site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको ‘झापामोह’, नियुक्तिमा अधिकांश ‘झापाली’
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुकमा आधारभूत तहको प्रतिनिधित्व गर्ने शक्तिशाली कम्युनिस्ट सरकार छ । यसको मूल ध्येय भनेको राज्यका हरेक तह र तप्कामा नागरिकको समान सहभागिता, समतामूलक समाज निर्माण गर्ने नै हो । प्रधानमन्त्री केपी शर्मा ओली पनि पाइलैपिच्छे क्षेत्रीय, भौगोलिक, जातीय विभेद, उँचनीचको विरोध गर्छन् ।

तर, व्यहार भने त्यसको ठीक उल्टो रहेको छ । उनको प्रवृत्ति झापालीलाई मात्रै पोस्ने प्रकृतिको रहेको भन्दै नेकपाका नेताहरूले प्रधानमन्त्रीको आलोचना गर्न थालेका छन् । 

पाँचपटक सत्ताको नेतृत्व सम्हालेको तत्कालीन एमालेको राजकीय जिम्मेवारी बाँडफाँट गर्ने आफ्नो प्रावधान थियो । पार्टीप्रति निष्ठा, संगठित भएर अमूक कमिटीमा काम गरेको आदि–इत्यादि । तर, ओली प्रधानमन्त्री भएयता पार्टीको नीति, नियम भत्काइएको गुनासो जिम्मेवारीमा नरहेका कार्यकर्ताहरूले गर्न थालेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हुन पनि प्रधानमन्त्रीको सचिवालयमा झापाली बाहेकलाई करिब ‘प्रवेश निषेध’ जस्तै छ । राजनीतिक नियुक्तिमा पनि झापालीले बाहेक विरलै प्राथमिकता पाउँछन् । यो कुनै आरोप होइन, केपी ओली नेतृत्वको सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिलाई केलाउने हो भने राजनीतिक नियुक्ति र लाभका पद धारण गर्न सक्ने क्षमता भनेको ‘झापाली’ नै रहेको छ ।

आफ्नालाई बनाउन अतिरिक्त पद

Global Ime bank

पछिल्लो समय केपी ओली, सुशासन र समृद्धिको मानक बन्ने ध्याउन्नमा छन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, भ्रष्टाचार विरोधी राज्य–चरित्र निर्माणमा उनी कम्मर कसेर लागेको उद्घोष गर्दै आएका पनि छन् । केपी ओली प्रधानमन्त्री निर्वाचित भएर आएयता सिंहदरबारका घर–द्वारदेखि सामान्य सरकारी कार्यालयसम्मका भित्तामा ‘भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँआदि लेखिएका सूचना टाँसिएको छ । र, कर्मचारीलाई ‘किरिया खान’ लगाइएको छ ।

तर, तिनै ओलीले नेपाल वायु सेवा निगममा हुँदै नभएको पद सिर्जना गरेर मदन खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेका छन् । खरेललाई भदौ अन्तिममा बसेको मन्त्रिपािरषद्को बैठकले कार्यकारी अध्यक्ष नियुक्त गरेको हो । खरेल २०६९ मंसिर १० गते चार वर्षका लागि खुला प्रतिस्पर्धाबाट निगमको महाप्रवन्धक बनेका थिए । तर, कर्मचारी युनियनको कार्यशैलीबाट काम गर्ने वातावरण नभएको भन्दै उनले ०७१ चैतमा राजीनामा दिए । 

ओली नेतृत्वको सरकारले तिनै खरेललाई सञ्चालक समिति सदस्य नियुक्त गर्‍यो र त्यसको पर्सिपल्ट कार्यकारी अध्यक्ष बनाएको थियो । खरेलको नियुक्तिलाई लिएर निगमभित्र असन्तुष्टि उत्पन्न भएको थियो भने निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले त सार्वजनिक रूपमा विरोध नै गरेका थिए । उनलाई दिनानुदिन घाटामा गइरहेको निगम सुधार्न भन्दा पनि प्रधानमन्त्री ओलीको गृहजिल्ला निवासी भएकाले कार्यकारी अध्यक्ष बनाइएको चर्चा नेकपाभित्रै भइरहेको छ ।

केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएका बेला अख्तियार प्रमुख पनि झापाकै बनाउन सफल भए । २० भदौमा बसेको संवैधानिक परिषद्को बैठकले नवीन घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिस गर्‍यो । संसदीय सुनुवाइ समितिले सर्वसम्मत रूपमा घिमिरेलाई अनुमोदन गरेको थियो । झापा इतरको भए घिमिरे अख्तियार प्रमुख बन्ने सम्भावना न्यून रहेको नेकपाका नेताहरू बताउँछन् । २०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरे प्रमुख आयुक्त हुनुपूर्व अख्तियार प्रमुखकै कायममुकायम जिम्मेवारी सम्हालिरहेका थिए ।

झापामा जन्मिएर केपी ओली नजिक भएबापत पटकपटक लाभ प्राप्त गर्ने अर्का ‘भाग्यमानी’ हुन्– महान्यायाधिवक्ता अग्नी खरेल ।

अघिल्लोपटक मन्त्रिपरिषद्को कोटाबाट संविधानसभा प्रवेश गरेका खरेल प्रमुख सचेतक हुँदै कानुनमन्त्री बनेका थिए । यसपटक सांसद बन्न मरिहत्ते गरेको भए पनि उनलाई त्यो सुविधा प्राप्त भएन र ओली प्रधानमन्त्री बन्नेबित्तिकै महान्यायाधिवक्ता बनाइयो ।

कानुन व्यवसायी खरेल पार्टीभित्र खास योगदान र भूमिकाले भन्दा पनि ओली निकट भएकै आधारमा पद, प्रतिष्ठा प्राप्त गर्ने तहमा पुगेको नेकपाका नेताहरू बताउँछन् ।

पार्टीभित्र उल्लेख्य भूमिकाबिना नै अर्थ मन्त्रालय सम्हाल्ने अवसर प्राप्त गर्ने पात्र हुन्– डा. युवराज खतिवडा । पार्टीमा योगदान, क्रियाशीलताका आधारमा भन्दा ओलीको विश्वासपात्र भएकाले अर्थमन्त्री नियुक्त गरिएको विषय नेकपाभित्र निकै पेचिलो बन्यो ।

सहायक अनुसन्धान अधिकृतका रूपमा ०३९ मा नेपाल राष्ट्र बैंकमा जागिर शुरू गरेका खतिवडाले २० वर्ष त्यहीँ बिताए । र, ०५७ मा राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भए । 

०५८ देखि २०६१ सम्म राष्ट्रिय योजना आयोगको सदस्य भएका खतिवडा ०६२ देखि तीन वर्षसम्म युएनडिपीको क्षेत्रीय केन्द्र, कोलम्बोमा वरिष्ठ अर्थविद्का रूपमा काम गरे । ०६६ माधवकुमार नेपाल प्रधानमन्त्री भएकाबेला योजना आयोगको उपाध्यक्ष बनेका खतिवडालाई त्यहाँबाट राजीनामा गर्न लगाएर ०६६ चैत  ९ मा राष्ट्र बैंकको गभर्नर बनाइएको थियो ।

राष्ट्र बैंकको गभर्नर हुँदा घरजग्गा र सेयर कारोबारलाई अनुत्पादक क्षेत्र भन्दै उनले कडाइ गरेका थिए । प्रधानमन्त्री केपी ओलीको विश्वासपात्र र गृहजिल्ला निवासी पनि भएकाले खतिवडालाई अर्थमन्त्री पत्याइएको चर्चा उतिबेलै भएको थियो ।

सफल गभर्नर मानिएका खतिवडाले क्षतिग्रस्त बनेको मुलुकको अर्थतन्त्र उकास्ने अपेक्षा गरिएको थियो । तर, घोषणापत्रको मर्म र भावनालाई नछोएको भन्दै उनको बजेट वक्तव्यले अधिकांशलाई निराश बनायो । 

आफ्ना वरपरका र नातेदारलाई नियुक्ति दिनेमा खतिवडा पनि ओलीझैँ देखिए । अर्थमन्त्री डा. खतिवडाले प्रमुख स्वकीय सचिवमा तुलशीराम मैनालीलाई नियुक्त गरेका छन् ।

मिनभवन क्याम्पसबाट बागी उठेर ०६५ मा स्ववियु सभापति बनेका मैनाली पनि ओली निकट हुन् । झापा निवासीसमेत भएकाले मैनालीलाई अर्थमन्त्रीको स्वकीय सचिव बनाइएको नेताहरू बताउँछन् ।

सचिवालय र राजकीय जिम्मेवारीमा झापालीलाई प्राथमिकता

प्रधानमन्त्रीको सचिवालयमा झापालीकै बाहुल्य छ । उनको निजी सचिवमा युवराज दाहाल छन् । उनी पनि झापाकै हुन् । दमक नगरपालिकाका कार्यकारी अधिकृत रहिसकेका दाहाल प्रधानमन्त्रीको गृहजिल्ला भएकैले निजी सचिव पत्याइएको नेकपाका नेताहरू बताउँछन् ।

त्यस्तै अघिल्लो पटक प्रधानमन्त्री हुँदा सचिवालयमा रहेका रमेश भट्टराई यसपटक पनि सचिवालयमा छन् । उनी पनि झापा घर भएकैले प्रधानमन्त्री ओलीको सचिवालयमा अटेका हुन् । उनीबाहेक चेतन अधिकारी पनि सचिवालयमा छन् । प्रधानमन्त्रीको प्रेस संयोजक रहेका अधिकारी पनि झापाकै हुन् ।

त्यस्तै, एक महिनाअघि प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवका रूपमा इन्द्र भण्डारी नियुक्त भएका छन् । झापाकै भण्डारी अघिल्लो कार्यकालमा पनि प्रधानमन्त्रीको स्वकीय सचिवकै रूपमा नियुक्त भए थिए । तर, कार्यकर्तालाई भन्दा व्यापारी भेटघाटमा प्रधानमन्त्रीलाई व्यस्त राखेको भन्दै उनी केपी ओली प्रधानमन्त्रीबाट हटेको केही समयपछि सचिवालयबाट हटाइएका थिए । त्यसैको प्रभावले हु्नुपर्छ यो कार्यकालमा उनी ९ महिनापछि सचिवालयमा प्रवेश पाएका छन् । प्रधानमन्त्री हुनुपूर्व ओलीको सचिवालयमा अनिस दाहाल पनि थिए । झापा नै घर भएका दाहाल ओली प्रधानमन्त्री भएपछि भने सचिवालयमा छैनन् ।

प्रधानमन्त्रीको सचिवालयमा मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र प्रेस सल्लाहकार, डा. कुन्दन अर्याल भने झापा इतरका छन् ।

ओली निकट र झापाली भएको लाभ उठाउने अर्का दुई पात्र हुन्¬– हिक्मत कार्की र देवराज घिमिरे । कार्की ओलीकै जोडबलमा प्रदेश १ को आन्तरिक मामिला तथा कानुनमन्त्री छन् भने घिमिरे प्रदेश १ को अध्यक्ष छन् ।

प्रदेश १ को अध्यक्षमा माधव नेपालले आफू निकट व्यक्ति अध्यक्ष बनाउन चाहेका थिए ।  त्यसो त उदयपुरका नेता पूर्व सांसद जगन्नाथ खतिवडाले पनि अध्यक्ष बन्न तीव्र कसरत गरेका थिए । तर, झापा र आफू निकट समेत भएकाले ओलीले घिमिरेलाई प्रदेश अध्यक्ष बनाएको नेपाल निकट नेताहरू बताउँछन् ।

प्रधानमन्त्रीको ‘झापामोह’को शृङ्खला यतिमै टुंगिँदैन । नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, “ओली नेतृत्वको सरकारमा जिम्मेवारी पाउन कि ओलीको किचेन क्याबिनेटको हुनुपर्छ । कि एकधूर जग्गा भनेपनि झापामा किन्नुपर्छ ।”

त्यसैको उदाहरण हुन्– गंगा उप्रेती । उनले झापा घर भएकै कारण प्रज्ञा प्रतिष्ठानको कुलपतिको जिम्मेवारी दोहोर्याएर प्राप्त गरेका छन् । उनलाई असोज २१ गते ओली नेतृत्वको सरकारले कुलपति नियुक्त गरेको हो ।

यसअघि ०७१ भदौ २० गते पनि गंगा उप्रेती कुलपति नियुक्त भएका थिए । तर, प्राज्ञिक उन्नयन र प्रज्ञा प्रतिष्ठानको विकासमा ‘सिन्को नभाँचेको’ टिप्प्णी नेकपाकै प्रगतिशील लेखक–साहित्यकार बताउँछन् ।

“झापा घर भएकैले उहाँ रोजाइमा पर्नुभएको हुन सक्छ,” एक प्राज्ञले टिप्पणी गरे ।

त्यस्तै ओलीको आफन्त र झापाली भएकैले राजकीय जिम्मेवारी प्राप्त गर्ने व्यक्ति पर्छन्– डा. कृष्णप्रसाद ओली । ओली विषय विशेषज्ञ भन्दा पनि नाताले ओलीका ‘काका’ पर्ने भएकाले प्राथमिकतामा परेको टिप्पणी नेकपाकै सदस्यहरू गर्छन् । ओलीले राष्ट्रिय योजना आयोगको उर्जा, जलस्रोत तथा सिँचाइ, वन तथा वातावरण, दिगो विकास लक्ष्य अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्ने र प्रदेश नं. १ को तहगत समन्वयको जिम्मेवारी दिइएको छ ।

झापा घर भएकाले राष्ट्र बैंकको डेपुटी गर्भनर बन्ने ‘सौभाग्य’ प्राप्त गर्ने अर्का व्यक्ति हुन्– चिन्तामणि सिवाकोटी । उनी पनि प्रधानमन्त्री ओलीको गृहजिल्ला निवासी भएकाले रोजाइमा परेको राष्ट्र बैंकका जिम्मेवार तहका अधिकारी बताउँछन् ।

झापामा बसोबास गरेकैले राजनीतिक नियुक्ति प्राप्त गर्नेको सूची निकै लामो छ । त्यही सूचीमा थपिन आइपुगेका छन्– दीपक पाठक । उनी रेडियो नेपालको बोर्ड सदस्य नियुक्त भएका छन् । निर्वाचन आयुक्त नियुक्त भएका नरेन्द्र दाहाल पनि झापाकै हुन् । गृहजिल्लाकै भएकाले दाहाललाई सवैधानिक आयोगको सदस्य बनाएको पार्टीका नेताहरू बताउँछन् ।
पुख्र्यौली घर ताप्लेजुङ, फुङ्लिङ भएका दाहाल २०३८ सालमा निजामती सेवामा प्रवृष्ट भएका हुन् । माहालेखा नियन्त्रक भइसकेका दाहाल २०७० को संविधानसभामा निर्वाचन आयोगको सचिव थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि झापा निवासी नै हुन् । अधिकारी मदन भण्डारी फाउन्डेनका पूर्वसचिव समेत हुन् । झापा निवासी र केपी ओलीको विश्वासपात्र मानिएकाले राष्ट्रपतिको प्रमुख स्वकीय सचिव बनेको चर्चा नेकपाभित्र हुने गर्दछ ।

झापा निवासी भएर पनि प्रधानमन्त्री केपी शर्मा ओलीको यसपटकको सचिवालयमा नअटाउने पात्र हुन्– गोपाल खनाल । पत्रकारिता पेसामा आवद्ध खनाल चक्रपथ डटकमका सम्पादक हुन् । केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा खनाल परराष्ट्र मामिला विज्ञ नियुक्त भएका थिए ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार खनाललाई परराष्ट्र मन्त्रालय मातहतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त गर्न लागिएको छ । उनी केही दिनभित्रै नियुक्त हुने स्रोतको दाबी छ ।

युवा संघको उपाध्यक्ष समेत रहेका गोविन्द थापा पनि झापा निवासी हुन् । झापा घर भएकैले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा थापालाई दमकमा रहेको ‘ग्रीन इन्डष्ट्रियल पार्क’मा जिम्मेवारी दिइएको छ । वन बेल्ट वन रोड (ओबिओआर) परियोजनाअन्तर्गत चीन सरकारको लगानीमा उक्त औद्योगिक पार्क बन्न लागेको हो । थापा युवा संघको कोषाध्यक्ष थिए । निरु पाललाई संगठनको अध्यक्ष बनाएका बेला उनी उपाध्यक्ष चयन भएका हुन् ।

नेकपाको संसदीय दलको कार्यालयमा हिमानी घिमिरेलाई राखिएको छ । घिमिरे पनि प्रधानमन्त्री ओलीको गृहजिल्ला निवासी भएकैले संसदीय दलको कार्यालयमा कर्मचारीको रूपमा राखिएको नेकपाका नेताहरू बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC