मानौ दुई जनाका बीचमा नीतिगत विषयमा मतभिन्नता छ । के एक जना सही र अर्को गलत छ भन्न सम्भव होला वा कि तिनीहरूको रुचिमा मात्र भिन्नता होला ? अमिल्दो रुचि छनोट र गल्तीका बीचमा के भिन्नता हुन्छ ?
रुचिले छनोटकर्ताले हासिल गर्न खोजेको उपलब्धिको लक्ष्यको छनोटमा प्रभाव पार्छ । गल्ती भनेको दुनियाँमा कसरी काम हुन्छ भन्ने विषयमा गलत विश्वासमा आधारित छनोट हो । दुर्भाग्य, यो सिकाइको महँगो उपाय हो । यो निष्कर्षहीन पनि हुनसक्छ । कारण, गल्तीका दुष्परिणामहरूको दोष अरू पक्षमा थोपर्ने सम्भावना सधैँ रहन्छ ।
मेक्सिकोका नवनिर्वाचित राष्ट्रपति एन्ड्रेज म्यानुएल लोपेज अर्बाडोर (एम्लो) ले गरेका आफूलगायत उच्चपदस्थ कर्मचारीहरूको तलब प्रतिमहिना बढीमा ५ हजार ७ सय ७ डलरभन्दा हुनेगरी घटाउने निर्णयकै चर्चा गरौँ । गत जुलाईमा गरिएको निर्णयको धेरैले उल्लासपूर्वक स्वागत गरेका थिए । यसले एम्लो वित्तीय मितव्ययिता र आयमा समानताप्रति प्रतिबद्ध रहेको देखायो ।
परन्तु, सुविचारित रुचिजस्तो देखिने कुनै विषय गम्भीर गल्ती सिद्ध हुनसक्छ । दुर्भाग्यवश, एम्लोले केही वर्षपछि मात्र मेक्सिकोमा त्यसबाट हुने हानि कति भयानक हुनेछ भन्ने थाहा पाउनेछन् ।
समानताका लागि बजार मूल्यमा हस्तक्षेप गर्ने कार्य थोमस एक्विनस र अझ एरिस्टोटलकै पालादेखिको मान्यता सम्भवतः अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक नीति हो । सरकारहरूले धेरै मुलुकमा ऊर्जा, वैदेशिक मुद्रा वा ऋणको ब्याजदर कृत्रिमरूपमा कम मूल्य निर्धारण गर्छन् र यसबाट लगानी न्यून हुन्छ भने वस्तुको अभाव पनि हुनेगर्छ । यस प्रकारको दुष्परिणामको स्पष्ट उदाहरण भेनेजुयला हो । के यस अभ्यासको अर्को उदाहरण सार्वजनिक क्षेत्रको पारिश्रमिक पनि हुनसक्ला ?
यसको उत्तर झन् अप्ठेरो छ । सामान्यतः सरकारहरूले आफ्ना कर्मचारीलाई निजी क्षेत्रले भन्दा बढी उदारतापूर्वक पारिश्रमिक दिन्छ । किनभने शिक्षा, स्वास्थ्य सेवा, न्याय, र प्रशासनजस्ता सरकारी सेवाहरूमा औसतभन्दा बढी दक्षता चाहिन्छ । यसैले मेक्सिकोमा सरकारी कर्मचारीले निजी क्षेत्रभन्दा ४ वर्ष बढी शिक्षा पाएका छन् । सीएएफ डेभलपमेन्ट बैंकले गरेको एउटा अध्ययनले गरेको अध्ययनले ल्याटिन अमेरिकामा सार्वजनिक क्षेत्रमा औसत पारिश्रमिक उच्च भएको देखाएको छ । मेक्सिकोमा सन् २०१२ मा सरकारी कर्मचारीको तलब निजी क्षेत्रको भन्दा १३.५ प्रतिशत बढी थियो ।
यही अध्ययनमा सार्वजनिक क्षेत्रको तलब निजी क्षेत्रभन्दा उल्लेख्यरूपमा कम असमान रहेको देखिएको थियो । यसको अर्थ के हो भने मध्यम तहका लागि सार्वजनिक क्षेत्रमा निजी क्षेत्रभन्दा तलब बढी थियो भने माथिल्लो तहका लागि यसको उल्टो व्यवस्था थियो । मेक्सिकोमा भने यस्तो थिएन । त्यहाँ सार्वजनिक क्षेत्रको पारिश्रमिक समान रहे पनि नाकारात्मक थिएन । एम्लो अब महादेशका अरू देशहरूजस्तै हुन चाहन्छन् ।
एम्लोले सुरु गरेका संकुचनयुक्त पारिश्रमिक संरचनाले विशेषगरी उच्च तलब, काम गर्ने समय कम, पेन्सन र स्वास्थ्य बिमाजस्ता सुविधाहरूका कारण तल्लो तहको सरकारी जागिरमा आकर्षण धेरै बढ्नेछ । त्यसबाट स्थिरता पनि बढी हुनेछ । जागिर छाड्नेको संख्या कम हुने हुनाले राजनीतिक दलहरू त्यस्तो जागिर आफ्ना समर्थकले पाउने सुनिश्चित गर्न प्रयास गर्नेछन् ।
यसको ठीक उल्टो प्रतिभावान् व्यक्तिहरूलाई आकर्षित गर्न र कायम राख्न सरकारहरूको प्रयत्न प्रायः असफल हुन्छ । परिणामस्वरूप सरकारी निकायहरूले प्रभावकारीरूपमा आफ्नो कार्य सम्पादन गर्न आवश्यक गहन जानकारी, संस्थागत स्मृति र दक्षताको कहिल्यै विकास गर्न सक्तैनन् । अलग्गै तलबमान हुने भएकाले केन्द्रीय बैंकहरू यसको अपवाद बन्दैआएका छन् ।
सदस्य राष्ट्रहरूमा दक्षताको अभावको पूर्तिका लागि विश्व बैंकजस्तो बहुपक्षीय विकास संस्थाहरू प्रायः बढी तलब खाने सल्लाहकारहरू भएको परियोजना व्यवस्थापन एकाइ खडा गर्छन् र काम सकिएपछि भंग गर्छन् । यस प्रकारको काम चलाउ अभ्यास आदर्श भने हैन । किनभने त्यसबाट दीर्घकालीन संस्थागत क्षमता वृद्धि हुँदैन । सरकारले कर्मचारीलाई उच्च तलब दिने गरेकाले उच्च शिक्षित प्रतिभालाई आकिर्षत गर्न र टिकाइ राख्न सक्षम भएकाले मेक्सिको धेरैहदसम्म मेक्सिको अपवाद बनेको थियो ।
एम्लोजस्ता राजनीतिक नेताहरूले आफैसँग नाफा कमाउने कम्पनीहरूले उच्च व्यवस्थापनको तलब घटाएर नाफा बढाउन सकिँदैन भन्ने ठान्छन् भनेर सोध्नुपर्छ । कम्पनीहरूले दक्षताका लागि प्रतिस्पर्धा गर्दा तलब बढाबढ गर्छन् र सार्वजनिक क्षेत्रका लागि कम योग्य कामदारहरू बाँकी रहन्छन् । स्पष्टै छ, धेरै युवा कुनै आदर्शबाट प्रतिबद्ध भएर हैन काम सिक्ने मौकाका रूपमा सरकारी जागिर खान चाहन्छन् । तर, सरकारी तलब धेरै कम गरियो भने तिनले आजीवन हैन परिवार सुरु नगरुन्जेलमात्र काम गर्नेछन् । परन्तु, सार्वजनिक क्षेत्रका केही गम्भीर निकायमा भने लामो समय काम गर्नु आवश्यक हुन्छ ।
यो समस्या हो त ? असल सरकारहरू ठूला कम्पनी र धनाड्यहरूले उनीहरूले तिर्नुपर्ने कर तिरुन् भन्ने चाहन्छन् । उनीहरू कर्पोरेसनहरूले तिनको बजारको शक्तिको दुरुपयोग नगरुन्, वातावरण प्रदूषित नबाउन् र असुरक्षित वस्तु नबेचुन् भन्ने चाहन्छन् । उनीहरू जनतालाई अपराधी गिरोहबाट सुरक्षित राख्न चाहन्छन् । असल सरकारहरू जनताको बचत सुरक्षित होस् र करदाताको पैसा लगानी गरेर बैंकहरूको उद्धार गर्न नपरोस् भन्ने हेतुले मुद्रा स्थिर रहोस् र वित्तीय संस्थाहरू सुरक्षित रहुन् भन्ने चाहन्छन् । उनीहरू सार्वजनिक परियोजनाहरू राम्ररी तयार र कार्यान्वयन गरिउन् र खरिद प्रक्रियालाई मौका छोप्ने भ्रष्टहरूले बजेट हिनामिना गर्न नसक्ने होस् भन्ने चाहन्छन् । उनीहरू तेल र खनिजजस्ता प्राकृतिक साधनमा दिइने सहुलियत सदुपयोग होस् र सरकारको राजस्वमा अधिक वृद्धि होस् भन्ने चाहन्छन् ।
यस्ता महत्त्वपूर्ण काममा सफल हुन खोज्दा तर बजार मूल्यभन्दा कम तलब दिन खोज्नु थोरै बचाउन धेरै खर्च गर्नुजस्तै हो । कर संकलक, नियामक र अभियोजकहरूलाई त आफ्ना कठिन कार्य समपादनकै लागि पनि पर्याप्त साधनस्रोत आवश्यक हुन्छ ।
एम्लोको सार्वजनिक क्षेत्रका कर्मचारीको तलब घटाउने निर्णयले कतिपय उच्चपदाधिकारीलाई अन्य क्षेत्रमा काम खोज्न प्रवृत्त गराइसकेको छ । अग्रीम अवकाश लिने अवस्थामा पुगेकाहरूले एम्लोले तलब घटाउन नपाउँदै धमाधम अवकाश जागिर छाडिरहेका छन् । एम्लोको पार्टीका मानिसहरू अब ती पदहरूमा कार्यकर्ता भर्ती गर्न पाइने भयो भनेर हर्षबढाइँ गर्दैहोलान् । तर त्यसो भयो भने कम योग्यता भएका कर्मचारीले एम्लोकै मूल्यवान् लक्ष्यहरू हासिल गर्न असमर्थ हुनेछन् ।
पारिश्रमिक घटाएर समानता हासिल गर्न खोज्नु अमिल्दो रुचिमात्र हैन गल्ती नै हो । यसबाट न्यायपूर्ण समाजका लागि योगदान गर्न कम राज्य झन् कम समर्थ हुनेछ ।
(हार्वर्ड केनेडी स्कुलमा अर्थशास्त्रका प्राध्यापक )
Copyright: Project Syndicate, 2018.