site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लय बिग्रिएको एउटा जीवन
Sarbottam CementSarbottam Cement

“ओई, साइकल बिस्तारै ठेल्, गानो जाला ! मख्खिचुस साहूले राम्रो मुखले कहिल्यै पैसा दिएको थाहा छैन, पक्लक्क मरिहालिस् भने लाश उठाउनसमेत आउँदैन, व्यर्थै किन ज्यान फाल्छस् ?”

तेर्सो बाटो पाएँ भने मनभित्र काठमाडौं–अमेरिका साइकलले नै छिचोल्न सक्छुजस्तो साहस थुप्रिन्छ । दिमागले ढाडस दिन्छ, “अझै घुमा पाउदानी !”

जब पानीपोखरीको उकालोनेर आइपुग्छु, आत्मविश्वासले आत्मसमर्पण गरिहाल्छ । कैंडा लागेको बँधुवा भैंसीझैं फत्र्याकफत्र्याक पर्छु ।

Prabhu Bank
Agni Group
NIC Asia

दुईतिर टिनको बाकस झुन्ड्याएको आदिम साइकल त्यहीँ अलपत्र छाडेर सुइँकुच्चा छाडूँझैं हुन्छ । तर, निर्दयी काठमाडौं शहरमा साथ दिने यही साइकल छ । जीवनका बादल–झरीमा ओत लाग्ने चौतारी बनेको छ । गृष्मको धूपमा सियाँल ताप्ने छहारी पनि त यही हो । साइकल नठेलेका दिन जिन्दगीमा उदेकलाग्दो खडेरी देखापर्छ ।

पोगटोजस्तो पेट छाम्छु, साइकलको बेस्मारी माया लागेर आउँछ । भर्खर मायाप्रीति टुसाउँदै गरेकी प्रेमिकालाई झैं स्याहारसुसार गर्छु, साइकलको ।

Global Ime bank

त्यसदिन पनि लाजिम्पाट कट्नेबित्तिकै रामलाई सम्झिएँ । ऊ होटल सांग्रिला कट्नेबित्तिकै साइकल सडक किनारमा अड्याउँथ्यो र मेरो साइकल ठेल्दै माथि पुर्‍याउँथ्यो ।

“तेरो साइकल ठेल्न सघाउनुपर्छ ?” उकालोको मुखमा पुग्नेबित्तिकै म सोध्थें ।

“खानेबेलामा बाहिर निकालेजस्तो छ अनुहार, तैपनि आइजो न त !” हातले निधारको पसिना ओभाउँदै चिसा आँखा हुत्याउँथ्यो ऊ ।

यसरी कयौंदिन हामीले काठमाडौंका सडक नाप्यौं । सहरका गल्लीमा कहिले साइकल त कहिले पैताला डोर्‍यायौं ।

सधैं बादलझैं धुम्मिइरहन्थ्यो उसको अनुहार । दुईवर्षे सडक–संघर्षको दौरान औंलामा गन्न सकिने पटक हाँस्यो होला ऊ । हाँस्दा पनि ओठबाट थुक उछिट्याउँदै, निकै परपर सुनिने गरेर खित्का छाड्थ्यो । तर, उसको अस्वाभाविक गतिविधिप्रति मेरो आँखा कहिल्यै पुगेन । न मैले ‘तँलाई के भएको छ ?’ भनेर सोध्न नै भ्याएँ ।

निकै संघर्षमय थिए काठमाडौं छिर्दाका मेरा शुरूआती दिन । हिउँदे ठन्डीतुल्य चिसो काठमाडौंसँग आत्मीय आलिंगन नै कहाँ थियो र ! आखिर यात्राको आरम्भ सडकबाटै त हुँदो रहेछ !

मार्केटिङको ज्यालादारी काम । चकलेट नबिक्ला र साँझ चामल किन्न नपाइएला भन्ने चिन्ताले हमेसा डसिरहन्थ्यो । ऊसँग बसेर भलाकुसारी गर्ने फुर्सद नै कहाँ र ?

एउटै बाटो हिँड्दा, एउटै काम गर्दा पनि अलग–अलग समस्यामा थियौं हामी । तर, उसलाई एकवचन नसोधेकाले उसको समस्यासँग चिनापर्ची हुन पाइनँ ।

अनुहारमा सधैं पुसको आकाश बोकेर आउने राम ठ्याक्कै पुसको पुछारदेखि अफिस आउन छाड्यो । मसान्तको दुईदिन अगाडि नै काम छाडेकाले तलब उसकै साइकलझैं अलपत्र पर्‍यो ।

मीनपचासको मध्य जाडो । हातमा पञ्जा किन्ने सामर्थ्यसमेत थिएन हाम्रो । जेनतेन मैले साइकल ठेलिरहेको थिएँ । ठानें– ऊ त्यसबाट कायल भयो । ठिहिरो बढेपछि जाडोसँग आत्मसमर्पण गर्‍यो ।

तर, होइन रहेछ ।

एकदिन ऊ वसन्तपुरको डबलीमा निकै विह्वल हालतमा भेटियो । ओडार पसेका आँँखा । सुकेको मेवाजस्ता गाला । कलेटी परेका चक्लेटी ओठ । शुरूमा त ठम्याउनै गाह्रो भयो ।

“१५ दिन साइकल ठेलेको पैसा लिन बाँकी थ्यो, साहूले केही भन्थ्यो ?” स्वर भासिएको रहेछ ! मलाई देख्नेबित्तिकै बडो अप्ठ्यारोसँग सोध्यो उसले ।

“साहूले त केही भनेको छैन तर तैंले कामचाहिँ किन छाडिस् ?” मभित्रको खुल्दुली निकै झांगिइसकेको थियो ।

“आज मेरो कोठमा हिँड्, सबै खुलस्त पार्छु,” ऊ त्यहाँ धेरै बोल्ने हालतमा देखिएन ।

वसन्तपुरबाट भित्री बाटो हुँदै जमल निस्कन खोजेको, मान्छेको भीड छिचोल्दाछिचोल्दै रात परिहाल्यो । साहूकहाँ पुग्दा ७ बजेको हुँदो हो । टिनको बाकसबाट बेच्न बाँकी रहेको चकलेटका बट्टा निकाल्न थालें । वसन्तपुरमा गन्दा १० वटा बट्टा बेच्न बाँकी थियो । साहूकहाँ पुग्दा ९ वटामात्रै छ । एउटा बाटैले निलेछ । दिनभर पसिना बगाउँदा ७५ रुपैयाँ नाफा बसेको थियो । १२५ को चकलेट हराउँदा उल्टै ५० रुपैयाँ तिर्नुपर्ने भयो । व्यर्थ भयो क्विन्टलको भारी बोकेर १० किलोमिटर साइकल ठेलेको । निधारबाट पसिनाको खोल्सो बग्यो । तालुबाट छुटेको पसिनाको धाराले पैतालामुनिको माटो भिजायो । 

“नाफा कमाउन खोज्ने चुत्के, साउँबाटै फुत्के,” उखान हाल्दै उसले सान्त्वना दियो, “धन्दा नमान्, मेरो कोठामा हिँड्, मेरो व्यथा पनि सुनाउँछु, १२५ पनि दिन्छु ।”

० ० ०

डल्लु रहेछ उसको कोठा । मान्छेजस्तै अस्तव्यस्त । असरल्ल ओच्छ्यान । भित्तामा झुन्ड्याइराखेका दुई थान दुब्ला झोला उसको परिचय दिन पर्याप्त थिए । ढोकाबाट भित्र पस्नेबित्तिकै ह्वास्स गह्नायो– एक हप्तादेखि माझ्न बाँकी रहेका बासी भाँडा ।

उसको दिमागी असन्तुलनको असर कोठालाई पनि परेको भान भयो । कोठा जानुअघि पसलबाट दुईथान वाईवाई चाउचाउ किनेको थियो उसले । स्टोभ बालेर भुक्लुक्क उमाल्यो । ओठका दुवै कुनामा अर्धहाँसो उमारेर भन्यो, “आजको खाना यही हो है !”

दिउँसोको चाउमिनले पेट ढुस्स भएको थियो । बाटामा दुई–चार फेर झुसिलो डकार आयो । कोठाभित्र पस्नेबित्तिकै उँधैउँ नै होलाजस्तो भयो, कसरी रुच्थ्यो चाउचाउ ! कचौरा आफूतिर त तानें, चाउचाउ तानिनँ ।

निकै भोकाएको रहेछ ऊ, जिब्रो डाम्दै चाउचाउ खायो । र, व्यथा ओकल्न थाल्यो—


यो घटना त्यस्तै दुई वर्षअघिको हो । वर्षातको समय । आईएड प्रथम वर्षको परीक्षा सकेर गाउँ गएको थिएँ । गाउँमा बाटो (सडक) बनाउने काम भइरहेको थियो । २० किलोमिटर सडक बनाउने जिम्मा ठूलो निर्माण कम्पनीले लिएको थियो । नाला बनाउने, पर्खाल ठड्याउने ठेक्काचाहिँ पेटी ठेकेदारले लिएका रहेछन् । त्यसैमध्ये थिए– विदुर ।

एक महिनादेखि हाम्रै घरमा बस्थे विदुर । गणितमा बीएड उत्तीर्ण गरेकाले हुनुपर्छ, ठेकेदार कम मास्टर ज्यादा भएका रहेछन् गाउँमा । साँझ पर्नै पाउँदैनथ्यो, लड्कालड्कीले घर भरिइहाल्थ्यो । भाइबहिनी पनि उनैका सूत्रका अधीनमा चल्ने भइसकेका रहेछन् ।

“तेरो कोठामा ठेकदार सर बस्नुहुन्छ, उहाँ खाटमा सुत्नुहुन्छ, तँचाहिँ भुइँमै ओच्छ्यान लगाएर सुत्नू,” म गएकै दिन आमाले आदेश दिनुभो । मैले पनि नाइँनास्ती गरिनँ ।

खोलो कराएको, निशाचरको गाइँगुइँ आवाजले कानमा झुत खेलिरहेका थिए । मध्यराततिर ठेकेदारको आवाज कानमा ठोक्कियो । भन्न थाले, “बाबु, मलाई त एक्लै सुत्न डर लाग्छ, बानी पनि छैन, म तलै आऊँ ?”

आँखा लाग्न लागेका रहेछन्, तन्द्रामै भनेछु, “हुन्छ आउनू !”

दुईदिन उनी शान्तपूर्वक सुते । राति पिसाब फेर्न उठ्नेबाहेक उनको अरू गतिविधि देखिएन ।

तेस्रो दिनको कुरा हो । मस्त निद्रामा कसैले मेरो सुरुवाल तल सारेझैं लाग्यो । निद्रामा होला भनेर शुरूमा त खासै वास्ता गरिनँ । लोग्नेमान्छेसँग सुतेको शंका पनि के मान्नू ? गुप्तांगमै छामेजस्तो लागेपछि जिउ सिरिंग भयो ।

ब्युँझिएर छाम्छु त ठेकेदारको हात पो छ । निद्रामा ल्याएछन् क्यारे भन्ठानेर हात पन्छाइदिएर सुतें । त्यो दिन त्यत्तिकै भयो । केही भन्ने कुरा पनि भएन ।

भोलिपल्ट उनको हर्कत झनै बढ्यो । मध्यरात, मस्त निद्रामा भएका बेला उनले अघिल्लो दिनकै कुकृत्य दोहोर्‍याए । त्यसदिन त अझ अघि बढेर उनले सुरुवाल घुँडासम्म पु¥याउन भ्याइसकेका रहेछन् । बेलैमा ब्युँझिएँ । पुरुषत्व जोगाएँ ।

उज्यालो भएपछि आमालाई भन्छु भनेर तल ओर्लिएको, मझेरीमा पुग्दानपुग्दै ओठ बाँधिए । आमाले के भन्नुहोला भन्ने भयले कुँजो भएँ ।

आफूसरहकै थियो भाइ । राति सुतेका बेला सुरुवाल खोल्ने र गोप्य अंग समातिदिने हर्कत गर्न थालेपछि ठेकेदारको कोठामै जान डराएको रहेछ ऊ । काठमाडौं आएका बेला मात्रै भन्यो ।

दुव्र्यवहारको निशाना दाजुभाइलाई मात्रै बनाएछन् । बहिनीतिर हात लम्काएको भए ?

पुरुषले पुरुषलाई नै यौन दुव्र्यवहार गर्न सक्छ भनेर सपनामा पनि चिताएको थिइनँ । त्यो घटनापछि म निकै विक्षिप्त भएँ । धेरै दिनसम्म बिथोलिएँ । नसोचेको घटनाको शिकार हुनुपर्दा मस्तिष्क गिजोलिइरह्यो । डिप्रेसनले ठुङ्ला भन्ने भय पो भयो ।

तर, धेरै दिन रहिरहेन ट्रमा । काम सकेर ठेकेदार बिदा भएपछि ताडनाबाट बाहिर आएँ । एकखालको पुनर्जीवनकै आभास भयो । तर, दुर्व्यवहारको शृंखलाले पछ्याउन छाडेन ।

एकदिन कामविशेषले रत्नपार्कबाट साँखु जाँदै थिएँ । बसमा भेटिए यौनव्यभिचारी । 

तिलचामले कपाल । कलमी लगाएका छोटा जुँगा । सफाचट दाह्री । निकै भलाद्मी लाग्ने प्रौढ पुरुष पुछारको सिटमा रहेछन् । मलाई देख्नेबित्तिकै भने, “ए बाबु ! सानो रहेछौ । मनजिकै बस आऊ !”

भलाद्मी लाग्ने पुरुषले भनेपछि किन आनाकनी गर्नु ! म नजिकै गएर बसें । उनले तानेर काखमा राखूँलाझैं गरे । म सिटमै अटाएँ । जोरपाटी पुग्दासम्म ती पुरुष निकै शान्त देखिए । तिनका आँखा तलाउझैं स्थिर रहे ।

थली कटेपछि भने ती हात चलमलाउन थाले । उबडखाबड बाटोमा जता गाडी ढल्कन्छ, उतै हात लैजान्थे । कहिले सिटमा, कहिले तिघ्रामा हात ठोक्किन्थ्यो । शुरूमा गाडीले हल्लाएर होला भनेर खासै ध्यान दिइनँ ।

डाँछी आइपुगेको मात्रै के थियो, तिनले एक्कासि गुप्तांग मुठ्ठयाए र हात रगड्न पो थाले ।

के गरौं, कसो गरौं— द्विविधाग्रस्त भएँ । मनभित्र भयानक भैंचालो गयो । एक वर्षअघि तावाको माछा भएको थिएँ । अहिले दिनदहाडै भुंग्रोमा परें । निधारमा चिटचिट पसिना आयो ।

मस्तिष्कमा मेघनाद भयो । वायुवेगमा ती दुराचारीको हातमा बेस्सरी चिमोटिदिएँ । 

उनी बेस्सरी रन्थनिए । हठात् हात हटाए । दुखेकै तालमा सहचालकलाई हकारे, “ओई ! गाडी रोक् ।”

गाडी नयाँपाटी पुगेको रहेछ । दुराचारी सडकमा पुगेपछि मात्रै सास फेरें । त्यतिबेलासम्म मेरो अनुहारको भाव बदलिइसकेको थियो । मेरो विद्रूप अनुहारमा छेउको सिटमा बस्नेको आँखा पुगिहालेछ । उसले खोर्‍याउँदै सोध्यो, “के भयो बाबु ? किन अत्ताल्लिएको ? सञ्चो छैन कि कसो ? कि बान्ता आउन लाग्यो ?”

मभित्रको पौरुष चिसिइसकेको थियो । दुराचारीको फन्दामा परिसकेको थियो । खै किन हो, मस्तिष्कले आदेश दियो, “बलात्कारी गइसक्यो, तँ चुप लाग् ।”

पहिलो घटनाले आहत भएको म दोस्रो घटनाले मर्माहत भएँ । मभित्रको पौरुष गुमनाम भइसकेको थियो । बलशाली कैशोर्य छिन्नभिन्न भइसकेको थियो । 

हरपल त्यही घटनाको स्मरणले दिमाग अपहरित भइहाल्यो । गम्भीर मनोरोगको चक्रव्यूहमा फसें । बाहिर आउन निकै धामा गर्नुपर्‍यो ।

बल्लबल्ल घाउ निको हुँदै थियो । फेसबुकमा अर्का कुपुरुषसँग जम्काभेट भयो ।

“भाइ, तपाईं निकै विद्वान देखिनुहुन्छ नि !” फेसबुकमा साथी बनेकै दिन ती महापुरुषले यसरी कुरा आरम्भ गरे ।

मैले सरसर्ती प्रोफाइन नियालें– कम्युटर इन्जिनियर । विद्युत् प्राधिकरणमा काम गर्ने । मध्यतराई घर । कुरा गर्न अन्कनाउनुपर्ने थिएन । ८–१० दिन राम्रै कुरा भयो ।

एघारौं दिन उनको नग्न रूप प्रकट भइहाल्यो । चावहिल ओरालो बस्दा रहेछन् । ‘मेडिकेयरमा बिरामी भएर आएको छु, भेटौं’ भने ।

फेसबुकमा विद्वान देखिन्छन् । राजनीतिक चेत उस्तै तिलस्मी छ । साहित्यमा पनि कलम चलेकै देखिन्छ । अभिव्यक्तिमा पनि उत्तिकै सचेत छन् । भेट्दा के नै बिग्रेला भनेर अप्ठ्यारो नमानी मेडिकेयर पुगें ।

केको बिरामी हुन्थे ! उनी मूलसडकमा कुरिरहेका रहेछन् मलाई । भेट्नासाथ ‘म बसेको होटल जाऊँ, कफी खाऊँ’ भनेर अनौठो प्रस्ताव पो गर्न थाले । दुईपटक भुंग्रोबाट उम्किएकाले अनुमान गर्न कठिन भएन ।

‘अहिले फुर्सद छैन’ भनेको मात्रै थिएँ, कपाल सुम्सुम्याउँदै गुप्तांगमा हात पुर्‍याउन भ्याइहाले । उनको असलियत, नियत बुझ्न आइतबार पर्खनु परेन । 

त्यहाँबाट त उम्किएँ तर मन झन् भंगालोमा हेलियो ।

० ० ०

दुर्व्यवहारका यी तीन शृंखला बेहोरेपछि अर्धमूर्च्छित बनेको रहेछ राम । मलाई भेटेपछि निकै ढाडस भयो उसलाई । पिलो फुटाएझैं हल्का भयो मन । मध्यरातसम्म धेरैपटक आँसु बनेर पोखियो । थुप्रैपटक भित्तामा टाउको ठोक्कायो ।

दुव्र्यहारले बिथोलेको मन लयमा फर्काउने मसँग कुनै शब्द थिएनन् ।

“मलाई भनेर पीडाको आयतन घटायौ, आउँदा दिन अझ बढी सचेत हुनू,” उसलाई सजग गराउने कोसिस गरें । सान्त्वनाको मल्हमले उकुच पल्टिएको घाउ कसरी निको हुन्थ्यो र ! अद्यपर्यन्त बिथोलिएकै छ ऊ । जीवनको लय विशृंखलित भएको छ । पीडाको बोझले घुँडा टेकेका छन् सपनाले ।

अहिले सामाजिक सञ्जालमा #MeToo अभियान चलिरहेको छ । तराना बुर्केले सन् २००६ मा शुरू गरेको #MeToo को आँधी नेपालका ठूला शहरमा आइपुगेको छ । आँधीको असरको प्रतीक्षामा छन्, अभियन्ता । तथापि कार्यक्षेत्रमा महिलामाथि भइरहेका यौनजन्य हिंसा र यौन दुर्व्यवहारका गुप्त र लुप्त घटनालाई #MeToo अभियानले तत्काल बाहिर ल्याउने कल्पना गर्न सकिँदैन । हाम्रोजस्तो साँघुरो सोच र चिन्तनको पुस्तैनी घेराभित्र हुर्किएको समाजमा ‘ममाथि हिंसा भयो’ भनेर खुल्लमखुल्ला भन्न सक्ने महिला कति नै होलान् र ! जसले #MeToo जस्ता सामाजिक अभियानको प्रभावकारिताको आयतन नाप्न सकियोस् । यद्यपि यस्ता अभियानले महिलालाई पीडाको पर्खाल बाहिर ल्याउन बल पुर्‍याएकै छ ।

पछिल्लो समय बलात्कार सभ्य समाजको कलंक बन्दै छ । निर्मला पन्त प्रकरणको पहेली हेर्दा बलात्कार सभ्य समाजको चुनौती भइसक्यो । अपराधको कुनै जात, धर्म, लिंग, समुदाय, सम्प्रदाय हुँदैन । अपराधको जात अपराध नै हो । तथापि पछिल्लो समय बलात्कारलाई लिएर समग्र पुरुष जातिको निधारमा कलंकको टीका लगाउने कोसिस पनि भइराखेकै छ ।

स्त्रीहरूलाई मात्रै पीडितको दर्जामा राखेर जब–जब पुरुषहरूको निधारमा बलात्कारीको उपमा झुन्ड्याइन्छ, तब स्मृतिको आँखीझ्यालबाट राम फुत्त टाउको निकाल्छ र भन्छ, “#MeToo को आँधी किन आउँदैन मेरो पीडाको बाटो भएर ?”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC