site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कस्तुपको यात्रा : प्रहरीदेखि गायकसम्म
Sarbottam CementSarbottam Cement

साँझ अँगेनाको डिलमा बसेर आगो ताप्दै हजुरबुवा भजन गाउँथे,–“हे हरी जगतै भरी बजाइदेऊ न सुनैको मुरली ।” करिब साढे तीन दशकपछि बाल्यकालीन स्मृतिका पाना पल्टाउँछन् कस्तुप पन्त । भजनको लालित्यले मन प्रफुल्लित हुन्थ्यो, ताली बजाउँथे कस्तुप । हजुरबुवा दिनभरी सप्ताह वाचन गरेर आउँथे । भजनको लयकै तालमा पँलेटी कसेर कस्दा कटकटी खाएका हजुरबुवाका गोडा मालीमा राखेको तेल लगाएर मिचिदिन्थे कस्तुप । 

घरमै संगीतको सुर लाग्थ्यो । त्यसमै रमाउँथे कस्तुप । भजनमै सुर लागेको स्वरले लोक दोहोरी र आधुनिक गीत गाउँथे । स्कुलमा मनाइने बाल दिवस होस् या अन्य सांगीतिक प्रतियोगिता, कस्तुप गीत गाउँथे । सम्झनाको पोयो फुकाउँछन् उनी, स्मृतिमा भए अनुसार कस्तुप कहिल्यै द्वितिय हुनु परेन । 

जजमानी पुस्तैनी पेशा । हजुरबुवा नातीलाई पण्डित नै बनाउँछु भन्थे । भनेर मात्रै कहाँ हुनेरहेछ र ? उनलाई संस्कृतमा खासै लगाव थिएन । भाइलाई संस्कृत पढ्न प्ररित गरे । पर्वतका गाउँमा शिक्षकको छुट्टै इज्जत थियो । शिक्षकको प्रतिष्ठा देखेर लोभिए उनी । शिक्षक बन्ने सपना पाले । सपना देख्नु एउटा कुरा पूरा हुनु अर्कै कुरा । साराका सपना पूरा भए मान्छे दुःखी, गरिब र पीडित हुन्थे होला र ?

Prabhu Bank
Agni Group
NIC Asia

०५३ मा नेपाल प्रहरीमा भर्ना भए । सञ्चारतर्फ ६ वर्ष जागिर खाए । परिवारको जेठो छोरो जिम्मेवारीको चाङ थियो । बहन गर्नैपर्ने वाध्यता थियो । अवुधावी प्रहरीको सपना देख्न थाले । 

तर तलब थोरै । विकल्प खोज्न थाले । अवुधावी प्रहरीका लागि प्रकृया अगाडि बढाए । उत्तीर्ण भए । नेपाल प्रहरीको जागिर छोडेर अवुधावी उड्नका लागि काठमाडौं आए । कस्तुप औंला भाँचेर अवुधावी जाने दिन गन्दै बसेका थिए । त्यहीबेला उनलाई खबर आयो, ‘अवुधावी जान रोक लगाइयो ।’ 

Global Ime bank

एकातिर हुँदाखाँदाको सरकारी जागिर गयो, अर्कोतिर बन्न लागेको काम रोकियो । आँखा अगाडि कालो बादल मडारियो । गर्ने के ? जिन्दगी सकिए झैं भयो । निश्चित दूरीमा बाटाहरु टुङ्गिए जस्तै । 

अनामनगर फुपूको छोरोको कोठा थियो । त्यहीँ बस्थे उनी र गीत गाइरहन्थे । एक दिन फुपूको छोरा शिव सिलवालले भने, “दाइ म गायक भगवान भण्डारीलाई चिन्छु नि ! भेटाइदिऊँ ।”

भगवान भण्डारीलाई कस्तुपले फोन गरे । प्रहरीमा हुँदा संगठनभित्र हुने कार्यक्रममा गीत गाउने र बाँसुरी बजाउने कस्तुपले जिन्दगीमा पहिलोपटक कलाकारसँग कुरा गरेको भगवान भण्डारीसँगै हो । 

उनले आफूले गीत गाउन चाहेको बताए । सहकार्य गर्ने इच्छा व्यक्त गरे । हजुरले भाका बनाइदिनुपर्यो भने । भगवानले पनि हुन्न भनेनन् । भेटेरै पछि कुरा गरौँला नि ! भने । तर कहिल्यै त्यो संयोग जुरेन । “उहाँसँग कुरा गर्न पाउनु नै मेरा लागि ठूलो कूरा थियो भनेर चित्त बुझाएँ,” कस्तुप नोस्टाल्जिक हुन्छन् ।
शिवले प्रभात किरणसँग कस्तुपको भेट गराइदिए । उनी गीत लेख्थे । 

शीला क्यासेट सेन्टरको प्रस्तुित ‘शीला संगीत साँझ’ नामक कार्यक्रम रेडियो नेपालको पोखरा र सुर्खेत क्षेत्रीय प्रशारणबाट प्रशारण हुन्थ्यो । त्यही कार्यक्रम सुन्दा उनलाई याद थियो, शीला क्यासेट सेन्टर काठमाडौंको बबरमहल थियो । कस्तुपले क्यासेटको कभरमा लेखिएको नम्बर नोट गरेर इन्द्र जिसीलाई फोन गरेर भेटे । 
“पहिलो पटक भेट हुँदा जस्तो व्यवहार इन्द्र जिसी दाइले हामीलाई गर्नुभयो, अहिले पनि त्यही व्यवहार छ उहाँको,” कस्तुप भन्छन्, “उहाँले पहिलो भेटमै गीत कसरी रेकर्ड गरेर बजारसम्म ल्याउने भन्ने बताइदिनुभयो । केही नजानेको मलाई सिकाइदिनुभयो । जिन्दगीमा अलमलिएको बेला उहाँले बाटो देखाइदिनुभयो । सायद उहाँसँग भेट नभएको भए आज म कहाँ हुन्थेँ थाहा छैन ।”

आफूसँग भएको केही पैसा छोडेर आए । रहरै रहरमा उनले गीत गाउने भए । काठमाडौं डिजिटल रेकर्डिङ स्टुडियोबाट उनले प्रभात किरणसँग मिलेर ०६० सालमा गीति एल्बम निकाले । तर त्यसभन्दा पहिला उनले ‘वाग्लुङ कालीमाई विर्सनै गाह्रो भयो मेरी मायालाई...’ त्यही साल रेकर्ड गरेका थिए । भेगिय गीत भएकाले त्यसको दायरा अलि सानो भयो । तर त्यो क्षेत्रमा भने त्यही गीतले कस्तुपलाई चिनायो । 

त्यसपछि उनले ०६१ मा ‘फूलको थुङ्गामा...’ निकाले ।यसले उनलाई व्यावसायिक रुपमा सफल बनायो । आम स्रोतामाझ चिनायो । गीत मजाले चल्यो । एउटा क्यासेटबाट ५ रुपैयाँ रोयल्टी आउँथ्यो । 

‘मधु वनैमा’, ‘अंगुर मिल्यो’, धोका दिनेलाई के भनौं र खोई’, ‘विर्सियौ कि कुन्नी’, ‘गंगाजीको पानी’ यी कस्तुपका गीत स्रोताले मन पराइदिए । 

‘विर्सियौ कि कुन्नी’ उनलाई सांगीतिक क्षेत्रमा हाँस्न र बाँच्न सिकाएको गीत हो । त्यसअघि उनका केही गीत त चले तर कतिले रोयल्टी दिए त कतिले दिएनन् । “तर पनि म हाँसेरै हिडेँ । मलाई हास्न र बाँच्न सिकाएको गीत ‘विर्सियौ कि कुन्नी’ हो जसले मलाई ब्यासायिक सफलता दिलायो ।”

०६३ को सुरुमा कस्तुपले ‘तस्बिरै झलल’ नामक एल्बम निकाल्ने तयारी गरिरहेका थिए । दसैंमा गीत बजारमा पठाउने योजना थियो । वैशाखको महिना थियो । वैशाख कस्तुप जन्मिएको महिना पनि हो । उनी सकेसम्म जन्म दिनमा घरमै पुग्छन् । त्यो साल पनि गएका थिए । उनको घरको माथि चिउरीको रुख छ । त्यसको फेदमा बसिरहेका बेला दिमागमा अचानक आयो,– “के भनौं र खोई तिमी हाँस भो म बाँचौला रोई” वाक्य आयो । यो थेगोको भाका बनाए । लोकदोहोरीमा थेगोको मुटु मानिन्छ । 

सूर्यकुमार क्षेत्री काठमाडौं आएका बेला उनले हार्मोनियममा बजाएर सुनाए, “के भनौं र खोई तिमी हाँस भो म बाँचौला रोई ।” 
सूर्यले भने, “दाइ राम्रो छ । यसलाई म पूरा गरौं ?”
कस्तुपले भने, “हुन्छ । गर ।”

सूर्यकुमार पाल्पा जाँदै थिए । बीचबाटोबाट उनले कस्तुपलाई फोन गरे, “यो थेगोलो मलाई तरङ्गित गर्यो । एउटा वाक्य आयो दाइ मलाई बाटैमा ।”
कस्तो वाक्य ? सुनाउ त । 

“तिमीले मलाई छोडेको दिन त, दिउँसै सूर्य अस्तायो एक छिन त ।” “राम्रो लाग्यो, गीत पूरा गर” कस्तुपले भने ।

गीत रेकर्ड गरे । बजारमा आउनेबित्तिकै गीत हिट भयो ।  पछि मह जोडीको टेलिश्रृंखला ‘हरिबहादुर मदनबहादुर’मा यो गीतको थेगो मदाकृष्ण श्रेष्ठले प्रयोग गरे । 

करिब डेढ सय गीत उनले रेकर्ड गरे । करिब ३ सय गीत संकलन गरे । लोकदोहोरीमा मात्रै सीमित रहेनन् कस्तुप । लोकदोहोरीसँगै ०६६ मा सुगम संगीतमा पनि प्रवेश गरे । अञ्जु पन्त, प्रमोद खरेल, सञ्जिवनी लगायतका गायकगायिकाले गाएका छन् । ‘मेरो मनको ढुकढुकीमा मायालुको बास भयो’ अञ्जु पन्तले गाइन् । कस्तुपको शब्द संगीतको यो पहिलो गीत नै लोकप्रिय भयो । 

धोका दिने तिमी पीडा खेप्ने मैले 
अब धर्ती छोड्छु प्रिए तिमीले भन्दा पहिले

अञ्जु पन्त र मनोजराजले गाए । 

प्रमोद खरेलले ‘बिर्सेको त छैन मैले’, तिमी बस्ने यो मुटुमा’, ‘झुटो रैछ यो संसार’, माया गर्छु तिमीलाई’ गाए जो लोकप्रिय भए । 

भारतीय गायिका सञ्जिवनीले पनि उनका गीत गाएकी छन् । ‘माया गर्छौ तिमीलाई’, ‘झुटो रैछ यो संसार’ उनले गाएका गीत हुन् । ‘दुई आँखामा तिम्रै झल्को’, ‘तिमी बस्ने यो मुटुमा’ कस्तुपको शब्द संगीतमा सञ्विनीले गाएका गीत रिलिज हुनै बाँकी छ । अञ्जु पन्तको स्वरमा कस्तुपको शब्द तथा संगीतमा

‘तिमीले चिरा पारेको मुटु हेर्ने भए आऊ
त्यसैमाथि नुनचुक छरी जाने भए जाऊ’
“बजारमा आउँदैछ । मैले यो निकै अपेक्षा गरेको गीत हो । मलाई लाग्छ स्रोता तथा दर्शकले रुचाउनु हुनेछ,” कस्तुप अपेक्षित सुनिए । 

अडियोमा छँदा गीत कान र मनका लागि थिए । डिजिटलमा आइपुग्दा गीत हेर्ने पनि भयो । आँखाका लागि पनि । हिजो शब्दमा मात्रै केही विकृति थियो तर आज शब्द र भिडियोमै विकृति आएको उनको अनुभव छ । 

क्यासेटमा गीत सीमित हुँदा दायरा सांगुरो थियो । आज युट्युबमा गीत आउन थाले । दायरा फराकिलो भयो । आम्दानी बढ्दै गयो । “गीतसंगीतमै बाँचिरहेको मेरो अर्को दोस्रो पेशा, व्यवसाय छैन । यसैबाट घर चलिरहेको छ । परिवार खुसी र सुखी छ,” काठमाडौं सितापाइलामा घर बनाइरहेका कस्तुप भन्छन्, “गीतसंगीतकै कमाइले घर बनाउँदैछु । यसैले मलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक छ । दिने सम्मान फरक छ । आभारी छु म यो क्षेत्रप्रति, जसले मलाई नाम र दाम दियो ।”

ठूलो रुखको मुनी सधैँ खाली हुन्छ । झारपात समेत उम्रिँदैन । तर मान्छेको हकमा अलि फरक हुने कस्तुपको अनुभव छ । भन्छन्, “सायद मैले सांगीतिक क्षेत्रका हस्तीहरुसँग भेट्न नपाएको भए आज म कहाँ हुन्थेँ भन्न सक्तिन । त्यसैले नयाँ पुस्तालाई पनि म भन्छु, गीतसंगीत बुझेको र सहयोगीहरुको साथ लागेर मात्रै आउनुस् ।”

संयोगले प्रहरी भए । संयोगले गायक तथा संगीतकार भए । प्रतिस्पर्धामा खरो उत्रिए । लोकप्रिय भए । श्रेय श्रीमतीलाई दिन्छन् । परिवारको साथ र सहयोग विना सफलता पाउन कठिन हुने कस्तुप बताउँछन् । कुराकानीको बिट मार्दै उनले भने, “कान्छो छोरोको रुची गीतसंगीतप्रति छ । हेरौं के गर्छ ।” सायद त्यही छोराले आफ्नो बाटो पछ्याओस् भन्ने उनको मनको भित्री चाह हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०७५  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC