बाढी, पहिरो, सवारी दुर्घटनाका रूपमा नेपालको आकाशमा घुमिरहेका यमदूतहरू आजभोलि स्वाइन फ्लु र स्क्रब टाइफसमार्फत सहर बजारमा अंग प्रदर्शन गर्दैछन् । स्क्रब टाइफस मानिसबाट मानिसमा सर्ने सम्भावना नहुँदा यसबारे यहाँ चर्चा गर्ने छैन । तर, पनि यो ज्वरो चलनचल्तीको टाइफाइडजस्तै लक्षण हुने र उपचार भएन भने प्राणघातक नै हुन्छ ।
केही दिनअघि एउटा एफएममा सुनेको थिएँ - पोखरा आसपास क्षेत्रबाट परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकुमा पठाइएको नमुना २२८ मध्ये १२४ मा स्वाइन फ्लुको भाइरस भेटियो रे ! शंकास्पद नमुनाको ५० प्रतिशतभन्दा बढीमा H1N1 विषाणु भेटिनु अत्यन्तै चिन्ताजनक स्थिति हो । महामारीको संज्ञा दिई सम्बन्धित निकाय युद्धस्तरमा लाग्नुपर्ने बेला भइसक्यो ।
स्वाइन फ्लु के हो भन्ने बारे धेरै नालीबेली लगाउनुभन्दा यो फ्लुबारे बजारमा बिस्कुनसरी छरिएका भ्रमबारे जागरुक हुनु जरुरी देखिन्छ । सामाजिक सञ्जालमा विभिन्न लेखमा चिकित्सकको अन्तर्वार्तामा, भिडियोहरूमा यो मौसमी रुघाखोकी ज्वरोबारे भ्रमको खेतीमात्र गरिएको भेटिएको छ । फलस्वरूप, अहिले काठमाडौंलगायत देशका विभिन्न सहर बजारमा आतंक नै छ । मेरा आफन्तहरूसमेत डरले घर बाहिर जानै छाडेका रहेछन् ।
स्वाइन फ्लु बारे हाल फैलिएको, फैलाइएको भ्रम हल्लालाई बुँदागत टिप्पणी गरेको छु ।
गलत हल्ला :
१. सुँगुरको संसर्ग वा बंगुरको मासु खाँदैमा यो रोग सर्छ भन्ने हल्ला (केही राष्ट्रिय दैनिकहरुले समाचार प्रकाशित गरेजस्तो )।
२. सुँगुरलाई टोकेका लामखुट्टेले मानिसलाई टोके सर्छ भन्ने हल्ला।
३. श्वास-प्रश्वासबाट प्रत्यक्षरूपमा सर्छ भन्ने कुरा ( केही डाक्टर सा'बहरूले पनि भन्ने गरेजस्तो )।
४. यो सामान्य सिजनल रुघाखोकी मात्र हो भन्ने हल्ला।
५. H1N1 भाइरसले आफ्नोरूप परिवर्तन गरिसकेको र बजारमा पाइने ओखतीले निको हुँदैन भन्ने हल्ला ।
यथार्थ :
१. सन् १८१८ तिर सुँगुरमा देखिएको रोगबाट मूलतः सुँगुरहरूमात्र संक्रमित हुने भए पनि भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्दा सुँगुरबाट मान्छेलाई सरेको सत्य हो । तर, सुँगुरबाट मान्छेमा सर्न आफ्नो स्वरूपमा आमूल परिवर्तन गर्नुपर्ने भएको र यो प्रक्रिया हमेसा नहुने हुँदा यो सम्भावना एकदम न्यून छ । सन् २००९ मा पहिलोपल्ट मेक्सिकोमा माहामारीका रूपमा मानवबाट मानवमा सरेको दुःखद इतिहास छ । प्राविधिकरूपमा भन्नुपर्दा सुँगुरबाट मान्छेमा सर्ने प्रक्रियाभन्दा मान्छेबाट मान्छेमा सर्ने प्रक्रिया सजिलो र बढी सम्भावनायुक्त हुन्छ।
२. लामखुट्टेको टोकाइबाट अरू धेरै रोग सर्नसक्ने भए पनि स्वाइन फ्लु सर्दैन, सरेको कुनै घटना छैन। लामखुट्टेमात्र हैन कीरा, फट्यांग्रा, जुम्रा, उपियाँ उँडुसको टोकाइबाट पनि सर्दैन। यसको अर्थ लामखुट्टेको टोकाइबाट बच्नु जरुरी छैन भन्ने पक्कै हैन ।
३. H1N1 भाइरसद्वारा संक्रमित व्यक्तिले हाच्छिऊँ गर्दा निस्कने छिटाहरू, खोक्दा निस्कने वायवीय पदार्थ (aerosol) का साथै संक्रमित व्यक्तिको शरीरबाट बाहिर निस्कने तरल पदार्थ (body fluids) मा हुने लाखौंकरोडौं भाइरस सर्वप्रथम टेबुल कुर्सी, भर्याङको रेलिङ, ढोकाको ह्यान्डल जस्तै कुनै सतहमा थिग्रिएर बस्छन् । ती सम्भाव्य ठाउँको स्पर्शले हात र औंलामा सर्ने र जानीनजानी हातका औँलाले नाक कोट्याउँदा वा छुँदा भाइरस प्रवेश गर्ने हुन्छ । स्मरण रहोस्, सामन्यतया एक वयस्कले दिनमा औसत १८ पल्ट नाक कोट्याउने वा छुने गर्छ ।
४. कुनै पनि भाइरस बिनामाध्यम हावामा तैरिन सक्तैन। भाइरस हावामा तैरिएर बस्छ र सास तान्दा शरीरमा प्रवेश गर्छ भन्नु अर्को भ्रम हो । हात या औंलामा टाँसिएर आउने भाइरस मूलत: नाकमार्फत् शरीरमा प्रवेश गर्ने हुँदा समयसमयमा साबुनपानीले हात धुनु (कम्तीमा २० सेकेण्ड हात मलेर) वा स्यानिटाइजर लोसनले हात मल्नु नै स्वाइन फ्लुबाट बच्ने एकमात्र उपाय हो। हात धुने बानीले योमात्र हैन अरू अनेक रोगबाट बच्न सकिन्छ ।
५. अहिले नै आतंकित भई हाल्नुपर्ने अवस्था छैन । तर, सामान्य मौसमी रुघाखोकीको ज्वरोजस्तो लागे पनि समयमै उपचार भएन भने ज्यान नै जाने हुनाले समयमै Tamiflu® (oseltamivir phosphate)जस्तो सेवन गर्नुपर्छ र बेलामा औषधि सेवन गरेमा यो संक्रामक बिरामी पूर्ण निको हुन्छ ।
६. अरु मौसमी फ्लु हुँदाजस्तै पर्याप्त झोल पदार्थ खानु, सक्तो आराम गर्नुपर्छ । धपेडी गर्नु हुन्न ।
७. सामान्यतया कुनै पनि भाइरस शरीरमा प्रवेश गर्नेबित्तिकै मानिस बिरामी भइहाल्ने हुँदैन । कति संख्यामा प्रवेश गर्यो भन्ने महत्त्वपूर्ण हुन्छ । हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले कुनै पनि भाइरस वा बाह्य तत्त्व आउनेबित्तिकै आफ्नो सेना परिचालन गर्छ र सकेसम्म पराजित गर्छ । ज्वरो आउनु इम्युन सिस्टम अर्थात् प्रतिरक्षा प्रणाली सक्रिय हुनु हो। बालबालिका, ज्येष्ठ नागरिकहरूको प्रतिरक्षा प्रणाली तुलनात्मकरूपमा कम्जोर हुने हुँदा ती समूहलाई थोरै भाइरसले पनि आक्रान्त पार्नसक्छ।
(माथि लेखिएका तथ्य पंक्तिकार सम्मिलित संयुक्त राज्य अमेरिकाका सातवटा विश्वविद्यालयहरू (Drexel Univeristy, Carnegie Mellon University, Michigan State University, University of California-Berkely, University of Arizona, Northern Arizona University and University of Michigan) का विभिन्न प्रयोगशालामा गरिएको परीक्षण र जर्नलमा प्रकाशित आलेखमा आधारित छन्।)
( हाल अमेरिका )