काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को अक्सन लाहोरमा भर्खरै सुुरु भएको छ । भारतमा आईपिएल लोकप्रिय भएपछि पाकिस्तानले सुरु गरेको पिएसएलमा पहिलो पटक नेपाली राष्ट्रिय खेलाडीद्वय लेग स्पिनर सन्दीप लामिछाने र तिव्र गतिका बलर सोमपाल कामी ड्राफ्टमा परेका छन् ।
आइपिएलदेखि क्यारेबियन प्रिमियर लिग तथा अष्ट्रेलियन बिग बास लिगको समेत रोजाइमा परेका सन्दीप तथा पहिलो पटक विदेशी लिगको ड्राफ्टमा परेका सोमपालमाथि अहिलेसम्म कुनै पनि टिमले बोली लगाइसकेका छैनन् । तर उनीहरु पाकिस्तानी टिमको रोजाइमा पर्ने अपेक्षा गरिएको छ ।
डाइमण्ड, गोल्ड, सिल्भर र इमर्जिङ गरी ४ वर्गमा खेलाडीको वर्र्गीकरण गरिँदा सन्दीप विदेशी खेलाडी कोटाबाट गोल्ड क्याटागोरीमा परेका थिए भने पहिलो पटक विदेशी लिगको ड्राफ्टमा परेका सोमपाल सिल्भर क्याटेगोरीमा छन् ।
ट्वान्टी–२० स्वरुपमा हुने पिएसएलमा लामिछाने र सोमपाललाई कुुनै पनि टिमले खरिद गरे उनीहरुले कम्तिमा क्रमशः ५० हजार र २५ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् ।