काठमाडौं । कलंकीको पिनाकल स्कलर्स एकेडमीको साइन्स प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेको पढाउने रोबोट अर्थात असिस्टेन्ट टिचिङ रोबोटको प्रदर्शन गरिएको छ । ४ जनाको समूहमा रहेका विद्यार्थीले पढाउने रोबोटको निर्माण गरेका हुन् ।
रोबोटलाई नेपालकै पहिलो असिस्टेन्ट टिचिङ रोबोट (पढाउने रोबोट) भनिएको छ । उक्त रोबोटको नाम दिदी राखिएको छ । रोबोटको निर्माण कक्षा १० का विद्यार्थी लोसन पराजुली, कन्चन पोखरेल, विशाल खरेल र ओशिन दुराले गरेका हुन् ।
विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा उक्त रोबोट प्रदर्शन गरेका हुन् । विद्यालयका प्रिन्सिपल निमिराज घिमिरेले उक्त रोबोटको अनावरण गरे ।
निर्माण टोलीका विद्यार्थी लोसन पराजुलीका अनुसार रोबोट २ दिनमा निर्माण गरिएको हो । यसले मानिसले दिएको निर्देशनलाई पालना गरेर आफूसँग भएको कम्प्युटरको सहायताले शिक्षण गर्छ ।
४ फिट अग्लो उक्त रोबोट निर्माणमा १ लाख नगद खर्च भएको छ । रोबोटले इन्टरनेटको प्रयोगबाट कक्षामा पुगेर भिडियो देखाइ शिक्षण गर्ने निर्माण समूहका पराजुलीले बताए ।
पढाउने रोबोट नै भएपछि त शिक्षक नै नचाहिने हो ? भन्ने प्रश्नमा पराजुलीले भने, “वास्तवमा सामान्य बुझाइमा त्यस्तो भएपनि यो शिक्षकको सहकर्मी हो । यसले शिक्षकलाई पढाउन सहयोग गर्छ । शिक्षक नचाहिने होइन । यसलाई निर्देशन दिन शिक्षकको आवश्यकता पर्छ ।”
विज्ञान प्रदर्शनीमा अन्य विद्यार्थीले आफूले बनाएका ज्वालामुखी, सौर्यमन्डल, स्काभेटर, पंखा, व्यवस्थित शहरलाई आफ्ना अभिभावकसमक्ष प्रदर्शन गरेका थिए ।