काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सरकारविरुद्ध भ्रामक प्रचारको उद्योग चलाएको बताइएको छ । शनिबारबाट शुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ– “पछिल्लो समय विपक्षी कित्ताबाट पार्टी र सरकारविरुद्ध भ्रामक प्रचारको योजनावद्ध अभियान नै चलाइएको छ । साधनस्रोत सम्पन्न अत्याधुनिक प्रविधियुक्त र विभिन्न ठाउँबाट पोषित योजनावद्ध प्रोपागाण्डा’का तुलनामा हाम्रो प्रचार अभियान निकै कमजोर देखिएको छ । संक्रमणकालीन अवस्थामा हाम्रा आधिकारिक प्रचार संयन्त्रहरूलाई सक्रिय र प्रभावकारी बनाउन सकिएको छैन ।”
त्यस्तै सामाजिक सञ्जालमा विपक्षीबाट मात्र नभई पार्टी पंक्तिका केही नेताले लोकतान्त्रिक अधिकारका नाममा पार्टीका संस्थागत निर्णयका विपक्षमा राय–अभिमत प्रकट गर्ने प्रवृत्ति पनि देखा परेको भन्दै चिन्ता व्यक्त गरिएको छ । यी प्रवृत्ति गलत भएको भन्दै यस्ता अभिव्यक्ति निरुत्साहित तुल्याउनुपर्ने मत अध्यक्षद्वयको छ ।