site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जनै
Sarbottam CementSarbottam Cement

— राजु अधिकारी


१० वर्ष हुँदा नै उसको व्रतबन्ध भएको थियो । उसकै उमेरका अरू दुई–चार जना केटाहरूसँग अम्बिकेश्वरी मन्दिरमा गएर फागुनको महिनामा उसका बाले व्रतबन्ध गरिदिएका थिए । अब जनै लगाउन पाइयो अनि भान्छामा ठूला मान्छेहरूसँगै बसेर खाना खान पाइयो भनेर त्यो बेला उसलाई निकै रमाइलो लागेको थियो ।

उसका बा गाउँमा पुरेत थिए । त्यसैले छोरोको व्रतबन्ध गरिदिएपछि वरपर पूजा लगाउँदा गणेशको स्थानमा उनले छोरोलाई नै बसाउन थालेका थिए । त्यति भए गणेशको दक्षिणा अनि दानका अरू सामानहरू बाहिर जान पाएनन् । ऊ पनि सेतो धोती बेरेर बाबुले लगाउने पूजामा गणेश भएर बस्न पाउँदा अनि आफ्ना उमेरका केटाकेटीले भन्दा पहिले भित्र भान्छामा गएर खाना खान पाउँदा मख्ख थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

व्रतबन्ध भएपछि बिहानै खोलामा गएर नुहाउँथ्यो अनि खाना खानुअघि गायत्री मन्त्रसहित जानेका सबै मन्त्र भट्याउँदै बलि लगाएर मात्र खान्थ्यो । केही महिनासम्म उसको त्यो कार्य निकै राम्रोसँग चल्यो । दशैं आयो अनि उसले पहिले बाले गर्ने चण्डी पाठ पनि गर्न थाल्यो । अकमक गर्दै भए पनि दशैंमा दुर्गा कवच र चण्डी पूरै सिध्यायो । छोरो ठूलो भएछ भनेर बाबु पनि मख्ख परे ।

तर, उसका जनैधारी क्रियाकलाप धेरै महिना चलेनन् । कात्तिकसम्म त जेनतेन जोगाइराखेकै थियो तर जब मंसिरको कुहिरो शुरु भयो अनि कच्छारको सिरेटो चल्न थाल्यो— उसलाई पानी छुनसम्म गाह्रो हुन थाल्यो । नुहाउनु त कता हो कता ।

Global Ime bank

छोरोको त्यो दशा देखेर आमालाई पनि दया लाग्यो । भैंसीलाई दाना पकाउने बेलामा उनले एक डेक्ची पानी पनि छोराको लागि तताइदिन्थिन् । त्यही तातो पानीले नुहाएर दुई–चार दिन कटायो तर कति दिन चल्थ्यो र ! बाको आँखा छलेर बिस्तारै नुहाउन छोड्यो । बिहानै कपाल भिजाएर बाको आँखामा छारो हाल्न थाल्यो ।

पुस–माघ आइपुग्दा त शौच गर्न जाँदा लोटाको पानी छुनसमेत तीननेत्र बल्न थाले । उसले बिहान–बिहान कपाल भिजाउन पनि छोड्यो । बाले थाहा पाए पनि आँखा चिम्लिए ।

बालाई पनि अरू त खासै फरक पर्दैनथ्यो तर गाउँलेहरूले थाहा पाउँछन् कि भन्ने डर थियो । पण्डितको छोरोले त ननुहाएर खाना खान्छ भनेर पूजा र सप्ताहमा उसलाई गणेश बनाउन मान्दैनन् कि भन्ने पीर थियो ।

तर, त्यसो भएन । दुई–चार जनाले कुरा काटे पनि गाउँलेहरूले गणेशलाई खित लगाएनन् । त्यसैले बाले पनि त्यति वास्ता गरेनन् ।

त्यो वर्ष त्यसैगरी कट्यो । फेरि गर्मी शुरु भयो । गर्मीभर उसले कडाइका साथ जनैको इज्जत राख्यो । ननुहाएर कहिल्यै खाएन । बा पनि छोरो सुध्रिएछ भनेर खुशी भए । तर, एकदिन ऊ कपाल काट्न जाँदा फुल्पाते छोड्काले च्वाट्टै टुप्पी काटिदिएछ । उसलाई थाहै भएन । घर आउँदा बाले थर्काए पछि पो बल्ल थाहा पायो ।

“बाहुनको छोरो भएर बाउ–आमा जिउँदै हुँदाहुँदै टुप्पी काटिस् ?” यत्रा आँखाले हेर्दै बाले थर्काए ।

“मलाई के थाहा त ? छोड्काले काट्देछ ।”

“अनि पहिल्यै भन्नुपर्दैन टुप्पी नकाट्देस् भनेर ? अब जोगी भइस् तँ । जोगीहरूले पूजा गर्दा टुप्पी काट्छन् । तँ पनि त्यही भइस् । गिरी पुरी भारती, टुप्पी काटे आरति ।”

बा रन्किँदै आफ्नो काममा लागे । तर, बाउको उखान सुनेर उसलाई हाँसो उठ्यो । त्यो उखान मनमनै घोक्यो— गिरी पुरी भारती, टुप्पी काटे आरति । कक्षाको विक्रम गिरीलाई जिस्काउन हुन्छ भनेर उ दंग प¥यो ।

पछि बाउको लागि कहिलेकाहीँ नदेखिने जस्तो गरी अलि सानो टुप्पी राख्थ्यो तर लामो हुन थाल्यो भने दोष लगाउनलाई फुलपाते छोड्काको कैंची छँदै थियो । त्यति भएपछि बाउले पनि वास्ता गर्न छोडेका थिए ।

अर्काे वर्ष फेरि हिउँद आयो । उसलाई जनैले फेरि दुःख दिन थाल्यो ।

“अब त ठूलो भइस्, ननुहाएर चल्दैन,” बाले दबाब दिन थाले । उसलाई त्यो जनै घाँडो हुन थाल्यो ।

जनै नलगाउँदा कति मजा थियो, कति स्वतन्त्रता थियो । बाहिर जाँदा लोटा पनि लानु नपर्ने, असुरा र तितेका पातहरूले पानीको भन्दा राम्रो काम गर्थे । अहिले लोटा पनि बोक्नुपर्ने, कानमा जनै पनि लगाउनुपर्ने । अझ नुहाउनु पनि पर्ने रे ! जथाभावी खान पनि नपाइने अनि सुँगुरले छोला भन्ने डर पनि । जनै देख्दै उसलाई रिस उठ्न थालेको थियो ।

सुँगुर देखेर उसलाई निकै रिस उठ्थ्यो । जनै नहाल्दै एकपटक बारीमा बसेको बेला गन्ध सुँघ्दै आएको सुँगुरले उसलाई पछाडिबाट छोइदियो । भएन बर्बाद ? ऊ डराएर रुँदै घर गयो ।

छोरो रुँदै आएको देखेर आमाले सोधिन्, “के भो ?”

“सुँगुरले छोयो ।”

उसले सुनेको थियो– सुँगुरले छोएपछि जिब्रो काट्नु पर्छ । त्यसैले अब जिबो काट्नु पर्ने भयो भनेर उसलाई डर लागेको थियो, त्यही डरले ऊ रोएको थियो ।

“पख् पख्, त्यहीँ उभ्भे एकछिन, भित्र नआ,” भन्दै आमा भित्र गइन् अनि एउटा कचौरामा पानी ल्याएर आफ्नो कानको टप डुबाइन् अनि त्यही पानी उसको शरीरको सबैतिर छर्किदै भनिन्, “ल अब चोखो भइस् ।”

त्यसपछि ऊ घरभित्र छिर्न पायो ।

अलि सशंकित हुँदै उसले आमालाई सोध्यो, “जिब्रो काट्नु पर्दैन ?”

“जनै नहाल्दै केही हुन्न, सुनपानी छर्के भैहाल्छ । जनै हालेकालाई हो जिब्रो काट्नु पर्ने ।”

तर, जनै हालेपछि त्यो अवस्था थिएन । कसै गरी बारीमा गएको बेला सुँगुरले छोयो भने त जिब्रो काट्नु पर्ने भयो । सुँगुरले जनै हेरेर यसलाई छुन्छु, यसलाई छुन्न भन्दैन क्यारे । त्यसैले जनै हालेदेखि सुँगुर देख्नासाथ ऊ अलि टाढै रहन्थ्यो ।

७ कक्षामा पढ्दा उसलाई अलिअलि कुरकुरे वैंश आउन थाल्यो । जनैले उसलाई सताउन छोडेको थिएन । पहिलेका समस्या त थाँती नै थिए, त्यसमा अर्काे समस्या पनि थपिएको थियो । अण्डा, कुखुराको मासु, मःमः नखाने, लुकिचोरी जाँड पनि नपिउने भएकोले साथीहरूले उसलाई ‘टपरे’ भनी जिस्काउन थालेका थिए । केटीहरूको अगाडि साथीहरूले ‘टपरे’ भनेर जिस्काउँदा उसलाई आफ्नो बेइज्जत भएको जस्तो लाग्थ्यो । हुन त उसको कक्षामा अरु बाहुन–क्षेत्रीहरू पनि थिए तर अधिकांशले जनै लगाएको एक महिनामै उतारेका थिए । ऊमात्रै थियो, जसोतसो जनैको इज्जत राखेको ।

केटीहरूको अगाडि इज्जत जान थालेपछि उसलाई पनि विद्रोह गर्न मन लाग्यो । अनि एकदिन ठूलै आँट गरेर उसले बालाई भन्यो, “बा, यो जनै लगाइरहन पर्छ र ? सबैले फालिसके । मैले पनि निकालेर कम्मरमा बाँध्दा हुन्छ ?”

सोझै फाल्ने कुरा गर्दा बा मूच्र्छा पर्लान् भनेर उसले कम्मरमा बाँध्ने जुक्ति निकालेको थियो ।

“बौलाइस् कि क्या हो ? कन्धनी हो र कम्मरमा बाँध्नलाई ? बाहुनको छोरो भएर जनै फाल्छु भन्ने बुद्धि कहाँबाट आयो तेरो ? कलि युग त सबभन्दा पहिले तलाई नै लागेछ ।”

“अनि अरूले नलगाउँदा हुने, मैलेचाहिँ लगाउनै पर्ने ? फेरि फाल्छु भन्या हो र ? अलिकति ठाउँ सार्न खोज्या त हो नि ।”

“अरुले गु खाए भन्दैमा तैले पनि गु खान्छस् ? तँ भनेको पण्डितको छोरो । तैंले जनै नलगाएपछि गाउँमा के भन्लान्, सोचेको छस् ?” बा रन्किए ।

“मलाई पण्डित बन्नु छैन । टपरे भनेर दिनदिनै जिस्काउँछन् । फाल्दिन्छु म पनि, जे होला होला,” ऊ पनि के कम !

“अब छोरो ठूलो भैसक्यो । जमाना पहिलेजस्तो छैन । हजुर पनि अलि राम्ररी सम्झाउनुस् न । झोक्केर हुन्छ त ?” आमाले छोराको पक्ष लिँदै भनिन् । उनलाई पनि छोरोले जनै फालोस् भन्ने त कहाँ थियो र !

“उसो भए म भोलि मेघराज पण्डितलाई गएर सोध्छु । के गर्दा ठीक हुन्छ, अनि त्यही गरौंला,” भोलिसम्मलाई सबैको चित्त बुझ्यो ।

मेघराज पण्डित सबै शास्त्र पढेका विद्वान थिए । त्यसैले जनैको बारेमा अथ्र्याउन बा अर्काे दिन बिहानै मेघराजको घर गए । केही वर्षअघि मेघराजका छोराहरूले पनि उनलाई ‘जनै लगाउँदैनौं’ भनेर निकै सताएका रहेछन् । अनि मेघराजले एउटा गतिलो उपाय निकालेका रहेछन् । उनले अर्थ लगाउँदै भन्न थाले, “हेर्नुस् पण्डितजी, मैले पनि यो जनैको बारेमा निकै अध्ययन गरें । खासमा कुरो यस्तो रहेछ । जनैलाई संस्कृतमा यज्ञोपवित भन्छन् । जनै लगाएपछि यज्ञ गरेबराबरको पुण्य प्राप्त हुँदो रहेछ । त्यसैले जनै पुज्दा धेरै मन्त्रहरू उच्चारण गरेर त्यसमा पापमोचन गर्ने शक्ति भरिँदो रहेछ । त्यसैले हाम्रा पुर्खाहरूले सबैले यज्ञ गर्न नसक्ने भएकाले सबैलाई पुण्य प्राप्त होस् भनेर यो जनै लगाउने प्रथा बनाएका रहेछन् । त्यसैले धर्म गर्न नसके पनि पापबाट बच्न भए जनै लगाउनै पर्ने रहेछ । सकभर त पाप नगर्नु नै राम्रो तर कतै झुक्किएर पाप गरिहालिएछ भने पनि यदि जनै लगाएको रहेछ भने त्यसले पापबाट बचाउने रहेछ । यही कुरो थाहा पाएपछि मेरा छोराहरूले पनि खुरुक्क जनै लगाउन थालेका छन् । अनि कतै अञ्जानमा कुनै खान नहुने चिज खाइहालियो भने, कुनै छुन नहुने चिज छोइहालियो भने पनि जनैले बचाइहाल्छ पाप गर्नबाट ।”

बालाई मेघराज पण्डितको त्यो कुरो निकै चित्त बुझ्यो । उनले भनेको सही थियो या गलत, त्यो पहिलाउनतिर लागेनन् । तर, त्यो उपाय लगाएपछि कमसेकम आफू ज्युँदो हुँदासम्म छोरोले जनै फाल्नेछैन भनेर त्यो दिन साँझ छोरो स्कुलबाट फर्केपछि उनले मेघराज पण्डितले भनेका कुरा जस्ताको तस्तै सुनाए ।

त्यसपछि छोरोलाई पुगिहाल्यो । जनैको भरमा आफूलाई गर्न मन लागेको कुरा गर्न उसलाई स्वतन्त्रता मिल्यो । टुप्पी काटे पनि भयो, ननुहाएर खाए पनि भयो, हाकिदाउँ कुखरा खाए पनि भयो । कसैले रोक्न पनि नरोक्ने, पाप पनि नलाग्ने । अनि त्यो सबै गरेको देखेपछि केटाहरूले ‘टपरे’ भन्न पनि छोड्ने भए । केटीहरूको सामु इज्जत पनि भयो । आफू पनि खुशी, बा पनि खुशी ।

छोरोलाई स्वतन्त्रता दिएपछि बाचाहिँ छोरोलाई जजमानहरूले गणेशको रूपमा स्वीकार्दैनन् कि भन्नेमा चिन्तित थिए । तर, जमाना पहिलेजस्तो कहाँ थियो र ! पूजामा आएर बस्दिने बाहुन पाउनै गाह्रो भइसकेको थियो । जस्तो भए पनि, जे खाए पनि, जे गरे पनि जिउमा जनै भएको, पूजा गर्दा सेतो धोती बेरेको अनि अलि–अलि संस्कृतका श्लोकहरू भन्न जानेको बाहुन मनुवा भए सबैलाई पुगिहाल्थ्यो । अनि त बा पनि चुप लागे ।

आफ्नो स्वतन्त्रतामा ऊ मख्ख थियो । एकदिन स्कुल जाँदा बाटोमा सुँगुर देख्यो । सानैदेखि सताएकोले सुँगुरसँग उसको ठूलै दुश्मनी थियो । स्वतन्त्रताको उपयोग गर्दै बाटोमा हिँडिरहेको सुँगुरलाई एक लात हान्दै उसले भन्यो, “ए सुँगुर, उता जा । मलाई छोलास् नि ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५  ०७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC