एजेन्सी । चीनमा फोहोर व्यवस्थापनका लागि अनौठो तरिका अपनाउन थालिएको छ । बढ्दो शहरीकरणसँगै दैनिक थुप्रिने गरेका खाद्य फोहोरबाट राहत पाउन पछिल्लो समय साङ्लाको प्रयोग गर्ने गरिएको पाइएको छ ।
यसरी अँध्यारो, तातो र उचित वातावरण मिलाइएका कोठामा हजारौँ काठका बोर्डहरुमा पालिएका एक अर्ब साङ्लाले दैनिक ५० टन फोहोर खाने गरेका छन् । जुन सातवटा ठुल्ठुला हात्तीको आहार बराबर हुन्छ । यसरी साङ्लालाई बेलुकीपख नै पाइप मार्फत खाद्य फोहोरहरु तिनीहरु भएको कोठासम्म पुर्याइने गरिन्छ ।
चीनको पूर्वी सानदोङ प्रदेशमा रहेको यो ठूलो उद्योगमा साङ्लाहरु मरेपछि पनि उत्तिकै उपयोगी मानिन्छन् । केबल ६ महिनाको छोटो आयु हुने साङ्लाबाट विभिन्न पोषक तथा औषधिजन्य पदार्थहरु निष्कर्षण गर्न सकिने प्राचीन चिनियाँ औषधिविद्हरुको मान्यता छ ।
यसरी सानदोङ क्वबिन कृषि प्राविधिक संस्थाले अब आगामी वर्ष जिनान नजिकै अर्को यस्तो उद्योग पनि खोल्ने योजना बनाइरहेको बताएको छ । जिनानमा ७० लाख मानिसले बसोबास गर्दछन् ।
वास्तवमा केही समय अगाडि अफ्रिकी ‘स्वाइन फिबर’ का कारण देशभर खाद्य फोहोर सुँगुरलाई खुवाउन निषेध गरिएपछि चीनमा साङ्लाको व्यवसाय फस्टाउँदै गएको बताइन्छ ।
साङ्लामार्फत जैविक तरिकाले फोहोर व्यवस्थापन गर्न सकिने हुँदा यो तरिका वैज्ञानिक हिसाबले पनि निकै प्रभावकारी साबित भइरहेको संस्थाका प्रमुख लिउ युसेङ बताउँछन् । साङ्ला प्रोटिनको राम्रो श्रोत भएको हुँदा सुँगुर लगायत विभिन्न जीवको आहारका रुपमा यसको प्रयोग गर्न सकिने उनको भनाइ छ । यस्तोमा यो प्रक्रियाले बेकार कुरालाई महत्वपूर्ण साधनमा परिणत गरिरहेको संस्थाकी अधिकृत लि हङ्यी बताउँछिन् ।
सिचुआनको विकट गाउँमा बस्ने अर्का ४७ वर्षीय लि बिङ्सेइको विचार पनि यस्तै छ । कुनै समय उनी एक मोबाइल विक्रेता थिए तर अहिले भने उनले साङ्लाको व्यवसायमा १ लाख ४६ हजार डलर लगानी गरेका छन् । उनले ती साङ्लाहरु सुँगुर फार्म, माछा पालन र केही औषधि उद्योगहरुमा विक्री गर्ने गरेका छन् । अहिले उनको उद्योगमा ३४ लाख साङ्ला छन् ।
उनी भन्छन्, “मानिसहरु यसलाई अनौठो व्यवसाय ठान्छन् तर यसको ठूलो आर्थिक महत्व छ र मेरो उद्देश्य भनेको सबैलाई यो बाटोमा हिँडाइ गाउँलाई समृद्धितर्फ लैजानु हो ।”
उनको गाउँमा अहिले दुईवटा यस्ता उद्योगहरु छन् तर उनको लक्ष्य भने त्यहाँ २० वटा साङ्ला उद्योग खोल्नु रहेको उनी बताउँछन् । मुखको अल्सर, पेट सम्बन्धि रोग, छालाको रोग र पेटको क्यान्सर लगायत गम्भीर रोगका लागि समेत यो उपयोगी रहेको अर्को संस्था ‘गुड डक्टर ककरोच फ्यासिलिटी’ का म्यानेजर वेन जिआनगुओ बताउँछन् ।
अनुसन्धानकर्ताहरुले पनि साङ्लाबाट निकालिने पदार्थहरु सौन्दर्य मास्क, डायट पिल र कपाल झर्नेको उपचारमा प्रयोग गर्नेबारे अध्ययन गरिरहेका छन् । गुड डक्टर संस्थामा भने साङ्लाहरुलाई मर्नेबेला ल्याइने गरिएको छ । जसपछि तिनलाई बफ्याएर, धोएर अनि सुकाएर पोषक तत्व निष्कर्षणका लागि ठूलो ट्याङ्कमा हालि पठाइने गरिएको छ ।
त्यसैगरी यसरी पालेका साङ्लाहरु भाग्न सक्ने सम्भावनाबारे प्रश्न गर्दा भने वेनले त्यसलाई भयानक हरर फिल्मका रुपमा व्याख्या गरेका छन् । तरपनि यो व्यवसायमा लागेका सबैले अत्यन्तै सावधानी अपनाएर काम गर्ने गरेको हुँदा डराउनु नपर्ने उनी बताउँछन् । उनले भने, “यसका लागि उद्योग भवन बाहिर हामीले ठूलो खाल्डो बनाएका छौँ र त्यहाँ माछा पनि पालेका छौँ जसकारण साङ्ला बाहिर जाने प्रयास गर्नासाथै पोखरीमा खस्नेछ र त्यसलाई माछाले खाइदिनेछ ।” –रोयटर्सबाट