site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एक अनागरिक प्रेमी 
Ghorahi CementGhorahi Cement

– महेन्द्र महक


लतिफका तीन शब्दले ‘तहल्का’ मच्चाइसकेको थियो । अल नसिम लेबर क्याम्पको प्रत्येक रुममा, सुपरमार्केट अगाडिको हरियो चौरमा चिसो पिउँदै बस्ने क्याटरिङ सर्भिसेज कम्पनीका केटाहरूको समूहमा र ती केटाहरूले काम गर्ने प्रत्येक ठाउँमा तलिफले बोलेका शब्दको चर्चा गुञ्जिरहेको थियो ।

मलाई लागेको थिएन, उसले त्यस्तो केही बेवकूफी गर्ला भनेर । तर, उसले त्यही ग¥यो, जसको सजाय उसले अनिवार्य भोग्नु पर्ने थियो यो परदेशी मुलुकमा ।

Agni Group

० ० ०

आयशा, शायना, सबाना र अमिनाको सिफ्ट परेको दिन केटाहरूको मुहारमा बेग्लै चमक हुन्थ्यो । हाम्रो सिफ्टमा काम गर्ने रुडोल्फो त्यसै पनि छट्टु थियो । फिलिपिना एयर होस्टेस देखे सहजै बोल्थ्यो, “हाय आते ! कमस्तका ?” (के छ बहिनी हालखबर ?)

Global Ime bank

र, मौका पाए किचेन रुमसम्मै ल्याएर आउँथ्यो कफी पिलाउन । यसो गर्न अनुमति थिएन । तर, यस्तो बर्जित काम गर्दा ऊ रमाउँथ्यो । तगालो भाषामा सुन्दरीलाई जिस्काउँथ्यो, फोन नम्बर माग्थ्यो ।

फिलिपिना सुन्दरी गइसकेपछि रसिक पारामा ऊसँग भएका गफ फेरि हामीलाई अंग्रेजीमा सुनाउँथ्यो ।

आयशा र शायना यही मौकामा आएर केटाहरूसँग थोरै जिस्किदिन्थे— ‘लाइट हार्टेट’ भएर ।

“हु इज मोर बियुतिफुल ? मी अर फिलपिना ?”

उनी अरू मस्किँदै सोध्थिन्— खपिनसक्नु वैंशको भारी बोकेर परदेश बसेका युवाहरूलाई । र, रुडोल्फो उज्यालो अनुहार बनाएर भनिदिन्थ्यो, “डेफिनेटली यु आर मोर ब्युटिफुल म्याडम !”

“वल्ला ! रियल्ली ?!” आयशा स्वीकृति खोज्थी लतिफको । कम बोल्ने तर मुस्काइरहने लतिफ हाँसेर भन्थ्यो, “यस म्याडम ! यु भेरी ब्युटिफुल !”

कालो बुर्काले सर्लक्कै जिउ छोपेकी ती अरबिक युवतीहरूको सौन्दर्यले मोहित बनाउन सक्थ्यो जोकोहीलाई पनि । ‘हिजाब’ले कपाल र घाँटी छोपिँदा देखिने मुहार गुलाफको फक्रिँदै गरेको फूलजस्तो देखिन्थ्यो । रातो रङमा रंगिएका ओंठहरूको मादकता कल्पिएर धेरै पटक ‘अफरोड’ ठट्टा हुन्थे— किचेनभित्र बसेका ‘अफिस ब्वाइज’ बीच ।

र, यसरी एक पीडा, एक आकांक्षा र एक अतृप्त चाहनाको बिरुवा युवाहरूको मनमा रोपेर आफूलाई मन पर्ने चिया कफी अर्डर गर्दै ती सुन्दरीहरू ‘लेडिज च्याम्बर’ फर्किन्थे– मस्किँदै ।

रहमान सिफ्ट–हेड भएको दिन उनीहरू च्याम्बरबाहिर काम परे मात्र आउँथे तर अब्दुल शेखको सिफ्टमा सुन्दरीहरूकै मनोमानी चल्थ्यो ।

आयशा आफ्नो लागि खाने कुरा किन्नु परे, म्याक्डोनल्ड्स, केएफसी वा ओ’बरेयन्सबाट केही कुरा किन्न पठाउनु परे लतिफलाई नै रोज्थी । आयशाको ‘आदेश’ तामेल गरेपछि लतिफ ओंठमा मुस्कानसहित फर्किन्थ्यो, हामीमाझ । हामीलाई लाग्थ्यो– उसले राम्रो बक्सिस पाएछ ।

आयशाले ‘अराइभल’मा शंका लागेका लगेज चेक गर्दै गर्दा ट्रलीबाट लगेज उठाइदिएर टेबुलमा राख्न ऊ नै गइदिन्थ्यो । ‘प्यासेन्जर’ आउने समयको ग्यापमा उनीहरू गफिन्थे, हिन्दीमा !

“आयशा अच्छा हिन्दी बोलता है । ओ अच्छा लडकी है,” लतिफको मुहारमा विशेष चमक हुन्थ्यो, मलाई यस्तो बताइरहँदा ।

अंग्रेजीमा ऊ केवल शब्द बोल्थ्यो । हिन्दीमा भत्किएका वाक्य र तेलगूमा उसको जिव्हा वाचाल बन्थ्यो ।

एकदिन आयशाले कुनै पश्चिमी युवतीको लगेज चेक गर्दा फेला पारेको गुलाफी भुवासहितको सुन्दर ‘ह्यान्डकफ’ देखाएर लतिफलाई ठट्टा गर्दै सोधेकी थिई, “क्या है ये मालूम ?”

रहमानलाई पानी सर्भिस गरेर फर्किंदै गर्दा देखेको थिएँ मैले त्यो हतकडी, आयशाको मुस्कान र पश्चिमी युवतीको मुहारमा पोतिएकोे लज्जा !

हत्कडी पनि बहुमूल्य हीराजस्तै जतनसाथ लगेजमा राखेर ल्याएको देखी अचम्भ परेको थियो लतिफ । झनै छक्क परेको थियो हत्कडी देखाएर हाँस्ने आयशालाई देखेर ।

गोरो छाला भएकी युवतीले आफ्नो ठूलो झोलामा हतकडी किन बोेकी होला, उसलाई थाहा भएन । ऊ छक्क परेको देखेर आयशा हाँसेकी थिई र हतकडी परतिर पन्छाएर गोरी मैयाँलाई भनेकी थिई, “नट अलाउड !”

लतिफले ड्युटीपछि फर्किंदै गर्दा एयरपोर्ट ‘इक्जिट गेट’मा सोधेको थियो, “हतकडी किन बोकी होला त्यो सुन्दरी बालाले ?”

मैले उसलाई बताइदिएँ, वैंशको चरमोत्कर्ष अनुभूति अनुभव गर्ने एक साधनबारे ।

ऊ थोरै हाँस्यो र ताली पड्काउँदै भन्यो, “अच्छा ! ये ‘उसके’ लिए है !”

त्यसपछि उसले फेरि आयशाको कुरा गरेको थियो ।

“यु अलवेज टक अबाउट आयशा ! फलिङ इन लव विद अर हँ अ... !” रुडोल्फो जिस्किएको थियो र लतिफले मुस्काउँदै भनेको थियो मलाई, “क्या बोलता है यार ये ?”

० ० ०

अल वादा सपिङ मलअगाडिको हरियो चौरमा डेट मिल्क शेक जुस र क्रिमरोल खाँदै गरेको लतिफ र उसका दुई साथीलाई भेटें, बिहीवार साँझ । साथीहरूलाई पनि उसले आयशाको सौन्दर्यबारे बयान सुनाउँदै रहेछ ।

“मै अमित वेंकटेशनम्,” सपाट हिन्दीमा बोलेको थियो उसको साथी ।

“तिम्रो लवज त तेलगू जस्तो छैन त । यसलाई त बोल्नै आउँदैन,” लतिफतिर इशारा गरी सोधेको थिएँ मैले अमितलाई ।

“म लामो समय दिल्लीमा बसें, त्यसैले,” छोटो उत्तर दियो अनि लतिफतिर हेरेर भन्यो, “बोल्दैन भनेर होला शायद, आयशा त फिदा छे त !”

“कहाँ राजा भोज और कहाँ गंगू तेली !” मेरो भनाइ बुझेर होला— अमित हाँस्यो । अरु दुई जना ‘क्या ? क्या बोला ?’ भनी अर्थ जान्न उत्सुक भए । अमितले आफ्नै भाषामा बुझायो र पनि बुझेन मर्म लतिफले । 

“साँच्चै, आयशाले मलाई लभ गर्छे,” उसले भनिरह्यो ।

साथीहरूले उसको कमाइको खाँदै रहेछन्, धेरै जिस्क्याएनन् । मैले मुख खोलेरै भनिदिएँ, “हेर ! धनीहरूले शोखका लागि कुकुर पालेका हुन्छन् । थरीथरीका कुकुर । साना–ठूला भुवादार । शेफर्ड, लेब्रेडर, अकिता, बुल्डग आदि । म्वाइँ पनि खान्छन् । (यसो भन्दा लतिफ मुस्काएको थियो, अमित हाँसेको थियो, अरु चुप लागेका थिए ।) माया गरी बोलाउँछन् तर बिहे गर्दैनन् । कुकुरलाई कुकुरकै दर्जामा राख्छन् ।”

“उसो भए हामी सबै कुकुर हौं त ? या अल्लाहा !” लतिफले गुनासो पोख्यो ।

“हामी यो देशका अनागरिक कामदार हौं साथी,” मैले उसलाई सम्झाने गरी भनें, “मजाक मस्करा त ठिकै हो तर सिरियसली हो भने साथी सम्हालिनु नै ठीक होला,” शायद अलि कठोर शब्द बोलेको थिएँ म । हुन सक्छ— मभित्रको हीनताबोधले मलाई यस्तो सोच्न बाध्य पारेको थियो । त्यसैले यी शब्द म आफैंलाई पनि थिए, “हामी यो मुुलुकका मान्छे होइनौं । हामी परदेशी हौं । सस्तो श्रम बेच्न आएका गरिब लेबर ।”

उमेरले २५ पुगेको लतिफको दिमाग भने पाँच वर्षको बच्चाजस्तो लाग्यो । मेरो कुरा हावामा उडाउँदै आफ्नै कुरा भन्यो, “नहीँ, आयशा ऐसा नही । वो अच्छा लडकी है । मै अभ्भी उसको कल करता है ।” यति भनेर उसले फोन पनि डायल गर्न थाल्यो । फोनले ‘सब्सक्राइबर’ व्यस्त रहेको बताइरहँदा उसको अनुहार मलिन देखियो । साथीहरूले उसलाई आफ्नै भाषामा फोन नगर्न भने । मैले बिदा मागें ।

लतिफले भन्यो, “तुम लोग मुझसे जलता है । उसका और मेरा मजहब एक है ।”

“मजहब मिलता है । लेकिन फरक मनीका है दोस्त । मुलुक भी फरक है,” मैले उसलाई यत्तिमात्र भन्न सकें ।

० ० ०

शुक्रवारको दिन लेडिज च्याम्बरमा आयशा र रुहाना थिए । रुहाना बाहिर निस्केको बेला आयशाले लतिफ आए÷नआएको बारे मसँग सोधी । लतिफको बिदाको दिन परेकाले नआएको भनेपछि उसले मसँग लतिफको फोन नम्बर मागी । मसँग नम्बर थिएन । रामुलुसँग मागेर दिएँ ।

मलाई लाग्यो— लतिफले ठीक भनेको रहेको छ । आयशा ऊमाथि ‘फिदा’ रहिछे !

शुक्रबारको त्यस साँझ ड्युटीबाट लेबर क्याम्प फर्किंदै गर्दा गेटमा लतिफको साथी भेटियो । 

“मै अमित ! क्यों, भुल गया यार !” म उसलाई नबोलाई हिँड्दै गर्दा उसको बोलीले मलाई अडिन बाध्य पा¥यो ।

“नहीँ ! मैले तिमीलाई देखिनँ । अनि लतिफ कहाँ छ ?” मैले लतिफकै बारेमा सोधें ।

“क्युँ ? एयरपोर्ट कैसा है ? आयशा कुछ पुछ रही थी ?” उसले सिरियसली सोधेको थियो ।

“अरे, वो तो फिदा है,” मैले ठठ्यौलो पारामा थपें, “बोलती है, लतिफके बिना दिल नहीँ लगता ।”

“ठट्ठा गरेको होइन मैले । हिजो लतिफले फोन गरेर आई लभ यु म्याडम बनेपछि तनाव भएको छ । आयशाले छोड्नेवाली छैन यसलाई । फोनमै कस्तो गाली दिँदै थिई !” उसले टाउको हल्लाउँदै भन्यो, “लतिफ तो गया काम से ।” लतिफ संकटमा परेको कुराले उसलाई धेरै दुःखी बनाएजस्तो मलाई लागेन । आयशाले लतिफको फोन नम्बर माग्नुको कारण बुझ्दै थिएँ म ।

० ० ०

‘लेडिज च्याम्बर’मा लतिफ भुइँ हेर्दै उभिएको थियो । लाचार ! विवश ! काँतर ! अग्लो ठूलो ज्यानको लतिफ पिठ्यूँपछाडि हात बाँधेर उभिएको थियो । र, आयशा चिच्याएर भन्दै थिई, “इन्ता हिमार ? माफी अकिल ? हाउ देयर यु तु से मि आई लफ यू ? तेल मी योर सुपरभाइजर्स नम्बर । आई वान्त तु तोक तु हिम नाउ ! इमिदिएतली ।” (तँ गधा होस् ? दिमाग छैन तेरो ? मलाई आई लभ यु भन्ने हिम्मत कसरी गरिस् ? तेरो सुपरभाइजरको नम्बर दे, मलाई ऊसँग कुरा गर्नु छ । तुरुन्त ।)

म अवाक् ढोकानेर उभिएर सुन्दै थिएँ, आयशाको आक्रोश । र, अनुभूत गर्दै थिएँ लतिफको पीडा । मलाई त्यसै उभिएको देखेर ५० दिरामको नोट दिदै भनी, “आई वान्त कोल्द द्रिङ्क । तु कोल्द स्पराइत ।”

“आइ विल तर्मिनेत यु । दु यु नो माई पावर ?” एकपटक फेरि लतिफलाई धम्क्याई ।

“वेत वेत !” मलाई पर्खन भनी । ‘वारेद ! (चिसो) ज्यादा कोल्द हँ,” चोर औंलाले चेतावनीपूर्वक भनेकी थिई ।

आदेश शिरोपर गरी पर पुुगिसक्दा पनि आयशाको बोली सुन्दै थिएँ म, “इत्स नत योर कन्त्री । इत्स माई कन्त्री । इन्ता मालुम हु एम आई । डेफिनेतली यु विल नो इत,” यसपटक ऊ लतिफसँग हिन्दी बोलिरहेकी थिइन । अरेबिक र अंग्रेजीमा चिच्चयाइरहेकी थिई, धम्क्याइरहेकी थिई र उसलाई बारम्बार अनागरिक भएको अनुभूति दिलाइरहेकी थिई ।

अन्तर्राष्ट्रिय एयरपोर्टको ‘टर्मिनल फोर’को ड्युटी फ्रि पसलबाट चिसो स्प्राइट लिएर फर्किंदासम्म लतिफ गइसकेको थियो र आयशा फोन थिच्दै बसेकी थिई । ‘चिल्ड चिसो’ थियो स्प्राइट क्यान । हातले समातेर चिसोपन नापी ।

“शुक्रान !” धन्यवाद दिइरहँदा पनि उसको नजर फोनको स्क्रिनमै थिए ।

बाँकी पैसा टेबुलमा राखिछोडेर फुत्त बाहिरिदै थिएँ कि फेरि बोलाई, “फी सुपरभाइजर्स मोबाइल नम्बर ?” (सुपरभाइजरको नम्बर छ ?”

मैले उसलाई सुपरभाइजरको नम्बर उपलब्ध गराएँ ।

“इन्ता लतिफ हरामी हँ । ही गेब मी रङ नम्बर,” (लतिफ बेइमान रहेछ । मलाई गलत नम्बर दिएछ) मलाई बाहिर जाँदै गरेको देखेर भनी ।

“तेक दिस,” टेबुलमा राखिदिएको चानचुन दिराम मलाई बक्सिस दिएर भनी, “अ सर्भेन्त सुद बी इन हिज प्लेस !” अनि फेरि उसैगरी फोनको किप्याड थिच्न थाली ।

मलाई भने हत्केलाभित्रको पैसाले पोल्न थाल्यो, मानौं त्यो कागज थिएन, रातो भुङ्ग्रो थियो । किचनबाट अरेबिक कफीको चर्को गन्थ आइरहेको थियो । छेउको ‘प्रे रुम’मा भन्सार विभागका कर्मचारी प्रार्थना गरिरहेका थिए– निधारले भुइँ चुम्दै अल्लाह पुकारिरहेका थिए ।

“पारे (ए साथी) ! डु यु ह्याव अ माइन्ड हँ ?” दाहिने हातका पाँचवटै औंला फिँजाएर आश्चर्य प्रकट गरिरहेको थियो रुडोल्फो, लतिफसँग, “सु हादा ! आइ लव यु म्याडम हँ ?”

रामुलु दबेको हाँसो हाँस्यो । थाहा भएन, लतिफको पीडामा हाँसेको थियो या रुडोल्फोको कटाक्ष गर्ने शैलीमा ।

“टेन्सन नहीँ लेनेका, जो होगा देखा जाएगा,” मैले थोरै भरोसा दिलाउन खोजें, “उनीहरूले तँलाई मार्ने त पक्कै छैनन् । बढीमा देश निकाला गर्लान् । घरै त पठाउलान् तँलाई । मनको भावना पोखेको मात्र न होस् । हातपात गरेको होइनस् क्यारे ! तनाव किन लिन्छस् ? जे होला होला अब !”

“इन्ता शर्राफ माफी अकिल !” (यो चिया बनाउने केटोको दिमाग छैन है) प्रे रुमबाट निस्किँदै गरेको अब्दुल्लाहले भन्यो, “आई कुद नेभर से हर एन्द यु सेद हर आई लफ यू ?” थोरै मजाक गर्दै अब्दुल्लाहले धम्क्यायो, “नाउ यु आर इन प्रोब्लम माई फ्रैन्द ।”

“वाहिद हलिब जातर वाहिद बारेद माही,” (एक कप जातर दूध चिया अनि एउटा बोतलको चिसो पानी) उसको आदेश थियो । रामुलुले चिसो पानी फ्रिजबाट निकालेर दियो ।

“हलिब जातर इन द गेत ओके ।” (दूध जातर गेटनेर ल्याउनू है) दूधसहितको जातर चिया गेटमा ल्याउने अर्डर दिएर ऊ किचनबाट बाहिरियो ।

लतिफको अवशादग्रस्त अनुहार देखेर दया लाग्यो मलाई, “अच्छावाला चाय पिते हैं । ठीक है ! मूड फ्रेस हो जाएगा ।”

यसपछि म आफैंले चिया बनाएँ । दूध चिया । र, सुक्र्याउन थाल्यौं म, लतिफ र रामुलुले । फिलिपिनीहरूको स्वाद कफीमा बसेको हुन्छ । दूध चियामा होइन । दूध चिया सुक्र्याउँदै थियो लतिफ । अचानक उसको फोन बज्यो । चियाको कप हातबाट फुत्कएला झैं गरी हात काँपेका थिए उसका । कप मेचमा बसाल्यो । तालु सुकेको आवाजले बोल्यो, “हेलो !”

उताबाट उसकै भाषामा कोही बोल्दै थियो, छिटो–छिटो आवाजमा हप्काइरहेको थयो । टाउको हल्लाउँदै उसले ‘ओके’ भन्यो र फोन काट्यो ।

“कल हेड अफिस बुलाया है,” अनुहार अँध्यारो बनाएर भन्यो उसले । 

“हु कल्ड यु पारे ?” रुडोल्फोले सोध्यो र आफैंले भन्यो, “सुपरभाइजर ?”

लतिफले स्वीकृतिमा टाउको हल्लायो । 

‘आ ऽऽ जगन !” मुख बिगार्दै भन्यो उसले, “गान्दू जगन !” (भद्दा गाली)

० ० ०

हेड अफिस बोलाइएको लतिफ फर्किएन । लेबर क्याम्पमा पनि ऊसँग भेट भएन । बरु, हेड अफिसबाट एरिया म्यानेजर सुल्तान आयो । अग्लो ज्यान र ‘स्किन हेड’ भएको सुल्तानले हामी काम गर्ने ठाउँको अनुगमन गर्‍यो । सामान सुरक्षाको अवस्था हे¥यो । रामुलुको इस्टकोटको खुल्लै रहेको एउटा टाँक लगाइदिँदै ‘आइ थिङ्क, योर सेलेरी सुड बी डिडक्टेड’ (मेरो विचारमा तिम्रो तलब काट्नुपर्छ अब) भनी धम्क्यायो ।

मेरो ‘क्लिन शेभ’ नगरेको अनुहार हेरेर ‘दाह्री किन नकाटेको ?’ भनी सोध्यो । उसको पछिपछि सँगै आएको एयरपोर्ट अद्यागमनको मुदिर (हाकिम)सँग मेरो बारेमा केही केरकार गर्‍यो ।

“वल्ला जेन !” (हैन, ठीक छ) मुदिरले सुल्तानलाई भन्यो र मलाई अह्राएर गयो, “टु क्याप्युचिनो विद सुगर एन्ड बिस्किट्स !”

हामीहरू यसरी नै खटिइरह्यौं । र, बिर्संदै गयौं एक अनागरिक प्रेमीलाई । लतिफको त्यो कालो र मुस्कानले चम्किलो देखिने मुहार पनि बिर्संदै गयौं ।

रुडोल्फोलाई लेबर क्याम्पभित्र रक्सीको अवैधानिक कारोबार गरेकोले देश निकाला गरियो । आयशाको टर्मिनल फोरबाट टर्मिनल थ्रीमा सरुवा भयो । कहिलेकाहीँ त्यहाँ पनि मेरो ‘ड्युटी’ पर्छ । उसलाई देख्दा म जहिले नि उही अनागरिक प्रेमी लतिफलाई सम्झन्छु र सँगै सम्झन्छु, उसको विवश अनुहार र आयशाका शब्दहरू, “इत्स नत योर कन्त्री !”

अनि मनमनै गम्छु, “हो त ! यो मेरो देश होइन !”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०७५  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC