site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘प्रुफ रिडर’बाट सम्पादकसम्म
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


०३६ सालमा बीए पास गरेपछि श्री आचार्यले शाखा अधिकृतको जागिर खान थाले । शिक्षा मन्त्रालयको परियोजना थियो । सरकारी कामको तौरतरिका उनलाई मन परेन । सात महिनामै जागिर छोडेर बसे ।

जागिर छोडे । समस्या आयो पैसाको । हुँदाखाँदाको जागिर छोडेका थिए । घरबाट पैसा मगाउन पनि अप्ठ्यारो । कांग्रेसनिकट थिए । नेताहरूले कतै काम मिलाइदिन्छन् कि भनेर कांग्रेसको पार्टी कार्यालय कमलाक्षी गइरहन्थे । दिनभरि नेविसंघका नेताहरूसँग गफ गरेर बस्थे । उनीहरूका कुरा सुनेर दिन कटाउँथे । संयोगले एकदिन जयराज आचार्यसँग भेट भयो । उनले ‘खाइरहेको जागिर किन छोडेको ?’ भन्दै हप्काए । श्रीले काम खोजिदिन आग्रह गरे । जयराजले चिनेको प्रोफेसर साथीको घरमा प्रेस रहेछ । त्यही प्रेसमा ‘जनआकांक्षा’ छापिन्थ्यो । त्यसमा ‘प्रुफ रिडर’ चाहिएको रहेछ । त्यसमै ‘प्रुफ रिडर’को रूपमा काम गर्न थाले श्री । ३५० रुपैयाँ तलब थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

करिब डेढ महिना भइसकेको थियो काम गर्न शुरु गरेको तर सम्पादक (किशोर नेपाल)सँग श्रीको भेट भएकै थिएन । सदाझैं सम्पादकीय आयो । प्रुफ हेर्दै जाँदा त्यो सम्पादकीयका दुइटा शब्दमा श्रीलाई चित्त बुझेन । उनले परिवर्तन गरिदिए ।

बिहीबार पत्रिका निस्कियो । शुक्रबार दमननाथ ढुंगाना, ठाकुरनाथ शर्मा, कुवेर शर्मालगायत भेला भए । ‘सम्पादकीयमा यस्तो भयो, यो कसले गर्‍यो ?’ भन्ने प्रश्न उठ्यो । किशोरले गरेका थिएनन् । उनले ‘मैले होइन’ भने । किशोरले ‘प्रुफ रिडर’लाई बोलाउन लगाए । श्री किशोरको कार्यकक्षमा पुगे ।

Global Ime bank

“मैले त ‘प्रुफ रिडर’लाई बोलाको, तिमी किन आएको ?” किशोरले भने । (त्रिचन्द्र कलेजका क्लासमेट थिए किशोर र श्री ।)

श्रीले भने, “मै हो ‘प्रुफ रिडर’ ।”

किशोरले भने, “तिमीले त मलाई बर्बाद पार्‍यौ ।”

कुवेर कार्यकक्षमा छिर्दै भने, “भयो छोड्देऊ, हामीले कुरो मिलाइसक्यौं ।”

किशोरले भने, “ल, अब रिपोर्टिङ गर्नुपर्छ । मेरोभन्दा राम्रो भाषा रहेछ । पत्रकार हुनुपर्छ ।”

किशोरले समाचार लेख्ने तरिका सिकाए । ‘फाइभ डब्ल्यू वन एच’ के हो, बताइदिए । श्री समाचार लेख्न थाले । “मेरो गुरु नै किशोर नेपाल हो,” श्री सुनाउँछन्, “मलाई पत्रकारितामा ल्याउने र पत्रकार बनाउने नै उहाँ हो ।”

बहुदलको प्रचारमा कांग्रेसले देशभर सभा आयोजना गरिरहेको थियो । विराटनगरमा बीपी कोइरालाले सम्बोधन गर्ने कार्यक्रम थियो । किशोरले बीपीसँगै त्यो कार्यक्रमको रिपोर्टिङका लागि श्रीलाई पठाइदिए । विराटनगरपछि लहान (सिरहा)को सभामा पनि बीपीसँगै जाने अवसर पाए श्रीले । त्यहीबेला बीपीसँग अन्तरंग कुराकानी गर्ने अवसर पाए ।

आलोकाँचै थिए श्री । सभालाई सम्बोधन गरेको समाचार त लेखे तर आफैंले गरेको गफगाफलाई भने समाचार बनाएनन् । काठमाडौं फर्किएको एक सातापछि किशोरले सोधे, “अरू केही छैन ?”

कपीमा लेखेको देखाए श्रीले । त्यसैलाई समाचार बनाएर किशोरले श्रीको बाइलाइनमा समाचार छापिदिए ।

केही महिनापछि भएको जनमत संग्रहमा बहुदलले हार्‍यो । बहुदलको प्रचारप्रसारका लागि निस्किने पत्रिका बहुदल नै हारेपछि बन्द भयो । उनी बेरोजगार बने । पत्रपत्रिकाको सार खिचेर तयार पारिने ‘जनसञ्चार सेवा’मा पुगे । महेशचन्द्र रेग्मीले ‘प्रेस डाइजेस्ट’ अंग्रेजीमा निकाल्थे । त्यस्तै प्रकृतिको नेपालीमा किशोर नेपालले ‘जनसञ्चार सेवा’ प्रकाशन गरे । केही समयका लागि त्यसमै आबद्ध भए श्री पनि ।

‘जनसञ्चार सेवा’ पछि ‘नेपाल वाणी’ र ‘नेपाल पुकार’मा काम गरे । श्रीको स्कुलिङ डेमोक्र्याट थियो । राजाको हुकुमी शासनको पक्षमा कलम चलाउन नैतिकताले दिँदैनथ्यो । त्यसैले पञ्चायतका गिद्धे आँखा पर्थे । पत्रिका बन्द हुन्थे । फेरि अर्कै पत्रिकामा कलम चलाउन पुग्थे श्री । ‘देशान्तर’मा पनि फेरि किशोर नेपालसँग सहकार्य गरे । किशोर अमेरिका गए । ‘देशान्तर’ बन्द भयो ।

\"\"यहीबीचमा कांग्रेस नेता प्रदीप गिरिको संगतमा पुगे श्री । प्रदीपले थुप्रै किताब पढ्न सुझाए । प्रदीपको सुझावमा थुप्रै पुस्तक पढे श्रीले । प्रदीपले एकदिन भने, “तपाईं पत्रकार मान्छे, पत्रकारिता नै गर्नुस् ।”

प्रदीपको सुझाव पनि नराम्रो थिएन, शिरोपर गरे । प्रदीपले नै श्रीलाई ‘विमर्श’ पुर्‍याइदिए । हरिहर विरही सम्पादक थिए । उनकै नेतृत्वमा श्रीले ०४२ देखि ०४६ सम्म काम गरे ।

बहुदल आयो । ‘नेपाली आवाज’ नामक पत्रिका उनी आफैंले प्रकाशन शुरु गरे । आफैं पत्रकार, आफैं व्यवस्थापक । सजिलो थिएन । केही समयमै बन्द भयो ।

नयाँ–नयाँ पत्रिकामा काम गर्ने शृंखला चलिरह्यो । ‘लोकपत्र’ प्रकाशन आरम्भ भयो । त्यसमै उनी आबद्ध भए सम्पादकको रूपमा । तर, तीन महिनामै उनले ‘लोकपत्र’लाई बिदाइको हात हल्लाए । पत्रिका एकपछि अर्को परिवर्तन हुँदै गए । कार्यकक्ष परिवर्तन हुँदै गयो । तर, पेशालाई नै भने श्रीले हात हल्लाएनन् । काम शुरु भयो, ‘स्पेसटाइम’ दैनिकमा । त्यसमा केही समय काम गरेपछि नयाँ प्रकाशन हुन थालेको ब्रोडसिट दैनिक ‘अन्नपूर्ण पोस्ट’को प्रबन्ध सम्पादक भएर गए ।

जंगलभित्रका प्रचण्ड

सरकार–माओवादी द्वन्द्वले ‘सेफ ल्यान्डिङ’ खोज्दै थियो । वार्ताहरू सकारात्मक उन्मुख थिए । श्री आचार्यलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अन्तर्वार्ता छाप्ने मन थियो । वार्ता सकारात्मक बन्दै गएकाले अन्तर्वार्ता दिन्छन् कि भन्ने आशा थियो । नेत्रविक्रम चन्द (विप्लव)सँग राम्रो सम्बन्ध भएका कारण श्रीले प्रचण्डको अन्तर्वार्ताका लागि समय मिलाइदिन आग्रह गरे । विप्लवले श्रीलाई हेटौंडा लगे । संवाददाताको साथ लागेर श्री हेटौंडा पुगे । हेडौंडाबाट करिब ६ किलोमिटर भित्र जंगलमा पुगेपछि बाटोको दुबैतिर काँधमा राइफल बोकेका लडाकुको ताँती देखे । उनले त्यति ठूलो संख्यामा माओवादी लडाकु कहिल्यै देखेका थिएनन् । जंगलको बीचमा दुइटा घर थिए । एउटा घरमा पुगेर श्री बसेको केही क्षणमै प्रचण्ड टुप्लुक्क आइपुगे ।

कयौैं समाचार उनैबारे लेखे पनि कहिल्यै नदेखिएका प्रचण्ड आफ्नै अगाडि झुल्किए । प्रचण्डसँग करिब दुई घण्टा लामो वार्तालाप भयो । ‘अन्नपूर्ण पोस्ट’को प्रथम पृष्ठमा त्यो अन्तर्वार्ता छापियो ।

बाबुरामको लिखित अन्तर्वार्ता

माओवादीले युद्ध शुरु गर्नुअघि नै डा. बाबुराम भट्टराइसँग श्रीको चिनजान थियो । भूमिगत भएपछि न भेट थियो न सम्पर्क । माओवादी युद्धमा चर्चा कि प्रचण्डको थियो कि बाबुरामको ।

बाबुरामको अन्तर्वार्ता लिन पाए त राम्रै हुन्छ भन्ने श्रीलाई लाग्यो । आफ्नै लगानीमा आफैंले प्रकाशन शुरु गरेको ‘अग्निपथ’ साप्ताहिकको माइलेज पनि बढ्ने, जनतालाई नयाँ सूचना पनि हुने । यो ०५६ को कुरा हो ।

उनले पत्रकार ओम शर्मालाई बाबुरामसँग सम्पर्क गराइदिन भने । ओमले खबर ल्याए— भेटेर अन्तर्वार्ता सम्भव छैन । लिखित अन्तर्वार्ता भए हुन्छ रे !

५२ वटा प्रश्न लेखेर श्रीले ओमलाई बुझाए । ओमले बाबुरामामु पुर्‍याए । तीन सातापछि लिखित अन्तर्वार्ता श्रीको हात लाग्यो । अन्तर्वार्ता त आयो तर बाबुरामले लेखेको भन्ने आधार के ?

तर, विमर्शमा हुँदा धेरैपटक श्रीले बाबुरामको ह्यान्डराइटिङ देखेका थिए । लामो आकारमा लेख्ने बाबुरामका सुन्दर अक्षर प्रष्टै चिन्थे । ओमको हातबाट आएको अन्तर्वार्ता बाबुराम स्वयंले लेखेका थिए भन्नेमा श्रीलाई शंका लागेन । ‘अग्निपथ’मा तीन पृष्ठ लामो कभर स्टोरीका रूपमा फोटोसहित छापियो ।

“मैले ‘अग्निपथ’ प्रकाशन गर्दा ‘हिमाल’ पनि निस्किन थालेको थिएन । निकै राम्रो क्वालिटीमा मैले ‘अग्निपथ’ साप्ताहिक निकालेको थिएँ,” श्री सम्झिन्छन्, “व्यवस्थापन गर्न सकिएन । करिब सात महिना प्रकाशन भएपछि ‘अग्निपथ’ बन्द नै गर्नुपर्‍यो ।”

\"\"‘अग्निपथ’मै हुँदा श्रीले अनुराधा कोइराला र उनको संस्था माइती नेपालको बारेमा कभर स्टोरी छापे । “अनुराधाका बारेमा त्यसभन्दा अगाडि पनि समाचार नआएका त हैनन् तर त्यति ठूलो स्पेस हामीले नै पहिलोपटक दिएका थियौं,” श्री सुनाउँछन्, “हामीले अनुराधाको काम सराहना गर्दै ठूलो स्पेस दिएपछि बल्ल अरुले पनि उहाँको राम्रो कभरेज गर्न थालेका हुन् ।”

ज्यान मार्ने त्यो धम्की

समाचार हो, सत्यतथ्य घटना दिनै पर्‍यो । चाहे कसैले राम्रो गरून् या नराम्रो— सूचना जनतालाई दिनै पर्‍यो । पत्रकारिताको धर्म नै यही हो ।

घटना के थियो, अहिले श्रीको दिमागमा त्यसको धमिलो दृश्य पनि कैद छैन । तर, त्यही समाचारका कारण उनले खेपेको धम्की भने अहिले पनि ताजै छ मस्तिष्कमा । झापाबाट संवाददाताले पठाएको समाचार थियो । समाचार छापिएकै भोलिपल्ट उनलाई फोनमा धम्की आयो । त्यो पनि ज्यान मार्ने । उसले श्रीको विस्तृत जानकारी संकलन गरेको रहेछ । ‘कुपण्डोलमा बस्छस् हैन ? हिसाबकिताब हुन्छ’ भन्थ्यो । श्रीले चित्त नबुझे अदालत जान भन्थे । तर, त्यो धम्कीबाज ‘अदालत होइन, तेरो हिसाबकिताब म आफैं गर्छु’ भन्थ्यो ।

त्यो धम्की टेलिफोनमै सीमित रह्यो । श्रीको जिन्दगी आफ्नै रफ्तारमा चल्दै गयो । नियत खराब राखेर कसैका विरुद्ध र पक्षमा समाचार लेखिनु हुँदैन, तथ्यभित्र बसेर समाचार लेख्न डराउनु हुँदैन भन्ने मूल्यमा अडिग श्रीको कलम कहिल्यै डगमगाएन ।

पत्रकारिताकै क्रममा कहिले कता, कहिले कता, कहिले कुनमा, कहिले कुनमा— ठेगान हुँदैन थियो । पञ्चायतको कालखण्ड थियो । समाचार लेख्दा खुब ख्याल पुर्‍याउनुपथ्र्यो । अक्षर–अक्षरको अर्थ केलाउँथे अञ्चलाधीशहरू । समाचार लेख्दा भोलि यसको प्रतिक्रिया के आउँछ भनेर सोच्नु पथ्र्यो ।

श्री ‘विमर्श’मा पुग्दा पदम ठकुराठीलाई गोली लागिसकेको थियो । पञ्चहरू कति कठोर कदम उठाउन पनि तयार छन् भन्ने आँखैअगाडि देखिसकेकाले शतर्क भएर समाचार लेख्नु परेको श्री सुनाउँछन् ।

दूधको समाचार

नेपालमा पोल्यान्डबाट पाउडर दूध आउँथ्यो । त्यसमा मिसाइएको रसायन स्वास्थ्यका लागि यति हानिकारक थियो कि त्यसको सेवनले रोग लाग्नु त सामान्य थियो नै, ज्यानै जाने खतरा थियो । यो थाहा पाएका श्रीले समाचार लेखे ।

समाचारको प्रभाव यति धेरै पर्‍यो कि त्यो पाउडर दूध ल्याउन सरकारले प्रतिबन्ध नै लगायो । उपभोक्ताले डेरीको दूध किनेर खान छोडे । डेरीको दूध नकिन्ने उपभोक्ताको संख्या यति धेरै भयो कि काठमाडौंका डेरी नै बन्द हुने अवस्थामा पुगे ।

“हरेक समाचारको केही न केही प्रभाव पर्छ । मात्रै सानो अथवा ठूलो भन्नेमात्रै हो,” श्री भन्छन्, “डायरी लेख्ने बानी छैन, त्यसैले धेरै कुरा त सम्झिन्नँ तर दूधको समाचार भने बिर्सिएको छैन ।”

पञ्चायतजस्तै शाहीकाल

३० वर्षे पञ्चायत ढल्यो । बहुदल फर्कियो । सञ्चारको द्रुत्ततर विकास शुरु भयो । पत्रपत्रिका, रेडियो, टेलिभिजनको संख्या ह्वात्तै बढ्यो ।

तर, राजा ज्ञानेन्द्र महत्त्वाकांक्षी भए । राजनीतिक शक्ति हातमा लिए । त्यो बेला फेरि पत्रकारिता गर्न पञ्चातयतझैं कठिन भयो ।

दरबारले सेनालाई समाचार कक्षमा पठायो । समाचार सेन्सर गर्न सेनाका अधिकारी न्युजरुममा बस्थे । “यो कस्तो फोटो ? भएन अर्को राख्नुस् भन्थे,” शाही शासनकालको पत्रकारिता सम्झन्छन् श्री, “यो हेडलाइन हटाएर अर्कै बनाउनुस् भन्थे । यो लाइन हटाउनुस् भन्थे ।”

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । जेपी गुप्ता सूचना तथा सञ्चारमन्त्री । त्यही सरकारले श्रीलाई दुई वर्षका लागि ‘गोरखापत्र’को सम्पादक नियुक्त गर्‍यो । कोइरालानेतृृत्वको सरकारले गराएको आम निर्वाचनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । भट्टराईनेतृत्वको सरकारले श्रीलाई १० महिनामै बर्खास्त गर्‍यो । श्रीलाई विस्थापन गर्न आइपुगे, उनैलाई पत्रकारिताको ‘कखरा’ सिकाएका किशोर नेपाल ।

\"\"

“शायद अरु आएको भए म अदालत गएर पुनबर्हालीका लागि मुद्दा लड्थें होला तर मेरै गुरु मलाई रिप्लेस गर्न आएकाले खासै दुःख लागेन,” श्री सरकारी बेथितिको प्रसंग सुनाउँछन्, “त्यसैले मैले दुई वर्षको तलबमात्रै दाबी गर्दै अदालत गएँ । अदालतले मलाई जिताइदियो । काम नगरे पनि तलब भने पूरै अवधिको लिएँ ।”

दरबार हत्याकाण्ड हुँदा श्री ‘गोरखापत्र’को सम्पादक थिए । तर, संयोग— उनी त्यही बेला तनहुँ पुगेका थिए । राति नै राजा–रानीको हत्या भएको समाचार सुनेका श्री भोलिपल्ट बिहानै काठमाडौं हानिए । समाचार पुष्टि नभएको भन्दै ‘गोरखापत्र’ले समाचार छापेन । अर्को दिन अरु पत्रिकाझैं ‘गोरखापत्र’मा पनि समाचार छापियो ।

‘क्लियर कुरा’

श्रीले सुनेका छन्, धेरै सञ्चारगृहमा सम्पादकले प्रकाशकको दबाब झेल्नुपर्छ । विज्ञापनमा मात्रै चित्त नबुझेर प्रकाशकले समाचारमै सौदाबाजी गर्छन् र रिपोर्टरको समाचार रोकिन्छ । “तर, मैले आजसम्म पब्लिसरबाट यस्तो दबाब झेल्नु परेको छैन । सञ्चारगृह प्रवेशपूर्व नै स्पष्ट कुरा राखे यस्ता समस्या खेप्नु पर्दैन,” श्री भन्छन्, “म जहाँसुकै काम गर्दा पनि शुरुमै स्पष्ट कुरा गर्छु । मेरा आफ्नै शर्त हुन्छन् । त्यसैैले पनि होला आजसम्म मैले कुनै पनि सञ्चार संस्थामा पब्लिसरको दबाब र हस्तक्षेप बेहोर्नु परेको छैन । बरु समाचार छापेकै भरमा धम्की सहनु परेको छ ।”

नदेखेको सपना

सम्पादकको सपना नकुँदेरै सम्पादक भएका पत्रकार हुन् श्री । न उनले कहिल्यै पत्रकार हुने रहर साँचेका थिए न समाचार कक्षको नेतृत्व गर्ने सपना । रोजिरोटीको जोहो गर्ने काम खोजीमा रहेका बेला ‘जनआकांक्षा’मा पुगे । उसले सम्पादक बनाइदियो ।

‘देशान्तर’मा पुग्दा भने उनलाई समाचार कक्ष हाँक्ने रहर पलाएको थियो । आफैंले दैनिक पत्रिका निकालेर चलाउनु फलामको च्युरा चपाउनुसरह थियो । दैनिक पत्रिका फाट्टफुट्ट प्रकाशन त हुन्थे तर तिनलाई न निक्लन बेर लाग्थ्यो न बन्द हुन नै । त्यसैले दैनिक पत्रिकाको सम्पादक हुन ‘गोरखापत्र’ नै ताक्नुपथ्र्यो ।

“देशान्तरमा पुगेपछि दैनिक पत्रिकाको सम्पादक पनि हुनुपर्छ कि क्या हो भन्ने इच्छाचाहिँ पलाएको थियो तर जसरी पनि हुनैपर्छ भन्ने आकांक्षा बोकेर भने म कहिल्यै पनि हिँडिनँ,” सम्पादक बन्ने आफ्नो छिपछिपे रहर लाग्दाको कुरा साट्छन् श्री ।

अहिलेको पत्रकारिता

समयको प्रभाव प्रविधिमा पर्‍यो । प्रविधिको प्रभाव पत्रकारितामा । नयाँ प्रविधिसँगै हातेमालो गर्दै गएको पत्रकारिताले पनि फड्को मार्‍यो । प्रिन्टबाट शुरु भएको पत्रकारिता डिजिटल युगसम्म आइपुग्यो । आजको पत्रकारिता हेर्दा सन्तोष गर्ने धेरै ठाउँ रहेको श्री बताउँछन् । आक्कल–झुक्कल हुने गल्ती र कमी–कमजोरीलाई आँखा चिम्लिने हो भने पत्रकारिता नराम्रो भन्ने अवस्था नरहेको उनलाई लाग्छ ।

“व्यावसायिकतालाई छोडेर केहीले व्यापारीकरण गरे पनि त्यसको मात्रा न्यून छ । त्यसैले नराम्रो भन्दा पनि राम्रोले नै जितिरहेको देखेको छु,” उनी भन्छन् ।

प्रिन्टबाट पत्रकारिता शुरु गरेका श्री अहिले डिजिटल पत्रकारिताको अभ्यास गर्ने तयारीमा छन् । बिहीबार थापाथलीस्थित ट्रेड टावरमा भेट हुँदा उनी ‘युगवाणी डटकम’को सेटअपमा व्यस्त थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०७५  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC