काठमाडौं । नेपाल नम्बर एक ब्याड्मिन्टन खेलाडीद्य रत्नजीत तामाङ र उनकी दिदी नङशलदेवीसहितको टोली योनेक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय च्यालेन्जमा भाग लिन सोमबार ढाका गएका छन् ।
अन्तर्राष्ट्रिय ब्याड्मिन्टन महासंघको सहयोगमा बंगलादेश ब्याड्मिन्टन संघले गर्न लागेको प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीमा तामाङ दिदी–भाइसँगै दीपेश धामी र अमिता गिरी पनि छन् । नेपाल ब्याड्मिन्टन संघका उपाध्यक्ष सुवाष श्रेष्ठको नेतृत्वमा सोमबार ढाकातिर लागेको नेपाली टोलीमा तामाङ दिदी–भाइ र दीपेश छन् । अध्ययनको सिलसिलामा भारतमा रहेकी अमिता उतैबाट ढाका जाने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
मंगलबार सुरु भएर पुष १ गतेसम्म चल्ने प्रतियोगितामा नेपाली टोलीले पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल र मिश्रित युगलमा प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी आयोजकको निमन्त्रणामा अन्तर्राष्ट्रिय अम्पायरहरु उदय अर्याल, दीपक थापा र सुमित शाक्य पनि निर्णायकको भूमिका निर्वाह गर्न ढाका गएका छन् । नेपाली अम्पायरहरुले बंगलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज सकिएको दुई दिनपछि सुरु हुने योनेक्स सनराईज बंगलादेश अन्तर्राष्ट्रिय जुनियर सिरिजमा पनि निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।