site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नायिकाहरु पकेट मनीमै काम गर्न बाध्य छौं 
Sarbottam CementSarbottam Cement

आधा दर्जन नेपाली चलचित्रमा अभिनय गरिसकेकी नायिका सुरक्षा पन्त इन्जिनियरिङ पृष्ठभूमिबाट आएकी कलाकार हुन् । कला क्षेत्र अब्बल क्षेत्र भनेर इन्जिनियरिङ र अभिनयलाई सँगसँगै अगाडि बढाइरहेकी छिन् । सुरक्षा जिब्रो नचपाई बोल्ने स्पष्ट वक्ता पनि हुन् । नेपाली चलचित्रको अवस्था, सरकारले चलचित्र उद्योगलाई हेर्ने दृष्टिकोण, नायिकाहरुको भूमिका तथा पारिश्रमिक साथै उनको आउँदो चलचित्र ‘गोपी’मा केन्द्रित रहेका बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः

इन्जिनियरिङ पढेर कलाकारिता गरिरहनु भएको छ । कस्तो भइरहेको छ काम ?
न्यूनतम आवश्यकता पूरा हुँदै गएपछि विस्तारै आफ्नो क्षमता विस्तार गर्दै जान मन लाग्दोरहेछ । मानवीय स्वाभाव पनि हो यो । न्यूनतम आवश्कता पूरा भएपछि इच्छाहरु बढ्दै जान्छन् । त्यही भित्री चहनाले मैले इन्जिनियरिङ र कलाकारितालाई ‘मर्ज’ गरेर लगिरहेको छु । यसबाट धेरै नयाँ कुराहरु निस्किरहेका छन् । क्षमता अभिवृद्धिका लागि सहयोग गरिरहेको छ । 

सुरुमा परिवारले तपाईं कलाकारितामा आएको मन पराइरहेको थिएन । ६ वटा चलचित्र बजारमा आइसक्दा परिवारको धारणामा केही परिवर्तन आयो ?
पहिला सुरुमा कलाकारितामा प्रवेश नगरिदिए हुन्थ्यो भन्ने थियो । अहिले त्यस्तो अवस्था छैन । सपोर्ट नै गरिरहनु भएको छ । सपरिवार गए चलचित्र हेरिदिनुहुन्छ । चासो राख्नुहुन्छ । सुटिङमा छु भने ढिलो हुन्छ भन्यो भने बुझिदिनुु हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय इन्जिनियरिङको पृष्ठभूमिबाट आएका व्यक्तिले मोडलिङ र कलाकारिताका राम्रो  प्रगति र चर्चा पाइरहेका छन् नि !
कोइन्सिडेन्ट जस्तो लाग्छ । यो केही पनि होइन । इन्जिनियरिङको विधाबाट आएको हुनाले ट्याग मात्रै लागेको हो । कलाकारिता क्षेत्रमा पनि पढेलेखेको मान्छे आउने चाह बढेको हो । वातावरण सिर्जना भएको हो । यो क्षेत्रमा पनि पढे लेखेको मान्छे आउनुपर्छ  भनेर दर्शकको चाह बढेको हो । शृंखला खतिवडालाई जसरी दर्शकले सपोर्ट गर्नुभएको छ । दर्शकले स्वीकार गर्नु नै भएको हो भनेर मैले बुझेकी छु । कलाकारिता क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्ति बौद्धिक क्षमता राम्रो भएको व्यक्ति भए हुन्थ्यो भन्ने दर्शकको चाहना हो । 

कहीँ ‘बिकेन’ भने बल्ल कलाकारितामा आउने हो भन्ने गरेको सुनिन्थ्यो । वास्तविकता के रहेछ ? 
समाजले क्रिएट गरेको ठूलो भ्रम रहेछ यो । कलाकारिता क्षेत्रलाई राम्रोसँग स्वीकार नगरिएको चाहिँ हो रहेछ । कला क्षेत्र यस्तो अब्बल क्षेत्र हो । यो पढ्दैमा र कसैले सिकाउँदैमा आउने कुरा होइन । प्रकृतिको बरदान हो । जुन केही व्यक्तिमा मात्रै हुन्छ । त्यसैले यो महत्वपूर्ण क्षेत्र हो भन्ने लाग्छ । 

Global Ime bank

क्षेत्र अब्बल हो, तर चलचित्र भने अब्बल बनेका छैनन् । कारण ?
क्षेत्र आफैँमा अब्बल हो । तर अधिकांश चलचित्र अब्बल बनेका छैनन् भन्ने कुरालाई म पूर्णतः अस्वीकार गर्न सक्तिन । राजनीतिलाई हामी नकार्छौं । किन ? कारण राजनीतिलाई प्ले गर्ने व्यक्ति खराब भएर हो । नेतृत्व गर्ने व्यक्तिले राजनीतिको मर्म र धर्म नबुझेर हो । कलाकारिता क्षेत्र आफैंमा राम्रो हो तर यसलाई प्ले गर्ने सही व्यक्ति मेरो विचारमा आइसकेको छैन । 

नेपाली चलचित्रको सबैभन्दा ठूलो कमजोरी के होला ? 
कलाकारिता क्षेत्रमा काम गर्ने व्यक्तिले नै कलाकारितालाई गम्भीर रुपमा नलिनु मुख्य कारण हो । बाहिरको व्यक्तिले यस्तो उस्तो भनेर आरोप लगाउनु फरक कुरा हो तर यहीँ काम गर्ने व्यक्तिले म एकदमै राम्रो क्षेत्रमा छु भनेर मनन् गर्न नसक्नु नै ठूलो कमजोरी हो । 

आधा दर्जन चलचित्रको अनुभवले के गरियो भने राम्रो चलचित्र बनाउन सकिन्छ जस्तो लाग्छ ? 
सबैभन्दा महत्वपूर्ण कुरा चलचित्र माध्यम हो । चलचित्रको माध्उमबाट हामी कथा भन्न खोज्दैछौं भने सबैभन्दा पहिला कथा नै बलियो बनाउनुपर्छ भनेर निर्माता तथा निर्देशकले सोच्नुपर्छ । अरु कुरा त गौण हुन् । 

अब कुरा गरौं चलचित्र ‘गोपी’को । कस्तो बनेको छ ? 
कति कुरा त हलमा नआएसम्म भन्ने अधिकार पनि हामीमा हुँदैन । तर छोटोमा भन्दा कसैले सोच्दै नसोचेको कथामा पनि चलचित्र बनाउन सकिन्छ भनेर यो चलचित्र हेरेपछि देखिन्छ । सानो मौलिक कथालाई पनि चलचित्रमा भन्न सकिन्छ भन्ने यसले देखाउँछ । 

अहिले हास्यव्यङ्ग्यलाई लिएर चलचित्र बनाउने ट्रेन्ड नै छ । र त्यसैलाई रुचाइएको पनि छ । यस्तो अवास्थामा नितान्त सामाजिक सन्देश बोकेको चलचित्र बोकेको चलचित्र हो । सुन्दाखेरी साह्रै सामान्य कुरा हो देशमै बसेर केही गर्छु भन्ने युवाको कथा । यो कुरामा हो गर्नुपर्छ सबैले भन्छन् तर गम्भीर रुपमा लिँदैनन् । यो विषयलाई लिएर चलचित्र बनाउन सक्छु भनेर आँट्नु नै सबैभन्दा ठूलो इच्छाशक्ति हो । जे उद्देश्य लिएर बनाउन खोजिएको थियो चलचित्र, त्यो भिडियोमा देखाउन सकिएको छ । 

संघीय सरकारका मन्त्रीहरुसँगको भेटघाट गरिरहनु भएको छ, चलचित्रको विषयलाई लिएर । चलचित्रलाई कत्तिको बुझ्दारहेछन् ?
मलाई सुरुमा यो क्षेत्रमा आउँदा भित्रैदेखि के लागेको थियो भने चलचित्रलाई सरकारी क्षेत्रसँग जोड्न पाइन्छ कि पाइँदैन भन्ने लागेको थियो । सरकारी उच्च निकायले के भन्छ, बोर्डमा कस्तो व्यवस्था होला भन्ने चासो रहन्थ्यो । तर त्यस्ता कुनै पनि चलचित्रमा काम गर्ने अवसर मिलेन जसका कारण म आत्मविश्वासका साथ सरकारको ढोका ढक्ढक्याउँ । तर चलचित्र ‘गोपी’मार्फत सरकार र मन्त्रीसम्म पुग्ने अवसर जुटाइदियो । 

मन्त्रालय र मन्त्रीसम्म पुग्नु नै ठूलो कुरा रहेछ । म पहिलादेखि नै बोल्न मन पर्ने र केही गल्ती भइरहेको छ भने त्यसको प्रतिवाद गरिहाल्नुपर्ने मान्छे । तर आज मन्त्रालयसम्म पुगेर दुईचार कुरा राख्न पाइरहेको छु । त्यो नै ठूलो उपलब्धी हो भन्ने ठानिरहेको छु । 

मन्त्री र मन्त्रालयले चलचित्रलाई कतिको गम्भीर रुपमा लिएको पाउनु भयो ?
हामीले यस्तो यस्तो विषयमा चलचित्र बनाइरहेका छौं भनेर भन्छौं तर उहाँहरु अहिले आम रुपमा बनिरहेका ग्लसी फिल्मबारे चेतनशील हुनुहुन्छ तर हामीले बनाइरहेका खालका चलचित्रबारे उहाँहरुलाई थाह नै छैन । आत्माको भित्री तहसम्म पुगेर बुझ्दा उनीहरुलाई चेतना नै छैन । गम्भीर रुपमा नलिएको देख्दा दुःख लाग्यो । 

एकप्रकारको सहयोगको अपेक्षा राखेर कुरा गर्दा हुन्छ भनेर प्रतिबद्धता जनाउने तर ठोस कुरा नभन्ने देखियो । यसलाई हामीले पहिलो प्रयासका रुपमा लियौं । कुनै न कुनै पोइन्टमा पुगेर क्लिक हुनसक्छ उहाँहरुलाई । यस्तै अपेक्षा गरौं । 

चलचित्रको पब्लिसिटीका लागि मन्त्री तथा ठूला दलका नेता र प्रधानमन्त्रीहरुलाई नै चलचित्र हेराउन हलसम्म लैजाने चलन पछिल्लो समय बढेको छ । त्यसकै निरन्तरता त हैन ‘गोपी’ युनिटले मन्त्रीहरुलाई भेट्नु पनि ?
होइन । कनै पनि हालतमा हुँदै होइन । हामीले मन्त्री र मन्त्रालयको ढोका ढक्ढक्याएको होइन । ‘गोपी’को ट्रेलर हेरिसकेपछि श्रम मन्त्री गोकर्ण विष्टले स्वयम् हामीलाई बोलाउनु भएको हो । 
उहाँले बोलाएपछि हामीले नेपालको गम्भीर विषयलाई उठान गरेका चलचित्रलाई सरकारले कतिपय आफ्ना कार्यक्रममा यस्ता खालका चलचित्रलाई पनि राखोस् भन्ने हाम्रो आग्रह थियो । 

हामी नेपाली विदेशी चलचित्र मजाले हेर्छौं तर हाम्रा चलचित्र अरुले हेरिदिँदैनन् । कलाकारको नाताले कस्तो लाग्छ यो यथार्थको सामना गर्नुपर्दा ?
हामीले राम्रो चलचित्र बनाउन नसकेको कुरालाई नकार्न मिल्दैन । केही प्रगति पक्कै पनि भएको छ । तर गतिलो चलचित्र भने बन्न नसकेकै हो । मैले सीमित स्रोतलाई पनि यसको कारण हाे भन्नेसाेिचरहेकाे थिएँ । तर इच्छा शक्ति भएमा स्रोतको सीमितता नै सबैभन्दा ठूलो बाधक बन्छ जस्तो लाग्दैन अहिले । 

गत हप्ता मन्त्रीज्यूहरु (श्रम र कृषि मन्त्री)सँग भेटेपछि सैद्धान्तिक रुपमा हामीले हुन्छ भने पनि त्यसलाई गम्भीर रुपमा सरकारी तहबाट नलिनु मुख्य कारण भएको थाहा पाएँ । हामीले जहाँ बसेर जतिसुकै मेहनत गरेर जुनसुकै काम गरेपनि ठोक्किएर पुग्ने सरकार र मन्त्रालयमै हो । सरकारी तहबाटै काम भएन भने त्यसको के औचित्य ? चलचित्र उद्योग बन्न खोजिरहेको छ । करोडौंको चलखेल हुन्छ तर सरकारको इच्छाशक्ति नै छैन भने कसरी हुन्छ काम ? सरकारको इच्छा शक्ति नहुनु नै मुख्य बाधक पक्ष हो । 

नायकको तुलनामा नायिकाको पारिश्रमिक निकै कम छ नेपालमा । अभिनयमा त्यो न्यून पारिश्रमिक देखिने सम्भावना कतिको हुन्छ ?
पक्कै पनि देखिन्छ । यस्ता कुराले ठूलो अर्थ र प्रभाव पर्छ चलचित्रमा । कलाकारलाई केही कम पारिश्रमिक दिएर कथा र अन्य पक्षमा हामीले हामीले राम्रो चलचित्र बनाउन लगानी गरिरहेका छौं भनेर हामीलाई ठूलठूला कुरा गर्नुहुन्छ । हामीले पनि होला त चलचित्र राम्रो बन्छ भने ठिकै छ नि त भनेर सम्झौता गर्छौं तर त्यो इमान्दारीपूर्वक कार्यान्वयन भइरहेको हुँदैन । अनावश्यक ठाउँमा पैसा खर्च भइरहेको हामीले प्रत्यक्ष देखिरहेका हुन्छौँ । 

विशेषगरी नायिकाहरुलाई सकेसम्म निकै न्यून पारिश्रमिकमा काम गराउनु हुन्छ । एउटा नायिकाले नगरे के भयो त अर्को नायिका लिउँला भन्ने मानसिकता बोेकेर हिँड्छौं । जो सस्तोमा भेटिन्छ उनीहरुलाई लिएर आऔं भन्ने सोच छ । हामी नायिकाहरुको भ्यालु अझै पनि नेपाली चलचित्र उद्योगमा निकै कम छ । नायिकाहरुलाई मेकरहरुले अझै पनि क्यारेक्टरका रुपमा स्वीकार गर्नुभएको छैन । 

त्यो भए श्रम शोषण भइरहेको छ भनेर भन्न मिल्छ ?
श्रम शोषण नै नभनौं । किनभने आफूलाई इच्छा छैन भने उसले चलचित्र नगर्न सक्छ । त्यसका लागि हरेक नायिका स्वतन्त्र हुनुहुन्छ । यदि सिर्जनशीलता बाहिर आउँछ र समग्र उद्योगलाई नै राम्रो हुन्छ भने पैसा मात्रै ठूलो कुरा होइन । पैसालाई मुख्य प्राथमिकतामा राखिनु हुँदैन । यो क्षेत्रमा आउँदा यो कुरामा तयारी भएरै आउनुपर्छ । पैसाका पछाडि लाग्यो भने कला मर्छ । तर, कम्तिमा व्यक्तिको काम हेरेर पारिश्रमिक दिनुपर्छ । 

मेकरहरु किन यो कुरा बुझ्न चाहँदैनन् ?
मैले चलचित्र क्षेत्रमा काम गरेको पनि आधा दशक भयो । आधा दर्जन चलचित्रमा काम गरिसकेँ । मैले चलचित्रमा काम गरेको पारिश्रमिकले त पकेट मनीभन्दा माथि केही पनि काम गरेको छैन । 
हामीसँग पैसा कम होला । सीमित स्रोत साधनमा बसेर काम गर्नुपर्छ । विशेषगरी क्रिएटिभ मेकहरु लिमिटेड स्रोत साधनमा बसेर काम गरिरहेका छन् । किन भने त्यस्ता चलचित्रमा लगानी गर्ने व्यक्ति नै कम छन् । यो कुरा बुझेर हामीले काम गरिरहेका हुन्छौं र छौं पनि । तर कहिलेसम्म ? यो कुरा कुख्य प्रश्न हो ।

नेपाली चलचित्रमा विशेषगरी नायिकाको उमेर, जवानी अथवा रुप रङ्ग हुन्जेल उमेर तोकेर काम गर्ने अवस्था छ । भोलिसम्म त्यही पकेट मनीमै काम गर्दै जाँदा हाम्रो उमेर पनि ढल्किँदै जान्छ । कमाउने दिन पनि सकिँदै जान्छ । अनि हामी नायिकाहरुले कहिले कमाउने त भन्ने ठूलो प्रश्न छ । 

कि तपाईं काम गर्नसक्नु हुन्न । तपाईंका कमजोरी यी–यी हुन् । तपाईंलाई लिएर काम गर्दा चलचित्र यो पक्षमा गएर कमजोर हुन्छ त्यसैले तपाईंलाई पारिश्रमिक धेरै दिन सकिँदैन भन्नुपर्यो । भन्ने बेलामा तिमी राम्रो काम गर्न सक्छौं । हाम्रो पहिलो च्वाइस नै तिमी हौ । तिमी जस्तो कलाकार नेपाली चलचित्र उद्योगलाई चाहिन्छ भन्ने अनि पारिश्रमिक चाहिँ पकेट मनीमै सीमित गर्न पाइन्छ ?

महिला पात्रलाई अझै पनि चलचित्रमा ‘शो पिस’ कै रुपमा राखे जस्तो देखिन्छ । यो तपाईंले अनुभूत गर्नु भएको छ ?
पहिलाको तुलनामा चाहिँ केही सुधार भएको छ । पहिला तपाईले भन्नु भएको कुरा हाबी नै थियो । तर अहिले क्यारेक्टरलाई फोकस गरेर काम गर्न खोज्ने नायिका र मेकरहरु पनि आउनु भएको छ । हुँदै गरेको प्रगतिलाई नजरअन्दाज गर्नुहुँदैन तर अनुपातको कुरा गर्दा निकै कम छ । अहिले पनि फिमेल प्रोटागोनिष्टलाई लिएर चलचित्र बनाउन मेकरहरु किन तयार छैनन् ? कतिपय ठाउँमा मैले पनि यही प्रश्न गरिहरहेको हुन्छु । हेरौं कोही न कोही एक न एक दिन आउला फिमेल प्रोटागोनिष्ट लिएर । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ३०, २०७५  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC