– अक्षर काका
मौसमले भर्खरै चोला बदल्यो । दशैं–तिहारको चटारोबाट रामकाजीले भर्खरै फुर्सद पाए । नागबेली बागमती किनारका फाँटभरि कंक्रिटका घर उभिएपछि बाली थन्क्याउने हतारो शिवपुरी कछाडका काँठमा खुम्चिइसकेको छ ।
घामले दैलो ढक्ढक्याएपछि मात्रै ब्युँझिए । अघिपछि नातिनीको मोबाइल अलार्मले ब्युँझाउँथ्यो । आज सुनेनन् । धोका मोबाइलको अलार्मले दिएको होइन, आफ्नै कानले ।
पसल आइपुग्दा घाम एकबाँसमाथि आइपुगिसकेकोे थियो । पसल नपुग्दै धनञ्जय उपाध्यायको कर्कश स्वर सुने, “अहिलेसम्म मुन्टेको रहेनछ रामे ! एमाले–एमाले भन्दाभन्दै यो पनि भरतमोहन भइसकेछ !”
धनञ्जयको एउटा विशेषता छ । उनले एमालेका पाका कार्यकर्तालाई कहिल्यै ‘बूढो भएछौ’ भन्दैनन् । सीधै ‘भरतमोहन’ भन्दिन्छन् । रामकाजीलाई पनि यो उपमा थमाउने उनी किन छाड्थे !
बेन्चको आडमा लौरो अड्याएका धनञ्जय रामकाजी आउने बाटोतिर आँखा ओछ्याउँदै अझै भुत्भुताउन छाडेका थिएनन् ।
“आउँदै त छु नि, तिमीलाई तलतल लाग्यो भन्दैमा मेरा पाइला चटारिन्छन् र ?” रामकाजी साहुजीले जनैमा अल्झाएको साँचोले ताल्चा खोले र काठेढोका खित्रिक्क उघारे ।
“आजकाल त रामसाहूलाई खुब चुनाउ लाग्या छ, पसल बेलामा खोल्न छाडिहाल्नुभो । वाम गठबन्धनले चुनाव जित्यो भने त चियादोकानै बन्द होलाजस्तो छ,” ढोकाअगाडिको दूधको क्रेट सकिनसकी भित्र लैजान खोज्दैथे रामकाजी, १७–१८ को पट्ठो प्वाक्क बोलिहाल्यो ।
पट्ठोको आवाज सेलाउन पाएको थिएन, धनञ्जयले थपिहाले, “केपी ओलीसँगै बालुवाटार बस्न जान्छन् होला नि, कम्युनिस्टले जितेपछि ग्यास त पाइपमा आउँछ, नाथे चिया त घरघरमा आइहाल्छ नि !”
त्यतिन्जेल चियापसलबाहिरका चारवटा रित्ता बेन्चमा तिलका दाना राख्ने ठाउँ थिएन । पसलको खलबलले ग्राहकले चियाको तलतलसमेत भुले । बाक्लै अट्टहास गुञ्जियो । परपरसम्म बिस्कुन लाग्यो ।
धनञ्जयले हियाएपछि रामकाजीलाई एकछिन त के भनूँ–भनूँ भयो । बोल्ती नै बन्द भयो । दिउरेमा ग्यासको तातो लागेकै थिएन, दिमाग भकभकी उम्लियो । “धनञ्जयलाई के जवाफ दिएर ठेगान लगाउने होला ?” सम्भावित जवाफको जोहोमा लागे उनी ।
धेरैबेर गम खानु परेन । जवाफ मथिंगगलमा खात लागेको थियो ।
“तँलाई ठेट्ना ! जान्ने हुन्छस् ? तेरो उमेरभन्दा बढी त केपी ओली जेलै बसेका छन्,” आवेगको पहिलो निशाना पट्ठोलाई बनाए रामकाजीले । कमरेड साहूको मुखभरिको जवाफ पाएपछि पट्ठो नाजावाफ भो । अक्षम्य अपराध गरेझैं नूर नुगाउँदै भुइँतिर घोत्लिइरह्यो । रामसाहूले चिया टेबलमा राम्रोसँग राख्न पनि भ्याएका थिएनन्, सुक्र्याएर सुइँकुच्चा ठोकिहाल्यो ।
पट्ठो ओझेल परे पनि कमरेड साहूको रिसको पारो उस्तै थियो । कन्पारो तातिइरहेको थियो ।
“मुलुक खान कांग्रेसलाई अझै पुगेको छैन । बाँसबारीको जुत्ता कारखाना चपायौ, चोभारको हिमाल सिमेन्ट कारखाना कौडीको भाउमा खायौ, हेटौंडा कपडा उद्योग निल्यौ, चुनाव जितेर आएपछि देशै चपाउने होला हैन ?” धनञ्जयतिर अकबरे आँखा तेस्र्याए उनले ।
धनञ्जय पनि के कम ! चियाको अन्तिम चुस्की लिइसकेकाले मुखमा पानी हाल्ने कुरै थिएन । मुखबाट थुक उछिट्याउँदै धनञ्जय खनिए, “यतिन्जेल कांग्रेससँगै मिलेर खाएका होइनौ ? तिम्लाई महाकाली बेचुवा ! स्याटेलाइटबाट बिजुली बेच्ने भनेर भारतलाई खोलो सुम्पने तिम्रै केपी–माधव होइनन् ?”
धनञ्जयले यसरी रिस फेरे, मानौं महाकाली सन्धिका मुख्य हर्ताकर्ता रामसाहू नै हुन् । महाकाली सन्धिपत्रको किनारामा कमरेड रामकाजीकै औंठाछाप छ ।
एकाबिहानै ‘महाकाली बेचुवा’को आरोपले रामसाहूको दिमागले काम गर्न छाड्यो । ०४७ ताकाका ‘लालकमरेड’ हुँदा हुन् त बेन्चले धनञ्जयको टाउको फुटाल्दा हुन् । कटबाँसले नलीखुट्टा फुकाल्दा हुन् । तागतसँगै रिस पनि बूढो हुँदो रहेछ । आफैं चिसिँदै तर्ककै पछि लागे ।
“कांग्रेसीले जसरी कोशी, टनकपुर, गण्डक, लाउडा, धमिजा सप्पै निलेको भए के भन्दा हौ ?” कांग्रेस शासनकालमा विवादित सम्झौता एकएक उधिन्न थाले ।
गलफतीमै बित्यो बिहान । सदाझैं आज कसैले जितेन । चियाभन्दा तातो वचनको सामना र दुई कप चियाको पैसासमेत तिर्नु परेकाले धनञ्जयको मुख केही अँध्यारो पक्कै भयो ।
० ० ०
कमरेड रामसाहू र एमालेबीच त्यति गहिरो नाता छैन । काठमाडौंको मध्यकाँठमै घर भए पनि तत्कालीन मालेका कोही नेता उनको घरमा ‘सेल्टर’ बसेनन् । न उनको घरको बाटोमा एमालेका कोही नेताले छारो–धूलो नै उडाए । तर, उनी एमाले बन्नुको खास कारण छ—
०४८ सालको आमनिर्वाचनले ढुंगोमाटो धपक्कै बलेको थियो । रूख–पातलाई चुनाव लागेको थियो तर अछु्रतो थिए– रामसाहू । उमेदवारविशेषको घरदैलो र पार्टीविशेषका आमसभामा उनका पाइला पर्दैनथे ।
चुनाव आउन त्यस्तै ८–१० दिन बाँकी हुँदो हो । छिमेकीले उनलाई गिज्याए, “ए रामकाजी ! कति कामकाजी मात्रै हुन्छौ ? यसो चुनावतिर पनि हिँड । तिमी पनि यही देशको नागरिक त हौ !”
चुनावी प्रचार–प्रसार र घरदैलोमा नहिँडे देशको नागरिकै नहोइएला भन्ने भयले उनी त्यस दिन चावहिलसम्म पुगे । छिमेकीकै कर–बलले ।
चावहिल गणेशथानपछाडिको खुला चौर । एउटा अधवैंशे नेताले खुब चर्र्किएर भाषण गरे, “राजा ! यदि तिमी जनताको आधिकारमा गिद्धेदृष्टि लाउँछौ भने श्रीपेच खोल र चुनावमा आऊ, हामी तिमीलाई जनताको बलमा हराइदिन्छौं । नत्र टाट्नामा घाँस हालेको बाख्राजस्तो गरेर जनताले छुट्याएको ४ लाख खाऊ तर जनताको आधिकारमा गिद्धेदृष्टि नलगाऊ ।”
भर्भराउँदो फिलिंगो ओकल्ने नेता थिए– तत्कालीन एमालेका महासचिव मदन भण्डारी ।
भण्डारीको आगो ओकल्ने भाषणले रामकाजीको मस्तिष्कमा भुइँचालो गयो । दुई वर्षअघिको आन्दोलनमा रगतको खोलो बगेको सुनेका रामसाहू थररर्र काँपे ।
“राजाले भण्डारीलाई सके मार्छन्, नसके जेलमा पक्कै कोच्छन्,” भाषण सुनेको रात उनी निदाउन सकेनन् । कोल्टे फेर्दै छ्यांग उज्यालो भयो ।
खुशीको कुरा— राजाले भण्डारीलाई केही पनि गरेनन् । त्योभन्दा खुशीको कुरा— भण्डारीले चुनाव जिते । अझ खुशीको कुरा— उनी ‘कम्युनिस्ट’ भए ।
दुई वर्षपछि जेठ भर्खर लागेको थियो । जोरपाटीमा उनले चियापसल शुरू गरेका थिए । साँझपख छिमेकीले खबर सुनाए, “थाहा पायौ रामकाजी ! मदन भण्डारीको गाडी चितवनको दासढुंगामा पल्टिएछ । ड्राइभर अमर लामा बाँचेछ । सँगै चढेका जीवराज आश्रितको लाशचाहिँ फेला पर्यो रे, मदन अझै बेपत्ता छन् ।”
खबर सुन्नेबित्तिकै टेकेको जमिन भासिएझैं भयो । जमिन कामेको हो कि खुट्टा— उनले भेउ पाउन छाडे । घर पुगेपछि चावहिल चौरमा सुनेको मदन भण्डारीको भाषण दिमागमा चलचित्रझैं नाच्न थाल्यो ।
“मदन नामी पौडीबाज हुन्, बाँकटे हानेर त्रिशूली पार गर्न पनि सक्छन्,” छिमेकीले यसो पनि भनेका थिए ।
“मदन भण्डारी ज्यूँदै फेला परे पनि त हुन्थ्यो !” रातभर भगवान् पुकारेर बसे ।
उनको प्रार्थना काम लागेन । जेठ ४ गते दिउँसोतिर गुञ्जनगरको गाँजीपुरमा मदनको शव फेला पर्यो ।
मदन ज्युँदो नभएको कुरा पत्याउन उनलाई मनै लागेन । अझ दासढुंगा दुर्घटना हो भनेर त स्वीकार्नै सकेनन् । शवयात्रामा सिंगो मुलुक मलामी बन्यो । उनी नजाने कुरै भएन ।
बाबु मरेको चोट वर्षदिनमा बिर्सिएका उनले मदनको घाउ मनबाट मेटाउन सकेनन् । मदनको हत्यारा पत्ता लगाउन रत्नपार्क, बागबजारका जुलुस कहाँमात्रै धाएनन् उनी ! पटक–पटक प्रहरीको लाठीमुंग्रीको फेला परे तर मदनका अपराधी फेला परेनन् ।
बमबहादुर कार्की र दामोदर घिमिरेले तयार पारेको गीत एक वर्षसम्म घरमा बज्न टुटेन । भर्खर किनेको क्यासेटमा त्यो चक्का छुटेन । बाबु मर्दा मुस्किलले रसाएका आँखा मदनको निधनमा आरक्षित सीमसार बन्यो ।
मदनको पीडाबाट पार्टी बिस्तारै बाहिर आयो । उनी पनि क्रमशः तंग्रिएको बिरामीझैं सारसौंदो देखिन थाले । र, एमालेको खाँटी कार्यकर्ता बने ।
०५१ सालमा मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वमा एमालेको अल्पमत सरकार बन्यो । त्यसदिन उनको अनुहारमा सात सूर्य झलमलायो । मन साम्यवादको कल्पनामा मच्चिन थाल्यो । गरिबका झुप्रा समृद्ध महल बनेको सपना देख्न रात पर्खनु परेन ।
देशले कम्युनिस्ट सरकार पाउँदा हर्षले विभोर छँदै थिए । वृद्धभत्ता र ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रमले रामसाहूको मनमा खुशीको चाङ लाग्दै गयो । तर, उनको खुशी धेरै टिकेन भएन । ९ महिना नबित्दै सरकार ढल्यो ।
तिनै वृद्ध मनमोहनको उपहारतुल्य ‘वृद्धभत्ता’को बखान उनको मुखमै झुन्डियो । पसलमा आउने हरेक ग्राहकलाई एमाले बनाउने ‘ब्रह्माश्त्र’ बन्यो । त्यसपछिका कम्युनिस्ट सरकारले उनको खुशीको घैला भर्न सकेनन् । कम्युनिस्ट सरकारले पनि आफ्नै थैला भरे भन्दै केही पूर्वप्रमको त कटू आलोचकसमेत बने ।
संविधान जारी भएपछि बनेको केपी ओलीनेतृत्वको सरकारले भने उनको आशामा त्राण भ¥यो । ओलीलाई अधिकारीको ‘उत्तराधिकारी’ माने । नाकाबन्दीताका केपी ओलीको अडान र सपनाको उडानले मुलुक ‘वैतरणी’ पार हुने सपना देख्न थाले कमरेड साहूजी ।
० ० ०
कम्युनिस्टले दुईतिहाइ सन्निकट मतका साथ चुनाव जितेको मंसिरमा एक वर्ष भइसक्यो । उनको सपनाको रुझान र राष्ट्रवादका ‘इमान’ले सत्तामा आसन जमाइरहेको नौ महिना पूरा भयो ।
आज म ठ्याक्कै उनको चियापसलमा छु । विडम्बना ! उनको चियापसलमा अचेल चियामात्रै उम्लिन्छ । राजनीतिक गफ उम्लिन छाडेको छ । न राजनीतिक तर्क, वितर्क नै छड्कन्छ ।
चुनावताका संसद् भवनजस्तो बनेको चियापसलमा उदेकलाग्दो शून्यता छ ।
“खै त धनञ्जय काका ?” मैले नियास्रिएको आँखाले सोधें ।
“माथि जानू खोज्न, फागुन मसान्तमा उहाँको बरखी !”
धत् ! म यहाँ नआएको पनि नौ महिनै भइसकेछ !
त्यही भएर त सामसून्न रहेछ चियापसल ! मन खिन्न भयो मेरो ।
ख्याङ... ख्याङ... भित्र कुनाबाट एकोहोरो खोकीको आवाज आइरह्यो ।
“को उहाँ ? बेस्सरी खोकी लागेजस्तो छ नि !”
“लौ कस्तो नचिन्नुभएको ? साहुजी त हो नि !” रामसाहूकी पत्नी चकित परिन् ।
दुब्लाएर सिन्कीजस्तै भएछन् रामसाहू । पुत्रशोकमा विह्वल पिताझैैं विद्रूप भएछ अनुहार । चिसोले हुनुपर्छ, दमले कालोनीलो भएछन् । दमको दीर्घ रोगमाथि शोक थपिएपछि ओइलाएको पालुंगो बनेछन् रामसाहू ।
“ह्वाँ निकै गल्नुभएको छ, राजनीतिक कुरा नगरिदिनूस् है, विन्ती !” बाफिलो चिया राख्दै साहुनीले अनुनय गरिन् ।
“किन ?” मेरो मुखबाट प्रश्न फुत्कियो ।
“किनकि मृत्युभन्दा निकै डरलाग्दो हुन्छ सपनाको मरण !” साहुनीले कानमै आएर फुसफुसाइन् ।