– कंगना रानावत
कंगना रानावत बलिउडकी दमदार अभिनेतृमा पर्छिन् । सर्वाधिक पारिश्रमिक लिने अभिनेतृको सूचीमा पनि उनी शीर्ष ५ मा अटाउँछिन् । ‘फोब्र्स इन्डिया’ले प्रकाशित गर्ने ‘सेलिब्रिटी १००’मा उनी पाँच पटक छाइसकेकी छन् । ‘ग्याङस्टर’बाट बलिउडमा पदार्पण गरेकी कंगनाले त्यही फिल्मबाट ‘फिल्मफेयर डेब्यु अवार्ड’ पनि पाएकी थिइन् । ‘मणिकर्णिका’ फिल्ममा निर्देशकको कमान सम्हालेर उनले करिअरलाई एक कदम अगाडि बढाएकी छन् । यिनै सेरोफेरोमा रहेर ‘नवभारत टाइम्स’ले गरेको कुराकानीको सारसंक्षेपः
१) अघिल्लो साता प्रदर्शनमा आएको ‘द एक्सिडेन्टर प्राइम मिनिस्टर’ होस् या तपाईंको ‘मणिकर्णिका’सँगै प्रदर्शन भएको ‘ठाकरे’— यी फिल्ममा राजनीतिको प्रभाव देखिएको छ । तपाईंको फिल्ममा पनि बीजेपी (भारतीय जनता पार्टी) जस्तो पार्टीले लगानी गरेको सुनिँदै छ । निर्वाचन पनि नजिकिँदै छ । के भन्नुहुन्छ ?
अरू फिल्मबारे म केही भन्न सक्दिनँ । यदि बाल ठाकरेलाई लिएर कसैले श्रद्धाञ्जलीस्वरूप फिल्म बनाउँछ भने बनाउनु नै पर्छ । जहाँसम्म ‘द एक्सिडेन्टर प्राइम मिनिस्टर’को कुरा छ, त्यो त सञ्जय बारु (पुस्तक लेखक)को आफ्नो अनुभव हो । लेख्न पाउनु उनको संवैधानिक अधिकार हो । कांग्रेसले नै कांग्रेसको बारेमा लेख्छ भने कसले के गर्न सक्छ ? र, जहाँसम्म ‘मणिकर्णिका’ र बीजेपीको कुरा छ— ‘मणिकर्णिका’ स्वयंलाई पनि थाहा छैन होला ऊ कोसँग सम्बन्धित छे (हाहाहा) । ‘मणिकर्णिका’ त यस्तो वीरांगनाको कथा हो, जतिबेला बीजेपी, कांग्रेसको अस्तित्व नै थिएन । त्यतिबेला देश स्वतन्त्र पनि थिएन, पराधीन थियो । त्यस्तो बेलाको कथालाई कुनै पार्टीविशेषसँग जोड्नु राम्रो होइन । मणिकर्णिका एक स्वतन्त्र सेनानी हुन्, जसले स्वतन्त्रताका लागि लडाइँको बिगुल फुकेकी थिइन् । हाम्रो फिल्म पाकिस्तानमा पनि भव्य रूपले प्रदर्शन हुँदै छ । त्यतिबेला भारत र पाकिस्तान एक थिए, त्यसैले मणिकर्णिका पाकिस्तानकी पनि हुन् ।
२) ‘मीटू’जस्तो सामाजिक अभियानमा तपाईंले त्यतिबेला आवाज उठाउनुभएको थियो, जतिबेला कसैले बोल्ने हिम्मत गरिसकेका थिएनन् । अहिले भारतमा त्यो अभियान मूर्दाझैं निष्क्रिय देखिन्छ । जबकि हलिउडमा यसको व्यापक असर देखियो । किन सुस्तायो यो अभियान ?
हाम्रो देशमा यो अभियानले फाइदा पु¥याएन भन्न मिल्दैन । सिने उद्योगमा ५–६ जना त्यस्ता मानिस थिए, जसलाई म रोगी भन्छु, उनीहरूको वास्तविक चरित्र उदांगो भयो । ती अपराधीहरूले लगातार महिलाहरूलाई प्रताडित गरिरहेका थिए । सबैलाई ती नरपशुहरूबारे थाहा थियो । तर, उनीहरूको मुखुण्डो ‘मीटू’ अभियानपछि मात्रै उत्रियो । मलाई लाग्छ— ‘मीटू’लाई लिएर सबैभन्दा कलुषित विचार ट्वीटरको भीडले फैलायो । उनीहरूले नै यो अभियानलाई सुस्त बनाउन बाध्य पारेका हुन् । भर्खरै रानी मुखर्जीले जे भनिन्, त्यसलाई लिएर ट्वीटरमा उनले धेरै नै नकारात्मक टिप्पणी खेपिन् । यसले के देखाउँछ भने महिला सशक्तीकरण भनेर मान्छेले महिलाकै मजाक उडाइरहेका छन् । रानी मुखर्जी स्वयं छोरीकी आमा हुन् । ‘मीटू’को विषयमा बोल्दा उनले ‘छोरीहरूलाई मार्सल आर्ट सिकाउनुपर्छ’ भन्दा कहाँनेर गलत भयो ? ‘मीटू’ अभियानका बेला यो आवाज प्रखर रूपमा उठ्यो कि महिलाको सुरक्षा पुरुषको जिम्मेवारी हो । त्यसो ठ्याक्कै होइन । यस्तै–यस्तै कुतर्कका कारण ‘मीटू’ अभियान सुस्त भएको हो । यो सत्य हो कि हरेक मान्छेले अरू मान्छेको ख्यालचाहिँ राख्नुपर्छ ।
३) ‘मीटू’को राउन्डटेबल बहसमा रानी मुखर्जीले भनेको कुरामा तपाईंले समर्थन जनाउनुहुन्छ ?
धेरै हदसम्म । उनले यतिमात्रै भनेकी हुन्— यदि कसैले तपाईंलाई भित्तामा थिचेर कुटिरहेको छ भने हातले प्रतिकार गर, हातले भएन भने इँटाले हान, इँटा भेटिएन भने रडले हान । त्यो पनि पाइएन भने साइकल उठाएर हान । यसमा कहाँ गलत छ ? अचम्म छ । कसैले महिलालाई थिचेर बलात्कार प्रयास गर्छ भने ‘मेरो सुरक्षा तिम्रो जिम्मेवारी हो है’ भन्दै बस्ने ?
४) विरोधीहरू तपाईंलाई ‘कन्ट्रोभर्सी क्विन’ भन्छन् ! अनि ‘मणिकर्णिका’को म्युजिक लन्चमा तपाईंले सहकर्मी अंकिता लोखन्डेलाई पनि ‘इग्नोर’ गर्नुभयो भन्ने पनि सुनियो । के हो वास्तविकता ?
उनीहरू त चाहन्छन् कि कंगनालाई दबाऊँ, यसलाई खतम बनाऊँ । मेरो फिल्म आउने बेला कुनै न कुनै बहाना झिकेर वितण्डा मच्चाउने प्रयास गर्छन् । उनीहरू चाहन्छन् कि कसैगरी मेरो काम बन्द होओस् । यस्ता कति मान्छेहरू आफू भगवान् भएको भ्रममा बाँचिरहेका छन् । उनीहरूले यो बिर्सिसके कि म उनीहरूको कारण यो स्थानमा आएकी होइन । म आफ्नो मेहनत, लगन र दर्शकको मायाले यो ठाउँमा आएकी हुँ । त्यस्ताले विरोध गरेर मेरो केही हुनेवाला छैन । भुकिरहून् !
कुनै समय यस्तो थियो, जतिबेला म मिडियामा आउने नकारात्मक खबरले साह्रै हताश हुन्थें । त्यतिबेला मैले कुनै स्पष्टीकरण पनि दिन सक्दिनथें किनकि मलाई आफ्नो फिल्म सम्हाल्नु हुन्थ्यो । जब मलाई अनेक कोणबाट आक्रमण गर्न थालियो, एकदिन मैले फिल्मका गीतकार प्रसून जोशीसँग सोधें, “मेरो जिन्दगीमा यस्तो किन हुन्छ ? म कामप्रति एकदमै समर्पित हुन्छु । हरेक वर्ष मेरा २–३ वटा फिल्म प्रदर्शन हुन्छ । यस्तो बेला समानान्तर रूपमा किन नकारात्मक धारा किन बगिरहन्छ ?” उहाँले भन्नुभयो, “औसत मान्छेहरू प्रतिभादेखि डराउँछन् । उनीहरूले मेहनती र शिखर चढ्दै गरेका प्रतिभालाई आफ्नो खतरा देख्छन् ।”
मलाई यो कुरा सही लाग्यो । जति पनि विरोधका कुरा सुन्छु, मलाई त्यही कुरा सम्झना आउँछ । मैले त राम्रो फिल्म र राम्रा प्रतिभाको खुलेर प्रशंसा गर्छु । चाहे ‘राजी’ हो या ‘बधाई हो’ वा ‘अन्धाधुन’ ! मैले आलिया भट्ट, नीना गुप्ता र आयुषमान खुरानालाई मन खोलेर प्रशंसा गरेकी थिएँ । मलाई यो सिने उद्योगका कसैले पनि फोन गर्दैनन् । मेरा ट्रेलर रिलिजमा कसैले ट्वीट गर्दैनन् । अब हेर्नुस् न— ‘मणिकर्णिका’ एउटी राष्ट्रिय विभूति हुन्, उनलाई भारत आमा भनिन्छ, त्यसमा पनि उनीहरू भेदभाव गर्छन् । ‘यो त कंगनाको फिल्म’ हो भनेर बहिष्कार गर्छन् । अनुपम खेर र अरू एक–दुई जनाबाहेक यसबारेमा कसैले कुरै गर्न चाहन्न । यस्तो लाग्छ— जानीजानी सबै मौन बसेका छन्, यो कुनै ठूलै रणनीति हो ।
५) हृत्विक रोशनसँगको सम्बन्ध तोडिएपछि प्रेमलाई लिएर तपाईंमा केही विचलन आयो कि आएन ? सम्बन्धहरूलाई लिएर विश्वास डगमगायो ?
जब म अहिले पछाडि फर्किएर हेर्छु, लाग्छ— जे भयो, राम्रोका लागि भयो । मलाई यसमा खुशी छ । त्यतिबेला धेरै दुःख लागेको थियो । ठूलो झट्का लागेको थियो । अहिले लाग्छ— कमसेकम यही बहानामा एकजना मान्छेको वास्तविक रूप त देखियो । उनले सार्वजनिक रूपमै मलाई लिएर आफ्नो धारणा बताउँदा त्यतिबेला मलाई महसुस भयो कि उनले मेरो बारेमा के सोच्दा रहेछन् ! मेरो नजरमा उनी कहिल्यै उठ्न नसक्ने गरी खस्किए ।
६) तपाईंका समकालीन सोनम कपुर, अनुष्का शर्मा, प्रियंका चोपडा, दीपिका पादुकोणले बिहे गरे, तपाईंले कहिले गर्ने ?
(हाँस्दै) तपाईंलाई पनि मेरो बिहेको धेरै चिन्ता छ । हेर्नुस्, जब मान्छे प्रेममा हुन्छ, त्यतिबेला अरूले गरोस्÷नगरोस्— आफूलाई चाहिँ बिहे गरिहाल्न पाए हुन्थ्यो भन्ने हुटहुटी हुन्छ । मेरो जिन्दगीमा पनि त्यस्तो समय आएको थियो, जतिबेला म प्रेममा थिएँ र बिहे गर्न एकदमै उत्सुक थिएँ । तर, जब प्रेम गरिएको मान्छे नै आफ्नो भएन, बिहेको सपना पनि त्यसैगरी मुर्झाएर गयो । अहिले मेरो जिन्दगीमा कोही छैन, त्यसैले बिहेबारे सोचेकी छैन ।
७) तर फेरि प्रेममा बाँधिन त तयार हुनुहुन्छ नि ?
बिलकुल तयार छु । प्रेमबिना त मेरो जिन्दगी मरुभूमिजस्तै सुख्ख हुन्छ ।