काठमाडौं । नेपाली सेनाको आयोजनामा छैटौं प्रधान सेनापति महिला फुटबल प्रतियोगिता भोलि बुधबारबाट सुरु हुने भएको छ । १२ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेल बुधबार दिउँसो साढे २ बजे भद्रकालीस्थित सेनाको मैदानमा हुनेछ ।
३ विभागीय क्लबसहित ७ प्रदेशका टोली र दुई भारतीय टोली प्रतियोगितामा सहभागी हुँदैछन् । मंसिर १२ गतेसम्म संचालन हुने प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपाली सेना, प्रदेश नम्बर १, २, ५, ७ र भारत बिहारको टोली छन् । समूह ‘बी’मा विभागीय क्लब एपिएफ, नेपाल पुलिस, प्रदेश नम्बर ३, ४, ६ र भारत सिक्किमको टोली छन् ।
उद्घाटन खेलमा बुधबार समूह ‘ए’ को प्रदेश १ र प्रदेश ७ टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टोलीले ५०–५० हजार रुपैयाँ पुरस्कार पाउने सेनाले जनाएको छ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउनेछन् ।