काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदमा कडा रूपमा प्रस्तुत भएको छ । चिकित्सा शिक्षा विधेयक–२०७५ प्रस्तुत गर्न लागेका शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई रोष्टममा पुग्नै नदिइ घेराबन्दी गरेका हुन् । चिकित्सा क्षेत्र सुधारको माग राख्दै सत्याग्रहमा रहेका गोविन्द केसीसँग यसअघि भएको सम्झौता, सहमति लत्याएर विधेयक ल्याइएको भन्दै कांग्रेसले प्रतिवाद गरेको हो ।
\\
संसदको आइतबारको बैठकमै चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यसूची थियो । तर, काग्रेसले अवरुद्ध गरेपछि १५ मिनेटका लागि भनेर स्थगित भएको बैठक त्यसपछि बस्न सकेन र सूचना टाँस गरी सोमबारका लागि बोलाइयो । सोमबार पनि दोस्रोपटक स्थगित भएको बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्न लाग्दा सदनमा ठेलम्ठेल भएको हो । कांग्रेसको कडा घेराबन्दी चिर्न नसकेपछि मन्त्री पोखरेल फर्किएर आफ्नै आसनमा बसे ।
संसद् बैठक पुनः स्थगित भएको छ ।