– युवराज काफ्ले
स्वभावैले नरम नारीत्व, जो प्रेमको बहकाइमा
विश्वासमा थिगरी थिगरी खेल्दै,
स्त्री मान्छेको पवित्र कुमारीत्व
निहुरिन्छ तिमीप्रति समर्पणले
तिमी आफू तृप्त हुन्जेल पिइरहन्छौ,
जब म आफ्नो समपर्णको मोल खोज्छु
तिमी प्रेममा अभिनय गर्छौ र
मलाई मेरो खिलाप स्वरूप, नगरबधू भन्छौ
नूर उठाउने हिम्मत गर भोगी पुरूष !
म नयाँ युगकी पिंगला हुँ
तिम्रो अपवित्र सीमाभित्रकी पवित्र फुलनदेवी हुँ
म आत्मसम्मानसहितको पहिचान खोज्छु
म पहिचानसहितको मुक्ति चाहन्छु ।
तिम्रा हरेक सफलताको पछाडि मेरो स्वरूपको नकाव छ
उन्नतिका हर पाइलामा मेरो जीवनभरको लगाव छ
नूर उठाउने ल्याकत जुटाऊ ढोंगी पुरूष !
हैन भने मलाई बुझ्ने कोसिस गर
कि मेरो उछित्तो काढ्ने तिम्रा
नैतिकताविहीन नीतिहरूलाई मेट
कि सधैंका लागि जलाइदेऊ
म तिम्रो मझेरी सिँगार्ने दासी हुँ
तिम्रो अपवित्र सीमाभित्रकी पवित्र फुलनदेवी हुँ
म आत्मसम्मानसहितको पहिचान खोज्छु
म पहिचानसहितको मुक्ति चाहन्छु ।
तिम्रो बिछ्यौना र हर कोठा चोटामा हेर
त्यहाँ मेरो पसिनाको अमिलो गन्ध आउँछ
नूर उठाउने बर्गत जुटाऊ लोभी पुरूष !
कि मेरो आङमा धरो हाल
हैन भने कि आफ्नो दरिद्रता छोप
म तिम्रो संसार थेग्ने ढाकरको खकनी हुँ
तिम्रो अपवित्र सीमाभित्रकी पवित्र फुलनदेवी हुँ
म आत्मसम्मानसहितको पहिचान खोज्छु
म पहिचानसहितको मुक्ति चाहन्छु ।
तिम्रा अतिरञ्जनापूर्ण चाह खोल
त्यहाँ मेरो दर्द र व्यथाको आहाल हुन्छ
नूर उठाउने तागत जुटाऊ फोहोरी पुरुष !
कि आफू सुग्घरी बन्ने प्रयास गर
हैन भने कि आफ्नो गोजीको भित्रीझैं बदलिने आँट गर
म असारको गोरूसँगै सार मिलाएर
घरव्यवहारमा जोतिइरहने तिम्री कमारी हुँ
तिम्रो अपवित्र सीमाभित्रकी पवित्र फुलनदेवी हुँ
म आत्मसम्मानसहितको पहिचान खोज्छु
म पहिचानसहितको मुक्ति चाहन्छु ।
म तिम्री द्रौपदी हुँ,
जसलाई हस्तिनापुर (धर्मसभा)मा दाउमा थापे हुन्छ
म तिम्री सीता हुँ
जसलाई अग्निकुण्डमा होमेर जाँचे हुन्छ
म को होइन तिम्री ?
हे पवित्र पुरूष !
तिमी कृष्ण हौ
जसको मती थिएन र त श्रीमती १६०० थिए
तिमी भगवान् राम कहलाउँछौ
तर, शुर्पणाखाको नाक–कान छेदन गर्छौ
हे ! ब्रह्मा, विष्णु, महेश्वर पुरूष !
म तिम्रो अपमान र घृणाकी कुरूप नारी चरित्र हुँ
तिम्रो अपवित्र सीमाभित्रकी पवित्र फुलनदेवी हुँ
म आत्मसम्मानसहितको पहिचान खोज्छु
म पहिचानसहितको मुक्ति चाहन्छु ।
म तिम्रो मनमन्दिरदेखि मठमन्दिरसम्म कहाँ छैन ?
हे पुरूष !
तिमी मलाई अपमानित गर्नुमा आफ्नो पुरूषार्थ सम्झन्छौ
तर, यो माटोलाई निचोरी हेर
मेरो रगत र माटोले सिञ्चित छ
नपत्याए यी खत हेर
सालनाल काटेको अझै आहालै छ
त्यसैले त अब तिमी सत्ययुगको कुण्डलीसहित
द्वापरयुगको जोड अनि
त्रेतायुगको घटाउ लिएर
कलियुगको गुणानसहित
न्यायको कठघरामा उभिनुपर्छ
नूर उठाउने पाइन जुटाऊ दोषी पुरूष !
जुन ब्रस लगाउँदासमेत मेटिँदैन
अब कि परिवर्तनलाई हेर्न नसकी आँखा छोप
म अपनत्व गुमाएकी समर्पणकी रानी हुँ
तिम्रो अपवित्र सीमाभित्रकी पवित्र फुलनदेवी हुँ
म आत्मसम्मानसहितको पहिचान खोज्छु
म पहिचानसहितको मुक्ति चाहन्छु ।