site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सत्याग्रहप्रति दैनिक उदासीनः नयाँ पत्रिकाले दियो महत्त्व 
Ghorahi CementGhorahi Cement

त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डाक्टर गोविन्द केसीले १६ औं अनशन सुरु गरेको आइतवार १२ दिन पुगेको छ । विगतका १५ वटा अनशनमा दैनिक पत्रिकाले समयमै सरकारलाई डा. केसीको मागको सुनुवाइ गर्ने माग गर्दै आएकोमा यसपल्ट १२ औं दिनसम्म पनि कुनै पनि (समीक्षित) पत्रिकाले डा. केसीको मागको समर्थनमा सम्पादकीय लेखेको छैन । राजधानी दैनिकले चिकित्सा विधेयकमा सहमति खोज्ने आग्रहसहित मंगलवार एउटा सम्पादकीय भने लेखेको छ । 

डा. केसीले यसपल्टको सत्याग्रह इलाम बजारबाट सुरु गरे पनि अहिले उनको स्वास्थ्यको अवस्था अत्यन्त जटिल भएको कारण शिक्षण अस्पताल महाराजगंजमा उनको निमोनियाको उपचार भइरहेको छ । डा. केसी भने उपचारकै क्रममा पनि अनशनरत छन् ।

पन्ध्रौं पटकको अनशनमा डा. केसीलाई जुम्लामा प्रहरी लगाएर सत्याग्रह बस्न समस्या खडा गरेको र केही दिनमै जबर्जस्ती धम्कीसहित हेलिकप्टरमा ल्याएको कारण नेपालका दैनिक पत्रिकामा उनको समाचारले प्रथम पृष्ठमा निकै स्थान पाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीकै सरकारले गएको सत्याग्रहमा उनका माग पूरा गर्ने वचनबद्धतासहित अनशन तोडाएकोमा अहिले आएर राष्ट्रिय चिकित्सा शिक्षा ऐन वचनबद्धता विपरीत बनाएको छ । दुई तिहाइको सरकारको बलमा व्यवस्थापिकालाई बेवास्ता गर्दै आएको सरकार डा. केसीको मागका बारेमा भने व्यवस्थापिकालाई जिम्मेवार देखाएर भाग्न खोजेको छ । यस विषयमा पनि नेपालका दैनिक पत्रिकाले धेरै ठूलो चासो दिएका छैनन् ।

Agni Group

साधारणतया हरेकपल्ट डा. केसीको सत्याग्रहमा प्रत्येक दिनजस्तो प्रथम पृष्ठमा समाचार प्रकाशित गर्ने नागरिक दैनिकले समेत यसपल्ट सत्याग्रही केसीको समाचारलाई भित्री पृष्ठमा थन्क्याएको देखिएको छ । विगतमा डा. केसीको सत्याग्रहका विषयमा खासै समर्थन नजनाएको नयाँ पत्रिकाले बरु यसपल्ट प्रथम पृष्ठमा सबैभन्दा धेरै समाचार प्रकाशित गरेको छ । 

डा. केसीको समाचार गएको साता आइतवार प्रथम पृष्ठमा हिमालय टाइम्स तथा नयाँ पत्रिकाले मात्र राखे । उक्त दैनिकले चिकित्सा शिक्षामा सुधारको माग गर्दै पूर्वी पहाडको इलामको फूलगाछीस्थित एक स्थानीयको घरमा सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको समाचार संप्रेषण गरेका थिए । नयाँ पत्रिकाले सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा डा. केसी र मेडिकल कलेजका सञ्चालक दुवै पक्ष विरोधमा रहेको अर्को समाचार पनि प्रकाशित गरेको थियो । नयाँ पत्रिकाले डा. केसीको समर्थनमा ज्येष्ठ नागरिकले निकालेको र्‍यालीको समाचारलाई सोमवार पनि प्रथम पृष्ठमा प्रकाशित गर्‍यो । सोही दिन हिमालय टाइम्सले पनि चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको तथा नेपाली कांग्रेसले डा. केसीको मागअनुरुप विधेयक सच्याउनुपर्ने माग गरेको समाचारलाई प्रथम पृष्ठमा स्थान दियो । 

Global Ime bank

आइतवार नागरिक दैनिकले डा. केसीको समर्थनमा इलाममा र्‍याली आयोजना भएको समाचार तस्बिरसहित प्रकाशित गरेको छ तर चौथो पृष्ठमा । यही बेहोराको समाचारलाई अन्नपूर्ण पोस्टले पाँचौ पृष्ठमा, कान्तिपुरले आठौं पृष्ठमा तथा राजधानीले दोस्रो पृष्ठमा स्थान दिए । सोमवार डा. केसीको मुटुको चालमा उतार चढाव भएको समाचार नागरिकले चौथो पृष्ठमा दियो । राजधानीले डा. केसीको समर्थनमा नेपाल चिकित्सक संघले सरकारलाई दिएको चेतावनीको समाचारलाई दोस्रो पृष्ठमा प्रकाशित गर्‍यो । अन्नपूर्ण पोस्टले आठौं पृष्ठमा तथा कान्तिपुरले तेस्रो पृष्ठमा सानो समाचार बनायो ।

मंगलवार डा. केसीलाई निमोनिया देखिएको समाचार नयाँ पत्रिकाले पहिलो पृष्ठमा प्रकाशित गर्यो । डा. केसीको बिग्रँदो स्वास्थ्यको विषयमा कान्तिपुरले पहिलो पृष्ठमा सानो प्वाइन्टर राखेर दोस्रो पृष्ठमा विस्तृत समाचार दियो, हिमालय टाइम्सले डा. केसी अस्पताल भर्ना भएको समाचार प्रथम पृष्ठमा ठूलो बनायो, नागरिकले दोस्रो पृष्ठमा राजधानीले पाँचौमा र अन्नपूर्ण पोस्टले आठौं पृष्ठमा प्रकाशित गरे ।

नयाँ पत्रिकाले बिहीवार पनि पहिलो पृष्ठमा डा. केसी र सरकार आआफ्नै अडानमा भएको समाचार प्रकाशित गर्यो भने सोही बेहोराको समाचार अन्नपूर्ण पोस्टले पनि प्रथम पृष्ठमा एक कोलममा संप्रेषण गर्यो । बिहीवार पनि डा. केसीको समाचार नयाँ पत्रिकाले प्रथम पृष्ठमा प्रकाशित गर्यो । नागरिकले बिहीवार केसीलाई आईसीयुमा राख्नुपर्ने विज्ञको भनाइलाई प्रथम पृष्ठमा स्थान दियो । 

बिहीवार मध्यरातमा डा. गोविन्द केसीलाई सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइयो । सो समाचार नयाँ पत्रिका तथा अन्नपूर्ण पोस्टले प्रथम पृष्ठमा प्रकाशित गरे । नागरिकले सोही दिन प्रथम पृष्ठमा समाचार दिए पनि काठमाडौं ल्याएको समाचार प्रकाशित गर्न भ्याएन । गोरखापत्रले भने काठमाडौं लगिएको समाचारलाई प्रथम पृष्ठमा प्रकाशित गरेर सरकारलाई जिम्मेवारी पुर्‍याएकोमा श्रेय दियो । शनिवार डा. केसीको कमजोर स्वास्थ्यको विषयमा नागरिक, नयाँ पत्रिका तथा अन्नपूर्ण पोस्टले प्रथम पृष्ठमा समाचार सम्प्रेषण गरे ।

सर्वोच्च अदालतको एकपछि अर्को कडा कदम

सर्वोच्च अदालतले आफ्नै न्यायाधीशले लिएको निर्णय उल्टाउँदै एकपछि अर्को कडा कदम चाल्न थालेको छ । प्रधान न्यायाधीशमा चोलेन्द्रशम्शेर राणा नियुक्त भएसँगै उनले चालेका केही कदमले न्यायालयप्रति जनतामा देखिएको उदासीनतामा केही परिवर्तन आएको छ । 

प्रधान न्यायाधीश राणा तथा न्यायाधीश आनन्दमोहन भट्टराईको २४ गतेको इजलाशले उद्योगपति अजेयराज सुमार्गीको विषयमा सर्वोच्च अदालतका अर्का न्यायाधीश दीपकराज जोशीले दिएको निर्णय उल्टाएका थिए । त्यसै विषयमा नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकलाई सुमार्गीले निकालेको ८४ करोड रुपैयाँ फिर्ता लिन निर्देशन दिएको थियो । यो समाचारलाई कान्तिपुरले गत सोमवार मुख्य समाचार बनाएको थियो । यसै विषयमा सुमार्गीको अन्य खाता रोक्का हुने वा नहुने विषयमा राष्ट्र बैंक मौन भएको समाचारलाई नागरिकले मंगलवार मुख्य समाचार बनायो । 

उद्दण्ड मन्त्री

प्रदेश नंबर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नो कार्यकक्षमा बोलाएर गालामा झापड लगाए । यो समाचारलाई नयाँ पत्रिका, हिमालय टाइम्स, नागरिक तथा अन्नपूर्ण पोस्टले प्रथम पृष्ठको समाचार बनाए । त्यसको भोलिपल्ट कर्मचारीको विरोधको समाचारलाई पनि दैनिकले स्थान दिए । हिमालय टाइम्सले यस विषयमा ‘असभ्यताको पराकाष्ठा’ शीर्षकमा सम्पादकीय लेखेर यसलाई असाधारण घटना मान्दै दोषीमाथि यथोचित कारवाहीको माग गरेको छ । अन्नपूर्ण पोस्टले पनि सम्पादकीयमार्फत प्रदेश २ को घटनाले कर्मचारीतन्त्र र नेतृत्वबीच असन्तुष्टि चुलिँदै गएको संकेत देखिएको बताएको छ । पोस्टले राजनीतिक तह जिम्मेवार रहेको भन्दै दोषीमाथि कारवाहीको माग गरेको छ । नागरिकले पनि कर्मचारीमाथि जनप्रतिनिधिले दुव्र्यवहार गर्ने गरेको र अहिले हातपातनै गरेकोमा कारवाही गर्नुपर्ने माग गरेको छ । 

त्यस्तै, न्यायाधीश दीपकराज जोशीले सुमार्गीको मुद्दासँगै चौधरी ग्रुपलाई मोबाइल सेवा संचालन गर्न दिनु भनी गरेको अर्को निर्णय पनि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले बिहीवार उल्टायो । यो समाचार नागरिकले शुक्रवारको पत्रिकामा प्रथम पृष्ठमा प्रकाशित गर्यो । 

प्रधान न्यायाधीश राणाले सुन तस्करीमा आरोपित प्रहरी अधिकृत तथा अन्यलाई धरौटीमा छाड्ने आदेश दिने उच्च अदालत विराटनगरका पाँच न्यायाधीशलाई काजमा केन्द्र तानेका छन् । उनको यो निर्णयलाई अधिकांश दैनिक पत्रिकाले सकारात्मक रुपमा लिँदै प्रथम पृष्ठमा समाचार प्रकाशित गरेका छन् । 

नयाँ सम्पादकीय जिम्मेवारी

राजधानी दैनिकको कार्यकारी सम्पादकमा सागर पण्डित गत बुधबार माघ २ गते देखि नियुक्त भएका छन् । साथै नागरिक दैनिकमा पनि माघ २ देखिनै डिजिटल एडिटरको पदमा राजाराम गौतमले जिम्मेवारी सम्हालेका छन् । राजधानीमा डिल्ली आचार्य कार्यकारी सम्पादक थिए भने नागरिकको डिजिटल एडिटरमा श्रीराम पौडेल कार्यरत थिए ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०७५  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC