हिरोको अफरलाई लत्याएका प्रशान्त ताम्राकार १५ वर्ष पछाडि भिलेनको बाटो हुँदै नेपाली रजतपटमा प्रवेश गरे । ‘मुखौटा’बाट वाहवाही बटुलेका उनले चलचित्र ‘ऐश्वर्य’ मा दमदार प्रस्तुति दिए । जसले गर्दा उनी अहिले नेपाली सिने नगरीमा व्यस्त छन् । उज्यालो अनुहार, बलिष्ठ शरीर, फेसन इन्डष्ट्रीको व्यापार अनि चलचित्रको काम । उनलाई हेर्दा भिलेन भन्दा पनि हिरो लाग्छ । तर उनी अहिले धमाधम खलपात्रमा अभिनय गरिरहेका छन् । उनै प्रशान्तसँग रिलिजको तयारीमा रहेको चलपिचत्र ‘रणवीर’ र समग्र चलचित्र जगतका विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः
‘रणवीर’को ट्रेलर हेर्दा त साउथ इन्डियन मुभीको झल्को आयो नि !
झल्को आउनुलाई निर्देशक र हामी कलाकारको स्वादको रुपमा लिन सक्छौं । निर्देशक गोविन्द सिंह भण्डारी साउथमा बसेर लामो समय काम गरेको हुँदा केही फ्लेबेर नै आएन भने त मजा पनि आएन । अहिले साउथकै प्याट्रनमा चलचित्र चलिरहेको पनि छ । धेरै नेपाली दर्शक साउथ इन्डियन मुभीको फ्यान पनि हुनुुहुन्छ ।
साउथ इन्डियन जस्तै बनाउन खोजिएको हो ?
सााउथ इन्डियन नै बनाउन खोजेको भन्न मिल्दैन । स्कुलिङ जहाँको हुन्छ, त्यसको फ्लेबर आउनु त स्वाभाविक हो । नेपाली मार्केटको डिमान्ड अनुसार पनि फ्लेबर आएको छ । सायद त्यो स्तरको चलचित्र बनाउन सक्यौं भने नेपालमा पनि त्यो लेबलको चलचित्र दिन सक्छौं भन्ने सकारात्मक सन्देश पनि जान्छ भनेर पनि हो ।
नेपाली निर्माता तथा निर्देशकलाई हिन्दी चलचित्रको कपी–पेष्ट गरेको आरोपले कहिल्यै छाडेन । भर्खर मौलिक चलचित्र बन्न थालेको बेला फेरि त्यही आरोप खेप्नुपर्छ भन्ने डर लागेन ?
कपी भन्न मिल्दैन । इन्स्पायर हुन त मिल्यो नि । हलिउडबाट बलिउड, बलिउडबाट साउथ, कोरियनबाट कलिउड वा अन्य कुनै चलचित्र उद्योग इन्स्पायर त भइरहेकै छ । चलचित्र आर्ट हो । यसमा भिन्नभिन्न तरिकाको स्वाद पस्किने काम भइरहेको हुन्छ ।
महत्वपूर्ण कुरा त हामी नेपाली प्राविधिक र कलाकारले त्यो उच्च तहको काम गर्न सक्यौं कि सकेनौं त्यो महत्वपूर्ण पक्ष हो । सय करोड लगानीमा बनेको चलचित्र हामीले सीमित स्रोत तथा साधनमा कसरी कपी गर्न सक्छौं र ? चाहेको खण्डमा पनि असम्भव कुरा हो । फरक स्वादमा नेपाली कथा नेपाली कलाकारले भन्न खोजिरहेका छौं । नयाँ प्रयोग गरेका छौं । यसलाई सकारात्मक रुपमा लिन पर्छ ।
‘ऐश्वर्य’लाई यहाँको सेकेन्ड इनिङ्सका रुपमा लिन सकिन्छ । त्यसयता तपाईंले आफूले चाहेजस्तो चलचित्र गर्न पाउनु भयो कि भएन ?
निकै आशा गरेको चलचित्र ‘जय शम्भो’ रिलिज भयो । तर एकै पटक धेरै चलचित्र रिलिज हुँदा अपेक्षा गरे जस्तो भएन ।
त्यसपछि म आफैँले पर्खिएको र एक्साइटेड भएको चलचित्र ‘रणवीर’ हो । त्यस्तै ‘क्याप्टेन’ र ‘मायांक’बाट पनि मैले धेरै अपेक्षा गरेको छु ।
तपाईंले सोचे र खोजे जस्तो कथा बोकेको चलचित्र चाहिँ कस्तो हो ?
पहिला हिरो बेसमा चलचित्र बन्थे । अहिले समय परिवर्तन भयो । स्टोरी बेसमा कथा लेखिन थाल्यो । मलाई हेरेर स्टोरी लेखिन थाल्यो । मलाई हेरेर स्क्रिप्टिङ भइरहेको छ । मलाई सोचेर स्टारकास्ट गर्ने भनेर अफर गरिँदैछ । यो कुरा हेर्दा पूर्ण चलचित्र बनाउन एन्टागोनिष्टको पनि उत्तिकै भूमिका हुन्छ भन्ने सोचको विकास भएको छ । यो कन्सेप्ट विकास भएको अवस्थामा काम गर्न पाउनु र मलाई खोजिनुलाई म आफूलाई भाग्यमानी ठान्छु ।
लुक्स हेर्दा हिरो हुनुपर्ने मान्छे भिलेन किन होला भन्ने प्रश्न यहाँलाई धेरैले गर्दै आएका छन् । हिरो हुने रहर कहिल्यै पलाएन ?
म हिरो बन्नु र मलाई हिरो बनाउनु फरक कुरा हो । जिन्दगीको मेरो यात्रामा २८ वर्ष भयो, मैले व्यवसाय थालेको । यो लामो समयमा म यो बन्छु भनेर कहिल्यै सोचिन । सुरुमा मैले मोडलिङ गरेँ । मोडलका रुमा चिनियो । फेसनको दुनियाँमा छिरेँ कोरियोग्राफरका रुपमा चिनिएँ । मेन हन्ट भएर धेरै देशमा पुगेर नेपालको प्रतिनिधित्व गरेको छु । इभेन्ट मेनेजमेन्ट पनि विजनेश हुन सक्छ भनेर मैले सुरु गरेँ, जुन आज फष्टाएको छ ।
चलचित्र क्षेत्रको कुरा गर्दा धेरै पहिला नै अफर आएको हो तर गरिन । पछि अफर आएर तिमीले गर्नैपर्छ भन्दा मलाई लाग्यो, अहिले त टिनेजरहरु हिरो भइरहेको अवस्था छ, मेरो त उमेर निकै धेरै भइसक्यो । यही सोचबाट मैले गिभअप गरिसकेको थिएँ । ‘टाटा बाईबाई’ मेरो पहिलो चलचित्र थियो । त्यसमा मैले निर्देशकलाई म गर्न सक्छु र ? भनेर सोधेको पनि थिएँ । सक्छौ भने पछि मात्रै गरेको हुँ । ‘मुखौटा’, ‘सम्बोधन’मा पनि धेरै आग्रह गरेपछि मात्रै गरेको हुँ । ‘ऐश्वर्य’सम्म आइपुग्दा पनि मलाई चलचित्र क्षेत्रमै काम गर्छु भन्ने थिएन । फेसनमै मैले केही प्लान बनाएको थिएँ । तर ‘ऐश्वर्य’ले मेरो करिअरमै टर्निङ पोइन्ट ल्याइदियो । दर्शकले रुचाइदिनु भयो । मैले यो क्षेत्रमा स्पेश नै खोजेको थिइन त्यसैले हिरो हुन्छु भन्ने नै सोचिन ।
दर्शकले गरेको अपेक्षा पूरा भयो तपाईंबाट ? कस्तो आत्मसमीक्षा गर्नु भएको छ ?
‘ऐश्वर्य’पछि मैले अबको केही वर्ष म चलचित्र क्षेत्रमै बसेर काम गर्छु भन्ने सोच बनाएँ । त्यसपछि एकपछि अर्को चलचित्रमा राम्रो विषयमा काम गर्ने मौका पाइरहेको छु । धेरै कुरा सिकिरहेको छु । ‘ऐश्वर्य’मा भन्दा राम्रो काम भएको छ । मूल्यांकन कसरी गरिरहनु भएको छ त्यो त दर्शकको हातमा छ । तर मलाई आफैंलाई भन्दा अभिनयमा निखारिँदै आए जस्तो लाग्छ ।
नेपाली चलचित्र हेरेर वाऊ ! यो चाहिँ दामी ! चलचित्र बनेछ है भन्ने अवस्था छ ?
पछिल्लो समय फरक फरक जानरामा चलचित्र आइरहेका छन् । दर्शकको इच्छा अनुसार चलचित्र बनिरहेका पनि छन् । सफलता नै पाइरहेको जस्तो लाग्छ ।
सफलताको कुरा गर्दा बर्सेनि करिब ९८ प्रतिशत चलचित्र घाटामा गइरहेका छन् । कसरी राम्रा चलचित्र बने भनेर भन्नु ?
संसारभरी यस्तै छ । हाम्रो बजारले बढीमा ५० वटाभन्दा धेरै चलचित्र धान्न सक्तैन । तर यहाँ १०० भन्दा धेरै चलचित्र बनिरहेका छन् । रहरमा चलचित्र बनाउनेहरु धेरै छन् । जो व्यावसायिक रुपमा चलचित्र बनाइरहनु भएको छ, उहाँहरुको संख्या त्यही ४०–५० त छ । बजारको साइजभन्दा बढी आपूर्ति भएपसछि लस हुनु स्वाभाविक हो ।
कति यस्ता निर्देशक पनि छन् जो प्रोडुसरलाई मुर्गा खोजेको झैं खोजेर डुबाइरहेका छन् । यो दुखद् अवस्थाको अन्त्य नभएसम्म राम्रो काम हुँदैन ।
नेपाली चलचित्रमा कथा नै भएन भनेर भनिन्छ । खास समस्या कहाँ छ ?
मैले जति पनि काम गरेँ राम्रै छ । र जति पनि गर्दैछु अनि सुनेको छु स्टोरी र स्क्रिप्टिङ दुबै निकै राम्रो लागेको छ ।
यसको अर्थ भएको कथालाई पर्दामा उतार्न नसकेको हो ?
अहिले जुन युवा पुस्ता काम गरिरहेको छ, त्यो निकै डेडिकेटेड छ । मलाई त्यो चाहिन्छ भनेपछि चाहियो चाहियो । कयौं सट लिएर भए पनि खोजेको सट लिएर छाड्ने युवा पुस्ता देखेको छु । सुन्दा र कागजमा लेखेको भन्दा क्यामेरामा वाऊ ! भन्ने सट लिन थालिएको छ । मैले आफैँले गरेको हो र ? भने जस्तो लाग्छ । फिल्म पढेर आउन थालिएको छ । यो राम्रो संकेत हो ।
नेपाली चलचित्रलाई नेपालमै कहिलेसम्म सीमित गरिरहने ?
नेपाली चलचित्र विदेशमा नजानुको कारण हाम्रो मार्केटिङ ब्रेन युज भइरहको छैन । मार्केटिङ, इभेन्ट र प्रोडेक्सन मेरो अर्को काम हो । मैले चलचित्र डिष्ट्रिब्युसन पनि केही गरेको छु । ‘गाजलु’ युके लैजाँदासम्म प्रोजेक्टरमा देखाइन्थ्यो । मैले ‘गाजलु’लाई सेन्सरबाट पास गराएर हलमा रेगुलर शो चलाएको छु । त्यसपछि नेपाली चलचित्र युकेका हलमा लाग्दै आएका छन् । त्यसैले म भन्छु– चलचित्र बनाए पनि हामीले बेच्न जानेनौं ।