सल्यान । लोप हुने अवस्थामा पुगेको सोरठी नाच संरक्षणमा यहाँ पहल थालिएको छ । जिल्लाका विभिन्न स्थानीय तहले मौलिक कलासंस्कृति संरक्षणमा चासो देखाएपछि सोरठी नाचको कला भएका व्यक्ति जागेका छन् । पुरुषले महिलाको भेषमा नाच्ने उक्त कलात्मक नाच जिल्लाको पहिचान मानिन्छ । पछिल्लो समय यो नाच हराउँदै गएको छ । दशैँ, तिहार, मेला, पर्व, विवाह तथा व्रतबन्ध आदिमा प्रस्तुत हुने सो नाच लोप हुँदै गएको छ ।
जिल्लाका पिमखोला, हिवल्चा, दमाचौर, त्रिवेणीको पोखरी, चैवाङ, मार्के, रीम, गर्पा, धनवाङ गाँडापानीलगायत गाउँमा बूढापाकाले उक्त नाच जीवित रहेको पाइएको छ ।
गाँडापानीका रामलाल विकले हरेक युवा पुस्तालाई पनि हस्तान्तरण गर्ने कार्य थालिएको बताए । लामो इतिहास बोकेको मौलिक तथा लोकप्रिय सोरठी नाचका बारेमा पछिल्लो पुस्तालाई जानकारी हुनु आवश्यक रहेको संरक्षणकर्ता तथा वरिष्ठ वाद्यवादक खर्कबहादुर बुढाले बताए ।
“मारुनी, पुरुसुङे, मालदे तथा नचाको बेजोड प्रस्तुतिले जो कोहीको पनि मन लोभिन्छ,” उनले भने, “थाहै नपाई नेपाली संस्कृति र मौलिकता लोप हुने अवस्था आइसकेको छ, त्यसैले नाच जोगाउन सचेत हुनुपर्छ ।”
“संस्थाकै रुपमा दर्ता गरेर सोरठी तथा वनगाडी नाच जगेर्ना गर्ने अभियानमा लागेका छौँ,” स्थानीयवासी छेत्रबहादुर विकले भने ।
सोरठीमा मारुनीले घाँगर, चोली, धरो, रुमाल, गाउँघरतीर पाइने वनस्पति केतुकीको कपाल, चुरा, पोते, टीका आदि लगाउने गरिन्छ । पुरुषले दौरासुरुवाल, स्टकोट, कम्पनी माला र शिरमा सेली पहिरिने चलन छ । विभिन्न ५२ चरणमा गाइने यो सोरठी गीत पछिल्लो समय घटेर १२ देखि १५ चरणमा सीमित हुन पुगेको छ ।
दिनभरको थकान मेट्न तथा मनको भावना पोख्न सोरठी नृत्य गर्ने गरिन्छ । समाजमा सानो, ठूलो जातजाति, धनी, गरीब नभनी सबै मिलेर गाइने तथा नाचिने सोरठीले सामाजिक सद्भाव र एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।
पछिल्ला दिनमा रोजगारीको सिलसिलामा युवा विदेश पलायन हुने बाध्यताले पनि यी लोकप्रिय नाच हराउँदै जान थालेको बताइएको छ । रासस