा ल्यायो । 
सम्मेलन समापनको दिन साँझ नाचघरमा सम्पन्न कविता गोष्ठीमा ‘ज्वारभाटा’ बाटै उनले एउटा कविता सुनाए । कविता एउटी बाल विधवाको विषय माथी लेखिएको थियो । उनको कवितामा राजा महेन्द्र र रानी रत्नले पनि खुबै ताली पिटे । उनलाई त्यसबेलाका मन्त्रीहरुले बधाई पनि दिए ।

उनी आफ्नो काकाको डेरामा बस्न गएका थिए । भोलीपल्ट उनलाई साहित्य सम्मेलनको कार्यालय जाउँजाउँ लाग्यो । उनी लागे नयाँसडक तिर । ऋषिकेश शाह अध्यक्ष र कृष्णचन्द्रसिंह प्रधान सदस्य सचिव थिए, सो साहित्य सम्मेलनको । 

उनलाई सम्मेलनको कार्यालयमा देख्नासाथ ‘कहाँ हराएको’ भनेर प्रश्न गरियो । अनि भनियो, ‘तपाईको कविता पुरस्कृत भएको छ । दरबारलाई कविताको कपि चाहियो ।’ उनले आफूसित भएको ज्वारभाटाको एक प्रति पुस्तक नै चिनो लगाएर दरबारमा पठाए ।

त्यो क्षण सम्झिए कालीप्रसादले । उनी भन्दैथिए, ‘त्यहाँँका आयोजकहरुले मलाई ‘तपार्इं त गालपारा मानिस पो हुनुहुँदो रहेछ’ भनेर गाली गरे । पछि सिंहदरबारमा आयोजित रात्रीभोजमा पनि पुगेँ । सामान्य पहिरनमा बिना टोपी पुगेको मलाई उनीहरुले ‘टोपी लगाएर आउनु पर्दैन ?’ भनेर गाली गर्दै तपाईं त साँच्चिकै गालपारा मानिस भन्दै थिए ।’ 

यो सम्मेलनमा रिजालले पनि एकेडेमी पदक पाए । यसैबेला उनले पहिलो पटक सिंहदरबार छिरेर हेर्ने मौका पाएका थिए । राजासंगको रात्री भोजमा सम्मिलित पनि भए । राजासंग तपाईँका तपाईँ लगाएर कुरा पनि गरे । उनलाई बक्स्योस भन्न नआएकोले उनले तपाईं नै सम्वोधन गरेका थिए । 

त्यसैबेला उनलाई सरकारी जागिरको प्रस्ताव आयो । प्रधानमन्त्री तुलसी गिरीबाट यो प्रस्ताव आएको उनी बताउँदै थिए । तर  जागिर प्रतिको उत्साह वा मोह नभएकोले उनले जागिर खान्न भनिदिए । उनले प्रधानमन्त्रीको आग्रहलाई पनि वास्ता गरेनन् । 

०००

उनका पुर्खा धनकुटाको सिबुवाबाट धरान झरेका हुन् । परिवारको वृद्धिसंगै जग्गा जमिन बाँडिदै गएपछि उनका पिताजी खेतीपाती गर्न धरान झरे । त्यसबेला जंगल फाँडेर आवाद गरेपछि त्यो जग्गा आवाद गर्नेको नाउँमा दर्ता हुन्थ्यो । यसरी जंगल फाँडेर, उनका हजुरबुबा र पिताजी खेतीपातीमा लागे । कारोबार स्थल बन्यो मोरंगको रंगेली ।

उनका माता पिता विराटनगरमा गएर बस्न थाले । विराटनगरमा स्कुल खुलीसकेको थियो । केटाकेटीको पढाई पनि प्राथमिकतामा थियो । त्यस पछि खेतमा भएका उब्जनीहरुको व्यापार पनि महत्वपूर्ण काम थियो । किनभने आम्दानीको मूल स्रोत नै यहि थियो । उनका हजुरबुबा हजुरआमा धरानमै थिए । 

पछि उनी पनि धरानै गएर पढ्न थाले । यसपछि भने उनी आफ्ना मातापितासंग बहुत कम बसे । हजुरबुबा हजुरआमासँग धेरै बसे । तथापि उनको बाल्यकाल कहिले विराटनगर त कहिले धरान गर्दै बित्यो । अन्ततः उनले २०१३ सालमा धरानको पब्लिक स्कूलबाट प्राइभेटरुपमा एसएलसी दिएर पास गरे । 

एसएलसी पास भएपछि उनले काठमाडौं जाने मनस्थिति बनाए । जबकी घरमा पिताजीका इच्छा उनले बनारस गएर साइन्स पढिदिए हुन्थ्यो भन्ने थियो । उनी डाक्टर र इन्जिनियर भइदिए हुन्थ्यो भन्ने चाहना थियो होला, अभिभावकको । तथापि उनको चाहना त्यो भएन । उनले बनारस जाने मन गरेनन् । उनको गन्तव्य थियो, काठमाडौं । यसको एकमात्रै कारण थियो, उनमा रहेको साहित्यप्रतिको लगाव, जुन उनकी आमाले उनीमा भरिदिएकी थिइन् ।

कालीप्रसाद रिजाल भन्छन्, ‘ममा साहित्यिक चेत मेरी आमाले भरिदिनुभएको हो । तेह्रथुम पोक्लावाङकी उहाँ साक्षर हुुनुहुन्थ्यो । शिक्षा त के लिनु भएको थियो र, तर घरमै बसेर संस्कृतका श्लोकहरु पढ्न जान्नु भएको थियो । पढाईप्रतिको रुची उहाँमा अत्यधिक थियो । मेरा काकाहरुलाई घरमै शिक्षकले पढाउँदा उहाँ  सुनिरहनु हुन्थ्यो । अरुलाई दिइएको शिक्षा मनन् गर्नुहुन्थ्यो । ग्रहण गर्नुहुन्थ्यो ।’

उनका अनुसार कवि रिजालकी माताले नेपाली पद्य संग्रह, नेपाली गद्य संग्रह, विभिन्न कविहरुका कविताका पुस्तकहरु फेला परेसम्म पढ्नु हुन्थ्यो । उनी बेलाबेलामा धरानबाट विराटनगर पुग्दा उनकी आमाले तिनै साहित्यिक कृतिबाट विभिन्न श्लोकहरु सुनाउँथिन् ।

कालीप्रसादलाई उनले कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र नाट्य सम्राट बालकृष्ण समका कविताहरु सुनाएर उनको मनमा काव्य बिजको अंकुरण गरिदिएकी थिइन् । यसैको प्रतिफल थियो, एसएलसी पछिको काठमाडौं तिरको यात्रा । 
उनी भन्छन्, ‘यसकै प्रभावले म सानै उमेरमा गीत लेखेर गाउन थालेँ । मेरो प्रशंसा पनि हुन्थ्यो । चर्चा पनि हुन्थ्यो । बेलाबेलामा पुरस्कार पनि पाउँथेँ । आमाले कविताका श्लोकहरु सुनाउँदा बलिन्द्रधारा आँशु झर्थे, मेरा आँखाबाट ।’ 

उनले आमाले भट्याएको एउटा श्लोक सुनाए, 
अब सुत्दा तिमीलाई म भित्ता तिर राख्दछु 
बस्दा यो काखमा राखी हरिनाम सुनाउँछु 
बेला वसन्तको पर्ख जिन्दगीको हठी बनी 
सहु बाबु सहनै नसके पनि ।

आमाले सुनाएका श्लोकहरुले उनलाई भित्रसम्म छुन्थ्यो । सायद त्यसैले पनि उनी कविता सुनेर रुन्थे । त्यसैले उनको मनमा काठमाडौं पुगेर ती महान कवि तथा साहित्यकारहरुसित भेट्ने उत्कट इच्छा जाग्दै गयो ।

जब उनलाई बनारस जान भनियो, उनले घरमा हंगामा मच्चाए । उनी भन्छन्, ‘हाम्रो लागि काठमाडौं टाढा थियो । बनारस नजिक थियो । जोगबनीमा रेल चढेपछि सिधै बनारस पुगिन्थ्यो । काठमाडौं पुग्न गाह्रो थियो । त्यसैले त्यसबेला बनारस नै जान्थे पढ्नलाई । तर मलाई त काठमाडौं जानु थियो ।’

उनलाई काठमाडौं नपठाउन अनेक गरियो । जाडो छ भनियो, अप्ठेरो छ भनियो । तर उनी एकोहोरिएका थिए, काठमाडौं नै जानका लागि । यसै कारण उनले अडान लिए । उनको बनारस नजाने अड्डीले काम पनि ग¥यो । 
भरखरै उडान सुरुभएको डेकोटा विमान चढेर उनी २०१३ सालमा विराटनगरबाट काठमाडौं ओर्लिए ।

०००

काठमाडौं ओर्लदा उनलाई लिन उनका काका एयरपोर्टमा पुगे । काकाको डेरा नक्सालमा थियो । उनी सरकारी सेवामा सुब्बा थिए । 

काठमाडौं आउनु पूर्व कालीप्रसाद रिजाललाई लाग्थ्यो, मुनामदन लेख्ने कवि कस्ता होलान् ? भक्त धु्रव लेख्ने सम कस्ता होलान् ? कवि शिरोमणी लेखनाथ कस्तो देखिँदा होलान् ? यस्ता कवि लेखक साहित्यकारहरुप्रति उनको अपार उत्सुकता थियो । काठमाडौं ओर्लिँदा उनी आल्हादित नै भए । 

काठमाडौं ओर्लिएको भोलिपल्टै अपरिचित काठमाडौंमा काकाको साइकल बोकेर उनी देवकोटा, सम र लेखनाथलाई भेट्न हिँडे । तर सबैको घर बसोबास टाढा भएकोले सोध्दै खोज्दै उनी ज्ञानेश्वर पुगे, बालकृष्ण समलाई भेट्न । बालकृष्ण समको घरको ढोकामा आफू विराटनगरदेखि भेट्न आएको बताएपछि भोलिपल्ट बिहान आउन भनियो । उनमा खुशीको सीमा रहेन । 

अब उनले आफू आएको बाटो बिर्सिए । काकाको डेरा नक्सालसम्म जाने बाटो पहिल्याउन गाह्रो भयो । उनी घरमा कसैलाई नभनेर हिँडेका थिए । तरपनि काका चारखालमा काम गर्छन् भन्ने थाहा भएकोले उनी सोध्दै चारखाल पुगे । काकासँग भेटे । यथार्थ बताए । काकाले एकजना सहयोगीको साथ लगाएर उनलाई डेरा पठाउने व्यवस्था गरिदिए । 

त्यसपछि सुरु भयो काठमाडौंमा साहित्यकारहरुसँग भेटघाटको शृंखला । त्यसपछि रिजालले लेखनाथ पौडेल, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथितहरुसित भेट गरे । बालकृष्ण समसँग पछिसम्मै उनको राम्रो र नजिकको सम्वन्ध रहेको उनी बताउँदै थिए । 
एकदिन उनका दाइ चिरञ्जीवी रिजालले महाकवि देवकोटाको घरमा लिएर गए । उनीसंग परिचय गराए । विराटनगरदेखि भेट्न आएको बताए । र, महाकविलाई आफ्नो कविताहरु पनि सुनाए ।  

रिजालले सम्झिए त्यो क्षण । भने, ‘त्यसबेलासम्म देवकोटा बिरामी भइसक्नु भएको थियो । झोल खानेकुरा मात्रै खानु हुन्थ्यो । खासै बोल्नु हुन्थेन । उहाँलाई मैले मेरा अभ्यास पुस्तिकामा लेखिएका सबै कविता सुनाएँ । उहाँले मेरो शीरमा हात राखेर आशीष दिनु भयो । महाकविको हातको त्यो स्पर्श मलाई आजपनि अनुभूत हुन्छ ।’

०००

बामपन्थी विचारबाट प्रभावित, विद्रोही चेतनाका कवि तथा गीतकार रिजाल अंग्रेजी साहित्य पढ्न चाहन्थे । तर पारिवारिक इच्छा बढी हावी भएकोले साइन्स पढ्ने तयारी भयो  । तर, टेष्ट लिँदा उनले साइन्स पढ्न नसक्ने कुरा प्रिन्सिपलले बताएपछि भरखरै थालिएको कमर्श कक्षामा उनी भर्ना भए । र, त्रिचन्द्रबाटै बीकम पास गरे । 

कमर्शको पढाई सुरु भइसकेको थियो । साथै उनको साहित्यप्रतिको रुची र उत्साहमा कुनै कमि आएको थिएन । उनी कविता गोष्ठीहरुमा सहभागी हुन्थे र आफ्नो कविता सुनाउँथे । एक पटक त्रिचन्द्र कलेजले अन्तर कलेज कविता प्रतियोगिता गर्ने भयो । उनले पनि सूचना पाए । उनले एउटा गद्य कविता लेखेर दिए । उनको यो पहिलो गद्य कविता थियो । यस अगाडि आफूले गीति कविता धेरै लेख्ने गरेको बताउँदै थिए । 

अन्तर कलेज प्रतियोगितामा सहभागी यो कविताको  शीर्षक थियो ‘मायाको प्रदेश’ । कवितामा प्रथम पुरस्कार उनैले पाए । अनि राजा महेन्द्रको हातबाट प्रमाणपत्र र तक्मा पनि पाए ।  त्यसपछि उनको चर्चा चुलियो । त्यसबेलाका साहित्यिक पत्रिकाहरुले उनको कविता छाप्न थाले । यसरी उनलाई उनको कविताले शिखर चढाउँदै गयो । 

उनी भन्छन्, ‘पहिले पहिले गीत वा कविता लेख्दा सामान्यरुपमा नै गीति कविता वा गीत लेख्थेँ । तर काठमाडौंको कवि गोष्ठीले मलाई धेरै कुरा सिकायो । मैले पनि गम्भीर भावका कविताहरु लेख्न सुरु गरेँ ।’

उनी बीकम पास भएपछि इकोनोमिक्समा एमए गर्न भर्ना भए, त्रिविविमा । साथै कानुनको क्लासमा पनि भर्ना भए । काठमाडौंमा एक्लै बस्न थाले । तर उनको खानपान नमिलेर उनी नराम्ररी बिरामी परे । एक वर्ष उनको पढाई छुट्यो । उनी विराटनगर फर्किए । र त्यहाँबाट बनारस पुगे, उपचार र पढाई दुबै कामका लागि । बनारसमा उनको उपचार पनि भयो र त्यहीँ नै विडला होस्टलमा बसेर एमए पढ्न सुरु गरे । 

बनारसमै हुँदा उनको परिचय कवि तथा साहित्यकार बासु शशीसंग भयो । उनी शब्दकोषको कामका लागि बनारस पुगेका थिए । बासु शशीसंगको भेटपछि बनारसमा पनि उनको लेखनले गति लियो । बासु शशी कालीप्रसादलाई बोलाइरहन्थे । उनी पनि गइरहन्थे । लेखिरहन्थे । त्यसैबेला उनको पहिलो कविता संग्रह प्रकाशित भयो, ‘ज्वारभाटा’ ।  

०००

साहित्य सम्मेलनका लागि काठमाडौं पुगेका उनी केही काम गरेर कानुन पढ्ने विचार बनाउँदै थिए । तर विराटनगरबाट उनको पिताजीको आवा (आकाशवाणी) आयो, ‘तु आउनु’ भनेर । उनी विराटनगर फर्किए । त्यसैबेला उनलाई धनकुटाको डिग्री कलेजमा प्रिन्सिपल भइदिने प्रस्ताव आयो । उनले पिताजी मार्फत गरिएको आग्रहलाई नाई भन्न सकेनन् । र हिँडेरै पुगे धनकुटा । जहाँ उनले दुई वर्ष प्राध्यापन गरे । कलेजलाई व्यवस्थित तुल्याए । कलेजको आर्थिक अवस्थालाई उकासे । उनले पढाउनका लागि भारतबाट समेत केही प्रोफेसर ल्याएका थिए । हेमचन्द्र पोखरेल र उनी आफै पनि पढाउँथे । 

त्यसैबेला क्षेत्रीय भ्रमणमा राजा महेन्द्र धनकुटा पुगेका थिए । एकसाँझ कवि गोष्ठी गरियो, कवि राजाकासाथ । कालीप्रसादलाई पनि बोलाइयो । उनले पनि कविता वाचन गरे ।

तर, सरकारी जागिर खाने सोच नै नभएका कालीप्रसादका सामु सरकारी अधिकारी भइदिन फेरि पनि प्रस्ताव आयो । उनलाई तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले नै भने, राजा उनलाई भूमि सुधार अधिकारी बनाउन चाहन्छन् । 

उनी भन्दै थिए, ‘अर्को दिन प्रधानमन्त्री सूर्यबहादुर थापाले बोलाएर भने, –भूमिसुधार अधिकारीका रुपमा काम गरेर राजालाई सहयोग गर्नुप¥यो । यो राजाले नै दिएको निर्देशन हो ।– मैले सूर्यबहादुरलाई आफूलाई सरकारी सेवामा रुची नभएको बताएँ । थापाले, –त्यसो भए म राजालाई यही सुनाई दिउँ ?– भने ।’ 

त्यस  पछि उनले आफ्ना पिताजीसंग सल्लाह गरे । पिताजीले पनि राजाको कुरा केही दिनलाई मानेरै हेर भनेपछि उनी परिवार सहित धनकुटाबाट फर्किए । यसरी उनी २०२२ सालमा भूमि सुधार अधिकारीमा नियुक्त भए ।

उनको नियुक्ति पाल्पा भएको थियो । त्यहाँ दुई वर्ष काम गरेर उनी काठमाडौं फर्किए । त्यस पछि उनी जिल्ला जान मानेनन् । छोराछोरीको भविष्यका लागिपनि उनले काठमाडौं नै बस्ने अठोट गरे । उनी भन्छन्, ‘तर म भूमिसुधारबाट बाहिर जान पाउँदिन थिएँ  । म डाइरेक्टरसम्म भएँ । पछि मैले खुलाबाट लोकसेवाको जाँच दिएँ । उपसचिव भएँ । त्यस पछि मलाई सूचना विभागमा पदस्थापन गरियो ।’ 

सुरुमै काठमाडौं भित्रिए पछि उनले गीत लेख्न छोडिसकेका थिए । गद्य कवितामै उनी रमाएका थिए । तर, अचानक उनका अगाडि बीस वर्ष पछि गीत लेख्ने प्रस्ताव आयो । प्रस्ताव आएको थियो, बरिष्ठ र लोकप्रिय गायक नारायण गोपालका तर्फबाट । 
सूचना विभागको उनको कार्यकक्षमा एक दिन प्रसिद्ध गायक नारायण गोपाल आए । दुबैबीच परिचय आदानप्रदान भयो । रानीपोखरी वारिपारि कार्यालय (नारायण गोपाल नाचघरमा कार्यरत थिए र सूचना विभाग जामे मस्जीद छेउमा थियो) भएका दुबैबीच हिमचिम मात्रै भएन, घनिष्टता पनि बढ्यो । 

रिजाल भन्छन्, ‘एकदिन नारायणजीले मलाई गीत लेख्नुस् म गाउँछु भन्नु भयो । म छक्क परेँ । मैले आफूले गीत लेखन छोडिसकेको बताएँ । तर उहाँ मान्नु भएन । उहाँले कैयनका गीत मेरै अगाडि च्यातेको मैले देखेको थिएँ । म त्यो अवस्थामा पुग्न चाहन्नथेँ । सायद त्यसैले पनि होला, मलाई पसिनै आयो । मैले म सक्दिन नै भनेँ ।’

तर, नारायण गोपाल पनि हठि स्वभावका थिए । उनले रिजाललाई गीत लेख्न उक्साई रहे । सूचना विभागमा उनलाई फूर्सदनै हुन्थेन् । केही दिनसम्म त उनले गीत लेखेनन् । एउटा शनिबार भने अफिसकै कोठामा बसेर बीस वर्षपछि दुई वटा गीत केही समयको अन्तरालमा लेखे । र, कोटको खल्तीमा राखे ।

केही दिन पछि उदाए नारायण गोपाल ।  गीत लिए । हेरे । र केही नभनेर हिँडे । कालीप्रसादलाई लाग्यो, ‘मेरो र नारायणको सम्वन्ध यत्ति नै रहेछ’ । निकै समय नारायण गोपाल र कालीप्रसादको भेट भएन । 

फेरि एक दिन नारायण झुल्किए, सूचना विभागमा । उनले रिजाललाई चिया खुवाउन भने । र एउटा क्यासेट चक्का दिएर सुन्न भने । बेलुकी घर पुगेर कालीप्रसाद रिजालले क्यासेट सुने । त्यसमा उनले लेखेको दुइवटै गीतको रेकर्ड थियो । एउटा ‘आँखा छोपी नरोउ भनि भन्नु पर्या छ’, र अर्को ‘झरेको पात झैं भयो उजाड मेरो जिन्दगी’ । 

कालीप्रसाद भन्छन्, ‘यीनै दुई गीतले मलाई फेरि उचाईमा पु¥यायो । मेरो गीती यात्रा फेरि सुरु भयो । तर यही उचाईंमा पु¥याएको गीतले मलाई मृत्युको मुखमा पुर्याएको अनुभूत पनि गरायो ।’ 

आँखा छोपी नरोउ भनिको सफलताले सीमा नाघेको थियो । उनको चर्चा सर्वत्र भएको थियो । तर, राजाको चाकडी गर्नेहरुले, राजाभन्दा बढी आफूलाई रोयलिष्ट मान्नेहरुले गीत सत्ताको विरुद्धमा लेखिएको भनेर राजालाई बिन्तीपत्र दिएछन् । राजालाई कालीप्रसादले सरकारी नुन खाएर राजद्रोहको गीत लेख्यो भनेर सुनाएछन् । कालीप्रसादलाई फाँसी दिनुपर्छसम्म पनि भनेका रहेछन् । यो जहर हो, यसले डस्छ पनि भनेर सुनाएछन् । 

पछि राजाले त्यो बिन्तीपत्र तत्कालिन जाँचबुझ समितिमा पठाएछन् । जाँचबुझ समितिले गीत पुरा सुनेर ‘गीतमा फाँसी नै दिनुपर्ने जस्तो खासै कुरा केही नभएको’ जाहेर गरेछन् ।   

उनी भन्छन्, ‘यसै विषयलाई लिएर एकदिन साहित्यकार धुस्वा सायमीले मलाई भने ‘बाजे बाँच्यौ है बाँच्यौ’ । यो गीतले झण्डैझण्डै मृत्युको मुखसम्म पुर्याएको थियो । आज पनि सोच्छु, यदि जाँचबुझका गीत जाँचकी कट्टर परेको भए वा राजा वीरेन्द्र पनि अनुदार परेको भए मेरो के हुन्थ्यो होला ? उनीहरुले त मलाई साहित्यिक सहीद नै बनाउन लागेका रहेछन् ।’

आफ्नो  जीवन सधैं ‘कन्ट्रोभर्सी’मा रुमल्लिएको उनी बताउँछन् । यसका लागि उनी आफ्नो कुनै दोष नभएको दावी गर्छन् । सामाजिक सेवा समन्वय परिषदमा निवेदन हालेर जागिर नखाएको उनको भनाई छ । राजारानी सँग निकट रहेर काम गरेपनि आफूमा विद्रोही चेत यथावत रहेको उनी बताउँछन् । 

उनी भन्छन्, ‘विद्रोही चेत मेरो प्रवृत्ति हो । मेरो विचारमा साहित्यकार जहिले पनि सरकारको विरोधी हुन्छ । बरु राजनीतिक दलहरुबीचमा विरोधी विरोधी मिलेर काम गर्ने वातावरण आउला । तर एउटा लेखक कहिल्यै सरकारको समर्थक हुन सक्दैन । साहित्यमा लाग्ने जोसुकै पनि सत्ताको प्रतिपक्ष हुन्छ ।’ 

उनले एकपटक सूचना विभागमा कार्यरत रहँदा नै २०३७ सालको गाइजात्रामा व्यङग्य कविता सुनाएका थिए । त्यो कवितालाई लिएर तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले पुर्जी नै काटेको उनी सुनाउँदै थिए । 

प्रतिकृया दिनुहोस

राजेश खनाल