एजेन्सी । एन्टोनि ग्रिजम्यान र निकोला कालिकको गोलमा एट्लेटिको मड्रिडले भालाडोलिडलाई ३–२ ले पराजित गरेको छ । ला लिगा अन्तर्गत शनिबार राती भालाडोलिडलाई पराजित गर्न ग्रिजम्यानले २ तथा निकोलाले एक गोल गरेका थिए ।
जितसँगै मड्रिडले शिर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक बराबरी पारेको छ । २६ औं मिनेटमा निकोलाको गोलबाट अग्रता लिएको एथ्लेटिको मड्रिडलाई पहिलो हाफको अन्तिमतिर ग्रिजम्यानले पेनाल्टी गोलमार्फत् अग्रता दोब्बर पारेका थिए ।
खेल सकिन १० मिनेट बाँकी छँदा ग्रिजम्यानले टोलीका लाथि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । घरेलु मैदानमा भालाडोलिडका लागि ५७ औं मिनेटमा फर्नान्डो कालेरोले एक गोल फर्काएका थिए । लगत्तै सउल निग्वेजले आफ्नै पोष्टमा गोल गरेपछि उपहार गोल पाएको भालाडोलिड अन्तिम समयमा सम्हालिन नसक्दा गोलको शिकार भएको थियो । जितपछि एथ्लेटिको मड्रिडले ३१ अंक जोडेको छ ।
लिग अन्तर्गत शनिबार राती भएका अन्य खेलमा गेटाफे रियाल सोसिडाडमाथि १–० ले विजयी भएको छ । एइबारले भ्यालेन्सियालाई १–१ को बराबरीमा रोक्दा सेल्टा भिगो र लेगानेसले गोलरहित बराबरी खेलेका छन् । लिग अन्तर्गत आइतबार राती ४ खेल हुँदैछन् । शिर्ष स्थानको भ्यालेन्सीया राती साढे १ बजे लेभान्तेसँग भिड्दा स्पानियोल र रियल बेटिसबीच बेलुका ९ बजे प्रतिस्पर्धा हुनेछ । भिल्लारियल र हुइस्का ११ः१५ बजे आमनेसामने हुनेछन् । अपरान्न ४ः४५ बजे सेभिल्ला र गिरोना मैदान उत्रिनेछन् ।