– विद्या सापकोटा
चराहरूको चिरबिरसँग
ब्युँझन्न
अचेल बिहान
बस् सुसाउँछ नानीहरूको चिलबिलसँगै ।
अखबारहरू छापिन्नन्
मसीका छापहरूले
त्यहाँ त टल्किरहेको हुन्छ
निरीहहरूको आलो रगत ।
बोल्दैनन् आजकल
काका, मामा,
दाइ, भान्दाइ, छिमेकीहरू
स्नेहले, आशीवार्दले
बस् पर्खी बस्छन् मौका
कहिले छोड्ला माउले चल्ला !
हुन त यहाँ
स्वाधीनता छ,
स्वतन्त्रता छ,
जसले जसलाई जे गरे नि हुने सहजता छ ।
सामान्य हो भ्रष्टाचार
गरे हुन्छ अपहरण
फ्याँके हुन्छ एसिड
बलात्कार गर्दा नि हुन्छ
मारे पनि हुन्छ,
मर्न बाध्य पारे पनि हुन्छ
केवल
गर्नु हुँदैन प्रश्न, खोज्नु हुँदैन न्याय ।
शैशव भविष्यहरू झाडीमा भेटिन्छन्
वृद्ध आमाहरू बुइँगलमा कुहिनन्छन्
खिइन्छन् तरुण सपनाहरू तेजाबमा
सड्छन् निर्दोष जीवन–
क्याफे, पार्क र स्कुल–कलेजमै ।
तर, हुँदैन
हुँदै हुँदैन माग्न न्याय
खोज्न अपराधी
किनकि
खोज्दै जाँदा
खोतल्दै जाँदा
भेटिन सक्छ त्यहाँ–
भोट माग्दै आएको मगन्ते अनुहार
देखिन सक्छ–
राष्ट्रसेवक भनिनेको हिंस्रक मुस्कान
अथवा
बाहिरिन सक्छ–
सिंहदरबारको ऐनाभित्र लुकेको दाग ।
त्यसैले यहाँ
सबैले सबै गरे हुन्छ
शिवाय
माग्नु हुँदैन न्याय
सुन्नु हुँदैन निमुखाको आवाज
र, सोध्नु हुदैन–
यो देशमा कानुन छ ?
साँच्ची ! सरकार पनि छ ?