काठमाडौं । सिङगिङ रियालिटी शो नेपाल लोक स्टार आयोजना हुने भएको छ । फागुनको पहिलो हप्ताबाट प्रशारण हुनेगरी सिङगिङ रियालिटी शो नेपाल लोक स्टार हुन लागेको हो ।
चाहाना मिडियाले आयोजना गर्न लागेको सिङगिङ रियालिटी शो नेपाल लोक स्टारका विजेताले नगद रु ५० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रम एपीवान एचडी टेलिभिजन, नेपाल टेलिभिजन, प्राइम टेलिभिजन र सुसेली टेलिभिजनबाट प्रशारण हुनेछ ।
कार्यक्रमको निर्णायकमा लोकगायक तथा कलाकार जयनन्द लामा, संगीतकार, गायक, तथा संगीत संयोजक बिबि अनुरागी, गायक रामजी खाँड र गायिका सुनिता दुलाल रहेका छन् ।
सातवटै प्रदेशबाट प्रतिस्पर्धी छनोटका लागि अडिसन लिइने छ भने नेपाल लोक स्टारको मोवाइल एपबाट पनि भिडियो अडिसन दिन सकिने छ । अडिसनका लागि सहभागीले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । माघको पहिलो साता पहिलो अडिसन लिन प्रत्येक प्रदेशमा आउने आयोजकले जनाएको छ ।
प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ठ ५० सम्म निर्णायकको हात रहनेछ भने ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा रहनेछ । ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा अधिकार रहने छ । २० बाट १० सम्म ५०∕५० प्रतिशत निर्णायक र दर्शकको भोटिङमा अधिकार रहनेछ भने १० बाट फाइनलसम्म सम्मपूर्ण अधिकार दर्शकको भोटमा रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमको सल्लाहकारमा लोक सम्राट कुमार बस्नेत र पत्रकार ऋषी धमाला रहेका छन् ।