site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रज्ञा प्रतिष्ठानहरू एनजीओजस्ता भए
Sarbottam CementSarbottam Cement

रंगकर्मी अशेष मल्लको नाम नै उनको समग्र पहिचान हो । नेपाली नाट्य क्षेत्रमा बितेका चार दशकभन्दा अघिदेखि क्रियाशील रहँदै आएका नाट्य स्रष्टा मल्लसँग संगीत, नाटक र कला एकेडेमीका विषयलाई लिएर लामो कुराकानी भएको थियो । प्रस्तुत छ ‘बाह्रखरी’का राजेश खनालले मल्लसँग गरेको कुराकानीः

भर्खरै नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्राज्ञहरूको नियुक्ति भएको छ । तपाईं के भन्नुहुन्छ ?

यसलाई मैले सकारात्मक रूपमा लिएको छु । हामी जहिले पनि नकारात्मक मात्रै सोच्ने गर्छौं । अझै गणतन्त्र आइसकेपछि हामीमा यस्तो नकारात्मक सोच्ने प्रवृत्ति चरम विकास भएको छ । यसले हाम्रो सोच नै पछाडि रहेको छ भन्ने देखाउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia

संगीत, नाट्य र ललितकला प्रतिष्ठान खाली थियो । त्यसमा पदाधिकारीहरू आएका छन् । अब, को आउनु पथ्र्यो, को आए भन्ने विषयलाई लिएर टीकाटिप्पणी गर्नुभन्दा प्राज्ञमा नियुक्त भएर आउनेहरूले के गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने विषयमा केन्द्रित भएर सोचिदिएको भए हुन्थ्यो । किनभने अहिले पदमा जो–जो आएका छन्, ती नेपालभित्रकै स्रष्टा आएका छन् । कसको मूल्यांकन कति भनेर नाप्ने यन्त्र संसारमा कहीँ छ जस्तो लाग्दैन । भर्खर गणतन्त्र आएको र त्यो पनि स्थापित हुने क्रममा रहेकोले नकारात्मक चर्चाभन्दा यी दुबै एकेडेमीले के गर्नुपर्छ भन्ने कुरामा ध्यान दिएको भए त्यसले राम्रो काम गथ्र्यो । त्यहाँ नियुक्त भएर आएका व्यक्तिहरूका विषयमा टीकाटिप्पणी गरेर कुनै फाइदा छैन । त्यहाँ जो आए पनि तिनले काम गर्ने हो । नेपालको संगीत, नाटक, कला र ललितकलाको विकास गर्ने हो ।

संगीत नाट्य क्षेत्रमा लामो समय तपाईंको संलग्नता रह्यो । अब संगीत नाट्य प्रतिष्ठानले पहिलो के गर्नुपर्छ जस्तो लाग्छ ?

Global Ime bank

जुनै प्रकृत्तिको एकेडेमी होस्, तिनले गर्ने पहिलो काम भनेकै नीति बनाउने हो । यो नै उसको प्रमुख काम हो । यसैका माध्यमबाट मुलुकको कला, संस्कृति, रंगमञ्च र ललितकलाको उत्थानमा योगदान दिने हो । विश्वमा कतैको पनि एकेडेमीले आफैं गोष्ठी गरेर हिँड्दैन । जहाँसम्म संगीत नाटक एकेडेमी र उहाँहरूले के गर्नुपर्छ भन्ने प्रश्न छ, यसपटक पदमा जो आउनुभएको छ, मूलतः उहाँहरूको सोचमा व्यापक परिवर्तन आउनु जरुरी छ । त्यो के भने नेपाल भनेको काठमाडौंमात्रै होइन । मुलुकभरिको संगीत, नाटकको अवस्थालाई कसरी सुदृढ गर्ने भन्ने चिन्तन उहाँहरूमा व्यापक हुनुपर्छ ।

कस्तो चिन्तन ?

हेर्नुस्, नेपालको परिचय भनेकै यहाँको प्रकृति र कला संस्कृति हो भन्ने उहाँहरूले बुझ्नुपर्छ । संसारका मानिसहरू नेपाल आउन लालायित रहन्छन् । पहिलो कारण हो— नेपालको प्राकृतिक र पुरातात्विक सम्पदाको भ्रमण र अवलोकन । र, अर्को हो— नेपालको कला–संस्कृति हेर्न । प्रतिष्ठानको काम भनेको नेपालका हरेक क्षेत्रका कला–संस्कृतिलाई कसरी बेजोड बनाउन सकिन्छ र त्यसलाई कसरी आकर्षक बनाउन सकिन्छ, त्यतातिर ध्यान दिनुपर्छ । वास्तवमा नेपालको लोककला, लोकसंस्कृति, लोकसाहित्य, लोकनाटक यति बलिया छन् कि तिनको बयान गरेरै सकिन्न । यिनको मात्रै पनि जगेर्ना गर्ने हो भने र त्यसमार्फत नेपाललाई चिनाउने हो भने त्यो नै मुलुकका लागि उत्कृष्ट कार्य हुनेछ । तर विडम्बना ! हाम्रो लोककला, साहित्य, संस्कृति, संगीत सबैसबै लोप हुँदै गइरहेका छन् ।

हामीले हेर्ने हो भने कैयन् लोक वस्तुहरू लोप वस्तुमा परिणत हुँदै गइरहेका छन् । यतिबेला तिनलाई बचाउनु हाम्रो दायित्व हो । अहिले लोकगाथा हराउँदै छ । गन्धर्वहरू हराउँदै छन् । पञ्चेबाजा हराउँदै छन् । गाउँ–गाउँमा लोकनाटकको परम्परा थियो, त्यो हराउँदै छ । लोकसंस्कति र कलालाई लिएर पाँचतारे होटलमा गएर गोष्ठी गर्ने होइन कि हुम्ला, जुम्लामा गएर बृहत्त काम गर्नुपर्छ । खोजी गरिनुपर्छ । कला–संस्कृतिको संरक्षणका लागि सबैलाई अभिप्रेरित गर्नुपर्छ । नेपालभरि नै यो काम गरिएन भने हाम्रो लोककला र लोकसंस्कृति खोक्रो हुँदै जान सक्छ ।

विदेशको चलन के छ ?

विदेशको चलन के छ भने संगीत, नाटकसँग सम्बन्धित संस्थाहरूलाई यस्ता एकेडेमीहरूले पूराका पूरा सहयोग गर्छन् । आफूले संरक्षणका लागि नीति, निर्देशन बनाउँछन् र बारिहका संस्थाहरूलाई व्यापक रूपमा परिचालित गर्छन् । ती संस्थाहरू मुलुकभरि नाट्य र संगीतको विकासमा निरन्तर लाग्छन् ।

केही समयअघि म आसमको तेजपुरमा बृहत्त नाट्य महोत्सवमा भाग लिन गएको थिएँ । त्यहाँ भारतका संगीत नाट्य प्रतिष्ठानका प्रमुखसँग मेरो भेट भएको थियो । उनी सुनाउँदै थिए— भारतका जति पनि प्रदेश छन्, ती सबैमा सर्कुलर गरेर स्थानीय स्तरमा संगीत, नाटकको शाखा खोली संगीत, नाटकको विकासका लागि सहयोग गरेको प्रसंग । यो सुनेर म छक्क परें । त्यस्ता संगीत, नाटक, कलाका लागि परिचालित संस्थाहरूलाई मासिक रूपमा पैसा दिन्छन् एकेडेमीले । उनका अनुसार लोकल संस्था बाँचेमात्रै मुलुकको नाटक र संगीत बाँच्छ । कति ठूलो कुरो ! त्यसैले स्थानीयस्तरबाट कलासंस्कृतिको विकासमा हामी पनि लाग्न सक्नुपर्छ ।

तर, हामीकहाँ त आरम्भदेखि नै गलत परम्परा शुरु भयो । एउटा एनजीओले गरेजस्तो गोष्ठी गरेर, कार्यपत्र प्रस्तुत गरेर, पत्रिका निकालेर देखाउने काममात्रै भएको छ । र, यस्ता कार्यक्रमहरूमा हाम्रा प्राज्ञहरू पुग्छन् । योजति हास्यास्पद कार्य अरु के हुन सक्छ ? मेरो विचारमा यस्ता कार्यक्रमहरूमा प्रतिष्ठानले विशेषज्ञहरूलाई पठाउनुपर्छ । तर, हामीकहाँ त्यो चलन छैन ।

विगत आठ वर्षमा दुई एकेडेमीले के काम गरे ?

केही भएकै छैन । कारण छ । तिनलाई पनि म दोष दिन्नँ । त्यहाँ पुग्ने मानिस उच्चस्तरकै व्यक्ति थिए । तर, तिनीहरू कता अलमलिए कता । एकेडेमीले के गर्ने भन्ने विषयमै प्रतिष्ठानका पदाधिकारीहरू स्पष्ट हुन सकेनन् । तिनीहरूले विशेषज्ञ वा विज्ञहरूसँग सल्लाह लिनुपथ्र्यो । विश्वभर यस्ता एकेडेमीहरूमा कुन रूपमा काम हुने गरेको छ भन्ने बारेमा अध्ययन गर्नु पथ्र्यो । त्यो कहिल्यै पनि भएन । मैले भनें नि, एकेडेमीहरूले सानोसानो एनजीओ जस्तो काम गरे । त्यसैले केही गर्नै सकेनन् । यी दुबै एकेडेमीहरूको कमजोरी नै यही भयो । तुलनात्मक रूपमा हेर्दा साहित्य एकेडेमीको काम केही राम्रो भएको देखिन्छ ।

पहिले नेपाल प्रज्ञा प्रतिष्ठानमा तपाईं नाट्य विभाग हेर्ने गरी नियुक्त हुनुभएको थियो । त्यतिबेला काम गरेको अनुभव थियो । र, नाटकमा विगत ४० वर्षको अनुभव पनि थियो । तपाईंसँग सहयोग मागेनन् ?

अहँ । मसँग कहिल्यै पनि सम्पर्क गरिएन । त्यो आठ वर्षमा मलाई कहिल्यै पनि बोलाइएन । एकपटक पुरस्कार छनोट समितिमा राखे, बस् त्यत्ति हो ।

यस्तो किन हुन्छ त ?

कुनै पनि संस्थामा जबसम्म त्यसको प्रमुखको भिजन क्लियर हुँदैन, तबसम्म तीपछिका अधिकारी जतिसुकै राम्रो र विज्ञ भए पनि त्यहाँबाट काम हुन सक्दैन । मैले देखेको नै त्यही हो । संगीत नाट्य एकेडेमीका मानिस सधैं यसैमा अलमलिए । यसपटक मैले संगीत नाटक एकेडेमीका सबैलाई फोन गरेर बधाई र शुभकामना दिँदै मलाई लागेका केही कुरा सुझावका रूपमा जानकारी गराएकोे छु । मेरो कर्तव्य हो भन्ने ठानेरै भनेको हुँ । गर्ने÷नगर्ने उहाँहरूको कुरा हो ।

यो अलमलले प्रतिष्ठानहरूको कामलाई गति देला त ?

दिँदैन । तर, यसपटक संगीत नाटक एकेडेमीले राम्रा मानिसहरू पाएको छ । वरिष्ठ रंगकर्मी हरिहर शर्माले केही गर्न सकिन्छ भन्ने देखाउनुभएको छ । उहाँले सांस्कृतिक संस्थानको भवन र हल बनाइदिएको सबैले थाहा पाएको कुरा हो । उहाँहरूमा भिजन छ भन्ने मलाई लाग्छ । म आशावादी पनि छु । तथापि, एउटा कुरा के भन्छु भने उहाँहरूले बजेट छैन भनेर पन्छिन पाउनुहुन्न । बलियो कार्ययोजना, क्षमता र दृढ इच्छाशक्ति छ भने पैसाले काम रोकिन्छ भन्ने मलाई लाग्दैन । पैसा ल्याउने क्षमता पनि प्राज्ञहरूमा हुनुपर्छ ।

त्यसो भए नीति निर्माणपछि दुबै एकेडेमीले पहिलो काम के गर्नुपर्ला ?

पहिलो काम भनेकै नीति निर्माण हो । त्यसपछि मुलुकभरिका लोकसंस्कृति र कलाको संरक्षणमा लाग्नुपर्छ । आज मिथिला लोककला जनकपुरको मात्रै सम्पत्ति नभएर मुलुक चिनाउने कला बनेको छ । मुलुकका यस्तायस्ता कलाहरूको खोजी गर्नु पर्‍यो । संरक्षण गर्नु पर्‍यो । गोष्ठी गरेर, पेपर प्रस्तुत गरेर मात्रै केही हुँदैन । आज लोकबाजा बजाउनेहरू हराइरहेका छन् । एकेडेमीले तिनलाई सहयोग गर्न सक्नुपर्छ । यस्ता कार्यमा एकेडेमीहरू लाग्नुपर्छ । व्यक्तिगत रूपमा यहाँका कलाकार विश्वमा परिचित हुन्छन् तर त्यसलाई व्यवस्थापन गर्न हाम्रो ललितकला प्रतिष्ठान वा संगीत नाट्य प्रतिष्ठानले कुनै काम गर्न सकेका छैनन् ।

तपाईं पनि एउटा कार्यकाल एकेडेमीमा बस्नुभयो । त्यतिबेला तपाईंहरूले बनाएको कार्यविधि वा नियमलाई पछ्याउँदा पनि त एकेडेमीले गति त लिन्थ्यो होला नि ?

त्यतिबेला जति सकियो, त्यति गरियो । आजको प्रज्ञा प्रतिष्ठानहरूको संरचना नै फरक छ । त्यो बेला मैले धेरै काम गरें भन्दिनँ म । राम्रो गर्न खोजियो । आज संगीत नाटक प्रतिष्ठान र ललितकला प्रतिष्ठान बेग्लाबेग्लै छन् । सबैका आ–आफ्नै कार्यविधि, नीति, नियम हुनुपर्छ र त्यसैले कामहरू मार्गनिर्देश गर्नुपर्छ । मलाई के लाग्छ भने यतिबेला दुबै एकेडेमीहरूले मुलुकभरिका सम्बन्धित विषयका विज्ञहरूसित छलफल गर्नुपर्छ । त्यस्तै, बाहिरी मुलुकका एकेडेमीहरूसँग समन्वय गरेर तिनको काम गर्ने शैलीलाई हेर्नुपर्छ । त्यति भएपछि मात्रै हामीले केही देखिने काम थाल्न सक्छौं ।

एउटा अर्को कुरो, नेपालमात्रै एउटा यस्तो देश होला, जहाँको विश्वविद्यालयमा नाटक विषय नै छैन । रंगमञ्चको स्कुल नै छैन । अहिले हामीले नाटक, संगीत, संस्कृति र कलाका लागि जोड गर्ने भनेको स्कुलदेखि नै हो । जसरी अंग्रेजी, गणित र विज्ञान विषयहरू विद्यालयहरूमा राखिएका छन्, त्यसैगरी पहिलो कक्षादेखि नै रंगमञ्च पनि पाठ्यक्रमको विषयमा समावेश गरिनु पर्छ । यसका लागि संगीत नाट्य प्रतिष्ठानले पहल गर्नुपर्छ । यदि यता ध्यान नदिने हो भने भोलि भानुभक्त, नारायणगोपाल, अम्बर गुरुङ नचिन्ने पिँढी जन्मिन्छ । त्यसैले स्कुलबाटै त्यस्ता व्यक्तित्वहरूको परिचय दिने क्रमको थालनी हुनुपर्छ । त्यसपछि मात्रै संगीत, नाटक, कला, संस्कृति स्थापित हुन सक्छ । अब दुबै एकेडेमीले सरकारलाई दोष दिन मिल्दैन । सरकारको प्रतिनिधि भनेको एकेडेमी हो । केपी ओलीले काम गर्ने होइनन् । प्रतिष्ठानले गर्ने हो ।

गर्लान् त ?

आशा गरौं । मैले भनें नि, पहिलेकाहरू विगतमा के गर्ने भन्ने विषयमै अलमलिए । उनीहरू कसैलाई पनि थाहा भएन हामीले गोष्ठी गर्ने होइन भन्ने । सबैभन्दा पहिले हामी प्राज्ञको छनोटमा जहिले पनि किन चुक्छौं भन्ने हेर्नु जरुरी छ । यसका दुइटा कारण छन् । एउटा हो— राजनीतिक दबाब । यसले गर्दा विज्ञभन्दा पनि कार्यकर्तालाई प्रतिष्ठानमा राख्ने गरिएको छ । अर्को कारण— जसले प्राज्ञ नियुक्त गर्छ, उसैलाई थाहा छैन प्राज्ञ भनेको के हो ! तिनले बुझ्नु पर्छ— सर्जक र प्राज्ञमा फरक छ । हरेक सर्जक प्राज्ञ होइनन् । सारंगी बजाउने सर्जक हुन्, प्राज्ञ होइनन् । सारंगी बजाउनेलाई त्यहाँ ल्याउने होइन । तर, सारंगी बजाउनेभित्र पनि प्राज्ञिक क्षमता भएका को–को छन्, नियुक्ति गर्नेले त्यस्ता व्यक्तिको खोजी गर्न सक्नुपर्छ । त्यसलाई प्रतिष्ठानमा ल्याउनुपर्छ । कविता लेख्ने वा नाटक लेख्नेलाई प्राज्ञमा ल्याउने होइन । त्यसमा पनि प्राज्ञिक क्षमता भएका व्यक्तिलाई मात्रै प्राज्ञको रूपमा ल्याउनु पर्छ । विदेशमा प्राज्ञ भन्नासाथ आदरले शीर निहुराउँछन् । त्यो क्षमता प्राज्ञमा हुनुपर्छ । हामीकहाँ त्यो छैन ।

अहिलेका प्राज्ञहरू नाम चलेका छन् । काम गर्न सक्छन् होला नि त !

सक्नुहुन्छ । किनभने सबैले आ–आफ्नो क्षेत्रलाई बुझ्नुभएको छ । अर्को सजिलो के छ भने देशैभरि स्थानीय सरकार छ । सात वटा प्रदेश र ७५३ वटा स्थानीय सरकार मुलुकभरि विद्यमान छन् । स्थानीय निकायसँग समन्वय गरेर काम गर्न सक्छन् एकेडेमीले । पहिले–पहिले पो यो संयन्त्र थिएन । देशैभरि एकेडेमीले कार्ययोजना स्थानीय सरकारकामार्फत लैजान सक्छन् । कला–संस्कृतिको विकास र उत्थानका लागि भिडेर लाग्न सक्छन् । हुम्ला र पाँचथरका लोक संस्कृतिकर्मी वा कलाकारहरूको खोजी गर्न सक्छन् स्थानीय सरकारले । तिनको व्यवस्थापन गर्न सक्छन् स्थानीय सरकारले । लोपोन्मुख अवस्थामा रहेका लोकबाजा, लोकसंस्कृति, लोकनाटक वा लोक कलाकारहरूको संरक्षणमा एकेडेमीलाई सहयोग गर्न सक्छन् स्थानीय सरकारहरूले । संरक्षणका लागि के गर्ने भन्ने प्रश्न उठे एकेडेमी र स्थानीय वा प्रदेश सरकार मिलेर त्यसको निराकरण गर्न सक्छन् ।

त्यसका लागि सबैमा जिम्मेवारीबोध हुनुप¥यो । प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूलाई मुलुकको कला–संस्कृति र साहित्यलाई कसरी माथि उठाउने भन्ने विषयले भतभती पोल्नुपर्छ । अनिमात्रै त्यसले सही बाटो समाउन सक्छ । काठमाडौंको कुरो मात्रै होइन, मुलुकभरि कति सर्जक होलान् ? तिनको डकुमेन्टेसन हुनुपर्छ । कति नदेखिएका सर्जक छन् । तिनको खोजी गरेर तिनको संरक्षणमा प्रतिष्ठानहरू लाग्नुपर्छ । सातै वटा प्रदेशमा लोकबाजा र लोक–संस्कृतिको म्युजियम बनाउन सक्नुपर्छ । 

केही समयअघि म हेटौंडा गएको थिएँ । त्यहाँ एउटा कार्यक्रममा एकजना उमेर पुगेका पाका कलाकारले गीत गाए । उनको स्वर दीप श्रेष्ठको जस्तै मिठासपूर्ण थियो । उनलाई मैले ‘यतिन्जेल तपाईं कहाँ हुनुहुन्थ्यो ?’ भनेर सोधें । विचरा अक्क न बक्क परे । ‘खोइ कसैले बोलाएनन्’ भने । हो, त्यस्तालाई खोज्ने काम एकेडेमीहरूको हो ।

कति काम छ कति गर्नुपर्ने । खोजी, अनुसन्धान, अभिलेखीकरण जस्ता धेरै काम गर्न सकिन्छ । नेपाली रंगमञ्च इतिहासको गतिलो पुस्तक हामीसँग छैन । नेपाली नाटकको इतिहासका बारेमा कतै बताउनु पर्‍यो भने कसैले केही जवाफ दिनै सक्दैनन् । वर्तमान अवस्थामा कर्णाली भेगका लोकनाटकहरूको बारेमा कसैले सोध्यो भने हामीले केही पनि भन्न सक्दैनौं । त्रिवि, संस्कृति मन्त्रालय, एकेडेमी कसैसँग केही डकुमेन्ट छैन । वास्तवमा सर्जकहरूले व्यक्तिगत रुचिका आधारमा गरेका कामहरूबाट मात्रै नेपाली कला, संस्कृति, संगीत र नाटक अगाडि बढिरहेका छन् ।

पछिल्लो समय नाट्यकर्ममा उत्साह छाएको देखिन्छ । दर्शक बढेका छन् । तर, नेपाली नाट्य परम्परा हराउँदै गएको भान हुन्छ । किन यस्तो भयो ?

मैले अगाडि पनि भनें— म केही समयअघि तेजपुरमा बृहत्त भारतीय नाटक महोत्सवमा सहभागी हुन गएको थिएँ । मलाई विशेष रूपमा बोलाइएको थियो । आठ दिनसम्म चलेको महोत्सवमा ३०–३५ वटा नाटक देखाइएका थिए । तर आश्चर्य ! त्यहाँ कुनै नाटक विदेशी नाटक थिएनन् । उनीहरू आफ्नै नाटक गरिरहेका थिए । तर, हामी आफ्नै नाटक गर्न सकिरहेका छैनौं । हामीकहाँ नाटक छैन भनिन्छ । त्यो गलत हो । हामीकहाँ बालकृष्ण सम, भीमनिधि तिवारीलगायतका धेरै नाटक लेखकहरूका एकसेएक उम्दा नाटक छन् । तर, ती नाटक नगरेर अहिलेका नाट्यकर्मीले पुराना नाटककारहरूको अपमान गरिरहेका छन् । समका कतिवटा नाटक मञ्चन भए ? उनका ३०–३५ वटा नाटक प्रकाशित छन् । अनि नाटक छैन भन्ने ? यो उहाँको अपमान होइन ? यस्ता धेरै नाटक लेखकका नाटक छन् नेपालमा, जुन मञ्चन भएका छैनन् ।

किन त ?

सेक्सपियरलाई सेक्सपियर बनाउन तिनको राज्य नै लागेको थियो । बेलायत सरकार सिंगो सेक्सपियरका नाटकलाई विश्वभरि चिनाउन आज पनि लागिरहेको छ । भारतले रवीन्द्रनाथ टैगोरलाई विश्वमा चिनाउन अनेक काम गरिआएको छ । तर, हाम्रै नाट्यसम्राट बालकृष्ण सम ज्ञानेश्वरको सानो कोठामा सीमित छन् । राज्यको ध्यान त्यहाँ पुगेको छैन । यतातिर अहिलेका एकेडेमीको मात्रै नभएर नाट्यकर्मीहरूको पनि ध्यान जानु जरुरी छ । हामीसँग स्रोत–साधन कम होला तर नाटक नै छैन भन्नु गलत हो ।

सय वर्ष पुराना एन्टोन चेखवका नाटक हाम्रा नाट्यकर्मीले देख्छन् । तर, ६० वर्ष पुरानो ‘मुकुन्द इन्दिरा’ देख्दैनन् । यस्तो किन हुन्छ ?

मैले भनें नि, अब भानुभक्तलाई बिर्सने पिँढी बढिरहेको छ । तिनलाई बालकृष्ण सम नाम गरेका नाटक लेखक पनि थिए र ? भन्ने अवस्था नआउला भन्न सकिन्न । सबैले बुझ्नुपर्ने कुरो के हो भने समका कुनै पनि नाटक कुनै पनि हिसाबले कम छैनन् । त्यो पढ्नु प¥यो नि अहिलेका नाटक निर्देशकहरूले । निर्देशकहरूमा क्षमता नभएरै पो हो कि उनीहरूले ती नाटक गर्न नसकेका ? मलाई यस्तो पनि लाग्छ अचेल !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ५, २०७५  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC