काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना पूरा हुन लाग्दासमेत बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीले अहिलेसम्म करिब २ सय जनालाई यस घटनामा जोडेर अनुसन्धान गरिसकेको छ तर पनि बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको छैन ।
साउन १० गते साथीको घरमा गएकी निर्मला ११ गते घर नजिकै उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको भए पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीले निर्मलाका छिमेकी प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीलाई दिएको बयानमा उनीहरुले निर्मलाको हत्या स्वीकार गरे पनि डीएनए रिपोर्ट भने आइसकेको छैन ।
डीएनए रिपोर्ट म्याच नभए उनीहरुलाई पनि छाड्ने तयारी प्रहरीले गरेको छ । प्रहरी स्रोतका अनुसार हिरासतमा रहेका दुई युवाको डीएनए म्याच नभए उनीहरुलाई पनि छाडिदिने र विशेष अनुसन्धान टोली गठन गरिने तयारी गृह मन्त्रालयको छ ।
संगठित अपराधमा अहिलेसम्म एकपल्टमात्रै यस्तो स्वतन्त्र समूह गठन भएको थियो । ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यामा गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेर अनुसन्धान गरिएको थियो ।