अक्षर काका
सोमबार सीमाको जन्मदिन ।
“दाइ ! वसन्ती परियारको कोठामा जन्मदिन मनाउने योजनामा छु, समाचार ‘फलोअप’ पनि हुन्छ, आउनू है !,” एकाबिहानै सीमा बस्नेतले फोन गरिन् ।
चार वर्षअघि वसन्तपुरस्थित झोँछेमा एकाबिहानै तेजाब आक्रमणमा परेकी । तेजाबले जलाएको निधारमा खाटा त बसेको छ तर त्यसको भय मथिङ्गलमा गहिरोगरी कुँदिएको छ । गुलाबी उमेरमै तेजाबको डाहमा छटपटिएकी सीमा जलन कम्ती हुँदै गएपछि आफैँजस्तै पीडितको घाउमा मल्हमपट्टी गर्न कस्सिएकी छन् ।
तेजाबको आगाबाट थुतेर ल्याएको ‘नाफाको जीवन’लाई समाजसेवामा लगाउने धोको पूरा गर्दैछिन् उनी । र त, उनले यो जन्मदिन आफूजस्तै तेजाब आक्रमणबाट डढाइएकी वसन्ती परियारसँग मनाउने निधो गरिन् ।
मन त आफूसँगै तेजाब प्रहारको मुख्य निशाना परेकी संगीता मगर, रौतहटमा सुर जोडिएका छिमेकीले तेजाब खन्याएका सम्झना दास र उनकी बहिनी सुस्मितासँगै मनाउने थियो ।
सम्झनालाई मृत्युले आफ्नो पोल्टामा पारिहाल्यो । संगीता पनि आइतबारै सिलगुढी प्रस्थान गरिन् (वसन्तुपरमै तेजाब आक्रमणबाट प्रताडित बनेकी संगीता अहिले भारतको सिलगुढीमा काम गर्न थालेकी छन् )।
मन अमिल्याउँदै तेजाबको जलनबाट बाहिर आएकी सुस्मितालाई लिएर वसन्तीको कोठामा पुगेकी थिइन्, सीमा ।
सोमबार वर्षकै चिसो दिन । तापमान शून्य डिग्रीमा झरेकाले बरफतुल्य चिसो छ, उपत्यका । उसो त, चिसोले प्रत्येकदिनको ‘रेकर्ड ब्रेक’ गरिरहेछ । सातादिनदेखिको यो सिलसिला सोमबारसम्म थामिएको छैन ।
कान्तिबाल अस्पताल छेवैको साँघुरो गल्ली छिचोल्दै वसन्तीको ‘अभागी’ मकानमा पुग्दा आमा कल्पना परियार शोकमा आकण्ठ डुबेकी थिइन् । आँखा सातरात नसुतेझैँ अनिँदा थिए । अनुहार पुस धुम्मिएझैँ निछ्याम थियो । र, बाक्लो सन्नाटा थियो– डेरामा ।
उमेरमै ‘लोग्ने’ले हेलाँ गरे । सौता नै त ल्याएनन् तर ४३ वर्षको उमेरसम्म ‘सौतेलो व्यवहार’ गरिरहे । लगालग तीन छोरी जन्मिए कल्पनाको । छोरी–छोरी जन्माउने उनको बसको कुरा थिएन । तर, छोरो नपाएको ‘सजायँ’जीवनभर पाइन् । ‘लोग्ने’को हेलाहाँसो सहिन् ।
केही वर्षमात्रै भएको थियो– उनको जीवनमा खुसीको पालुवा पलाउन थालेको । जेठी छोरी वसन्ती उनको मेरुदण्ड बनेकी थिइन् । नवलपरासी, कावासोती– १६ डन्डाबजारको ‘हाटबजार’को तरकारी पसलले चुल्हो तताउन भरथेग गर्दै थियो ।
तर, असोज ८ गते उनको जीवनमा अपराधीले ‘बज्र’ हान्यो । सधैँ तरकारी लिन आउने छोरी त्यस गोधूलिमा पनि आएकी थिइन् । एकछिन भलाकुसारी गरेर पायल्सका रोगी श्रीमानको पेटमा तातो पार्न घरतिर फर्किएकीमात्रै थिइन् ।
“हाम्रो साहुनीलाई आबाराले चक्कु हानेर भाग्यो,” खबर कल्पनाको कानमा बतासझैँ ठोक्कियो ।
“भगवान् मेरो छोरीलाई क्यै नहोस् !,” उनी हान्निँदै मध्यविन्दु अस्पताल पुगिन् ।
निरर्थक ठहरियो उनको प्रार्थना । निस्काम देखियो ईश्वरभक्ति । तेजाबको जलन र चक्कु हानेर रगताम्य बनाइएकी वसन्ती उनको आँखा अघिल्तिर थिइन् ।
मर्ने÷बाँच्ने यकिन थिएन । मुटुको चाल सुस्त थियो । नाडीको गति धिमा थियो । शरीरबाट सहस्रधारा लागेको रगत पखाल्दै थिए, नर्स÷चिकित्सक । चक्कुले पेट छेडेकाले छरपस्ट थियो– आन्द्राभुँडी ।
त्यसपछि उनलाई कुनै सम्झना छैन । छोरीको ऐया/आत्था केही दिमागी तन्तुको अन्तरकुन्तरमा अडिएका छैनन् ।
होस खुल्दा उनको अगाडी वसन्ती थिइनन् । छोरीको ऐया/आत्था मस्तिष्कमा प्रतिध्वनित भइरहेका थिए । सपनाजस्तो लाग्ने अनिर्वचनीय/अकल्पनीय क्षण सपना थिएन, सपनाजस्तोचाहिँ पक्कै थियो ।
मृत्यु जितेर जीवनसम्म
हेमन्तको पुछारमा छौँ हामी । यसपछि पतझड शिशिरको आगमन हुनेछ । तर, मौसमको यो अनिवार्यताको विपरित लयमा छिन् वसन्ती । उनको जीवनको आकस्मिकताभित्र अहिले वसन्तयाम मुखरित छ ।
तेजाबले डढाएका अंगमा मासुका पालुवा पलाउँदैछन् । अविश्रान्त पिप बगिरहने घाउहरूमा घाटा बस्दैछन् । पिडुँलाको छालाले मुहारको कान्तिलाई पूर्ववत् लयमा फर्काउने भगीरथ प्रयत्न गरिरहेछ । यसरी पीडाबाट शनैःशनैः बाहिर आउँदैछिन्, वसन्ती ।
नश्वर (भौतिक) शरीर लिएर जन्मिएपछि मृत्यु अनिवार्य सत्य हो । मृत्यु जितेर शायदै कोही अघि बढ्न सक्छ ।
तर, आँखै अगाडि आएको मृत्युलाई गलहत्याएर लगार्ने हिम्मत वसन्तीले गरिन् । तेजाब र चक्कुको दोहोरो आक्रमणमा परेकी वसन्तीको जीवनबाट मृत्यु पाखा त लागेको छ । तर, एसिड र चक्कुले भित्री अंगमा समेत गम्भीर असर पुर्याएकैले मृत्युले जतिबेलै बाटो बथान्न सक्छ । निःचेष्ट बनाउन सक्छ ।
८ वर्षकी छोरी रीतिषा र १३ वर्षीया छोरो रितिकको मायाले मृत्युको मुखबाट थुत्यो । बाँच्ने जिजीविषा जगायो उनलाई । “ममता र मातृत्व मृत्यु जित्ने बलशाली तत्व रहेछन्,” आफूलाई हेर्दै आफैँ दङ्ग पर्छिन्, वसन्ती ।
उपचार गर्दागर्दै घरङ्घाट
अनुहारको घाउ आलु ताछेझैँ आलो छ । दुवै आँखाबाट एकनास पिप बगेका छन् । नाक कहिले झोलिलो बन्छ । कहिले सुख्खा लागेर बगरतुल्य हुन्छ । दायाँ आँखाको दृष्टि तेजाबले हरण गरेको छ ।
जरैदेखि डढाएकाले दायाँ आँखाको आँखीभौँ समेत उजाड देखिन्छ ।
बाँया आँखाको ढकनी टालिएको छ । आमा कल्पना दुई थोपा ‘टियर रिफ्रेसमेन्ट’ हालेर उघार्न त खोज्छिन् तर त्यो भन्दा पहिला उनका आँखाबाट फुत्त आँसु हाम फाल्छन् ।
“चिकित्सकले दुई हप्ताभित्र आँखाको शैल्यक्रिया गर्नुपर्छ भन्नुभएको छ,” कल्पना पोल्टो छामछामछुमछुम पार्छिन्, “आफूसँग फुटेको कौडी छैन, कुन पैसाले अप्रेसन गर्नू ।”
असोज ८ गते छिमेकी विमल श्रीपाइलीले अकारण ज्यान लिने गरी आक्रमण गरे । अनुहारमा तेजाब खन्याएर पेट र डाढमा चक्कु प्रहार गर्दा सद्दे अंग कुनै रहेनन् । विदेशमा छँदा आक्कलझुक्कल फेसबुक म्यासेन्सरमा बोल्ने विमल भर्खरै विदेशबाट फर्किएका थिए । दोहोरो भनाभनसम्म भएको होइन ।
छिमेकी भएकाले हाँसो, ठट्टा त हुन्थ्यो । तर, कालै बन्ला भनेर कसरी सोच्नू !
८ असोजदेखि मंसिर १५ सम्म तीनमहिना ७ दिन अस्पताल बस्दा थाप्लोमा पाँच लाख ऋणको बोझ थपिएको छ । दुईपटक गरी झन्डै चार वर्ष साउदी बसेका पति यमनारायणलाई विदेश पठाउँदा तीन लाख ऋण पहिल्यै थियो ।
त्राशद्बाट बाहिर त आएकी छिन् । आठ लाख भन्दा बढी ऋणको भारबाट कहिले मुक्ति पाउने हो ? वसन्तीलाई पीरले रिँगाइरहेको छ ।
अस्पताल बस्दा सहृदयी/सहयोगी मनहरूले बेलाबखत सहयोगको हात बढाउँथे । जीवनप्रतिको जिजीविषा जगाउँथे । अस्पतालबाट डेरामा सरेदेखि साथी भन्नू सन्नाटा, नैराश्यता र आँसुमात्रै भएका छन् ।
“पीडा सुनाउने कोही नहुँदा आमा छोरीसँगै रुन थाल्छौँ । आँसु रित्तिएपछि आफैँ थामिन्छौँ,” आमा कल्पना परियारको गला अवरुद्ध हुन्छ ।
अस्पतालमा बसुञ्जेल तेजाबले मुटु चहर्याए पनि श्रीमान यमनारायण परियारको न्यानो काख उनीसँगै थियो । श्रीमती मृत्युको पञ्जाबाट उम्किएकाले यमनारायणको अनुहारमा अपूर्व कान्ति थियो ।
तर, पायल्सका दीर्घ रोगी श्रीमानलाई व्यथाले सताउन थाल्यो । अस्पतालको चिसो छिँडीले रोगलाई नै टेवा दियो । अहिले उनी नवलपरासीस्थित घरमा ओछ्यान परेका छन् । श्रीमतीलाई मृत्युको मुखबाट थुतेर ल्याउन सर्वश्व खर्चिएका यमनारायण पायल्ससँग हारमान्नु भएका छन् ।
“उहाँलाई पानी तताएर खुवाउने मान्छे पनि घरमा छैन, छोराछोरी बालखै छन् । फेरि म आक्रमणमा परेदेखि उनीहरूको दिमाग खज्मजिएको छ । ठूलो मान्छेदेख्नेबित्तिकै ‘यिनीहरूले त चक्कु र तेजाब बोकेको हुन्छ’ भनेर आत्तिन्छन् मात्रै !,” मूर्छित् हुन्छिन् वसन्ती ।
भरतपुर अस्पतालमा बेहोसबाट होसमा फर्कंदा वसन्तीको कानमा ठोक्किएको थियो– भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उपचार खर्चको व्यवस्था गरिदिने ।
कानमा परेको तीन महिना बितिसक्यो तर उनले उपचार खर्च पाएकी छैनन् । महानगरपालिकाको कार्यालयमा ताकेता गर्ने मान्छे पनि छैन ।
खुश्बु प्रधानलगायत केही मनकारीले ‘गुन’ नलगाएको भए यतिबेला उनी कावासोतीस्थित घरमै मुढोवत् लडिरहेकी हुनेथिइन् । एसिड पीडितको घाउमा मल्हम लगाउने प्रधानको सहृदयीताले उनलाई ‘त्राण’ दिएको छ ।
पुरुषको मनोमालिन्यता कतिञ्जेल ?
वसन्तीलाई एसिडले डढाएको आफ्नो अनुहारको भन्दा पनि संगीताको अनुहार र भविष्यले चिन्तित तुल्याएको छ । ८ वर्षीया आफ्नै छोरीको चिन्ताले अझ विरक्त तुल्याएको छ उनलाई ।
“श्रीमानकै काखमा पनि म सुरक्षित भइनँ । इष्टमित्र, नरनाताका अगाडि दिनदहाडै तेजाब छ्यापिनु पर्यो । जिउँदै जल्नुपर्यो । देशका तमाम छोरीचेलीहरूले कसरी बाँच्ने ?,” मनभित्रको गम्भीर प्रश्नले उनलाई रातविरात ऐँठन गरिरहन्छ ।
छेवैमा सुस्मिता थिइन् । भदौ २६ गते दरखाने रात सुतेकै ठाउँमा छिमेकी रामबाबु पासवानले तेजाब खन्याउँदा दिदी सम्झना दास र उनी गम्भीर घाइते भए । तेजाबको जलनले दिदीको जीवन निल्यो ।
उनी बल्लतल्ल उम्किएकी छन् । हातको घाउ आलै छ । फूलजस्ता छोरीमाथि नचिताएको घटना भएको सुनेर आमा धनमाया मोक्तान हानिँदै काठमाडौँ आएकी थिइन् । जेठी छोरी गुमाएपछि चोइटिएको मुटु लिएर उनी पुनः मलेसिया नै हानिएकी छन् । बाबु कान्छीआमासँग बसेकाले बेसाहारा बनेको छ– सुस्मिताको घाउ ।
तिनै सुस्मितालाई देखाउँदै वसन्तीले भनिन्, “यी अबोध छोरीको के गल्ती थियो र तेजाबको आगामा डढ्नु पर्यो ? जीवनभर कसले स्याहारिदिन्छ यिनको घाउ ? मुलुकमा परिवर्तन आयो भन्छन्, त्यो परिवर्तन ‘लोग्ने’मान्छेका लागि मात्रै हो । उनीहरूकै मनोमानीका लागि मात्रै परिवर्तन आएको हो ?,” तेजाबको जलन चिर्दै उनको अनुहारमा आक्रोशको ज्वाला दन्किन्छ ।
वसन्ती तेजाबको आगोमा भतभती जलिरहँदा पत्रपत्रिकामा अनेक ‘गोसिप’ चले । विमलको प्रेम प्रस्ताव अस्वीकार गरेकोदेखि सम्बन्ध रहेकैसम्मका अनेक आख्यान, उपआख्यानका ‘रेडिमेड बान्की’ तयार भए ।
“अपराधीको प्रताडना त जितेकै थिएँ । तर, समाजको लाञ्छना र महिलाप्रतिको हेयभावनाले झन् गलाउन पो थाल्यो,” उनको मन अझै भक्कानिन्छ ।
तेजाबजस्तो जीवन दहन गर्ने अक्षम्य अपराध र पाशविकताको पराकाष्ठाप्रति समाजको चेत र सतही चिन्तनले उनलाई झन्डै कोमामा पुर्यायो ।
“तेजाबको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । जिन्दगी जल्नेमात्रै थाहा हुन्छ । मृत्यु त एकपटक झेलेपुग्छ । तेजाबको पीडा जिन्दगीभर आलोघाउ बनिरहन्छ । पलपल प्रताडित तुल्याइरहन्छ,” तेजाबजस्तो गम्भीर घटनालाई सामान्य आँखाले नहेर्न र प्रेम अस्वीकार र तिरस्कारसँग नजोड्न हातै जोड्छिन् उनी ।
“प्रेम गर्ने मान्छेले तेजाब छ्याप्छ ? जीवन विद्रूप तुल्याउँछ ? प्रेम गरेकै आधारमा सग्लो शरीर, रूप, यौवन विकलाङ्ग बनाउन पाइन्छ ?,” समाजको त्यस्तो चिन्तप्रति उनको प्रश्न अझै तिखो बन्छ ?
अपराधी छाती फुलाउँदै हिँड्ने, पीडितले जिन्दगीभर मुन्टो लुकाउनुपर्ने ?
उनीमाथि अपराधको तानाबाना बुन्ने, ज्यान लिन गरी आक्रमण गर्ने विमल श्रीपाइली अहिले पुर्पक्षका लागि थुनामा छन् । उनीमाथि कर्तव्य ज्यान, अंगभंग, तेजाब आक्रमण गरि तीन कानुन आकर्षित भएका छन् ।
अदालतमा पेसी चलिरहेको छ र बहस जारी छ । सरकारी वकिलले वसन्तीको परिवारलाई सुनाएनुसार श्रीपाइलीले आत्मसर्पण गरी अपराध कबोल गरेको र वसन्तीको ज्यान बाँचेकाले बढीमा दश वर्षको सजायँ पाउनेछन् । र, तीनवटै अभियोग पुष्टि भएमा दश लाखसम्म क्षतिपूर्ति भराइने छ, अभियुक्तबाट ।
तर, वसन्ती यी सबै सजायँ माफी दिने अडानमा छिन् । उनको एउटै इच्छा छ– “यत्रा दुःख अभियुक्तलाई थोपर्न चाहन्न । एक सिसी तेजाब उसको शरीरमा खन्याएर सुख दिन चाहन्छु ! तेजाब जलनसँग चिनापर्ची गराउन चाहन्छु ।”
उनलाई थाहा छ । संगीता मगर र सीमा बस्नेतमाथि तेजाब छ्याप्ने कसुरदार जीवन बिक दुई वर्षपछि जेलबाट रिहा हुँदैछ । जेलमुक्त भएपछि समाजमा पुनस्र्थापित हुन उसलाई गाह्रो पर्नेछैन । र, ऊ आफ्नो जीवनमा फर्किन्छ, सजिलरी ।
तर, अनुहार ढाकेर सडकमा हिँड्न अभिशप्त संगीता–सीमा स्वदेशमा रोजगार नपाएर भारत पस्न बाध्य हुन्छन् । र त्यो नियति वसन्तीको जीवनमा पनि पुनरावृत्ति हुनेछ ।
“छोरीचेलीलाई हिजो आफ्नो घर पराइ हुन्थ्यो, युग बदलिएसँगै आफ्नै बाबुको काखमा पनि डराइडराइ बाँच्नुपरेको छ,” छोरी भएर जन्मनुको ‘दुर्भाग्य’ सम्झिएर उनको छाती तेजाबले भन्दा ज्यादा पोल्छ ।
यो पनि पढ्नूहोस्
श्रीमानको काखमा पनि सुरक्षित भइनँ