काठमाडौँ । काठमाडौंमा घर भएका सांसदले पनि घरभाडावापतको रकम बुझेको भन्दै आलोचना भएपपछि रकम फिर्ता गर्नेको होड चलेको छ । आजमात्रै नेकपाका सांसद योगेश भट्टराईले रकम फिर्ता गरेको घोषणा गरे भने नेकपाकै नेतृ एवम् सांसद गोमा देवकोटाले पनि आफूले रकम जेठमै फिर्ता गरेको दाबी गरेकी छन् ।
उनले आइतबार विज्ञप्ति जारी गर्दै आफूले गत जेठमै घरभाडावापतको रकम फिर्ता गरेको र अहिले रकम बुझ्नेको सूचीमा आफ्नो पनि नाम भएको बताउँदै चरित्र हत्या गर्न खोजेको आरोप लगाएकी छन् ।
“बिनाजानकारी घर भाडाको रकम जम्मा गर्ने र प्रचार गर्ने काम भएको छ । संसद सचिवालयले माफी माग्नुपर्छ,” उनले भनेकी छन्, “संसद सचिवालयमा सम्पत्ति विवरण बुझाउँदा मैले सम्पूर्ण कुरा उल्लेख गरेको छु । त्यस विवरणमा मेरो काठमाडौंमा मेरो घर भएको जानकारी गराएको थिएँ । अझ कानुन अनुसार मैले मेरो गृह जिल्ला जाँदा आउँदा पाउने सुविधा समेत लिने नगरेको जानकारी गराउँछु ।”
“संसद सचिवालयले भनेको विवरण उपलव्ध गराउँदा गराउँदै र सचिवालयको कमजोरीले गर्दा केही महिना घरभाडा वापतको रकम मेरो खातामा जम्मा भएको र २०७५ जेठ महिनामा उक्त रकम समेत मेरो तर्फबाट फिर्ता गरिसकेको जानकारी गराउँछु,” उनले प्रष्ट्याएकी छन् ।