काठमाडौं । मुलुकको केन्द्रीय बैंकले १० अर्ब २३ करोड रुपैयाँबराबरको ‘ट्रेजरी बिल’ बिक्री गर्ने भएको छ । यस्तो ट्रेजरी बिल पर्सी मंगलबार जारी हुनेछ ।
नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल खरिद गर्नका लागि भोलि सोमबार दिउँसो २ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुने समय दिएको छ ।
राष्ट्र बैंकले ९१ दिन अवधिका लागि ८ अर्ब २३ करोड रुपैयाँ र ३ सय ६४ दिन अवधिका लागि २ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । ९१ दिने ट्रेजरी बिल आगामी फागुन २८ गते र ३ सय ६४ दिने ट्रेजरी बिल २०७६ पुस १ गते परिपक्व हुने छ ।
यसअघि गत मंसिर २४ गते भएको ३ अर्ब २५ करोड रुपैयाँबराबरको २८ दिन अवधिको ट्रेजरी बिल अनलाइन बोलकबोलमा १५ अर्ब ९५ करोड रुपैयाँ र २ अर्ब २६ करोडको ९१ दिने ट्रेजरी बिलमा ९ अर्ब २२ करोड रुपैयाँबराबरको बिड परेको थियो ।