काठमाडौं । मेगा बैंकले इन्टरनेटमा कार्डमाफत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकका लागि ‘थ्रीडी सेक्योर’ प्रविधि सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार भिसा कार्ड इन्टरनेसनलको ‘भेरिफाइड बाई भिसा’ आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारका लागि अतिरिक्त सुरक्षा तहका रूपमा रहने छ । भिसासँगको साझेदारीमा ‘आइजिल्यान्ट टेक्नोलोजी’ मार्फत यो सेवा सुरु गरिएको हो ।
ग्राहकले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्ने भएकाले अनलाइन कार्डबाट कारोबार गर्दा थप सुरक्षित हुने बैंकले जनाएको छ । बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले थ्रीडी सेक्योर प्रविधि सुरुवातबाट मेगाका कार्ड प्रयोगकर्ताको कारोबार सुरक्षित बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताइन् ।