– नरेश फुयाँल
अवसर, मेहनत र इच्छाशक्ति भए के हुँदैन ? उमेर गए पनि पढ्न सकिन्छ । शंका र सम्भावनाबीच पनि आँट आउँछ । चुनौतीका बीच पनि काम हुन्छ । सफलता मिल्छ । र, त्यसैले युग/युग नमेटिने पहिचान दिन्छ । इतिहास खडा गर्छ । भिडियोमा पोख्त नभए पनि श्याम चित्रकारले जोखिम मोलेर भिडियो खिचे । त्यही नै नेपाल टेलिभिजनको इतिहासमा सेटलाइटबाट पठाइएको पहिलो भिडियो भयो । तस्बिर खिच्न दरबार छिरे । राजारानीले मन पराइदिए । उनका तस्बिर नेपालीका कोठाकोठामा झुन्डिए । खेलकुदमा उनको छुट्टै अस्तित्व र इतिहास छ । चाहे जानेर गरेका हुन् या अञ्जानमै । श्यामले जति पनि काम गरे, सम्झन लायक गरे ।
० ० ०
काठमाडौं र मुख्य शहरमा विदेशबाट फर्किएका तथा सम्पन्नका घरका छानामा एन्टेना ठडिन थालेका थिए । छानोमा एन्टेना रोखेपछि कोठामा रहेको टेलिभिजन सेटमा भारतीय टेलिभिजन ‘दूरदर्शन’ आउँथ्यो ।
त्यसले नेपाली संस्कृतिमा हस्तक्षेप गर्न खोजेको आँकलन गरेर हुनुपर्छ या आवश्यकता महसुस भएरै हो अथवा प्रसारण माध्यम पनि छ भनेर देखाउन हो— तत्कालीन राजा वीरेन्द्रले टेलिभिजन स्थापनाको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरे,–“नेपालमा टेलिभिजन स्थापनाबारे सम्भाव्यता अध्ययन गरिनेछ ।” तर, त्यसका लागि न बजेट थियो न कुनै तयारी ।
प्रसारण माध्यमको नाममा रेडियो नेपालमात्रै थियो । रेडियो सरकार र दरबारको आदेश तथा निर्देशनभन्दा बाहिर जाँदैनथ्यो । पञ्चायतले निजी क्षेत्रको हात बाँधिएको थियो । एफएम रेडियो तथा टेलिभिजन सञ्चालनको अनुमति निजी क्षेत्रलाई थिएन ।
सरकारले नीर शाहलाई मन्त्रालयका खरिदार दिएर दुई जनाको कमिटी गठन गरी काम गर्न निर्देशन दियो । नीर त्यो बेला शाही नेपाल चलचित्र संस्थानका उपमहाप्रबन्धक थिए । संस्थानले राजापरिवारका भ्रमणको ‘न्युज रिल’ (डकुमेन्ट्रीजस्तै) बनाउँथ्यो । त्यो ‘न्युज रिल’ सिनेमा घरहरूमा देखाइन्थ्यो ।
फ्रान्सको सोफ्राटेपले नेपालमा टेलिभिजन स्थापनाको सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन बुझाएको थियो । त्यो मन्त्रालयले दराजमा थन्काएको थियो । जापानको एनएचके टेलिभिजनले बुझाएको रिपोर्ट केही व्यवहारिक त थियो तर त्यसको पनि कसैले वास्तै गरेको थिएन ।
नेपाल टेलिभिजनलाई सिंहदरबारको माथिल्लो तलामा एउटा कोठा दिइएको थियो । त्यहाँ सामान्य स्टुडियो निर्माण गरियो । दुर्गानाथ शर्मा दैनिक आधा घण्टाको समाचार बुलेटिन तयार पार्थे । निकै कम गुणस्तरको भीएचएफ क्यामेरा थियो । त्यही प्रयोग गर्थे ।
सामान्य समाचार बुलेटिन तयार हुन थाल्यो । तर, नयाँ प्रविधि र दक्ष जनशक्तिको अभावमा नेपाल टेलिभिजनले गुणस्तरीय सामग्री दिन सकेको थिएन । फलतः जनताले विश्वास गर्न सकेका थिएनन् । सरकारले नै पत्याउँदैनथ्यो ।
नीर फाइल बोकेर मन्त्रालय पुग्थे । सचिवहरू ‘तपाईंहरू दुई जनाले टिभी ल्याउने ? के हो टेलिभिजन भनेको थाहा छ ?’ भन्दै फाइल फाल्दिन्थे ।
अरुले पत्याउने गरी केही न केही काम नगरेसम्म सरकारले नेपाल टेलिभिजनलाई पत्याउने अवस्था थिएन ।
गर्नेचाहिँ के ?
भर्खर नेपालमा भिडियो क्यामेरा आएको थियो । विलाशी र महँगो भएकाले जो–कोहीले किन्ने आँट गर्दैनथे । बसन्त चौधरीसँग भिडियो क्यामेरा थियो । उनी लाइन्स क्लबका अध्यक्ष थिए । केही कार्यक्रम भयो भने फोटो खिच्न श्यामलाई बोलाउँथे ।
श्यामले बसन्तलाई भने, “भिडियो क्यामेरा बेच्ने हो भने म किन्छु ।”
बसन्तले भने, “किन्ने भए पनि किन्नुस् न त ।”
“दाम कती ?”
“७ हजार ।”
श्यामले भने, “७ हजार त म एकैपटक दिन सक्दिनँ । किस्तामा दिन्छु ।”
“जे गरे पनि गर्नुस्,” बसन्तले भने ।
पहिलो किस्ता १ हजार रुपैयाँ दिएर श्यामले बसन्तको क्यामेरा किने ।
त्यही क्यामेराले उनले दोस्रो राष्ट्रिय खेलकुदको भिडियो खिचे । दिउँसो खिचेको भिडियो महेन्द्र पुल र चिप्लेढुंगामा पर्दा राखेर देखाउँथे ।
०४१ सालमा आफ्नो पसलमा बसिरहेका थिए श्याम । नीर आएर भने, “श्याम दाइ ! राजा वीरेन्द्र सरकारले महेन्द्र प्रकृति संरक्षण कोषको गोकर्णमा उद्घाटन गरिबक्सिँदै छ । ज्ञानेन्द्र सरकार कि–स्पिकर होइबक्सिन्छ । त्यसको भिडियो तपाईंले खिचिदिनु पर्यो । तपाईंसँग भिडियो क्यामेरा छ भन्ने थाहा पाएँ मैले ।”
श्यामले ‘हुन्छ’ भने ।
नीरले भने, “मसँग पैसा छैन । पैसा दिन सक्दिनँ नि !”
कुमार खड्गविक्रम शाहका भाइ नीर । कुमार श्यामका साथी । ‘हुन्न’ भन्न सकेनन् । श्यामले ‘हुन्छ’ भने ।
गोकर्णमा राजा वीरेन्द्रले उद्घाटन गरे । ज्ञानेन्द्रले भाषण गरे । श्यामले भिडियो खिचे । भिडियो सम्पादन गरे । साउन्ड मिक्सिङ गर्न आउँदैनथ्यो । प्रदीप उपाध्यायले साउन्ड मिक्सिङमा सहयोग गरे ।
आधा घण्टाको भिडियो तयार गरे । उद्घाटनको भिडियो खिचेपछि नीरले श्यामलाई भने, “चितवनमा सेमिनार हुँदै छ । तपाईं त्यहाँ गएर पनि भिडियो खिच्नुपर्यो ।”
श्याम चितवन पुगेर भिडियो खिचे । जानेर होस् या नजानेरै, भिडियोका लागि चाहिने सबै फुटेज उनले खिचे । गाडीका काठ ओसार्दै गरेको । नदीले कटान गरेको । स्थानीयले पिठ्यूँमा स्याउला बोकेको । सेमिनारको । सबै फुटेज खिचे । स्क्रिप्ट दुर्गानाथ शर्माले लेखे ।
०४१ सालमा शंकर होटलमा सञ्चार गोष्ठी थियो । ‘गोरखापत्र’, रेडियो नेपाल, ‘रासस’, नेपाल टेलिभजन, चलचित्र संस्थानले के–के प्रगति गरेर भनेर प्रदर्शनी गर्नुपर्ने थियो । वीरेन्द्रका भाइ धीरेन्द्र प्रमुख अतिथि थिए ।
लाजिम्पाट अफिसबाट प्ले गरेर शंकर होटलमा त्यो आधा घण्टाको भिडियो देखाइयो । चलचित्र संस्थानका विज्ञहरू पनि थिए । उनीहरूले खोट देखाउन खोजे तर सकेनन् ।
धीरेन्द्रले भने, “यो भिडियो प्ले गरेको हो ?”
श्यामले भने, “होइन सरकार ! लाइभ हो । लाजिम्पाटमा प्ले गरेर यहाँ देखाइएको हो ।”
धीरेन्द्रले भने, “त्यसो भए नेपालमा टेलिभिजन प्रसारण शुरु भएको हो ?”
श्यामले भने, “भयो सरकार !”
त्यसपछि धीरेन्द्रले भने, “त्यसो भए दाजु (वीरेन्द्र)को अस्ट्रेलिया भ्रमण हुँदै छ । त्यहाँ जाने हो त ? कुरा गरौं ?”
धीरेन्द्रले वीरेन्द्रसँग कुरा गरेछन् । नीरलाई दरबारले खबर गर्यो ।
“एकदिन नीरले मेरो पसलमा आएर हात मिलाउँदै भने, “हामी त अस्ट्रेलिया जाने भयौं नि, वीरेन्द्र सरकारसँग । तिमी जाने कि नजाने ?”
श्यामले भने, “अस्ट्रेलिया जान पाए किन नजानू ? जाने नि !”
“तिमी क्यामेराम्यान । म जनरल म्यानेजर । रिपोर्टरचाहिँ कसलाई लाने होला ?” नीरले भने ।
श्यामले भने, “दुर्गानाथ शर्मालाई लैजाऊँ ।”
उनकै पसलमा अस्ट्रेलिया को–को जाने तय भयो ।
अनि ?
“राजाको अस्ट्रेलिया भ्रमण हुँदै छ । भीएचएफ क्यामेरामात्रै भए पनि लिएर जाऊँ । त्यहाँ भिडियो खिचौं, स्याटलाइट बुक गरेर काठमाडौंका दुई–चार ठाउँमा देखाऊँ,” दुर्गाको प्रस्ताव नीरलाई मनासिव लागेछ, ‘हुन्छ’ भने ।
पैसा माग्न उनीहरू मन्त्रालय गए । मन्त्रालयले पत्याएन । रित्तो हात फर्काइदियो ।
नीरले टेलिभिजनका नाममा नेपाल बैंकबाट ९० लाख रुपैयाँ कर्जा लिए । क्यामेरा किन्न उनी हङकङ गए ।
भिडियो क्यामेरा भएका श्याम र दुर्गानाथ बैंकक उडे । राजाको भ्रमण दलमा उनीहरू अटाएनन् । त्यसैले सिड्नीको टिकटका लागि श्याम र दुर्गा बैंकक गएका थिए । बैंककस्थित अस्ट्रेलियन दूताबासमा गएर उनीहरूले आफ्नो देशको राजा अस्ट्रेलिया जान लागेको र त्यसको समाचारका लागि आफूहरूलाई भिसा चाहिएको भन्दै आग्रह गरे । दूतावासले तत्काल भिसा दियो । उनीहरू सिड्नी उडे ।
सिड्नी पुगेर श्याम र दुर्गा पहिले त्यहाँको सरकारी टेलिभिजन एबीसी गए । त्यहाँ उनीहरूले आफ्नो समस्या सुनाए । पहिलोपटक प्रसारण गर्न लागेकाले सहयोग गर्न आग्रह गरे । दुर्गाले स्क्रिप्ट आफैं लेख्ने र भ्वाइसओभर पनि आफैं गर्ने तर कुशल भिडियो एडिटर दिन भने ।
उनीहरूले एबीसीलाई भने, “हामीसँग भिडियो छैन । अलिअलि भिडियो खिचेर ल्याउँछौं । यहाँका मुख्य–मुख्य ठाउँको दृश्य तपाईंहरूको अर्काइभबाट दिनुपर्छ तर पैसाचाहिँ दिन सक्दैनौं ।”
एबीसीले ‘हुन्छ’ भन्यो ।
भोलिपल्ट बिहान एबीसी पुग्दा भिडियो सम्पादक काम गर्न तयार थिए ।
श्याम र दुर्गाको साँझ ५ बजे क्यानबेराको फ्लाइट थियो । ५ बज्न लागिसक्यो तर एडिटरले काम गरिरहेका थिए । निकै मेहनत गरेर भनेजस्तै भिजुअल तयार गरिदिए । काम सकेर उनले आफ्नै गाडीमा एयरपोर्ट पुर्याइदिए ।
“समयमै पुग्नका लागि उनले यसरी गाडी कुदाए कि हामीलाई त्यो दिन बाँचिन्छ भन्ने आशै हराएको थियो । कहाँ लगेर ठोक्छन् भनेर मुटु कामिरहेको थियो । १० मिनेटमै उनले एयरपोर्ट पुर्याए,” श्याम सम्झन्छन् ।
काउन्टरमा पुगेर बुझ्दा एक घण्टा फ्लाइट डिले भएको रहेछ । होसहवास उडेका उनीहरूले बल्ल सास फेरे ।
क्यामेरा नै हरायो
उनीहरू क्यानबेरा पुगेपछि सिड्नीबाट नीरले फोन गरे, “क्यामेरा त मैले किनेको थिएँ तर एयर इन्डियाले हराइदियो । अमेरिका पुगेछ ।”
एकपछि अर्को समस्यै समस्या । फेरि अर्को समस्या आइलाग्यो । पर्यो फसाद !
त्यसपछि ?
काठमाडौंमा ‘गोरखापत्र’ र ‘राइजिङ नेपाल’ले राजाको अस्ट्रेलिया भ्रमणको समाचार नेपाल टेलिभिजनले प्रसारण गर्दै छ भनेर फ्रन्टपेजमा ब्यानर न्युज प्रकाशन गरेका थिए । सरकारले समेत नपत्याइरहेका बेला यो काम गर्न सकिएन भने के हुन्छ ?
सम्झिँदा पनि लाज लाग्यो उनीहरूलाई ।
उनीहरू फेरि एबीसी पुगे । उनीहरूले क्यामेरा हराएको बताए । ‘तपाईंहरूको क्यामेरा भाडामा दिनुस्, जति लाग्छ, हामी भाडा तिर्छौं’ भने ।
उनीहरूको कुरा सुनेर त्यहाँका प्रमुख हाँसे र भने, “हाम्रो नियमअनुसार कसैलाई पनि क्यामेरा दिन मिल्दैन । सरी !”
आशाको बेलुन प्याट्टै फुट्यो । उपाय भने सुझाए, “भोलि बिहान ९ बजे फलानो पसलमा जानू, त्यो पसल तपाईं बसेकै होटलको छेउमा छ । त्यहाँ गएर युम्याटिक क्यामेरा माग्नू, दिन्छ । तपाईंहरूको क्यामेरा भए पनि त्यसबाट खिचेको भिडियो हाम्रो सेटलाइटले एक्सेप्ट गर्दैन । युम्याटिक क्यामेरा नै चाहिन्छ ।”
अनुहारमा तनाव पोतेर नीर शाह आइपुगे । दुर्गाले उपाय सुनाए । नीरको अनुहारबाट तनावका धर्सा छिनमै मेटिए । र, आशाको दियो पिलपिलायो ।
नयाँ क्यामेरा चलाउन आउँछ कि आउँदैन ? श्यामको मनमा शंकाले डेरा जमायो । आएन भने ? डर लाग्यो । त्योभन्दा बढी चिन्ता । रातभर निद्रा परेन । बिहान ९ बजे पसल खुल्छ÷खुल्दैन, खुलेन भने ? प्रश्नै प्रश्नले तीनै जनालाई लपेटिरहे ।
भाग्यले साथ दियो !
९ बजे नै पसल खुल्यो । हराएको खुशी त फर्कियो तर समस्याको समाधान निस्किसकेको थिएन ।
“क्यामेरा भाडामा पाइन्छ ?”
“पाइन्छ । किन नपाउनु ?”
आहा ! कस्तो प्रिय शब्द थियो त्यो । आफैं खुशी बोकेर आएको ।
श्यामले युम्याटिक क्यामेरा देखेकै थिएनन् । क्यासेट, ब्याट्री कहाँ हाल्ने, अन–अफ कता छ, कसरी खिच्ने राजा रानीको भिडियो ! उनीहरू अलमलमा परे । यदि रेकर्ड नै भएन भने ? यही शंकाले दपेटिरहन्थ्यो उनलाई ।
श्यामले भने, “हैन, चलाको छैन, गाह्रो हुन्छ होला । चलाउन आएन भने के गर्ने ?”
उनले म्यानुअल मागे । पसलमा थिएन ।
श्याम र दुर्गाले ह्वाइट ब्यालेन्स सिस्टमबारे सोधे ।
“मैले क्यामेरा भाडामा दिने हो । चलाउन सिकाउने हैन,” पसले झनक्क रिसाए ।
भिडियो खिच्न भनेर नेपालदेखि अस्ट्रेलिया पुगेको, डराएर भएन । खिच्नै प¥यो ।
राजा वीरेन्द्र प्लेनबाट एयरपोर्टमा झरे । श्यामले खिचे । प्रधानमन्त्रीलाई भेटे, उच्चपदस्थहरूसँगको भेट सकियो । चिडियाखाना जाने कार्यक्रम थियो । खिचे । साँझ ब्याङ्क्वेटसम्मको कार्यक्रम थियो । सबै खिचे । वीरेन्द्रको ‘रिर्टन स्पिच’ पनि खिचे । तर, खिचेको क्यामेरामा रेकर्ड भएको छ कि छैन— श्याम, नीर र दुर्गा तीनै जनालाई थाहा थिएन ।
श्यामले टेप हेरे । क्यासेट त धेरै घुमेकै छैन । मुटु उफ्रेर तालुबाट निस्किएला जस्तो । दुर्गानाथ शर्मालाई भने, “रेकर्ड भएन जस्तो छ ।” दुर्गाको अनुहार सोहोरियो ।
टेप निकालेर तीनै जना एबीसी पुगे । लबीमा पुगेर टेप दिए ।
“यहाँ बस्दै गर्नू । रेकर्ड भएको रहेछ भने त्यो स्क्रिनमा प्ले हुन्छ । हेर्दै गर्नू ।”
तीनै जना सास रोकेर लबीमा स्क्रिनतिर हेरिरहेका थिए । आँखामा भिडियोको यति व्यग्रता थियो, त्यसपछिका कुनै पनि दिन श्यामले न त्यतिको प्रेसर महसुस गरेका छन् न अरुलाई त्यति व्यग्र नै देखेका छन् ।
“मैले त्यो बेला पशुपतिनाथलाई सम्झिएर भाकल गरें । लाखबत्ती बाल्छु पशुपतिनाथ ! भिडियो आओस भनें,” श्याम सम्झिन्छन्, “राजा–रानी प्लेनबाट बिस्तारै अभिवादन गर्दै ओर्लिंदै गरेको दृश्य देखियो । खुशीको सीमै रहेन । हामी सोफाबाट उठेर तीनै जना अंकमाल गर्यौं ।”
अंकमाल पनि किन नगरून् ! नेपाल टेलिभिजनको इतिहास शुरु भएको थियो ।
“राजा (नीर शाह) ! मैले लाखबत्ती बाल्छु भनेर पशुपतिनाथलाई भाकल गरेको थिएँ नि !” श्यामले भने ।
“ठीक छ, म प्रसाद खान आउँला,” नीरले यसो भनेपछि हाँसोको फोहोरा छुट्यो ।
आधा घण्टाको भिडियो तयार भयो । काठमाडौंको बलम्भूस्थित स्याटलाइटले भिडियो रिसिभ गरेको खबर पठायो । अर्को सफलता । सरकारले नै विश्वास नगरिरहेको अवस्थामा जवाफ पनि थियो त्यो ।
काम सुखद रूपमा सम्पन्न भयो । उनीहरू बार छिरे । लामो तनावपछि प्राप्त खुशी साटे ।
त्यो भिडियो त्यही दिन भ्युज सेन्टरहरू बसन्तपुर, रत्नपार्क, गौशालालगायतका ठाउँमा देखाइयो । मान्छेको ठूलो भीडले छक्क पर्दै हेर्यो ।
भिडियोको गुन
नेपाल टेलिभिजनलाई जनताले विश्वास गरे । सरकारले पत्याउन थाल्यो । टेलिभिजनका प्रमुख नीर शाहले सिनियर क्यामेराम्यानमा अफर गरे तर श्यामले मानेन् ।
किन ?
अस्ट्रेलियाबाट फर्किंदा सिंगापुरमा उनीहरू दुई जनाबीच सामान्य ठाकठुक परेको थियो । अर्को कारण— उमेरले नीरभन्दा सिनियर तर जुनियर भएर काम गर्नुपर्ने । श्यामको स्वाभिमानले दिएन ।
राष्ट्रिय खेलकुद परिषद्मा मुख्य फोटोग्राफर रहेका श्यामलाई नेपाल टेलिभिजनको जागिर खासै आवश्यक पनि थिएन । तर, श्यामले लगाएको गुन नीरले बिर्सिएनन् । नीरले भन्दिए, “त्यसो भए तपाईं आजबाट काठमाडौंको स्ट्रिन्जर रिपोर्टर ।”
श्यामले ‘हुन्छ’ भने । करिब ६ वर्ष स्ट्रिन्जरका रूपमा काम गरे । उमेरले ७७ वर्ष पुगेका श्याम अहिले पनि काँधमा क्यामेरा हालेर भिडियो खिच्न पुग्छन् । एनटीभी न्युजमा ‘स्पोर्टस म्यागेजिन’ र एनटीभीमा ‘खेल जगत’ निर्माण गरिरहेका छन् ।
उनी भन्छन्, “एनटीभीले मलाई नेपालको पहिलो भिडियोग्राफर भनेर घोषणा नै गर्यो । मेरो क्यामेरा एनटीभीको पहिलो भिडियो क्यामेरा भनेर किनेरै लाइब्रेरीमा डिस्प्ले गरी राख्यो ।”
वीरेन्द्रले भने– यु आर द बेस्ट फोटोग्राफर
०४१ सालमा राजा वीरेन्द्र मध्यमाञ्चल भ्रमणमा निस्किए । फोटो खिच्नका लागि सूचना विभागका पत्रकार अनिवार्य जान्थे । तर, दरबारको आँखामा परिसकेका श्यामलाई पनि निम्तो आयो । गए । राजा जनताका समस्या सुन्थे । सचिवालयले टिप्थ्यो । तत्काल समाधान हुने समस्या हल गर्न राजा निर्देशन दिन्थे । त्यस्ता भ्रमणको फोटो खिच्नु पथ्र्यो । जसको फोटो राम्रो भयो, त्यसको फोटो धुलाएर जनतालाई बाँडिन्थ्यो ।
सूचना विभागका फोटोग्राफरले पनि खिचे फोटो । श्यामले पनि खिचे । राजालाई श्यामले खिचेको तस्बिर मन परेछ । राजा वीरेन्द्रले संवाद सचिव चिरण शमशेर थापामार्फत श्यामलाई भने, “यु आर द बेस्ट फोटोग्राफर ।”
त्यो बेला राजाले त्यति भन्नु धेरै ठूलो कुरा थियो । “गर्वले मन ढक्क फुलेको थियो । त्यसले राम्रो फोटो खिच्न झन् उत्प्रेरित गर्यो,” श्याम सम्झिन्छन्, “राजाबाट श्यामको फोटो धुलाएर जनालाई बाँड्नू भन्ने हुकुम भयो, फोटो धुलाएर बाँड्नू पर्यो ।”
श्यामसँग पैसा थिएन । दरबारले नै पैसा दियो । ३ हजार रुपैयाँ । हेलिकप्टर चढेर उनी काठमाडौं आए र फोटो धुलाएर त्यही दिन हेटौंडा फर्किए ।
श्याम भन्छन्, “दरबारको फोटो खिचेर पैसा पाएको त्यो पहिलोपटक थियो ।”
दरबारले अवसरहरू होस् या पोज दिएर खिचाउने फोटो, श्यामलाई बोलाउँथ्यो । दरबार जान्थे । खिच्थे ।
“दशैंको टीका होस् अथवा पोज दिने बेलामा होस् । दरबारबाट बोलावट हुन्थ्यो । म जान्थें । मैले खिचेका धेरै फोटो सेलेक्ट पनि हुन्थे,” श्याम दरबारको फोटो खिचेको प्रसंग कोट्याउँछन्, “फोटो खिच्दैमा पसलमा राखेर बेच्न पाइँदैनथ्यो । बेच्नका लागि दरबारको स्वीकृति लिनु पथ्र्यो । त्यसरी धेरै तस्बिर मैले पसलमा राखेर बेचेको छु ।”
रत्नपार्कमा पसल थियो । ठाउँ खुला र फराकिलो थियो । राजारानी र राजपरिवारका तस्बिर बाहिरै ‘डिस्प्ले’ गरेर राख्थे । किन्न भीड लाग्थ्यो । दरबारले फोटो खिच्न त बोलाउँथ्यो तर खिचेको पैसा भने कहिले पनि दिँदैनथ्यो । बेच्न स्वीकृति पाएका फोटो बेचेरै पैसा उठाउनु पथ्र्यो ।
वीरेन्द्रले भने– बसेको ठीक छ ?
राजा वीरेन्द्र जनताका कुरा सुन्न रुचाउने तर सवालजवाफ नगर्ने । त्यसैले दोहोरो संवाद भएन श्यामसँग । तर, श्यामसँग एउटा गजबको प्रसंग छ ।
०२९ मा दरबारका सचिवकी छोरीको विवाह थियो । विवाहमा राजारानीको सवारी भएको थियो । पोज दिँदै वीरेन्द्रले भने, “श्याम, बसेको ठीक छ ?”
“राजाले नाम लिएर त्यति भन्नु भनेको अनपेक्षित थियो त्यो समयका लागि,” श्याम विगत सम्झिन्छन्, “बाहिर आएर मुभी खिच्दै थिएँ । राजा बाहिर निस्किएर हात वेभ गरे । त्यो बेला राजारानीले त्यसरी हात वेभ गर्दैनथे ।”
०२९ कै अर्को एउटा दुर्लभ प्रसंग । स्काउटको कार्यक्रम थियो । जीवनकुञ्जमा धीरेन्द्र स्काउटको अध्यक्ष । श्यामले भाइ गोपाल चित्रकारको ह्यासल ब्लेड क्यामेराले फोटो खिचिरहेका थिए । प्रेक्षा स्कर्टमा थिइन् । उनको पनि फोटो लिए । ज्ञानेन्द्र फोटो खिचेको हेरिरहेका थिए ।
ज्ञानेन्द्रले यो कस्तो खालको क्यमेरा हो भनेर सोध्दै थिए । श्यामले ‘यो प्रोफसनल क्यामेरा हो सरकार’ के भनेका थिए, सूचना विभागका फोटोग्राफर मंगलमोहन श्रेष्ठले उनको हातबाट क्यामेरा फुत्त खोसेर भने, “सरकार ! यो लेन्स, यो ब्याट्री । यो यसरी खोल्ने, राख्ने र चलाउने ।”
राजारानीको पोज
२०१६ सालमा फर्पिङबाट बोर्डिङ छोडेर काठमाडौं शहर आएका श्याम भिनाजु (बखतबहनदुर चित्रकार)को पसल जान थाले । डिल्लीबजारमा पसल थापेका भिनाजु बखतबहादुर नेपालकै पहिलो सिनेम्याटोग्राफर थिए । श्याम दैनिकजसो त्यहाँ पुग्थे । त्यहीँ बसेर फोटोग्राफी सिक्न थाले । भिनाजुले क्यामेरा दिन्थे । उनी खिच्दै हिँड्थे । उनी फुटबल खेलाडी पनि थिए । पहिलो हाफ फुटबल खेलेर दोस्रो हाफ श्याम त्यही म्याचको तस्बिर खिच्थे ।
भिनाजुसँग फोटोग्राफी सिकेका श्यामले ०२७ सालमा रत्नपार्कमा फोटोग्राफीको पसल खोेले । गोपाल चित्रकार पनि त्यही पसलमा थिए । नेपाल आर्टका माइला दाइ पनि आए । पसल चल्यो ।
आउटडोरमा उनीहरूले प्रसिद्धि कमाए । दरबारको कानसम्म पुग्यो । दरबारले पनि उनीहरूलाई बोलाउन थाल्यो । जान थाले । दरबारका कार्यक्रमहरूमा बोलाहट हुन्थ्यो । फोटो खिचेर ‘गोरखापत्र’मा छाप्न दिन्थे ।
२०२७ सालमा पहिलोपटक श्यामलाई नारायणहिटी दरबार छिर्ने अवसर पुर्यो । दरबारका संवाद सचिव मोहनबहादुर पाण्डे श्यामका सहपाठी । श्यामले कलात्मक फोटो खिच्छन् भने खबर पाण्डेको कानमा पुग्यो । श्यामलाई खबर पठाए, “दरबारमा सरकारबाट प्रजालाई टीका लगाइदिइबक्सिँदैछ । फोटो खिच्न आउनू ।”
मयलपोस दौरासुरुवाल लगाएर ठाँटका साथ श्याम पहिलोपटक दरबार छिरे । त्यो उनको पहिलो दरबार प्रवेश थियो । पहिलोपटक राजारानीसहित दरबारका पूरै सदस्य देख्दा धकाएका थिए उनी । तर, बिस्तारै दरबार पस्ने क्रम बाक्लिँदै गयो । ०३० सालमा पुग्दा श्यामलाई दरबारले राजारानीले पोज फोटोका लागि नै निम्तो दिन थाल्यो ।
तर, त्यसभन्दा पहिला राजाको फोटो भने श्यामले ०२२ सालमा खिचेका थिए । कुमार मोहनबहादुर शाहीको विवाहमा राजा महेन्द्रको । तर, दरबारमा होइन, डिल्लीबजारमा ।
श्यामको फोटोग्राफी दरबारलाई मन पथ्र्यो । दरबारले अक्सर फोटो कन्सर्न, प्रकाश मास्के र श्यामले खिचेका तस्बिर मन पराउँथ्यो ।
“राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, निराजन र युवराज्ञी श्रुति रहेको तस्बिर मैले खिचेको हुँ,” श्याम भन्छन्, “त्यो तस्बिर दरबारले मन परायो । पसलमा डिस्प्ले गर्न र बेच्नका लागि अनुमति दियो । त्यो तस्बिर निकै लोकप्रिय भयो । जनताका घरघरमा, कोठाकोठामा झुन्डियो ।”
१०/१२ साइजमा धुलाएर प्रतिगोटा १५० रुपैयाँमा बेचे । तस्बिर अनपेक्षित रूपमा बिक्री भयो ।
पहिलो मुभी
०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भयो । स्पोस्र्टस् काउन्सिलका फोटोग्राफर थिए श्याम । खेलको मुभी खिच्ने भन्ने तय भयो ।
“कसले खिच्छ ? तिमी सक्छौ ?”
श्यामलाई अफर आयो । तर, उनले मुभी खिचेका थिएनन् ।
फोटोपत्रकार चन्द्रशेखर कार्कीका बुवा चक्रबहादुर कार्की रुसमा सिनेम्याटोग्राफी पढेर आएका थिए । चक्रबहादुर श्यामका साथी थिए । उनीसँग मुभी क्यामेरा थियो । श्यामले चक्रबहादुरलाई अफर सुनाए । उनले ‘हुन्छ’ भने ।
तर, रिल नेपालमा पाइँदैनथ्यो । बैंकक गएर लिएर आए । चक्रबहादुरको रोहवरमा उनले प्रथम राष्ट्रिय खेलकुदको मुभी खिचे ।
त्यसअघि २०२० दशकको अन्तिमतिर राजाको निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आएका बेला श्यामले लुम्बिनी विकास कोषका अध्यक्ष लोकदर्शन बज्राचार्यको आग्रहमा मुभी खिचेका थिए । त्यो श्यामले पहिलोपटक खिचेको मुभी थियो ।
फुटबलर श्याम
पढ्न मन नलाग्ने । खेल्नमा रुचि । फुटबल र तास भनेपछि हुरुक्कै । साइकलमा उपत्यकाका तीनै सहर पुग्ने । यसैगरी श्यामको बालवय कट्न थाल्यो । टुँडिखेलमा बुवाको हलुवाई पसल थियो । बुवालाई काममा सघाउँथे । पसल खुब चल्थ्यो । बुवा भात खान घर गएका बेला श्यामलाई मौका पथ्र्यो । पैसा लुकाउँथे । सिनेमा हेर्न पुग्ने पैसा पुगेपछि नजिकैको विश्वज्योति पुग्थे ।
दुई–चार वटै स्कुलमा भर्ना भए । तर, पढाइ दिगो भएन । १६ वर्ष पुग्दा अक्षरबाहेक जानेको केही थिएन । साथीहरूमध्येकै एकले सर्टपाइन्ट र टाई लगाएर आएको अर्को साथीलाई देखाउँदै भन्यो, “ओई श्याम ! तँ पनि त साउको छोरो, ऊ त्योजस्तै बोर्डिङ पढ् न । किन नपढी बसेको ?”
साथीको कुराले श्यामलाई छोयो । उनी एक्लै बोर्डिङमा पुगेर फर्म मागे । त्यो बेला बोर्डिङ पढ्ने खासै चलन थिएन । बोर्डिङमा शिक्षकले पिट्छन् भनेर पढ्न मान्दैनथे । भर्ना भएका विद्यार्थी पनि भाग्थे । श्याम एक्लै गएको देखेर प्रिन्सिपलले जिल खाँदै सोधे, “अरूहरू बाउआमाले ल्याउँदा पनि भाग्छन्, तिमी त एक्लै आएर पढ्छु भन्छौ त ?”
कक्षा ६ मा भर्ना भए श्याम । पसलमा लुकाएको पैसा थियो । त्यही तिरे उनले ।
कक्षा ६ का ‘बिगेस्ट ब्वाई’ नै उनी थिए । ६ महिनामा परीक्षा भयो । नतिजा आयो— फेल । काठमाडौं उपत्यकाका तीनै जिल्लामा कडा प्रिन्सिपल भनेर कहलाएका सत्यनारायणबहादुर श्रेष्ठले उनलाई गाली गरे । त्रास देखाए । श्याम डरैले पनि पढ्न थाले । पास भए । ‘बिगेस्ट ब्वाई’ राम्रो पढेन भने बेइजत हुन्छ भन्ने डरले राम्ररी पढे । ७ बाट ८ मा जाँदा चौथो भए ।
८ मा पुगेपछि प्रिन्सिपलले दमन गर्यो भनेर विद्यार्थीले विरोध गरे । आफूलाई देखेपछि मुसाजस्तो हुने विद्यार्थीको नाराबाजी सुनेर प्रिन्सिपल आफैं मुसाजस्ता भए । बासु शशी नेपाली विषय पढाउँथे । उनले प्रिन्सिपल श्रेष्ठविरुद्ध प्रचारबाजी गर्न भनेर श्याम र अर्को एक जनालाई फर्पिङबाट एउटा चिठ्ठी दिएर काठमाडौं पठाए । श्यामले काठमाडौं आएर प्रेसमा थिए । समाचार छापियो । सबैले थाहा पाए । प्रिन्सिपल श्रेष्ठले राजीनामा दिए ।
चार घण्टा लगाएर फर्पिङबाट काठमाडौं आएका श्यामलाई फर्किन मन लागेन । गएनन् । उमेर पनि सामान्यभन्दा बढी भएकाले काठमाडौंमै त्रिभुवन प्रौढ शिक्षा निकेतनमा पढ्न थाले । २०१९ मा एसएलसी पास गरे ।
खेलकुद भनेपछि हुरुक्क हुने उनी टुँडिखेलमा अरूले फुटबल खेल्दा कतिखेर बल आउट हुन्छ र पक्रेर हान्न पाइन्छ भनेर ढुकी बस्थे । त्रिचन्द्र कलेज पढ्न थालेपछि उनी पढाइमा भन्दा खेल्नमै ध्यान दिन थाले ।
त्रिचन्द कलेजबाट उनले फुटबल खेल्दा कलेज प्रथम भयो । “म जुन स्कुल र कलेजबाट फुटबल खेल्यो, त्यही फस्र्ट हुन्थ्यो । म बोर्डिङबाट काठमाडौं आएर खेल्दा मेरो खेल हेरेर ‘ए’ डिभिजन क्लब ‘विद्या व्यायाम’ले मार्क गरेको रहेछ, पछि त्यसैले मलाई बोलायो,” श्याम भन्छन्, “मैले बुट लगार आजसम्म खेलेको छैन । सक्दिनँ होला भनें । तर, उनीहरूले उस्तै त हो भने । नभन्दै बुट लगाएर खेलेको त झन स्फूर्ति आयो । राम्रो खेलें । ‘त्रिभुवन च्यालेन्ज शिल्ड’मा सेकेन्ड भयौं हामी ।”
‘विद्या व्यायाम’का संस्थापक सुशील शमशेर राणा थिए । राणा लामो समय फुटबल संघको अध्यक्ष भए । एक वर्ष ‘विद्या व्यायाम’बाट खेलेपछि उनी ‘आरसीटी’ र ‘अन्नपूर्ण’मा पुगे । त्यसपछि श्याम ०२२ सालमा ‘महावीर’ क्लब पुगे । अच्युतकृष्ण खरेल ‘महावीर’बाटै फुटबल खेल्थे, जो पछि प्रहरी प्रमुख भए । श्याम राइट विङ्बाट खेल्थे । खस्किसकेको ‘महावीर’ले श्यामलगायतका राम्रा खेलाडी जम्मा गर्यो । ०२३ देखि ०२५ सम्म लगातार लिग र नकआउटमा कप उचाल्यो । श्यामले एनआरटीबाट पनि फुटबल खेले ।
जाँदाजाँदै श्यामले सुनाए, “स्विमिङदेखि फुटबल, गल्फदेखि टेनिस— सबै खेल खेलें । तर हक्की र क्रिकेट भने कहिल्यै खेलिनँ ।”
याे पनि पढ्नुस्ः जीवित इतिहास