site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
घर न घाट
Sarbottam CementSarbottam Cement

– अक्षर काका


नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सञ्चालन गरेको १० वर्षे लामो जनयुद्ध साम्य भएको १२ वर्ष नाघिसक्यो । १२ वर्षमा खोला फर्किन्छ भन्ने नेपाली लोकोक्ति छ । तर, विस्तृत शान्ति–सम्झौताको १२ वर्षसम्म पनि जनयुद्धका घाइते, अपांगता भएकाहरूको जीवनमा पीडाका नुनिला आँसुबाहेक केही फर्किएको छैन ।

जनयुद्धकै जगमा खडा भएको गणतन्त्रले सिंहदरबारमा सिउर हल्लाउँदै छ । तर, समाजमा जनयुद्धका घाउहरू अझै खाटा बस्न पाएका छैनन् । उचित मल्हमपट्टीको अभावमा पलपल प्रताडित तुल्याइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जनयुद्धको आवश्यकता र औचित्यका बारेमा बहस गरिरहनु परेन । संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता मूलभूत परिवर्तन जनयुद्धकै जगमा खडा भए । र, यसैले मुलुकलाई प्रगतिपथमा डोहोर्‍याइरहेछ ।

तर, तिनै उपलब्धिका हर्ताकर्ताको जीवनचाहिँ अधोगतितर्फ अभिमुख छ । रोग र शोकले थलिँदै गएपछि वीर अस्पतालको आकस्मिक कक्षमा मृत्युको दिन पर्खिएर बस्नु उनीहरूको नियति बनेको छ ।

Global Ime bank

पुसको डन्डीले कठ्यांग्रिँदो छ मौसम । त्योभन्दा चिसो छ, वीर अस्पतालको आकस्मिक कक्ष । एउटै शैय्यामा दुईजना बिरामीको व्यथा निको पार्न अभिशप्त वीर अस्पतालले चार दिनदेखि जनयुद्धको ‘आलो घाउ’ स्याहारिरहेछ ।

० ० ०

भोक र अभावको धूप र खडेरीमा हुर्कियो जुम्ला । तथापि जुम्लाका आँखामा दुःख र सुख सरोबरी थियो । सुखको अनुहार नदेखेकाले होला— जुम्लालाई दुःखको बोध थिएन । ऊ अबोध शिशुझैं थियो । र त, राज्यसत्ताले जे–जे रटाउँथ्यो, त्यहीत्यही मुखाग्र पाथ्र्यो ।

तर, २०५२ सालमा माओवादीले शुरू गरेको जनयुद्धपछि जुम्लामा पनि राता झन्डा फर्फरायो । परिवर्तनको शंखनाद भयो ।

परिवर्तनको त्यो कर्णप्रिय ध्वनि वीरबहादुर परियारको कानमा पनि प्रतिध्वनित भयो । र, जनयुद्धको रुमानी सपना उनको मथिंगलमा पिङ खेल्न थाल्यो ।

गरिबीले दिनहुँ फणा उठाउँथ्यो र ठाउँकुठाउँ डसिरहन्थ्यो । अभावको आँखाबाट मात्रै जीवन पढेकाले हुनुपर्छ— जिन्दगी नर्क प्रतीत हुन्थ्यो । र, मुक्तिको माध्यम बन्यो जनयुद्ध ।

वीरबहादुरको निम्छरो जीवन गरिबीको दुरत्यय भँगालो त छँदै थियो । नाम पछाडि झुन्डिएको परियार थर जीवनको अभिशाप बन्छ भनेर उनले शायदै कल्पना गरेका थिए । दलितको कोखमा जन्मिएवापत, उपेक्षा, उत्पीडन र दमनजत्ति सबै आफ्नै भागमा पर्छ भन्ने कुरा समाजलाई ठम्याउन थालेपछि चाल पाए ।

“विष्टको आँगनमा कल लिएर गए मुखमा माड लाग्थ्यो, नभए भोकै । भोकबाट पार पाउन पनि माओवादी जनयुद्ध जीवनको आकस्मिकता होइन, अनिवार्यता भयो,” अस्पतालको शैय्यामा मृत्युसँग जुधिरहेका वीरबहादुर जनयुद्धका शुरूआती दिन सम्झन्छन् ।

\"\"

शोषित, पीडित, उपेक्षित, उत्पीडितका सपना पनि गाँसिँदै गएपछि जनयुद्धको आयातन फराकिलो बन्दै गयो । त्यही भँगालामा हेलिन पुगे– वीरबहादुर ।

जीवनको ऐश्वर्यकाल, कैशोर्यकाल । मुलुक परिवर्तनको रुमानी सपनाले डोहोर्‍याउँदै उनलाई मुक्ति युद्धको हिस्सा बनायो ।

औंलो डोब्ने जग्गा दलितको नाममा थिएन । साहू–महाजनको निगाह, दयामाया नै उनीहरूको जीवनको आयस्था थियो । त्यसलाई बदल्ने आँट जनयुद्धसँग मात्रै छ भन्ने लागेका दिन उनी माओवादी बने ।

सजिलो थिएन– जनयुद्धको बाटो । आगाका फिलिंगाजस्ता गोली र बमबारुदको मुस्लोको बीचबाट क्रान्तिको दिशा पहिल्याउने कुरा चानचुने हुँदै होइन । तर, उनको केटौले दिमागमा परिवर्तनशिवाय छड्कने मौका नै पाएन ।

२०५६ बाट माओवादी आन्दोलनको अंग बनेका वीरबहादुर ०५८ सालमा मिलिसिया हुँदै कम्पनी कमान्डर बने र फस्र्ट एसल्टमा रहेर तत्कालीन सत्ताविरुद्ध धावा बोले । परिवर्तनका निम्ति बम–बारूद ओकले ।

बाँकेको कुसुम, रुकुमको खारा, अर्घाखाँचीको सन्धिखर्क, जुम्लाको खलंगामा विपक्षीलाई धूलो चटाए । थुप्रैको जीवनको दौडधूप टुंगियो । तर, समय सधैं एकैनास रहेन । जनयुद्धले देशभर हतियारबन्द संघर्षको डढेलो सल्काउँदै थियो । बाँके, कुसुमको दोहोरो भिडन्तमा उनको खुट्टा गोलीले छेड्यो । मुक्तिको सपना घाइते बन्यो ।

कम्पनी कमान्डर । घाइते हुँदैमा चौतारीमा थकाइ मार्ने सुविधा थिएन । पार्टीले तय गरेको राजनीतिक र फौजी आक्रमणलाई दिशा दिनै पथ्र्यो । जनयुद्धको बाटोमा तगारो बन्न आएका विपक्षीलाई पन्छाउँदै जनयुद्धलाई विजयको पथमा डो¥याउनै पथ्र्यो । अतः घाइते शरीरलाई विश्रामको सुविधा दिएनन् ।

२०६० चैत ७ गतेको मध्यरात । म्याग्दीको बेनी आक्रमणमा परिवर्तनको उनको सपनालाई विपक्षीको गोलीले क्षीण तुल्याइदियो । राति ११ बजे आक्रमण शुरू गर्ने र बेनी कब्जा गर्ने पूर्वनिर्धारित योजना थियो । तर, तत्कालीन शाही सेनाको कानमा सूचना पुगिहाल्योे । माथि डाँडाबाट गोली बर्साउने योजनामा थिए वीरबहादुर, तलबाट सेनाले आक्रमण शुरू गरिहाल्यो । मस्त निद्रामा रहेको म्याग्दी बजार असिनासरह बर्सिएका गोलीसँगै कारुणिक चित्कारभित्र निस्सास्यिो । त्यसमध्ये एउटा चित्कार वीरबहादुरको पनि थियो ।

भीडन्त शुरू भएको दुई घण्टापछि एउटा गोलीले उनको आँखा छेड्यो । उनी डङ्ग्रङ्ग भुइँमा बजारिए । घायल बन्यो मुक्तिको सपना ।

उनले एसएलआरको गोलीसँग साटेको परिवर्तनले मुलुकमा गणतन्त्र फस्टाएको छ । तर, उनी अनिँदो आँखा र रित्तो पेट लिएर अस्पतालको शय्याबाट आन्दोलको शंखनाद गरिरहेछन् । विपक्षीले चलाएको गोलीले उनको आँखा छेड्यो । जीवनले अपांगता बेहोर्‍यो । गन्तव्य निछ्याम भयो ।

गोलीले त उनको दृष्टि न छेडेको थियो । तर, पार्टीका नेताको हेलाहाँसो र उपेक्षाले उनको मुटु छेडेको छ र सपना निःचेष्ट बनेका छन् ।

बाहिर परिवर्तनको उज्यालो घाम लागेको छ । दुनियाले गणतन्त्रको उल्लास पाएका छन् । तर, आफू लाशसरह अस्पतालको शय्यामा थलिनुपर्दा उनको मन चोइटिएको छ । भन्छन्, “हामीले सररकारसँग केही मागेका छैनौं । जनयुद्धका घाइते योद्धाको उपचारको प्रबन्ध गर, हाम्रा बालबच्चाको भविष्य सुनिश्चित गरिदेऊ । यति भयो भने भने मैले दृष्टिसँग साटेको परिवर्तनले सार्थकता पाउनेछ ।”

१३ वर्ष भएछ सरकारसँग विलौना गर्न थालेको । जनयुद्धताका युद्ध–मोर्चामा कासन गर्नेहरू आज सिंहदरबारमा आसन जमाएर बसेका छन् । चिल्ला गाडीमा हुइँकिँदै गणतन्त्रमा हैकम जमाइरहेछन् । सुविधा भोग गरिरहेछन् ।

तर, अधिकारका लागि पेटमा पटुकी कसेर जनयुद्धको विगुल फुकेकाहरू आज आफ्नै अधिकारका राज्यसँग सिँगौरी खेलिरहेका छन् ।

\"\"

‘परिवारले किरिया गर्‍यो तर म ज्युँदै फर्किएँ’

“संघर्षको इतिहास मेटाएर मेटिन्न,
कम्युनिस्ट सरकार दरबारबाहिर भेटिन्न !”

भित्ताभरि नाराले परेड खेलिरहेछन् । यस्ता नारा हिजो व्यवस्थाविरोधी आन्दोलनमा मुखर हुन्थे । आज आफ्नै जनयुद्धको कमान्डरविरुद्ध टाँग्नुपर्दा मन कुँडिएको छ– नरवीर दमाइको ।

विक्रम सम्वत् २०५४ साल । तत्कालीन माओवादीले जनयुद्धको आँधीबेहरीको शंखघोष गरेको दुई वर्ष पनि भएको थिएन । भर्खर प्रवेशिका परीक्षा उत्तीर्ण गरेको पट्ठो । उनको नाममा अर्को कीर्ति पनि खडा थियो– एसएलसी उत्तीर्ण गर्ने जिल्लाकै दोस्रो दलित छात्र । गर्वले छाती ढक्क फुलेको थियो । कसैले सुनाइदियो– यस्तो होनहार विद्यार्थी त राजनीतितिर हेलिनुपर्छ । परिवर्तनको हुरी निम्त्याउनुपर्छ । र, बढार्नुपर्छ समाजका रूढ चेतनाहरू ।

तिनैले उनको हातमा नेविसंघको सदस्यता थमाए । त्यसको एक महिनापछि उनी कांग्रेसकै तरूण दस्तामा समाहित भए । राजनीतिक चेतले शनैःशनै हाँगा हाल्यो ।

माओवादी आन्दोलन गाउँगाउँमा संगठित हुँदै थियो । केटौले नरवीर माओवादी प्रतिरोधी कित्तामा उभिए । दमनकारी दस्ताको हिस्सा बने ।

“विद्यार्थीकालमा कम्युनिस्ट आन्दोलनप्रति तीव्र विमति राख्थें, त्यसैले माओवादी प्रतिरोधी चेत मस्तिष्कमा बीजारोपण भयो,” किशोरवयतिर फर्किएन्छन् नरवीर ।

५० को दशक चेतनाको परिवर्तनको युग पनि बन्यो उनका लागि । तिनताका माओवादीका मायाराम आचार्यसँग भेट भयो । उनले नरवीरको दिमागी चेतको धार बदलिदिए । सशस्त्र संघर्षको पाइन हालिदिए ।

साहित्य–समाजलाई आफ्नै आँखाले पढ्न रुचाउने नरवीरको हातमा म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यास थमाइदिए । ‘आमा’ उपन्यासले उनीभित्रको क्रान्तिकारी चेतलाई विन्यास गर्‍यो । थाहै नपाई माओवादी आन्दोलनतिर लहसिए उनी ।

दलन र दमनको चर्को मारमा थिए दलित । गरिबी र अभाव नै जिन्दगीको परिभाषा थियो । मध्य र सुदूरका वनबुट्यान सबै माओवादी देख्ने सरकारी रवैयाले नराम्ररी प्रताडित थियो– त्यहाँको भूखण्ड । दलितहरू राज्यसत्ताको पहिलो निशानामा थिए ।

भूमिगत हुनेबित्तिकै उनले अखिल क्रान्तिकारीमा जिम्मेवारी पाएका थिए । तर, दुई महिना पनि अडिन पाएनन् । जनमिलिसिया हुँदै जनमुक्ति सेनामा जिम्मेवारी पाइहाले ।

२०५५ सालतिरकै कुरा हो, भर्खरै प्लाटुन कमान्डर नियुक्त भएका थिए । कैलालीको पाण्डोनमा सुरक्षाफौजसँग मुठभेड भयो । माओवादीतर्फ दुईजना सामान्य घाइते भए । प्रहरीतर्फ एकजनाको मृत्यु भयो । देशमा गणतन्त्र ल्याउने र विभेद र असमानताको पर्खाल भत्काएर समाज सम्याउने सपना हुर्किंदै गयो ।

कालिकोटको कोटबाड, डोल्पाको दुनै, दैलेखको नौमुदे र दाङको घोराही आक्रमणमा उनी फस्र्ट एसल्टमै रहेर विजयको झन्डा फहराए ।

दाङ ब्यारेक कब्जाको प्रसंग बडो रोचक छ । रोल्पाको होलेरी आक्रमणदेखि नै सेना आमुन्ने सामुन्ने हुन खोजिरहेको थियो । सेनासँगको भिडन्त माओवादीभित्र पनि हाउगुजी नै थियो ।

“नेपाली सेना विश्वमै कहलाएको संस्था हो । कदाचित् परिचालन भइहाले माओवादी आन्दोलन हतियारबाटै निस्तेज हुन्छ भन्ने आत्मगत विश्लेषण पनि हुन्थ्यो, हामीभित्र,” उनी सम्झन्छन् ।

तर, घोराही आक्रमणको परिणाम त्योभन्दा विपरीत निस्कियो । नरवीरको आँखामा घोराही आक्रमण जनयुद्धको ‘सरप्राइज’ थियो ।

“हामीले अत्याधुनिक हतियारबिनै एसएलआर राइफलको भरमा ब्यारेक कब्जा गर्‍यौं,” उनको आँखामा आश्चर्यभाव छचल्किन्छ । सुर्ताले थिल्थिल्याएको अनुहारमा जादुयी आभा छाउँछ ।

ब्यारेक कब्जा भइसकेपछि तीन–चारजना कमान्डरहरूले तीन–चारवटा लामो फलामको ढुंग्रो हुर्‍याउँदै हिँड्दै गर्न थाले । त्यो देखेर एउटा सेनाबाट सेवानिवृत्त भएका कमान्डर चिच्याउन थाले रे, “ए ! त्यो ८१ एमएम मोर्टार हो, नफाल ।”

“घोराही कब्जा गर्दासम्म हामीलाई मोर्टार थाहा थिएन,” दाङ आक्रमण गर्दाको क्षण उनको दिमागमा ताजै छ ।

जुम्लाको खलंगा भिडन्तले भने उनको जीवनको बाटो मोडिदियो । त्यसअघिका आक्रमणमा पनि कयौंपल्ट मृत्युसँग जम्काभेट नभएको होइन । ताता गोलीले बाटो छेक्न नखोजेको होइन । बलमिच्याइँ गरेर अघि बढे । तर, खलंगा आक्रमणमा भने उनलाई मृत्युले घाँटीमै अँठ्यायो ।

०५९ कात्तिक २८ गतेको रात थियो त्यो । खलंगा आक्रमण विजयतिर अभिमुख हुँदै थियो । उनको खुट्टामा एकसाथ जीपीएमजीका चारवटा गोली वारपार भए ।

माथि डाँडाबाट कमान्डरले कासन रोकेका छैनन् । फस्र्ट एसल्टमा उनै थिए । विपक्षी जवाफी हमलामा उत्रिएको उत्रिएै छ ।

“रगतको धारा छुटेको ठाउँमा कपडा कोचें र दुई वटा बंकर कब्जा गरें,” आङ सिरिंग हुने युद्ध आँखा अघिल्तिर छमछमी नाचिरहन्छ उनको । अस्पतालको शय्यामा दिन–रात ऐंठन भइरहन्छ । जुम्ला आक्रमणले उनको जीवनको लय विशृंखलित तुल्याइदियो । जनयुद्धको सपना आफैंका लागि निकै बोझिलो बन्यो ।

\"\"

० ० ० 

०६३ माघको महिना थियो । वैशाखी टेकेर उनी गाउँ पुगेका थिए । आफूले सल्काउँदै हिँडेको युद्धको आगो निभेर देशमा शान्ति सम्झौता भइसकेछ । सेना ब्यारेक फर्किइसकेछन् । सँगैका साथीसंगी अस्थायी शिविरमा थुप्रिएछन् । विद्रोहको नेतृत्व गरेको पार्टी नेतृत्व संसद् छिर्ने तारतम्यमा पो रहेछन् ।

उनी घरको आँगनमा मात्र के पुगेका थिए, छिमेकीहरू तर्सिए । “भूत... भूत..,” केटाकेटी त्राहिमाम् भए ।

उनी पिँढीको डिलमा टुक्रुक्क के बसेका थिए, दिदी अचेत भएर डङ्ग्रङ्ग ढलिन् । मुखबाट गजगजी फिँज आयो ।

के भइरहेको छ, कसो भइरहेको छ— नरवीरको घाइते दिमागले भेउ पाउन छाड्यो । निधारबाट पसिनाको धारा छुट्यो । शीतांग भयो शरीर ।

भित्र मझेरीमा आमा कंकलाशब्दले रोइरहेकी थिइन्, “त्यही एउटा छोरो थियो, त्यो पनि युद्धले निलिहाल्यो, मैले मन कसरी बुझाउनू !”

भएको के रहेछ भने माओवादी पार्टीले नै नरवीर मरेको खबर गाउँमा पुर्‍याएछ । परिवारले काजकिरिया गरेको पनि पाँच वर्ष भइसकेको रहेछ । काजकिरिया गरेको आधा दशकपछि ज्युँदै फर्किएका थिए नरवीर ।

जनयुद्धको उपहारमा आधामृत्यु मिलेपछि उनले पार्टीसँग हारगुहार गरे । तत्कालीन कमान्डर महेन्द्रबहादुर शाही (अहिले कर्णाली प्रदेशका मुख्यमन्त्री)ले उनलाई २० हजार रुपैयाँ दिए । त्यसैले उनले गार्मेन्ट कारखानको बीउ रोपे । कारखाना फैलिँदै गएको थियो ।

नियति फेरि निर्मम बन्यो । टाउकामा बमका अवशेष अझै बाँकी रहेछन् । त्यसको असर देखिइहाल्यो । बोल्दाबोल्दै बेहोस भए उनी । उपचार गर्दा धनसम्पत्ति होइन, सर्वस्व नै सकियो ।

“उतिबेलै मरेको भए सहिद हुँदो हुँ, अहिले बाँचेर घरको न घाटको भएको छु,” बरबरी आँसु झार्छन् उनी । पार्टी र सरकारबाट यथेष्ट सहयोग नपाएपछि अनशन उनको विकल्प बनेको छ ।

० ० ०

माओवादी जनयुद्धले मुलुकलाई गणतन्त्रको राजमार्गमा पुर्‍यायो । रगतसँग साटेको त्यही गणतन्त्रले कालिकोटका संग्रामे सार्कीलाई चाहिँ पाटीको बास गरायो । परिवर्तनको झुल्के घाम ल्याउन बन्दुक उठाएका संग्रामेले ३६ वटा लडाइँ लडे । जनयुद्धका हर्ताकर्तालाई साशन–सत्ताको बागडोर सम्हाल्ने तहमा पनि पुर्‍याए । देश र जनताको न्यायका निम्ति सशस्त्र संघर्षको आँधी–तुफान निम्त्याएका संग्रामेले आफैं न्याय नपाएर माइतीघरको शरण पर्नुपर्छ भनेर कहिल्यै कल्पना गरेका हुँदा हुन् ।

सोचेभन्दा भिन्न पथमा हिँड्छ जीवन भन्ने तथ्य संग्रामेले बल्ल बुझ्न थालेका छन् । अहिले हिजो सँगै लडाइँ लड्ने र लड्न आदेश दिने नेतृत्वविरुद्ध उनी भोक हड्तालमा उत्रिएका छन् ।

“नेतृत्वप्रति कुनै गुनासो छैन । गुनासो त आफैंप्रति छ, म किन क्रान्तिको भ्रममा परें ?” भित्तामा टाउको ठोक्काउँलाझैं गर्छन् उनी ।

सामाजिक अपहेलना र सरकारको तिरस्कार फेर्न जनयुद्धको बाटो रोजेका उनले । युद्धताका एउटै थालमा खाएकाहरूले घाइते, अपांगलाई सडकमा अलपत्र छाडेर स्वार्थको बाटो समात्लान् भनेर कसरी कल्पना गर्नू !

“गणतन्त्र त हामीले पार्टी नेतृत्वलाई पो ल्याइदिएका रहेछौं । आम शोषित–पीडितका लागि त लडाइँ अझै बाँकी रहेछ,” अस्पतालको शय्यामा बर्बराउँछन् उनी ।

उनको छेउमा छन् कालिकोटकै मोहन परियार । उनको अनुहारमा पनि उच्चाटलाग्दो शून्यता छ । आँखामा जनयुद्धको भयानक ऐंठन । जन्म ठाउँ भए पनि बाटो एउटै थियो संग्रामे र मोहनको । सपना पनि समान रङका थिए । एउटै लक्ष्य बोकेर युद्धमा चरुझैं होमिए । जनयुद्धले पनि समान पीडा थमायो उनीहरूलाई ।

जुम्लाको खलंगा आक्रमणमा खँजाहा बनेका परियार सन्धिखर्क आक्रमणमा खुट्टा गुमाएका साथी संग्रामेतिर हेर्दै मन बुझाउँछन् । कहिले साथी सम्झिएर रुन्छन् । कहिले आफैंलाई हेरेर भक्कानिन्छन् ।

\"\"

“कहिलेकाहीँ हामी दुवैको जिन्दगीदेखि बडो टीठ लागेर आउँछ, जनयुद्धले देश त बदल्यो, खै हामी कहाँ छुट्यौं ?” उनका आँखाका छेउकुना रसाउन थाल्छन् । डिलबाट बग्न थालेका आँसु मुस्किलले थाम्छन् ।

जनयुद्ध विम्बमा अहिले टुकी बत्ती बनेको छ । अरुलाई झलमल्ल उज्यालो त दिएको छ । परन्तु त्यसले आफैंमुनिको अँध्यारो पन्छाउन सकेको छैन । मकवानपुर हाँडीखोलाका मंगलसिंह प्रजा र बर्दियाका लीलाचन्द कामी यसका भुक्तभोगी हुन् । जनयुद्धमा ज्यान तेजे । उपलब्धि घाइते र अपांगता पाए ।

१३ वर्ष हात पसार्दा सरकारले अपमानबाहेक केही नदिएपछि आमरण अनशन उनीहरूको एकमात्र हतियार बनेको छ ।

“आफ्नै अभिभावकसँग हामी हात पसारेर अधिकारको याचना गरिरहेका छौं तर पनि सरकार कहिले हामीलाई विदेशी शक्तिको उक्साहटमा लागेको भन्छ, कहिले एनजीओको भरणपोषण गरेको भनेर तुच्छ वचन लगाउँछ । युद्धताका राज्य–व्यवस्थाका विरुद्ध हतियार उठायौं, अहिले नेतृत्वकै विरुद्ध भोक हड्तालमा उत्रिनु परेको छ, भोका–नांगाको रगत–पसिनाले आर्जेको राज्यसत्ता भोक हड्तालले नढलोस्,” समवेत स्वरमा उनीहरू सरकारलाई चेतावनी दिन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०७५  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC