site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
५८ करोड भ्रष्टाचार गरेको मानिसलाई त्यसै छोड्नु हुन्छ ? 
Ghorahi CementGhorahi Cement

कुनै बेला गणेश थापा नेपाली फुटबलका पर्यायजस्तै थिए । तर अहिले उनी पछिल्लो चार वर्षदेखि आर्थिक लेनदेनको अभियोगमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्धमा छन् । फिफाको १० वर्षे प्रतिबन्धदौरान उनले फुटबलका कुनै पनि गतिविधिमा औपचारिक उपस्थिति जनाउन पाउने छैनन् ।

राष्ट्रिय खेलाडी र कप्तान हुँदै अखिल नेपाल फुटबल संघको अध्यक्ष तथा दक्षिण एसियाली फुटबल महासंघको अध्यक्ष र एसियाली फुटबल महासंघमा समेत उपाध्यक्ष भइसकेका थापाको फुटबल पहिचान २०१५ मा फिफाबाट प्रतिबन्धित भएपछि तासको घरजस्तै भताभुंग भएको छ ।

एएफसीका तत्कालिन अध्यक्ष कतारी नागरिक मोहम्मद बिन हमामसँग पैसा लिएको अनुसन्धानबाट खुलेपछि उनलाई फिफाले १० वर्षे प्रतिबन्ध लगाएको थियो । हमाम भने घुस दिएकै अभियोगमा आजीवन प्रतिबन्ध भोगिरहेका छन् । फुटबलको पर्यायबाट एकाएक भ्रष्टाचारीको उपमासँगै गुमनाम भएका एन्फाका पूर्वअध्यक्ष थापासँग बाह्रखरीका  अजय फुयालले गरेको कुराकानीको सम्पादित अंश :

Agni Group

आजकाल के गर्दै हुनुहुन्छ ?
छोराको विवाहको तयारीमा छु । हेटौँडामा मेरो घरको निर्माण काममा पनि व्यस्त छु । हाम्रो बुबाको पालाको घर र जग्गाहरु अत्यन्त प्राइम लोकेसनमा थियो । तर पहिला फुटबलका कारण आफ्नो काम हेर्न पाएको थिइन । त्यसैले अहिले त्यहाँ सानो खालको सपिङ कम्प्लेक्स बनाउने काम गरिरहेको छु ।

त्यहीँ नै एउटा सानो खालको होटल खोल्ने पनि योजना छ । यता काठमाडौंमा छोराहरुले फुटसल, जिम, सौना र स्वीमिङ पुल खोल्ने काम गरिरहेका छन् । अहिलेलाई यिनै तीन कुरामा व्यस्त छु । तर सबभन्दा बढी व्यस्तता फागुनमा हुने कान्छो छोराको विवाहकै तयारीमा भइरहेको छ ।

Global Ime bank

अहिले पूर्णरुपमा खेलकुदबाट टाढा हुनुुहुन्छ, हो ?
केही समयलाई म फुटबलको गतिविधिबाट बाहिरै छु । केही गर्न सक्ने कुरै भएन । तर मजस्तो पूरा जीवन खेलकुदमा लगानी गरेको मानिस खेलकुदबाट टाढा हुन सक्ने त कुरै भएन । त्यससँग प्रत्यक्ष रुपमा नजिकै छु नी । 

एन्फा चुनावको बेला नेपाल स्पोर्टस अर्गनाइजेसन खोलेर ठूलो ब्याडमिन्टन प्रतियोगिता गर्ने भन्नुभएको थियो । तर अहिलेसम्म गर्नुभएको छैन । त्यो एन्फा चुनाव प्रभावित गर्ने तपाईँको चाल भनिन्थ्यो । हो की भन्ने पुष्टि गरेन र ?
त्यसलाई कन्टिन्यु गर्ने सोचाई छ । तर अहिले म आफ्ना केही व्यक्तिगत काममा व्यस्त भएकाले तत्काललाई सकिएन । झण्डै ३५ वर्ष कहिल्यै पनि आफ्नो लागि भनेर सोचिएन । त्यसैले अहिले फुटबलबाट प्रतिबन्ध रहनु पनि भगवानले घरको व्यवस्था मिलाउन समय दिएको जस्तो लागेको छ ।

मैले जुन रुपमा ब्याडमिन्टन प्रतियोगिता गर्छु भनेर घोषणा गरेको थिएँ, त्यसरी गर्न थाल्दा फेरि आफ्नो घरायसी काम अलपत्र हुने भयो । अहिले घरलाई नै बढी समय दिने योजना छ । त्यो भएर केही समयपछि यसलाई भव्य रुपमै गर्छु । अहिलेलाई सुरु चाहिँ गर्ने योजना छ । अहिले घरलाई नै बढी समय दिने योजना छ । घरमा धेरै लगानी भइसक्यो, लोन लिएर काम गरिरहेको छु । लोनमा कहिल्यै नरहेको मानिस लोन भएपछि धेरै चिन्ता हुँदोरहेछ ।

\"\"
धेरै वर्षपछि फुटबलबाट बाहिर हुनुहुन्छ । बाहिरबाट हेर्दा एन्फा कस्तो देख्नुभएको छ ?
म एन्फामा हुँदा त्यहाँ एउटा ठूलो तानाशाह छ, एकल रुपमा निर्णय हुन्छ, ठूलो आर्थिक चलखेल छ, चरम आर्थिक दुरुपयोग भइरहेको छ भनेर चित्रण गरियो । म र एन्फाको विषयमा त्यस्तो खराब इमेज दिइयो । त्यसमा मेरो पनि कमजोरी भयो होला । ति सबै आरोप प्रत्यारोप गर्ने साथीहरु सबै एन्फामा पुगेका छन् । उनीहरुले मलाई माया दया गरेको होइन होला ।

मलाई माया दया गर्नु पनि पर्दैन । त्यो सब कुरा उहाँहरुले उठाएका कुरा अहिले पूरा भएको छ त ? त्यसमा साँच्चिकै परिवर्तन भयो त भन्ने म सोँच्छु । मलाई लाग्छ त्यहाँ अहिले पहिलाको तुलनामा केही छैन । पहिला त्यस्तो चित्रण गरियो । अहिले मैले केही भन्नु परेको छैन । हिजो सँगै मेरो आलोचना गरेर चुनाव जितेका साथीहरुको स्ट्याटस हेर्दा र उहाँहरुको कुरा सुन्दा पनि त्यहाँ सिस्टम भन्ने केही छैन भन्ने बुझिन्छ । 

अहिले एन्फामा रहने सबै तपाईँकै उत्पादन हुन् । तपाईँकै स्कुलिङमा कमजोरी होइन र ?
मैले यिनलाई स्कुलिङ गरेको होइन । हामी सँगै काम गरेका हौं । नेतृत्वका लागि भनेर ललितकृष्ण श्रेष्ठलाई सबैले स्वीकार गरेका थिए । तर ललितको दूर्भाग्यजनक रुपमा मृत्यु भयो । त्यस कारण अहिले एउटा ‘ग्याप’ जस्तो देखिएको हो । ललित भएको भए समन्वयकारी भूमिका खेल्थ्यो ।

म एन्फामा हुँदा फिफा र एएफसीबाट ५ करोड रुपैयाँमात्र वार्षिक अनुदान आउँथ्यो । तर अहिले त्यो बढेर ४० करोड रुपैयाँ पुगेको छ । त्यो अनुपातमा काम के भएको छ त ? धेरै पैसा भएपछि औपचारिकता पूरा गर्दा पनि केही गतिविधि भएजस्तो देखिन्छ । यत्ति धेरै पैसा हुँदा पनि उहाँहरुले आफूलाई सफल नेतृत्व हो भनेर पुष्टि गर्न सक्नुभएको छैन ।

यसमा मलाई दुःख लाग्छ । अहिलेको पैसाले आमुल रुपमा नयाँ हुनुपर्ने थियो । तर अहिले सिस्टम नै कोल्याप्स भयो रे भन्ने मैले सुनिन थालेको छ । त्यहाँका साथीभाईहरुको, उपाध्यक्षहरुको स्ट्याटस पढछु । हाँसो उठछ । त्यहाँ कसैमा फुटबल विकास गर्छु भन्ने कुनै चासो देखिँदैन । एकाध व्यक्तिमा फुटबलको चिन्ता होला, तर प्रमूख नेतृत्वमा बस्नेलाई फुटबलप्रति कुनै चासो छैन । मणि शाहजस्ता लेजेन्डको मृत्यु हुँदा शोकसभा समेत एन्फाले गरेन । यसबाट उहाँहरुको खेलाडी र फुटबलप्रतिको धारणा राम्रो छैन भन्ने प्रमाणित हुन्छ । 

उनीहरु सबै तपाईँसँग हुँदा राम्रो हुने तर अहिले एकाएक कसरी नराम्रो भन्न सक्नुहुन्छ ?
हो हामीले हिजो सँगै काम गरेका हौं । उनीहरुले मलाई सहयोग गरेका हुन् । उनीहरुले बरु मलाई सँगै काम गर्दा सब राम्रो भने, पछि विभिन्न आरोप लगाउन थाले । भोलि समय र परिस्थितिले धेरै कुरा आउला । मलाई त्यत्रो आरोप लगाएको होइन ? ५८ करोड भ्रष्टाचार गर्‍यो भनेको होइन ? गोल प्रोजेक्टको पैसा खायो, कतारबाट कति ल्यायो, टिकटको पैसा खायो, ८ करोड ल्यायो ।

अनेकथरी भन्नुभयो । अहिले सबै डकुमेन्ट उहाँहरुसँगै छ । अहिले उहाँहरु मौन हुनुहुन्छ । मलाई उहाँहरुको यो अवस्था देखेर छक्क लाग्छ । साच्चै त्यस्तो हो भने सब प्रमाणसहित जनताको सामू देखाए हुन्छ नी !

त्यसोभए अहिले तपाईँको असन्तुष्टि के हो त ?

त्यहीँका पदाधिकारी साथीहरुले मलाई सुनाउँछन्, अहिले कुनै पनि निर्णय कार्यसमितिले गर्दैन रे । मेरो पालामा सबै निर्णय कार्यसमितिले गथ्र्यो । होला, मैले भनेका कुरा साथीहरुले मान्थे होलान् । आर्थिक नियमावलीको कुरा उहाँहरुले गर्नुभएको थियो । पास पनि भयो, अहिले के भयो त ? विधान राखेपबाट पास भइसकेको छैन ।

विधान लागु भइरहेको छैन । खेलाडी पुरस्कारका लागि एन्फाले विभिन्न अपार्टमेन्टको पैसा तिरिसकेको छ । अख्तियारले सम्बन्धित कम्पनीलाई अपार्टमेन्ट दिनु भनिसकेको छ । अहिले भएका सबै साथीहरु पहिला पनि हुनुहुन्थ्यो ।

तर उहाँहरु त्यो अपार्टमेन्ट खेलाडीलाई दिलाउने कुरामा उदासिन देखिनुहुन्छ । यी तमामा कुरा सुन्दा फुटबल ध्वस्त भयो भन्ने चिन्ता लाग्छ । मैले नेपालको फुटबल राम्रो होस भन्ने चिन्ता राख्नेमात्र हो । तर अहिले मैले धेरै चासो राख्न मिल्दैन । मैले चासो राखेर पनि केहि हुँदैन । मुख्य कुरा के हो भने, अहिले पैसा धेरै छ, सही नेतृत्व भए धेरै काम हुन्थ्यो ।

अहिले एन्फामा ठूलो आर्थिक अपचलन भइरहेको भन्ने त्यहीँका साथीहरुबाट सुनेको छु । त्यहाँका सबै मानिसलाई म चिन्दछु । अहिले त्यहाँ साथीहरुबीचको असन्तुष्टि भनेको फलानोले यति पैसा खायो, मैले पाइन । फलानो विदेश गयो, मैले पाइन भन्ने नै हो । फुटबलका लागि होइन । झगडा व्यक्तिगत नै हो । मेरो चिन्ता यसैमा हो ।

साथीहरु मिलेर फुटबल अगाडि बढाउन् भन्ने मेरो कामना छ । त्यसो भयो भने मलाई खुसी लाग्छ । विगतमा भएका एन्फाको दुई चुनावमै ठूलो आर्थिक चलखेल भएको सुनिएको छ । यसले भोलिको दिनमा ठूलो दूर्भाग्य होला भन्ने चिन्ता लाग्छ । मैले खेलाडी, रेफ्री र प्रशिक्षकका लागि भनेर जोगाएर फिक्स डिपोजिटमा राखेको ८ करोड रुपैयाँ पनि निकालेको देख्दा दुःख लाग्छ । 

\"\"

तपाईँलाई संसद्को सार्वजनिक लेखा समितिले ५८ करोड भ्रष्टाचारको ठहर गरेको, फिफा र एएफसीले पनि आर्थिक लेनदेनमै कारवाही गरेको हो । अरुलाई यस्तो आरोप लगाउन नैतिकताले दिन्छ ?

किन नमिल्नु ? फिफाको कुरा त एउटा परिबन्ध थियो, त्यो परिबन्धको मैले सजाय पाइसकेको छु । एन्फामा मेरो कार्यकालसम्म पठाएको सबै पैसाको उहाँहरुले अडिट गर्नुभएको छ । काठमाडौंमै आएर ६ महिना बसेर सबै हिसावकिताव हेर्नुभएको छ । फिफाको पैसामा मैले हिनामिना गरेको भनेर कारवाही भएको होइन ? हमामसँगको भएको व्यक्तिगत लेनदेनलाई पनि उहाँहरुले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ भनेर कारवाही गर्नुभएको हो ।

हमामसँग मेरो व्यक्तिगत सम्बन्धका आधारमा त्यो लेनदेन भएको थियो । अहिले पनि भइरहन्छ, यो हाम्रो व्यक्तिगत सम्बन्धको कुरा हो । त्यो कुरा सकिइसकेको छ । कारवाही गर्ने कुनै आधार नै थिएन । यहाँ लेखा समिति र मिडियालाई प्रयोग गरेर प्रपोगण्डा गरेपछि मात्र फिफा कारवाहीका लागि बाध्य भएको हो । लेखा समितिले ठहर नै गरेको भन्यो । नेपालको अख्तियारले मलाई सफाई दिइसकेको थियो ।

लेखा समितिले पनि मलाई कारवाही गरेको छैन । मसँग निर्णय छ । समितिमा डकुमेन्ट होला, अरुले ल्याए पनि हुन्छ । निर्णयमा कहाँ छ गणेश थापा र ५८ करोड ? एन्फामा भएका अनियमितताको बारेमा थप अनुसन्धान गर्नुपर्ने भएको हुँदा अख्तियारलाई सिफारिस गर्ने भनेको छ लेखाको निर्णयमा । तर लेखा समितिमा भएका केही पूर्वाग्रही मानिस र मिडियाका कारण ठूलो परिबन्ध भयो ।

तपाईँले भ्रष्टाचार गरेको होइन त त्यसोभए ?

बाह्रखरीमार्फत भन्न चाहन्छु, ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको मानिसलाई छोड्नु हुन्छ ? यो कानुन नभएको देश हो र ? मलाई कारवाही गर्नुपर्‍यो भन्ने मेरो माग हो । मलाईमात्र होइन, यो देशमा सबै भ्रष्टाचारीलाई कारवाही गुर्नपर्छ । मेरो कार्यकालमा मैले गरेको भ्रष्टाचारको मलाई कारवाही हुनुपर्‍यो, अरु क–कसले गरे तिनलाई पनि कारवाही हुनुपर्‍यो ।

मैले भ्रष्टाचार गरेको भए साँच्चै कारवाही गर्नुपर्‍यो । होइन भने मानिसको चरित्रमाथि सधैँ प्रश्न उठाएर अनावश्यक पीडा दिन पाइन्न । मैले कति भ्रष्टाचार गरेको रहेछुु, म जायजेथाबाट तिर्न तयार छु । नभए जेल जान तयार छु । तर सधैँ भ्रष्टाचारी भनेर दिइने मानसिक यातना भोग्न तयार छैन ।

म कुनै दिन पत्रकार सम्मेलन गरेरै यो आह्वान गर्नेछु । मलाई किन छोडिरहेको । कारवाही भइदिए यो पीडाभन्दा के–केमा मलाई कारवाही गरेको भन्ने पनि थाहा हुन्थ्यो । मैले गरेका गल्ती पनि थाहा पाउथेँ । होइन भने जुन किसिमको प्रपोगाण्डा गरियो, यसको जवाफ दिनुपर्छ । यत्तिकै यो केस हराएर जाँदैन  । मानिसलाई चरित्र हत्या गरियो । म राजनीतिबाट आएको मानिस होइन । म देशको गोल्ड मेडलिस्ट खेलाडी हुँ ।

म नेपालको फुटबलका लागि खुन पसिना बगाएको मानिस हुँ । मैले अध्यक्षका रुपमा पनि एन्फामा जति काम गरेँ, त्यहाँ अत्यन्तै सफल  रहेँ । फिफा र एएफसीको पैसा नलिइकन बनाएका भवनहरु हेरौं । रंगशालाको एउटा कोठाबाट मैले एन्फालाई यो अवस्थामा पुर्‍याएँ । नेपालको लिगलाई त्यति उचाई दिएँ । खेलाडीले कार र फ्ल्याट पाउने बनाएँ । प्रशासनिक सिस्टम बनाएँ । एन्फा एकेडेमी, च्यासल, धरान बुटबलमा एकेडेमी बनाएँ ।

अहिले मैले छाडेपछिको चार–पाँच वर्षमा के भयो त ? कसैले यसबीचमा भएको एउटा राम्रो काम मलाई देखाइदेओस न त । मैले फुटबल चलाउँदा फिफा र एएफसीबाट ५ करोड मुस्किलले अनुदान आउँथ्यो । त्यो बेला मैले खेलाडी र क्लबलाई दिएको सुविधा र अहिलेको हेरौं । पुरस्कार राशीको तुलना गरौं, अरु कार्यक्रमको तुलना गरौं । अहिले ४० करोड आउँछ । त्यो अनुपातमा सबथोकमा वृद्धि हुनुपर्ने होइन ?

पहिला म हुँदा लिगका लागि फिफाबाट ५० लाख रुपैयाँ आउथ्यो, अहिले अघिल्लो कार्यसमितिले नै ल्याइदिएको ७ करोड रुपैयाँ छ । तर लिग कसरी हुँदैछ हेर्नुस् । फुटबल विकासमा त्यस्तो तमाम काम गरेको मानिस हुँ म । तर हिजो सँगै काम गरेका साथीहरुले यस्ता आरोप लगाउँदा मलाई चित्त दुख्छ । एन्फामा अहिले ठूलो आर्थिक चलखेल छ भन्ने मैले सुनेको छु । म चाहिँ ठेकेदारबाट व्यक्तिगत रुपमा आएको कमिसनको पैसा ४० लाख रुपैयाँ पनि खेलाडी कोषमा हाल्ने । अनि भ्रष्टाचारी पनि मै हुने ? यो अन्याय भएन ?

\"\"

प्रतिबन्ध सकिएपछि एन्फामै फर्किनुहुन्छ ?

त्यसको लागि धेरै समय छ । पाँच–सात वर्ष बाँकी छ । त्यही बेला सोचौँला । म एन्फामा फर्किनु नफर्किनु ठूलो कुरा होइन । म फुटबल विकासका लागि जोसुकै नेतृत्वमा भए पनि अभिभावकका रुपमा सहयोग गर्न सधैँ तयार छु । पद ठूलो कुरा होइन । तर यो देशमा राखेप, मन्त्रालय छन् ।

विदेशीले नेपालको प्रतिनिधित्व गरेर फिफाको कंग्रेसमा गयो । राखेप र मन्त्रालयलाई चासो छैन । विश्वकपको टिकट आयो, कहाँ गयो, कसलाई बेच्यो कसैलाई चासो छैन । यस्ता काम गणेश थापाले गरेको भए के हुन्थ्यो होला । यहाँ कत्रो आँधी आउँथ्यो होला । मेरो आह्वान छ कि राखेपले सब थोकको छानबिन गरोस् ।

राखेपले छानबिन गर्नुपर्दैन ? मलाई एन्फाका लागि आएको पैसाको दुरुपयोग भयो भने साह्रै चित्त दुख्छ । मैले आफ्नो लामो कार्यकालमा कहिल्यै पनि दुरुपयोग हुन दिइन । अत्यन्तै सचेत भएर काम गरेँ । अहिले हुरेलधुरेल हुँदा चित्त दुख्छ ।

तपाईँको कार्यकाल आफैँले फर्केर हेर्दा कस्तो लाग्छ ?
मलाई पछुतो हुनुपर्ने केही काम गरेजस्तो लाग्दैन । आज पनि कोही मानिसले आएर तपाईँले यस्तो गर्नुएभएको थियो भनेर प्रश्न गर्दा जवाफ दिन सकिन भने त्यो दिन रिग्रेट गरुँला । नत्र मैले कुनै गलत काम गरेको छैन । जति काम गरेँ, नेपालको फुटबल विकासमा नै योगदान गरेँ । 

केही गल्ती गरेजस्तो लाग्दैन त ?

एकाध खेलाडीमाथि अन्याय भएको हुन सक्छ । टिममा छान्ने वा अरु विषयमा होइन । पुरस्कार दिने विषयमा कुनै राम्रो खेलाडी परेनन् की भन्ने लाग्छ । कमजोरी त धेरै थिए नी । काम गर्दा धेरै कमजोरी भए । गल्ती म सम्झिन्छु । म धेरै एग्रेसिभ हुन्थेँ । संस्थाको धेरै माया हुन्थ्यो । दुई पैसा कसरी बचाउँ भन्ने हुन्थ्यो, त्यो हुँदा अनावश्यक रुपमा पनि रिसाएँ । साथीहरुसँग, मिडियासँग, राखेपसँग, एनओसीसँग रिसाएँ ।

माया भएपछि रिस पनि बढि उठदो रहेछ । व्यवहार राम्रो भएन की, त्यति एग्रेसिभ नभएको भए अहिले यो अवस्था आउँदैनथ्यो होला । मैले लेखा समितिमा र केही मिडियाका साथीसँग एग्रेसिभ हुनुहुन्थ्यो की हुँदैनथ्यो भन्ने लाग्थ्यो । कर्मा (एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा) नै मसँग नजिकको मानिस, यो ग्रुपलाई टाढा पठाउनु हुन्थ्यो की हुन्नथ्यो । यी सब कुरामा रिभ्यु गर्दैछु । यी तमाम कमजोरी त मेरा छन् । यिनकै कारण मैले यो अवस्था भोग्नुपरेको हो ।

फिफाको कारवाही परिबन्ध हो । बाँकी मैले केही गल्ती गरेको छैन । फिफाको विषयमा पनि मभन्दा बढी हमामले नै ‘आत्मालोचना’ गरिरहेका छन् । मेरो कारण गणेश थापा कारवाहीमा पर्‍यो भन्ने चिन्ता उनमा छ । न हाम्रो कहिल्यै भोटको किनबेच भएको हो न केही हो । एउटा दाजुभाइको नाताले भएको हो ।

चुनाब सकिएको एक वर्षपछि कसैले चुनावको पैसा दिन्छ ? यही मेरो तर्कले फिफा कन्भिन्स भएको थियो । अहिले पनि उनले मलाई सहयोग गरिरहेका छन् । नेपालमा मलाईमात्र होइन कसैलाई स्कलरसिप दिएका छन् त कोही खेलाडी बिरामी हुँदा र निधन हुँदा सहयोग गरेकै छन् ।

अहिले मलाई पनि पर्दा धेरै सहयोग गरिरहेकै छन् । आठ वर्षदेखि उनले कतार छाडेका छैनन् । तर मेरो छोराको विवाहका लागि फागुनमा नेपाल आउँछु भनेका छन् । हाम्रो सम्बन्ध अहिले पनि उस्तै सुमधुर र प्रगाढ छ ।

फुटबलबाट कारवाहीमा परेपछि राजनीतिमा लाग्नुभयो । अहिले त्यता पनि निस्कृय हुनुहुन्छ नी !

त्यसको पनि कारण छ । सर्वोच्चले सरकारले मनोनित गर्ने २६ सिटमा चुनाव हारेको र समानुपातिकको लिस्टमा भएको मानिस हुन नहुने निर्णय गरेपछि राप्रपाको छलफलले मलाई उपयुक्त ठान्यो । म राजावादी, हिन्दुवादी र संघीयतविरोधी मान्छे । जेठो छोरा गौरव र श्रीमतीले जानुहुन्न भनेका थिए । कान्छो छोरा अभिषेक र दाइ कमल थापाले जानुपर्छ भन्नुभयो । सांसद भएँ भने आफ्ना एजेन्डा संसदमै राख्न पाउँछु भन्ने लाग्यो । त्यसरी म राजनीतिमा लागेँ ।

राजनीतिमा लाग्दा म आफ्नै वचनमा चुकेको थिएँ । मैले पहिला सधैँ हामी देशको झन्डा बोक्ने खेलाडी भएकाले कुनै राजनीतिक पार्टीको झन्डा बोक्दिनँ भनेको थिएँ । तर त्यसमा म चुकेँ । पार्टीमा सांसद हुने खुसी छैनन्, छोरा मन्त्री बनाएर पनि खुसी छैनन्, मन्त्री हुनेले पार्टी फुटाउने ।

म चाहीँ राजनीतिमा लाग्दा पनि तलब भत्ता नखाइकन दिनरात मकवानपुर जिल्लामा जनताको सेवामा लागेँ । तर साथीहरुको पारा हेर्दा मलाई विरक्त लाग्यो । पार्टीलाई अहिले दुःख पर्दा गणेश थापा सक्रिय भएन भन्ने गुनासो गरेको सुनेको छु । तर अब सत्तामा नगएर एजेन्डामै प्रतिवद्ध हुने विश्वास दिलाए म फेरि सक्रिय हुन्छु । 

खेलकुदमा चाहिँ कहिले सक्रियतापूर्वक फर्किनुहुन्छ ?
सबै व्यक्तिगत कुरा सकेपछि । धेरैकुरा मेरो लथालिंग भयो । खेलकुदमा फुटबल नभए पनि अन्य खेलमा भए पनि आइहाल्छु । कुनै पनि समय आउन सक्छु । पहिला मेरा लागि घरबार महत्वपूर्ण भयो । घर परिवारका सबै व्यवस्था मिलाएर फर्किन्छु । 
तस्बिरः सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC