site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रेडियो युगका हिरो
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल


मोबाइलमा संसार विचरण गरिरहेको यो पुस्ता रेडियो सुन्दैन । यूट्युब, स्ट्रिमिङ पोर्टल र सामाजिक सञ्जालका अनेकन अवयवमा अभ्यस्त यो पुस्ताले गोपाल गुरागाईंको नाम पनि शायद सुनेको छैन । तर, रेडियो सुनेर जिन्दगी बिताएका नेपालीहरू गोपाललाई अहिले पनि सम्झिरहन्छन् । गोपालले त्यो बेला रेडियोमा तहल्का पिटे, जतिबेला यूट्युब थिएन, स्ट्रिमिङ पोर्टल थिएनन्, सामाजिक सञ्जाल थिएनन् । छापा र रेडियो पत्रकारितामा एउटा युग नै बिताएका गोपाल अहिले पनि आफ्नो कर्ममा उत्तिकै सक्रिय छन् । जावलाखेलस्थित ‘उज्यालो घर’को तेस्रो तलामा गफिँदै उनले आफ्नो जीवनबारे हामीलाई सुनाए—

पत्रकारिताको जग

Agni Group

बुवालाई पत्रकार मन पर्दैनथे । गोपाललाई भने पत्रकारिताले तान्नु तानेको थियो । तर, त्यसलाई पेशा बनाउन सकिने अवस्था थिएन । पत्रकारिता गरेरै जीवन धान्न सजिलो थिएन ।

‘मातृभूमि’मा भूमिगत तरिकाले समाचार पठाउने आफ्नै स्कुलका शिक्षक शेरबहादुर र ऋतुवर्ण पराजुलीसँग गोपाल गुरागाईंको सामीप्यता बढ्यो । त्यतिबेला उनी कविता लेख्थे ।

Global Ime bank

सरकारी जागिर खाने रहर कहिल्यै पलाएन । बाँकी स्थायी प्रकृतिको काम के हुन सक्छ भनेर सोचे । केही थिएन । ०३५ सालको विद्यार्थी आन्दोलनले राजनीतितिर ध्यान खिच्यो । वामपन्थी विचारधाराबाट प्रभावित भए । चिनजान र सम्पर्क वामपन्थीहरूसँगै हुन थाल्यो । त्यतिबेला इटहरीकै एक ठेकेदारले इलाममा बाटोको टेन्डर पारे । त्यसको सुपरभाइजर भएर उनी इलाम पुगे । बाटो बन्यो । कुटेडाडाँका स्थानीयसँग घुलमिल भइसकेका थिए गोपाल । उनीहरूले गाउँकै स्कुलमा विज्ञान पढाइदिन आग्रह गरे । गोपालले नाइनास्ती गरेनन् । त्यसपछि उनको शिक्षण पेशा शुरु भयो ।

दुई वर्षमा शिक्षण छोडे । गृहजिल्ला भोजपुर पुगे । कृषि विकास बैंकबाट ऋण लिएर कागती खेती गरे । ऋण तिरिनसक्दै अलपत्र पारेर उनी फर्किए ।

बौद्धिक काम गर्छु भनेर भोजपुर छोडेका गोपाल विराटनगर पुगे । ऋतुवर्णको ‘सयपत्री’ पत्रिकामा काम शुरु गरे । त्यो नै पत्रकारिता यात्राको थालनी थियो । त्यहीँ गोपालले साथीहरूसँग मिलेर ‘कोशी पुस्तक पसल’ खोले ।

काठमाडौंबाट अशोक श्रेष्ठको सम्पादकत्वमा ‘सागर’ साप्ताहिक प्रकाशन हुन्थ्यो । सीपी मैनाली जेल तोडेर भागेपछि उनको पहिलो अन्तर्वार्ता ‘सागर’ले प्रकाशन परेपछि सरकारले पत्रिकै बन्द गरिदियो । ‘सागर’ बन्द भएपछि ‘रातो युगधारा’ प्रकाशन शुरु भयो । कम्युनिस्ट विचारधाराको वकालत गर्ने यो पत्रिकाले गोपाललाई समाचार पठाइदिन आग्रह ग¥यो । पुस्तक पसल भए पनि उनी संवाददाता भएर समाचार पठाउँथे ।

पुस्तक पसलमा पत्रिका पढ्न र किन्न सुबोध प्याकुरेल आइरहन्थे । त्यहीँ चिनजान भएको थियो उनीसँग । सुबोध नेपाल बैंकका शाखा प्रबन्धक थिए । गोपालले आफूलाई प्रिन्टिङ प्रेस चलाउन रहर लागेको सुनाए । सुबोधले श्रीमतीको नाममा रहेको जग्गा धितोमा राखेर ऋण निकाले र प्रेस किनिदिए ।

त्यो ऋण तिर्न ठूलो सकस पर्‍यो गोपाललाई । बेचेर ऋण तिर्न खोजिरहेका थिए । सुबोधका दाइ सुशील प्याकुरेल राजविराजबाट साप्ताहिक पत्रिका ‘सगरमाथा सन्देश’ निकालिरहेका थिए ।

“बेच्नु पर्दैन । मेरो दाइले राजविराजबाट पत्रिका निकालिरहनु भएको छ । उहाँलाई प्रेस चाहिएको छ । उहाँसँग मिलाउँदा हुन्छ,” सुबोधले भने ।

गोपाल प्रिन्टिङ प्रेस लिएर राजविराज पुगे । उनी सुशीलको ‘सगरमाथा सन्देश’मा सहसम्पादक काम गर्न थाले । बद्री खतिवडा (विरोध खतिवडाका बुवा)ले त्यो पत्रिमा लेख लेखे । तत्कालीन सरकारको विरोधमा थियो त्यो लेख । खतिवडाले लेखेछन्, “श्री ५ को सरकारको अकर्मण्यता, असक्षमता, निष्क्रियताले ..... ।” 

सुशील विराटनगर गएका थिए । गोपालले नै लेखको प्रुफ हेरेर फाइनल गरेका थिए । तर, कम्पोज दबिएर बीचको ‘सरकार’ भन्ने शब्द नै छापिएनछ । अर्थ लाग्यो, “श्री ५ को अकर्मण्यता, असक्षमता, निष्क्रियताले ..... ।”

बजारमा गएपछि मात्रै थाहा भयो । पत्रिकाको कार्यालयमा प्रहरीले छापा हान्यो । सुशील विराटनगरबाट लुक्दै राजविराज आए । गोपालले भने, “म जेल जान्छु, तपाईं यहाँ बसेर काम गर्नुस् ।”

सुशीलले भने, “म बसें भने काम गर्दिनँ, तपाईं यहाँ बसेर पत्रिका निकाल्दै गर्नुस्, म जेल जान्छु ।”

सुशील जेल गए । गोपाल पत्रिका निकाल्न भनेर बसेका थिए तर अञ्चलाधीशको कार्यालयले पत्रिका खारेज गरिदियो ।

०४२ मा समाचार सामग्रीप्रति आपत्ति जनाउँदै ‘छलफल’ साप्ताहिक सरकारले बन्द गरिदिएको थियो । रघु पन्त सम्पादक थिए । रघु, दमननाथ ढुंगाना र अर्का एक जनालाई अञ्चलाधीशले रसुवा जेलमा लगेर थुनिदिएका थिए ।

जनार्दन आचार्य, हरिहर विरहीहरूले ‘नेपाली आवाज’ चलाउन शुरु गरेका थिए । त्यो पत्रिका चलाउन मान्छे चाहिएको थियो । प्रकाश काफ्ले सम्पादक थिए । जनसम्पर्क राम्रो भएका प्रकाश समाचार भने लेख्दैनथे । उनले गोपाललाई बोलाए । सुशीलले पनि ‘जाऊ’ भने । गोपाल राजविराजबाट काठमाडौं आए ।

छद्मभेषमा मदन भण्डारी

‘कोशी पुस्तक पसल’सँग जोडिएका केही घटनाहरू गोपालसँग अझै ताजा छन्, जसले उनको जिन्दगीमा केही अर्थपूर्ण भूमिका खेलेका छन् ।

पत्रिका पसलमा थरीथरीका मान्छे आउँथे । घोषित रूपमा गोपाल वामपन्थी हुन् भनेर कसैले नभने पनि उनी मालेको सम्पर्कमा छन् भन्ने धेरैलाई थाहा थियो । त्यही बेला हो— उनको पसलमा मदन भण्डारी आइपुगेका । यो ०३९ सालको कुरा हो ।

\"\"

त्यहाँ मदनले आफू नेता भएको बताएनन् । आफू राष्ट्र बैंकको कर्मचारी भएकोले बैंकको अनुगमन तथा निरीक्षणका लागि आएको बताए ।

गोपालले पनि मदनलाई चिनेनन् । “मैले उहाँलाई चिनेको त २०४७ सालमा प्रवक्ता भएर सार्वजनिक भएपछि मात्रै हो,” गोपाल सुनाउँछन् ।

पछि भने गोपालको कोठा मदन भण्डारीको ‘सेल्टर’ भएको थियो । उनी खुलेर वामपन्थी भनेर चिनिएका थिएनन् । सुरक्षित स्थान खोज्दा गोपालको कोठा नै उत्तम देखिएपछि मदन बारम्बार उनको कोठामा आएर बस्थे ।

राष्ट्रपति विद्या भण्डारी (पाण्डे) र गोपालको गाउँ भोजपुरमा वारिपारि थियो । कक्षा ४ र ५ उनीहरूले सँगै पढेका थिए । त्यसले पनि उनीहरूलाई केही नजिक पुर्याएको थियो ।

“पछि उहाँ काठमाडौं आउँदा सबैभन्दा पहिला मेरो कोठामा आउनुहुन्थ्यो,” गोपाल भन्छन्, “अस्ति भर्खरै राष्ट्रपतिले ‘तिम्रो बुवालाई मैले जति चिनेकी छु, त्योभन्दा बढी उहाँ (गोपाल)ले चिन्नुभा’छ’ भनेर छोरी उषालाई सुनाउँदैै हुनुहुन्थ्यो ।”

गोपाल मदन भण्डारीका विषयमा पुस्तक लेख्ने सोचमा छन् । त्यो पुस्तकमा अरु दुई जना व्यक्ति पनि समेटिने छन् मदनसँगै ।

चालीसको दशक शुरुआतमा जसलाई पनि पार्टीको पूर्णकालीन (होलटाइमर) सदस्य बनाइदिने होड थियो । गोपाललाई उनका दौंतरीहरूले ‘तँ मालेको होलटाइमर भएर भूमिगत भई काम गर्नुपर्छ’ भनेर उक्साउँथे । उनलाई पनि ठीक हो भन्ने लाग्यो । कुरा गर्न मदनसँग बसे ।

दुई रात पूरापूर छलफल भयो । दार्शनिक कुरा बढी भए । मदनलाई गोपालले भने, “म पनि भूमिगत हुनुपर्छ भन्ने साथीहरूको चाहना छ । म अब भूमिगत हुन्छु ।”

मदनले भने, “तपार्ईं भूमिगत नहुनुस् ।”

गोपालले सोधे, “किन ?”

मदनले भने, “तपाईंसँग जुन खालको नलेज र सीप छ, त्यो तपाईं भूमिगत भएपछि मर्छ । त्यसले अन्ततः तपाईंलाई नोक्सान हुन्छ । दोस्रो— तपाईंको स्वाभाव यति सेन्सेटिभ छ, तपाईं पोलिटक्समा टिक्नै सक्नुहुन्न । राजनीतिमा आफ्नैले खुट्टा तान्छन् । तल झार्छन् । बदनाम गर्छन् । तपाईं यो स्वाभावको मान्छे होइन, त्यसैले तपाईं जाँदै नजानुस् ।”

यही कुरा ०४७ मा पनि भयो । ‘प्रकाश’ साप्ताहिकबाट गोपाल ‘समाज’ र ‘दृष्टि’सम्म आइपुगेका थिए । ०४६ सालको आन्दोलन भएपछि ‘दृष्टि’मा काम गर्ने व्यक्तिलाई कहाँ–कहाँ जाने भनेर रोज्न दिइएको थियो ।

रघुजी पन्त राजनीतिमा जाने भए । ललितपुरबाट टिकट पाए । नारायण ढकालले पनि राजनीति रोजे । उनलाई जिविसमा पठाइयो । श्यामल दोधारमा थिए । रेडक्रसमा जागिर खाइरहेका थिए । केही नभनी बसेका श्यामललाई मदन भण्डारीले खाममा एउटा चिठी र नेपालगन्जसम्मको टिकट पठाएर दैलेखबाट चुनाव लड्न भनेका थिए । तर, श्यामलले पार्टी कार्यालयमै चिठी फिर्ता पठाइदिए ।

मदनले गोपाललाई पनि सोधे, “तपाईं के रोज्ने ?”

गोपालले भने, “म कतै पनि जान्नँ । आजबाट मलाई जनै बिसाउन दिनुस् ।”

उनको भनाइको अर्थ थियो— पार्टी सदस्यता आजबाटै त्याग्छु, मलाई व्यावसायिक रूपमा पत्रकारिता गर्न दिनुस् ।

त्यो बेला गोपाल ‘समाज’ दैनिकमा काम गर्न थालेका थिए । मदन भण्डारीसँगै मोदनाथ प्रश्रित, झलनाथ खनाललगायत सबै बसेको ठाउँमा भएको कुरा थियो यो ।

मदनले आग्रह गरे, “०४८ सालको चुनावसम्म प्रचार विभागमा रहेर काम गरिदिनुस् । त्यसपछि जे गर्ने हो गर्नुस्, हामी केही भन्दैनौं ।”

मदनले भनेको कुरालाई शिरोपर गर्दै तीर्थ कोइराला र गोपाल प्रचार विभागमा काम गर्न थाले ।

“शायद मदन भण्डारीले मलाई भूमिगत हुनबाट नरोक्नु भएको भए आज म पत्रकारितामा नहुन सक्थें । त्यसैले मलाई पत्रिकारितामा टिकाइराख्न मदन भण्डारीको ठूलो हात छ,” गोपाल आफ्नो पत्रकारिता यात्रा स्मरण गर्छन् ।

० ० ०

प्रजातन्त्र पुनर्बहालीसँगै मिसन पत्रकारिता सकियो । व्यावसायिक पत्रकारिताको आरम्भ भयो । गोपाल नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) पुगे । त्यही बेला ‘समाज’बाट अलग भएपछि गोपालले साथीहरूसँग मिलेर ‘प्रतिपक्ष’ प्रकाशन शुरु गरे । ‘प्रतिपक्ष’को आयु लामो हुन सकेन । गोपाल ठट्यौली पारामा भन्छन्, “प्रतिपक्ष निकाल्दा लागेको ऋण तिर्न सिविनमा जागिर खान गएँ ।”

सिविनमा रहँदा उनले बाल अधिकारमा केन्द्रित भएर ‘बालसरोकार’ म्यागेजिन प्रकाशनको जिम्मेवारी सम्हालेका थिए । अनुसन्धानमूलक रिपोर्ट तयार पार्नु पर्ने भएकाले उनी रमाइरहेका थिए । डेढ वर्षपछि सिभिकको ‘यातना मुक्ति’ नामक पत्रिकामा पुगे गोपाल । त्यहाँ काम गर्दा उनले थुप्रै रिसर्चका काम गरे ।

० ० ०

एनजीओमा काम गरेर हराइयो भन्ने आत्मबोध भएपछि गोपालले मूलधारको पत्रकारितामा फर्किने निर्णय गरे । तर केमा गर्ने ? विकल्प थिए— पत्रिका, रेडियो र टेलिभिजन ।

त्यही बेला उनले सम्झिए— ‘मानवअधिकार वर्ष पुस्तक’को रिपोर्ट तयार पार्न डोल्पा पुग्दाका दिन । त्यहाँ गोपाललाई ‘तपाईं को हो ?’ भनेर सोध्थे ।

गोपाल ‘म पत्रकार हुँ’ भन्थे ।

“पत्रकार भनेको खरदार, सुब्बा कि अधिकृत ? के काम गर्नुहुन्छ ?” प्रश्न आउँथ्यो । 

गोपाल भन्थे, “लेख्ने हो ।”

“ए, सुब्बा हो ?” उनीहरू सोध्थे ।

पत्रपत्रिका गाउँमा पुग्दैनथे । त्यसैले उनीहरूलाई पत्रकार भनेको के हो, थाहै थिएन ।

गोपाल रेडियो बोकेर हिँड्थे । त्योबेला पुरुषोत्तम दाहालले रेडियो नेपालमा ‘घटना र विचार’ शुरु गरिसकेका थिए । गोपालले त्यो कार्यक्रम सुन्दा स्थानीय ध्यान दिएर सुन्थे र भन्थे, “क्या साद्छ है यसले ?”

पत्रकारले के गर्छ भन्दा स्थानीयलाई गोपालले भने, “यी यसैगरी सोध्छ ।”

०४२ सालबाट काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका गोपाललाई त्यो घटनाले झापड हान्यो । “म आफैंले ०४२ सालबाट व्यावसायिक पत्रिका शुरु गरें । ०५२ सालमा डोल्पा पुग्दा पत्रकार भनेको के हो थाहा छैन । मलाई त एउटा स्टोरी लेखेर संसार हल्लाएजस्तो लाग्थ्यो तर होइन रहेछ । बरु रेडियो पो सुन्दा रहेछन् । मलाई त्यही घटनादेखि रेडियोमा आकर्षण भयो,” गोपालले आफ्नो रेडियोमोहको घटना सुनाए ।

अनि ?

मन लाग्दैमा रेडियोमा बोल्न पाइहाल्ने वातावरण थिएन । भारतदत्त कोइरालाले ‘वल्र्ड भ्यू’को कार्यक्रमका लागि बोलाए । त्यसमा ‘कम्युनिटी रेडियो किन चाहिन्छ’ भन्ने विषय थियो । पढ्ने पत्रिका हुन्छ भने सुन्ने पत्रिका किन हुँदैन भन्ने लागेर गोपालले क्यासेट पत्रिका निकाल्ने प्रस्ताव लगे । ‘उकाली ओराली’ नाम तय भयो । काम शुरु भयो । यो विल्कुल नयाँ अवधारणा थियो ।

त्यसको केही समयपछि हेमबहादुर विष्ट नेपाल टेलिभिजनको अध्यक्ष भए । सञ्चारमन्त्री झलनाथ खनाल थिए । हेमबहादुरले भने, “रेडियो नेपालमा ‘घटना र विचार’ चलाउने मान्छे भएन, तपाईंले चलाइदिनु पर्‍यो ।” झलनाथले पनि ‘तपाईं चलाइदिनुस्’ भने ।

\"\"

गोपालले भने, “अरुको परिचय र पहिचान भएको कार्यक्रम म चलाउँदिनँ, नयाँ कार्यक्रम दिनुहुन्छ भने चलाउँछु ।”

रेडियो नेपालका कार्यकारी निर्देशक शैलेन्द्रराज शर्माले भने, “घटना र विचार व्यक्तिको नभई रेडियो नेपालको कार्यक्रम हो, चलाउनुस् ।”

गोपाललाई चित्त बुझेन, भन्दिए, “रेडियो नेपालको हो भने तपाईं आफैं चलाउनुस् न ।”

त्यसपछि झलनाथले ‘गोपालकै कन्सेप्टमा कार्यक्रम चलाउन दिनू’ भनेर अह्राएपछि रेडियोले नाइ भन्न सकेन । शैलेन्द्रले ‘हुन्छ’ भने ।

गोपाललाई नयाँ आइडिया फुर्‍यो ।

पत्रिका सबैतिर पुग्दैन । बिहानै पत्रपत्रिकालाई ‘कम्पाइल’ गरेर बजाउन सकियो भने गाउँ–गाउँ पुग्छ, नागरिकले घरै बसी पत्रिकाका समाचार थाहा पाउँछन् ।

डमी रेकर्ड गरेर गोपाल र मन्टेश्वरीराज भण्डारीले रेडियोमा पठाइदिए । गोपाल रेडियोले बोलाउला र सम्झौता गरेर कार्यक्रम शुरु गरौंला भनेर कुरी बसेका थिए । उता, शैलेन्द्रले भने आफ्नै कर्मचारीलाई त्यही ढाँचामा कार्यक्रम तयार गर्न लगाएर प्रसारण गरिसकेछन् ।

हेमबहादुर विष्टले फेरि गोपालको कार्यालयमा आएर भने, “किन तपाईंहरू कार्यक्रम शुरु गर्नुहुन्न ?”

गोपालले भने, “मेरो डमी कन्सेप्ट चोरेर कार्यक्रम बजाइसके । कसरी गर्ने काम ?”

विष्टले अर्को अवधारणामा कार्यक्रम गर्न आग्रह गरे ।

गोपालले नयाँ कार्यक्रम तयार पारिहाले । नाम जुराए, ‘खोजखबर ।’ जनताको ध्यान खिच्न राजनीतिक विषयलाई छाडेर दैनिक जनजीवनसँग जोडिएका विषय प्राथमिकतामा राख्ने निर्णय गरे ।

पहिलो दिन सबैभन्दा धेरै मान्छेको भीड कहाँ लाग्छ भन्ने विषयलाई खोजे । पशुपतिनाथ, सिंहदरबार र सर्वोच्च अदालत । यी तीनवटा विषय सबैसँग जोडिएकाले सबैको ध्यान खिच्नेमा ढुक्क भए ।

कार्यक्रमको स्क्रिप्ट छोडेर गोपाल धनकुटा गए । मन्टेश्वरीराज भण्डारी, हेमलतालगायतले रेकर्ड तयार पारेर रेडियोमा लगे । साँझ बज्ने कार्यक्रम सेन्सरमा बसेका दामोदर अधिकारीले काटिदिए ।

“संसारमा नभएको यो कस्तो कार्यक्रम हो ? रेडियो म्यागेजिन भनेको के हो ? कहाँ पढेर आएका तिमीहरू ? रेडियो नेपालमा यस्तो बज्छ ?” दामोदरले प्रश्नैप्रश्नको क्षेप्यास्त्र हानेपछि उनीहरूले गोपललाई फोन गरे । कार्यक्रम बीचमै छाडेर गोपाल काठमाडौं आए ।

उनले पहिलाकै स्क्रिप्ट रेकर्ड गराएर रेडियो नेपाल पुगे र शैलेन्द्रलाई भने, “ल, सेन्सर गर्ने शब्द के–के हुन् भन्नुस् । बोल्न नहुने के–के हो भन्नुस् । सेन्सरमा बस्नेलाई भन्नुस् । होइन भने झलनाथकोमा हिँड्नुस् ।”

शैलेन्द्र अक्क न बक्क भए ।

त्यसपछि कार्यक्रम बज्न थाल्यो । पहिलो शृंखलाबाटै स्रोताले कार्यक्रम मन पराए । नेपालमा पहिलो पटक रेडियो म्यागेजिन बज्न थाल्यो ।

सूर्यबहादुर थापानेतृत्वको सरकारमा महन्थ ठाकुर सञ्चारमन्त्री भए । आएको एक महिनामै उनले ‘खोजखबर’ बन्द गरिदिए ।

‘कम्युनिकेसन कर्नर’

कार्यक्रम बन्द भएपछि ०५५ मा रेडियोमै केही गर्नुपर्छ भन्ने लागेर गोपालले ‘कम्युनिकेसन कर्नर’ दर्ता गरे । यसले तालिम दिने, रिसर्च गर्ने र कार्यक्रम निर्माण गर्ने काम गथ्र्यो । मूलधारमा कसरी टिकिरहने र कसरी रचनात्मक काम गर्ने भन्ने उत्तर खोज्दै जाँदा ‘कायाकैरन’मा गएर अडिए ।

त्यहीबेला रेडियो लुम्बिनी, मनकामना र मदनपोखरा एफएम खुले । उनीहरूलाई समस्या थियो— काठमाडौंको समाचार कसरी आफ्ना स्रोतामाझ पुर्‍याउने । उनीहरूले ‘हप्तामा एउटा कार्यक्रम गाडीमा हालेर पठाइदिनुस्, हामी बजाउँछौं’ भन्थे । ‘कम्युनिकेसन कर्नर’ले त्यो गर्‍यो पनि । तर, त्यसको खर्च कसले बेहोर्ने ? तीन वटै रेडियोले मासिक ११–११ हजार रुपैयाँ दिने भए । त्यो राम्रै पैसा थियो । हप्तामा तीन वटा ‘कायकैरन’ उत्पादन गरेर पठाउन शुरु भयो । तर, पाल्पा पठाएको कार्यक्रमको क्यासेट सुर्खेत पुथ्यो । हेटौंडा पठाएको क्यासेट सर्लाही पुग्थ्यो । त्यही समय कृष्णभीरमा पहिरो आयो । त्यसले क्यासेट बाटैमा रोकियो । कार्यक्रम अलपत्र पर्‍यो ।

इन्टरनेट भर्खर आएको थियो । ‘पानस साउथ एसिया’मा भर्खर कुन्द दीक्षित आएका थिए । कुन्द एकदिन यो खोजखबर कल्ले चलाउँदो रहेछ भन्दै गोपालको कार्यालयमा आइपुगे । गोपालले वृतान्त सुनाए । कुन्दले अन्तर्वार्ता पनि राख्न सुझाए । प्रविधि थिएन ।

हाइब्रिड बनाउन कुन्दले ‘कम्युनिकेसन कर्नर’लाई ५ हजार रुपैयाँ दिए । यादव ठाकुरले टेलिफोन हाइब्रिड बनाइदिए । जिल्लाको कुरा छिनमै अडियोमा उपलब्ध हुने भयो ।

त्यही बेला कालीकोटमा भीषण आगलागी भयो । दमकल बोलाउन एकले अर्कोलाई, अर्कोले अर्कोलाई गर्दागर्दै लामो समय बितिसकेको थियो । ‘कम्युनिकेसन कर्नर’ले दिउँसो कालिकोटका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर साँझ बजाइदिए । भोलिपल्ट बिहानै छिमेकी जिल्लासहित नेपालगन्जबाट पनि आगो निभाउन सेना, पुलिस गए । हेलिकाेप्टर तत्काल गयाे । 

पानसले ८ वटा रेडियोलाई कम्प्युटर दियो । ‘कम्युनिकेसन कर्नर’लाई मिक्सचरसहित केही माइक्रोफोन पनि दियो । त्यसपछि भने ‘कम्युनिकेसन कर्नर’लाई कृष्णभीर पहिरोको टाउको दुःखाइ भएन ।

सञ्चार मन्त्रालयले काठमाडौंमा रेडियो फ्रिक्वेन्सी सकिन लागेको भन्दै बन्द गर्न लागेको थियो । गोपालले हतार–हतार ९० मेगाहर्ज लिए । नाम राखे ‘उज्यालो ९० नेटवर्क ।’

गैंडा चढ्ने बूढा

‘खोजखबर’का लागि रिपोर्टिङ गर्न युनिट चितवन पुग्यो । एकजनाले गैंडा चढेको कथा सुनाए । गोपालले विश्वास गरिहाल्न सकेनन् । वार्डेनलाई सोधे । उनले ‘हो’ भने । उमेरमै गैंडा चढेका बूढा रहेछन्— मल्लु महतो ।

८० वर्ष उमेर पुगेका महतो कुरा गर्दा अहिले नै फेरि चडिहालौंला झैं गर्थे ।

राप्तीपारि पदमपुरका साथीसँग ५ रुपैयाँको बाजी परेछ । महतो बाजी जित्न आहाल बसेको गैंडामा डिलबाट हामफालेर चढेछन् ।

संयोगले केही वर्षपछि पदमपुर रिसर्चमा गएका बेला महतोसँग ५ रुपैयाँ बाजी राख्ने वृद्ध फेला परे । चढ्दो उमेरले थला पार्न नसकेका ती वृद्धमा पनि उत्ति नै स्फूर्ति थियो । जवानीको घटना सुनाउँदै उनले भने, “त्यो मल्लो मूर्ख हो ।”

गोपालले महतोको मात्रै होइन, ती वृद्धको पनि रिपोर्ट बनाएर बजाए । ती दुइटैलाई जोडेर अर्को रमाइलो रिपोर्ट पनि बनाए गोपालले । त्यही रिपोर्टले ३० वर्षपछि दुई वृद्धको भेट गराएको महतोका छोराले पछि गोपाललाई सुनाउँथे ।

मदन भण्डारीको दुर्घटना

गोपाल खाना खाइरहेका थिए । तीर्थ कोइरालाको फोन आयो । तीर्थ ‘कान्तिपुर’ दैनिकका चिफ रिपोर्टर थिए । उनले गोपलसँग मदन भण्डारीको एउटा तस्बिर मागे ।

गोपालले भने, “त्यति ठूलो पत्रिकामा मदन भण्डारीको फोटो छैन ?”

“चाहिएका बेला काम दिएन । मदन भण्डारीको जिप दुर्घटना भएको थाहा छैन कि क्या हो ?” तीर्थले भनेपछि गोपाल झस्किए । 

जुरुक्क उठेर गोपाल दासढुंगातिर लागे । राति नै पुगे । शव भेटिएको थिएन । उज्यालो भएपछि मान्छेको भीड लाग्न थाल्यो । गोपाललाई दिक्क लाग्यो । नारायणगढतर्फ लागे । बर्दियामा राजवलाई फोन गरे । 

गोपाल— आउँछौ ?

राजव— आउँदिन, विजोग हेर्न के आउनु !

गोपाल— ल म आउँछु ।

“त्यो रात हामी दुई जनाले मदन भण्डारीको सम्झनामा रक्सी खाएर रुँदै बितायौं,” गोपाल भन्छन् ।

\"\"

टोपी नलगाएको मदनको फोटो र अन्तिम भेट

जीवेन्द्र सिम्खडा ‘जनमञ्च’मा काम गर्थे । मदन भण्डारीसँग गोपालको नजिकको सम्बन्ध थियो । जीवेन्द्रले भने, “गोपालजी, मदन भण्डारीको भादगाउँले टोपी नलगाएको बाहेक अरू फोटो कसैले देखेको छैन । कपाल नभएर टोपी लगाएको हो कि किन हो ? त्यो टोपी निकालेर फोटो खिच्न पाए ‘जनमञ्च’का लागि एक्सक्लुसिभ हुन्छ । त्यो टोपी तपाईंले बाहेक कसैले खोल्न सक्दैन ।”

चन्द्रशेखर कार्की र जीवेन्द्रलाई लिएर गोपाल नक्साल पुगे । बिहानको समय । गन्जी लगाएर पत्रिका पढ्दै बसिरहेका थिए मदन । चन्द्रशेखर फोटो खिच्न खोज्दै थिए ।

मदनले भने, “पख्नुस् पख्नुस्, ट्र्याकसुट लगाएर आउँछु ।”

चन्द्रशेखरले तस्बिर त खिचे तर टोपी लगाएको ।

विद्याले चिया र पाउरोटी ल्याएर दिइन् । खाए । गफिए । लामै समय भइसक्यो तर पनि जाने छाँटकाँट नदेखेपछि मदनले ठट्टा गर्दै भने, “ठूलै मिसनमा आउनुभा’ जस्तो छ । फोटोग्राफर पनि हुनुहुन्छ । दुई–दुई जना पत्रकार ।”

गोपालले हाँस्दै ‘हो... हो...’ भने ।

गोपालले विराटनगरस्थित आफ्नो कोठामा सेल्टर दिँदा नै मदनको जितिसकेका थिए । त्यसैले सञ्चारमाध्यलाई कसरी ह्यान्डल गर्ने सल्लाह माग्थे गोपालसँग मदन । उनी सोधिरहन्थे, “मैले बोलेका कुनै कुरा सकारात्मक रूपमा आउँछन्, कहिले त्यही कुरा बोल्दा नकारात्मक रूपमा आउँछन् । मेरो एटिच्युड नै खराब भएर हो कि मैले ट्रिट गर्न नजानेर हो ?”

गोपाल अन्य देशका (विशेषगरी भारतीय) राजनीतिक दलका प्रवक्ताहरू पत्रकारहरूसँग कसरी बोल्छन् भनेर खोजखाज गरी मदनलाई दिन्थे । प्रत्येक तीन–चार दिनमा फोनमा कुरा हुन्थ्यो उनीहरूबीच ।

त्यसैले गोपाललाई सहज भयो । उनले आउनुको तात्पर्य खुलाए ।

चन्द्रशेखरको फोटो याद गरेका रहेछन् मदनले । भने, “ए ! चन्द्रशेखर तपाईं नै हो ?”

“ल, आइहाल्नुभएछ, ठिकै छ नि त । टोपीसम्म त खोल्न लाउनुभयो । त्योभन्दा तलचाहिँ खोल्न नलाउनु होला है,” मदनले ठट्टा गर्दै भने । 

\"\"

चन्द्रशेखर कार्कीले खिचेका मदन भण्डारीका तस्बिरहहरु


यो घटना सुनाउँदा गोपाल उदास भए । भन्दै थिए, “त्यो नै मदनसँगको मेरो अन्तिम भेट भयो ।”

अनौठा फ्यान

०५४ साल पुस महिनाको कुरो । गोपाल रिपोर्टिङका क्रममा बाग्लुङको बुर्तिवाङ पुगेका थिए । तीन दिन हिँडेर बुर्तिवाङ पुगेका गोपालले स्थानीय शिक्षकसँग कुरा गरे । एक शिक्षकले भने, “तपाईं आज मेरोमा जानै पर्छ ।”

कर गर्न थालेपछि गोपाल ती शिक्षकको पछि लागे । घर पुगेपछि ती शिक्षकले श्रीमतीलाई भने, “लौ चिन त उहाँ को हो ?”

श्रीमतीले भनिन्, “गोपाल गुरागाईंको जस्तो स्वर पारेर बोल्ने को हो, मैले चिनिनँ ।”

श्रीमानले भने, “उहाँ नै हो गोपाल गुरागाईं ।”

“रेडियोमा बोल्ने गोपाल गुरागाईं यो गाउँमा कसरी आउँछ ? यो हुनै नसक्ने कुरा ।” 

“हो हौ, किन पत्याउँदिनौ तिमी ?”

श्रीमतीले गोपाललाई पिँडुलामा चिमोटिन् । “ऐयाऽऽ मै हुँ रेडियोमा बोल्ने गोपाल गुरागाईं,” दुखेपछि गोपाल चिच्याए ।

“हो रछ, रेडियोमा बोल्ने गोपाल गुरागाईंको आवाज र अहिलेको आवाज एउटै रछ,” ती महिलाले भनेको गोपाल २१ वर्षपछि ‘उज्यालो घर’को तेस्रो तलामा बसेर सम्झन्छन् ।

“त्यसपछि ती महिला धेरै पछुताइन् । मैले यस्तो के गरें, कस्ती खालकी हुँला म भनिन्,” गोपाल सम्झन्छन्, “त्यसपछि भोलिपल्ट बिहानसम्म म बस्दा पनि उनले मलाई ठाडो शिर गरेर हेर्न लजाइन् । वास्तवमा मेरो कार्यक्रम हरेक दिन सुन्दिरहिछन् उनी । मेरो फ्यान रहिछन् । त्यसैले मसँग भेटाइदिन श्रीमानले घर लगेका रहेछन् ।”

त्यो समय गोपाल रेडियो नेपालमा ‘खोजखबर’ नामक रेडियो म्यागेजिन चलाउँथे ।

रेडियो नेपालमा काम गर्ने पत्रकार सेलिब्रिटी हुन्थे । त्यसमाथि पनि ओजिलो स्वर र फरक धारका कार्यक्रम चलाउने गोपालको ख्याति नहुने कुरै भएन ।

०५५ सालमा उनी चितवन पुगेका थिए । गाडीमा सहचालक भाडा माग्दै आए । निर्धारितभन्दा धेरै भाडा मागेपछि गोपालले लाग्ने भाडामात्रै दिएछन् । सहचालक ठूलो स्वरमा कराएपछि गोपाल पनि त्यसको प्रतिवादमा उत्रिए । उनको स्वर सुनेपछि वरिपरि बसेका यात्रुले भने, “ए ! यो आवाज त रेडियोमा बोल्ने गोपाल गुरागाईंको जस्तो पो छ त !” गोपाललाई सम्झाउँदै सँगै रहेकी मन्टेश्वरीराज भण्डारीले भनिन्, “होस् होस्, छोडदिनुस् । दिनुस् ।”

उनीहरूले मन्टेश्वरीको स्वर पनि चिनेछन् । त्यसपछि सहचालक र चालकले उनीहरूलाई गर्ने व्यवहार नै फरक भयो । विवादै गरेनन् ।

अहिलेको पत्रकारिता

प्रविधिको विकास भयो । नेपाली पत्रकारिताले त्यसको प्रयोग ग¥यो । तर, प्रविधि प्रयोगकै तुलनामा नेपाली पत्रकारिताले दर्शक, स्रोता र पाठकलाई ‘कन्टेन्ट’ दिन नसकेको गोपालको ठहर छ ।

कारण ?

हार्डवेयरमा लगानी गर्ने सञ्चारगृह सफ्टवेयरमा लगानी गर्न हिच्किचाए । करोडौंको भौतिक संरचना निर्माण गर्ने सञ्चारगृहहरू हजारौं लगानी गर्न पनि कन्जुस्याइँ गर्न थाले । जबसम्म ‘कन्टेन्ट’माथि  दिल खोलेर लगानी हुँदैन, तबसम्म अपेक्षित समाचार तथा समाचार सामग्री आउँदैन । गोपाल हाकाहाकी यही भन्छन् ।

गोपालको दृष्टिले सञ्चारगृहलाई मात्रै दोषी देख्दैन । उनी नेपालका विश्वविद्यालयमाथि पनि औंला उठाउँछन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता केन्द्रीय विभागलाई उनको प्रश्न छ, “कति वर्ष भयो पाठ्यक्रम परिवर्तन नभएको ? प्रविधिले जतिजति फड्को मार्छ, त्यसकै अनुपातमा पाठ्यक्रम निर्माण गरे के हुन्छ ?”

अहिले मुलुकभर ४ सयभन्दा बढी रेडियो प्रसारणमा छन् । तर, दक्ष रेडियोकर्मीको खोजी गर्ने हो भने सय जना पनि नभेटिने टिठलाग्दो अवस्था छ । यसले गोपाललाई चिन्तित तुल्याउँछ ।

तस्बिरः सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC